एक जना वृद्ध सङ्गीतज्ञ कुनै वनको बाटो हुँदै जाँदै थिए। उनीसँग सुनका थुप्रै मुद्रा पनि थिए। जङ्गलको बाटो हिंडिरहेका वेला उनलाई केही डाँकाले समाते।
डाँकाहरूले ती सङ्गीतज्ञसँग भएका सबै मुद्रा त लिए नै, उनको वाद्ययन्त्र भोइलिन पनि लुटे। भोइलिनसँग उनको प्रगाढ प्रेम थियो। वृद्धले भोइलिन फिर्ता गरिदिन डाँकाहरूसँग धेरै अनुरोध गरे। ती वृद्धले आफ्नो सम्पत्ति नमागेर किन सामान्य वाद्ययन्त्र फिर्ता गरिदिन अनुनय विनय गर्दै छन्?
डाँकाहरू चकित भए र यो बाजा हाम्रो लागि के काम? भन्दै फिर्ता गरिदिए। भोइलिन फिर्ता पाएकाले ती सङ्गीतज्ञ खुशी हुँदै नाचे, उफ्रिए। अनि त्यहीं बसेर बजाउन शुरू गरे। अमावस्या (औंसी)को रात थियो।
त्यो नि:स्तब्ध अन्धकार वनमा उनले बजाएको भोइलिनको स्वर अलौकिक तवरले गुञ्जन थाल्यो। शुरूमा ती डाँकाहरू वृद्धको छेउमा बसेर सुनी मात्र रहे। बिस्तारै उनीहरूका आँखा रसाउन थाले र सँगै उनीहरूको चित्त पनि सङ्गीतको रसमा बग्न थाल्यो। अन्त्यमा भावविभोर हुँदै डाँकाहरू ती वृद्ध सङ्गीतज्ञको पाउमा परे। ती डाँकाहरूले वृद्धलाई उनको मात्र होइन अरू धन समेत थपेर दिए र वन बाहिरसम्म पुर्याइदिए।
यो कतै सुनेको कथा हो। सङ्गीतमा कति शक्ति हुन्छ? आज यसैबारे केही चर्चा गरौं।
सङ्गीतले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे कमै मान्छेलाई मात्र थाहा छ। सङ्गीत र स्वास्थ्यलाई जोडेर हेरौं। हामी गीत–सङ्गीत सुन्छौं। गीत–सङ्गीत सुन्दा कुनै वेला रुन्छौं, कुनै वेला हाँस्छौं। सङ्गीतले मान्छेको मन, मस्तिष्क, मुटु तीनै ठाउँमा जोडदार प्रभाव पार्छ। सङ्गीतको ताल, आवाज, आरोह-अवरोह र मिठासले बेग्लै अनुभूति गराउँछ।
मस्तिष्कले गीत–सङ्गीतको ताल, लय, उचाइ, मिठासलाई छुट्टाछुट्टै रूपमा ग्रहण गर्छ। रुवाउने, हँसाउने मात्र होइन जीउ सिरिङ्ग पार्दै तर्साउन पनि सक्छ। ‘फास्ट बिट’को म्युजिकले मान्छेको हृदयको गति बढाउँछ, रक्तचाप (ब्लड प्रेसर), श्वासप्रश्वास र उत्तेजना बढाउँछ। त्यस्तै, ‘स्लो बिट’को गीत र मधुर सङ्गीतले हृदयको गति घटाउँछ। रक्तचाप, श्वासप्रश्वास, उत्तेजना घटाउने, मन शान्त पार्ने र निद्रा समेत लगाउने जस्ता प्रभाव पार्नसक्छ। अर्थात्, सङ्गीत अनुसार फरक फरक प्रभाव र असर सिर्जना गर्न सक्छ।
सङ्गीतको प्रभाव
मनछुने खालको सङ्गीत छ भने मान्छेको दिमागमा एक प्रकारको तरङ्ग सिर्जना हुन्छ। त्यसले डोपामिन नामको रसायन उत्पादन गर्छ। त्यो रसायनले मुड नै प्रभावित गरिदिन्छ। अर्थात् सङ्गीतले खुसी बनाउन वा दुःखी बनाउन सक्छ। मुटुको धड्कन बढाउन वा घटाउन सक्छ। यसरी सङ्गीतले मानव स्वास्थ्यमा प्रभाव पार्ने तथ्य विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन्।
सङ्गीतले मान्छेलाई सकारात्मक सोच्न प्रेरित गर्न सक्छ। मूड बिग्रिएको छ भने सङ्गीत सुन्नुस्, राम्रो हुन्छ। मूड राम्रो भयो भने मान्छेको स्वास्थ्यमा स्वतः सकारात्मक प्रभाव पर्छ। त्यसैले मनपर्ने गीत–सङ्गीत सुनौं, मूड राम्रो बनाऔं।
