सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माणका काम अब दिउँसो मात्रै नभई राति पनि चालू राख्ने बताएका छन्।
बजेट कार्यान्वयनका विषयमा राष्ट्रिय योजना आयोगसँग आइतबार छलफल गर्दै मन्त्री शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्का सम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई शिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी दिए। “दिनमा एक शिफ्ट मात्र काम गरेर पूँजीगत खर्च बढाउन र विकास निर्माणको काम तोकिएको समयमा सम्पन्न गर्न सकिंदैन, त्यसैले रात्रि शिफ्टमा बत्ती बालेर भए पनि काम गर्ने र योजना आयोगले वेला–वेला नसुतेरै भए पनि अनुगमन गर्नुपर्छ,” मन्त्री शर्माले भने।
निर्माण कम्पनीलाई कार्यक्षमताभन्दा बढी सङ्ख्यामा ठेक्का दिएर पनि आयोजनाहरू अलपत्र परेको भन्दै मन्त्री शर्माले अब यस्तो प्रवृत्ति रोक्न कानून सच्याउने तयारी रहेको बताए। छलफलमा अर्थमन्त्री शर्माले आयोजना बन्नै नसक्ने गरी न्यून कबोल गरेर ठेक्का हात पार्ने तर काम नगरेर आयोजना लथालिङ्ग पार्ने परिपाटीको समेत अन्त्य गरिने दाबी गरे।
उनले हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योग सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिए। धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखाना लगायत बन्द अवस्थाका उद्योगहरू नयाँ मोडालिटी बनाएर सञ्चालन गरिने बताए। पछिल्ला वर्षमा हरेक मन्त्रीले बन्द सार्वजनिक संस्थान सञ्चालन गर्ने दाबी गर्दै आए पनि अहिलेसम्म यो सफल हुन सकेको छैन।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले निर्माण व्यवसायीको वास्तविक क्षमता जाँचेर मात्र ठेक्का दिने प्रणाली बसाल्नुपर्ने बताए। सीमित निर्माण व्यवसायीको हातमा मात्र ७० प्रतिशत आयोजना सुम्पने प्रचलनको अन्त्य नगरेसम्म विकासले गति नलिने उनको भनाइ थियो।
“भएभरका आयोजना सीमित ठेकेदारको हातमा सुम्पने, उनीहरूले सरकारलाई समेत नटेर्ने, वर्षौंसम्म आयोजना नबनाएर बस्ने, अनि कसरी बढ्छ त पूँजीगत खर्च?” उनले भने। डा. पौडेलले मुलुकको राजस्वमा योगदान गर्न नसक्ने सार्वजनिक संस्थानको औचित्यमा प्रश्न उठाए।