अमेरिकानो डबल शट
जनताले आफूलाई मन नपरेको नेतालाई हरेक दिन एक-दुई मुक्का हान्न पाउने कानूनी व्यवस्था भैदिएको भए हिजोआज सबै नेताहरूको खप्परमा टुटुल्को हुने थियो।
त्यति फरासिलो, त्यति निडर मान्छे यसरी बेपत्ता होला भन्नेमा हामीलाई विश्वासै थिएन। तर, भयो यस्तै। ऊ केही दिनदेखि बेपत्ता थियो। फोन अफ। सामाजिक सञ्जालमा प्रायः उपलब्ध हुने उसलाई अस्तिदेखि अफलाइन देखेपछि हामी सशङ्कित थियौं। केही दिन अघि उसले भनेको थियो, ‘मेरा यारहरू, म बाँचुन्जेल सोसल मिडियामा झैझगडा गरेर बसिरहने कुरामा प्रतिबद्ध छु।’
ऊ हाम्रो देशका बहुसङ्ख्यक मैमत्त नेताहरू जस्तो त पक्कै थिएन, जसले गएरातिसम्म टेलिभिजनको लाइभ अन्तर्वार्तामा गरेका प्रतिबद्धतालाई आज बिहानै बिर्सिदेओस्। हाम्रो साथी वचनको पक्का थियो।
मोबाइलमा यसो हेरेको त त्यही हराएको साथीको पो कल आइरहेछ। मैले तत्क्षण कल रिसिभ गरें र उसलाई हकार्दै सोधें, ‘बे कहाँ बेपत्ता भएको? छिटो मुन्टी यहाँ। यता तेरो किरियाकर्म गर्ने बाजेको खोजी शुरू भैसक्यो।’
उसले विगतमा भनेको यही कुरा नै हामीलाई तर्साउन पर्याप्त थियो। किनभने, ऊ सार्वजनिक जीवनबाट मात्र होइन, सामाजिक सञ्जालहरूबाट पनि विलीन भएको थियो। यस्तोमा उसले आफ्नो जीउज्यान नै त्याग्यो कि भनेर पनि हामी आतङ्कित भयौं। त्यसैले केही महीना यता हामीले हाइकिङ गएका भीरपाखाहरूतिर पनि खोजी गर्यौं। ऊ भेटिएन।
ऊ अमेरिकानोको उधुमै शौखीन थियो। उसलाई अमेरिकानो डबल शटको चुस्की लिँदै गरेको मुद्रामा पो भेटिन्छ कि भनेर हामीले शहरका सबै नामी कफी शपहरूमा खोज्यौं। तर, ऊ भेटिएन। अरू सम्भावित अखाडाहरूमा पनि भेटिएन। घरमा निजकी श्रीमती रुँदारुँदा आँसु नै सकिएर आँखामा ‘टियर प्लस’ हाल्नुपर्ने भइसकेको थियो।
छोराछोरीहरूले अनलाइन कक्षा छाडेर उदास भावमा दलिनको माउसुलीको गतिविधि अध्ययन गर्न थालेका थिए। हामी लँगौटिया यार पनि सहानुभूतिका शब्द सिद्धिएर मौन थियौं।
ठीक त्यही वेला मेरो मोबाइलमा ‘सयौं थुँगा फूलका हामी’ बज्यो। मसँगैको राष्ट्रवादी साथी जर्याकजुरुक दाहिने हात देब्रे छातीमा राख्दै उठ्यो। हामी आत्तियौं, ‘तँलाई हार्ट अट्याक हुन लागेको हो ?’