मानसिक तनाव घटाउन सङ्गीतले राम्रो भूमिका खेल्छ। हिजोआज धेरै मानिस मानसिक तनावमा छन्। आफूलाई मनपर्ने शान्त प्रकृतिको गीत–सङ्गीत सुन्ने गर्यो भने मन शान्त हुन्छ। तनाव घट्छ र डर–त्रास पनि हट्छ।
कुनै व्यक्तिको शल्यक्रिया गर्नुपर्नेछ वा दाँत फुकाल्नुपर्नेछ भने त्यस्ता वेलामा डराउने गरेको त अनुसन्धानले नै पुष्टि गरिसकेको छ। धेरै जनामा हृदयको गति बढ्ने, रक्तचाप बढ्ने, शल्यक्रिया अघि निद्रै नलाग्ने जस्ता समस्या देखिन्छन्। यस्तो अवस्थामा उसलाई सङ्गीत सुनाइदियो भने शल्यक्रिया गर्ने डाक्टरलाई समेत सजिलो हुन्छ। शल्यक्रियाका कारण हुनसक्ने जटिलताहरू पनि कम हुन्छन्।
अमेरिकी नेशनल लाइब्रेरी अफ मेडिसिन, नेशनल इन्स्टिच्यूट अफ हेल्थले सन् २००९ को जुलाईमा एउटा अध्ययनको नतीजा सार्वजनिक गरेको थियो- “रिल्याक्सिङ म्यूजिक एज प्रि–मेडिकेशन बिफोर सर्जरीः अर्याण्डमाइज्ड कन्ट्रोल्ड ट्रायल” शीर्षकमा। शल्यक्रियाको पर्खाइमा बसेका बिरामीलाई प्रायः डर र चिन्ता हुन्छ। त्यस्तो चिन्ता र डर हटाउन औषधि दिइन्छ। यसको विकल्पमा आरामदायी सङ्गीत प्रयोग गर्न सकिन्छ भन्ने निष्कर्ष यही अध्ययनले प्रस्तुत गरेको छ।
यो अध्ययनका लागि शल्यक्रिया गर्न ठीक गरिएका ३७२ जना बिरामीलाई छनोट गरिएको थियो। उनीहरूमध्ये केहीलाई शून्य दशमलव शून्य पाँचदेखि शून्य दशमलव १ मिलिग्राम प्रति केजी मिडाजोलाम (लट्ठ्याउने औषधि) मुखबाट दिइएको थियो र केहीलाई रिल्याक्सिङ (आनन्ददायक) सङ्गीत सुनाइएको थियो।
सङ्गीतको प्रयोग शल्यक्रिया अघि र पछि गरिएको थियो। त्यसको नतीजा विश्लेषण गर्दा सङ्गीतको कोर्स पूरा गरेकामध्ये १७७ बिरामीको ‘स्टेट एन्जाइटी स्कोर’ शुरूमा ३४ र पछि ३० मा झरेको पाइयो। त्यस्तै, मिडाजोलाम दिइएका १५० बिरामीको स्कोर शुरूमा ३६ र पछि ३४ पाइयो। यसले चिन्ताको मात्रा, औषधि प्रयोग गर्नेमा भन्दा सङ्गीत प्रयोग गरिएकाहरूमा कम देखियो। उनीहरूमा आत्मविश्वास बढेको समेत पाइयो।
यस्तै, अर्को एक अनुसन्धानले सङ्गीतको जस्तै प्रभाव ॐ उच्चारणले पनि गर्न सक्छ भन्ने प्रमाणित भएको छ। अध्ययन अनुसार, शल्यक्रिया अगाडि र पछाडि बिरामीले आँखा चिम्लेर १० मिनेटसम्म ॐ उच्चारण गर्यो भने पनि अप्रेशन सहज हुने; जटिलताहरू कम हुने पाइएको छ। यस बाहेक शल्यक्रियापछि पीडा कम हुने मात्र होइन, स्वास्थ्य लाभ पनि चाँडो हुने गरेको तथ्य पत्तो लागेको छ।
मानसिक तनाव घटाउन सङ्गीतले राम्रो भूमिका खेल्छ। हिजोआज धेरै मानिस मानसिक तनावमा छन्। आफूलाई मनपर्ने शान्त प्रकृतिको गीत–सङ्गीत सुन्ने गर्यो भने मन शान्त हुन्छ। तनाव घट्छ र डर–त्रास पनि हट्छ।
अनिद्राबाट पीडित व्यक्तिलाई पनि सङ्गीतले निद्रा लगाउन र आनन्द अनुभूति गराउन मद्दत गर्छ। निद्रा नलाग्ने समस्या भएकाहरूलाई सुत्ने वेलामा मनपर्ने र शान्त प्रकृतिको सङ्गीत सुनाउँदा लाभ पुगेको पाइएको छ। ५-१० मिनेटको सङ्गीत ‘अटो स्टप’ मा राखेर ओछ्यानमा पल्टियो भने सङ्गीत सुन्दै निदाउन सकिन्छ। यस्तो शक्ति छ- सङ्गीतमा। यसले ट्र्याङ्क्यूलाइजर (निद्रा लगाउने औषधि) को काम गर्छ।
कसैलाई क्यान्सर वा हृदयाघात भएको छ भने त्यस्ता कडा रोग लागेका मान्छेको मन र मस्तिष्कमा गम्भीर असर परेको हुन्छ। उनीहरूमध्ये धेरैमा नैराश्य, त्रास, चिन्ता उत्पन्न भएको हुन्छ। त्यस्ता बिरामीले नियमित रूपमा सङ्गीत सुन्ने गरे भने रोगसँग लड्ने उत्साह पैदा हुन्छ।
उपचारमा सकारात्मक प्रभाव पर्छ र रोगलाई सहज रूपमा ग्रहण गर्ने क्षमता वृद्धि गराउँछ। नैराश्य, चिन्ता र त्रास कम गराउन मद्दत पुग्छ। त्यसैले यस्ता बिरामीलाई उपचार गर्न सङ्गीत प्रयोग गर्ने चलन छ। म्युजिक थेरापी भन्ने छुट्टै विधा पनि विकास भइसकेको छ।
सङ्गीतले व्यायामलाई पनि प्रभावकारी बनाउँछ। सङ्गीतको तालसँगै व्यायाम गरियो भने यसको प्रभावकारिता बढ्छ। सङ्गीत सुन्दै व्यायाम गर्दा अल्छी लाग्दैन।
सङ्गीतले स्मरणशक्ति बढाउँछ भन्ने पनि अनुसन्धानबाट पत्तो लागेको छ। सङ्गीतमा भएको ताल, मिठास, आरोह, अवरोह आदिले दिमागमा एकखालको कम्पन उत्पन्न हुन्छ। यो कम्पनका कारण दिमागमा केही रसायन उत्पादन हुन्छ। जसले दिमागका कोषिकाहरू वृद्धि गराउने, कोषिकाहरूलाई पोषिलो र सक्रिय बनाउने काम गर्छ।
दिमागको कोषिका सक्रिय भएसँगै बिर्सिएका कुराहरू याद हुन थाल्छन्। स्मरणशक्ति बढाउने भएकैले अल्जाइमर रोग लागेकाहरूलाई म्युजिक थेरापी गर्दा पुराना र बिर्सिएका कुराहरू सम्झिएका घटनाहरू धेरै छन्। यसबाट पनि स्मरणशक्ति बढाउन सङ्गीतले सकारात्मक भूमिका खेल्छ भन्ने प्रमाणित हुन्छ।
अचम्मको कुरा के छ भने, गर्भवती महिलाहरूको पेटमा हुर्किरहेको भ्रूणमा समेत सङ्गीतको राम्रो प्रभाव पर्दो रहेछ। गर्भवती महिलाले नियमित रूपमा राम्रा र मीठो धुन भएका गीत–सङ्गीत सुन्ने गरे भने गर्भभित्रको बच्चाले पनि त्यो सङ्गीत सुन्छ र उसको विकासमा सकारात्मक प्रभाव पर्छ।
जन्मिएपछि बच्चाको शीलस्वभावदेखि उसका आचरणमा समेत राम्रो प्रभाव पारेको पाइएको छ। नराम्रो सङ्गीत सुन्ने र राम्रो सङ्गीत सुन्ने गर्भवती महिलाले जन्माएका बच्चामा अन्तर हुन्छ। प्रि-म्याच्योर बच्चा जन्मेको छ भने उसले दूध नचुस्ने हुन सक्छ। सङ्गीतको साथमा दूध चुसायो भने बच्चाले राम्रोसँग दूध चुस्छ। यस्तो प्रकारको जादू छ- सङ्गीतमा।
सङ्गीतलाई अभिव्यक्तिको सबैभन्दा पुरानो माध्यम मानिन्छ, जसले मानिसको शारीरिक, मानसिक, धार्मिक र नैतिक पक्षलाई प्रभाव पार्छ। थुप्रै सङ्गीतज्ञ र मनोवैज्ञानिकहरूले मान्छेको सर्वाङ्गीण विकासका लागि सङ्गीत सशक्त माध्यम हो भन्ने कुरा स्वीकार गरिसकेका छन्। राम्रा सङ्गीतलाई उपयुक्त ढङ्गले प्रयोग गर्ने हो भने त्यसले मानव मनोविज्ञानमा असल प्रभाव पार्छ।
हामीलाई अप्ठेरो परेको, रोग लागेको र मानसिक तनाव भएको अवस्थामा सङ्गीत सुन्ने गरौं। सङ्गीतले हाम्रो स्वास्थ्यमा अत्यन्त सकारात्मक प्रभाव पार्छ।
(१९ चैत २०७६ मा प्रकाशित।)