‘हैन बे, राष्ट्रिय गान प्रति भक्ति प्रकट गरेको हुँ।’
मोबाइलमा यसो हेरेको त त्यही हराएको साथीको पो कल आइरहेछ। मैले तत्क्षण कल रिसिभ गरें र उसलाई हकार्दै सोधें, ‘बे कहाँ बेपत्ता भएको? छिटो मुन्टी यहाँ। यता तेरो किरियाकर्म गर्ने बाजेको खोजी शुरू भैसक्यो।’
केही बेरमै ऊ कताकताबाट हस्याङफस्याङ गर्दै हामी बसेको स्थानमा आइपुग्यो। उसकी श्रीमती हेर्याहेर्यै भइस्यो। छोराछोरी पनि ट्वाँ परे। ठूलै दुःख बिसाएर आए झैं ऊ भने ढुक्कले सोफामा बस्यो र भन्यो, ‘पदकको मौसम छ। सरकारले मलाई पनि समातेर एक थान पदक भिडाइदेला र समाजमा मुख देखाउन पनि लायक नरहुँला भनेर होटलमा लुकेर बसेको थिएँ। धन्न पदकेको लिस्टमा मेरो नाम आएन। जोगिएँ। ल अब ढुक्कले जाभामा जाऔं। कफी खाऔं- अमेरिकानो डबल शट।’
शोकसभा
दोहोरी गीतको कार्यक्रममा जान ठिक्क परेको वेला उहाँलाई एउटा शोकसभामा नगई नहुने भयो। दोहोरी गीतमा जुन मजा छ, त्यो मजा शोकसभामा कहाँ? तर, मजा लिने वेला थिएन यो। त्यसैले उहाँ मन नलागी नलागी शोकसभामा जाने हुनुभयो।
उहाँ ऐना अगाडि उभिनुभयो र आफ्नो व्यक्तित्व नियाल्नुभयो। हिजो भर्खर सिलाएको नयाँ दौरा सुरुवाल लगाएर त के जानु शोकसभामा! मुलुकमा सधैं शोककै वातावरण त हुन्छ नि! त्यसैले कुन वेला, कहाँ र के कुरामा शोक व्यक्त गर्न पुग्नुपर्ला भनेर पोहोरै उहाँले एक जोर सेतो कुर्ता-पाइजामा सिलाउनुभएको थियो। त्यही भिर्नुभयो र आफूलाई फेरि ऐनामा हेर्नुभयो।
अहँ, त्यो लुगा लगाउँदा पनि शोकसभामा जान के-के नमिले जस्तो लाग्यो। उहाँले चिल्लो जुत्ताको सट्टा चप्पल लगाउनुभयो। मुहारमा दम्भको सट्टा करुणाको भाव ल्याउनुभयो।
तैपनि के पुगेन जस्तो लाग्यो। अलमलको वेला उहाँ जहिले पनि जहानसित राय माग्नुहुन्छ। आज पनि सोध्नुभयो, ‘प्रिया, शोकसभामा जानु छ। के लगाउँदा उपयुक्त होला?’
मुलुकमा को खुशी छ अहिलेका राजनीतिज्ञसित? सबै क्रोधमा छन्। फेरि बुटवलका मेयर महोदयले मुक्का खाएको प्रसङ्ग पनि तात्तातै थियो। जनताले आफूलाई मन नपरेको नेतालाई हरेक दिन एक-दुई मुक्का हान्न पाउने कानूनी व्यवस्था भैदिएको भए हिजोआज सबै नेताहरूको खप्परमा टुटुल्को हुने थियो।
यो यथार्थ बुझेकी निजकी प्रियाले जवाफ दिनुभयो, ‘गाडीमै गए पनि हेल्मेट चाहिं लगाएरै जानुस्। शोकसभामा सबै शोकमा हुन्नन्, रिसमा पनि हुन्छन्। तिनका मुक्काबाट हजुरले आफ्नो शिरको रक्षा गरिबक्सनुपरेन ?’
थुन्चेभरि प्रश्न
‘प्रश्न उठाउनुपर्छ। प्रश्न उठाएरै बाटोबाट बरालिएको आजको चिन्तन र चेतनालाई सही बाटोमा ल्याउन सकिन्छ।’ केही अघि एक बुद्धिजीवीले यसै भनेका थिए।
नजिकै नेपाल एकेडेमीले बहादुरीसाथ भत्काएको महाकवि देवकोटाको घरका अवशेषहरू थुन्चेमा बोकिरहेका एक जना ज्यामी दाइले मसित सोधे, ‘सर, प्रश्न पनि मैले उठाउने भारी जस्तै गह्रुङ्गो हुन्छ?’
ज्यामीले एकसाथ प्रश्न र भारी उठाइरहे। देवकोटाको घर भत्किरह्यो।