अफगान युद्धका अभिघात
हुसैनीको विशेषता नै हो, अस्तव्यस्त राजनीतिक परिवेशबीच पनि मानवीय प्रेम र सम्बन्धका विविध आयामलाई उधिन्ने र मिहिन ढङ्गले केलाउने।
अमेरिकी सेनाको बहिर्गमनसँगै फेरि तालिबानको हातमा पुगेको छ अफगान-सत्ताको बागडोर। सन् १९९६ देखि २००१ सम्मको तालिबानी शासन क्रूरता, दमन र बर्बरताको पर्याय बन्यो। वामियानका बुद्धका मूर्ति भत्काइए। महिला शिक्षामा प्रतिबन्ध लाग्यो। गीतसङ्गीत, सिनेमा तथा अन्य मनोरञ्जनका गतिविधि बन्द भए। सामान्य घटनामा निर्मम पाराले कुटिए, मारिए सर्वसाधारण।
यसैले पनि तालिबानको पुनरागमनमा विचलित छन् आंशिक स्वतन्त्रताको स्वाद पाएका अफगानी। उनीहरूका विवशताका गाथा धेरै लेखिए, स्वदेशी तथा विदेशी जनबाट। काबुलमा जन्मे पनि अमेरिकामै शिक्षादीक्षा, बसाइ र कामकाजमा संलग्न खालिद हुसैनी अफगानी जीवनलाई नजिकबाट नियाल्ने र लिपिबद्ध गर्ने आख्यानकारका रूपमा अग्रस्थानमा छन्। यिनै हुसैनी फेरि पढिंदै छन् यतिखेर विश्वभर।
जाहिर शाहको शासनकालमा कूटनीतिक सेवामा प्रवेश गरेका हुसैनीका बाबु अफगानभूमिमा सोभियत हस्तक्षेपपछि शरणार्थीका रूपमा अमेरिका छिरे, सपरिवार। फलस्वरूप छोरा हुसैनी सानैदेखि अमेरिकी जनजीवनसँग अभ्यस्त बन्दै गए। अमेरिकाबाटै उच्च शिक्षा हासिल गरे, चिकित्सक बने, तर बिस्तारै लेखनतिर लहसिए। पहिलो उपन्यास दि काइट रनरमा उनकै जीवनको गाढा छाया देखिन्छ। अस्थिरता र द्वन्द्वको लामो र कहालीलाग्दो क्यानभास छ।
जाहिर शाहको शासन, सोभियत सेनाको प्रवेश र गणतन्त्र अफगानिस्तानको घोषणा, सोभियत बहिर्गमनसँगै उसैद्वारा समर्थित नजिबुल्लाह सरकारको स्थापना, अमेरिकाको समर्थनमा मुजाहिद्दीन विद्रोह र मुजाहिद्दीन सरकार सञ्चालन, बिस्तारै उनीहरूबीच विकसित आपसी शक्ति सङ्घर्ष र हिंसात्मक द्वन्द्व अनि तालिबानको उदय र सत्ता सञ्चालनसम्मको राजनीतिक समयावधिमा बुनिएको छ, दि काइट रनरको कथा।
कथावाचक आमीर र उसको बाबुबीचको सम्बन्ध तथा आमीर र उसको दौंतरी हसनबीचको सम्बन्धको उतारचढाव छ, उपन्यासको पहिलो खण्डमा। हसनको जीवन कष्टकर बनाउन प्रमुख भूमिका खेल्ने आमीर आफ्नै गल्तीको पीडामा रन्थनिन थाल्छ, पाको उमेरमा। यसैको प्रायश्चित्त स्वरूप हसनको छोरालाई लिन अमेरिकाबाट अफगानिस्तान पुग्दा उसले खाएका हन्डर र अन्य घटनावलीले बाबुछोराबीचको सम्बन्धको परिवर्तित आयाम सतहमा ल्याउँछ।
उपन्यासको नामबाटै अनुमान गर्न सकिन्छ- चङ्गा विशेष प्रतीकका रूपमा प्रयोग भएको छ। कथाको शुरूआतमा चङ्गाले आमीर र उसको बाबुको सम्बन्ध सहज बनाउँछ अनि अन्त्यमा पनि चङ्गाले नै आमीर र हसनपुत्र सोहरवबीचको चिसो सम्बन्ध आत्मीय बन्छ।
सुफी सङ्गीतको उद्गमस्थल मानिन्छ, अफगानभूमि। हाफेज, खैयाम, रुमी, जामी, सादी, वेदेल जस्ता अब्बल स्रष्टाहरूको भूमि हो, अफगानिस्तान। तर, गीत, सङ्गीत, सिनेमा, मनोरञ्जन प्रायः वर्जित रहने यो देशमा आम मान्छे मात्र होइन, शिक्षितहरू समेत कष्टकर जीवन बाँच्न विवश छन्।
उपन्यासमा विश्वविद्यालयका एक प्राध्यापक सडकमा कविता र सायरी सुनाउँदै भीख मागिरहेको दृश्यले लाक्षणिक रूपमा त्यही विदारक वर्तमान झल्काउँछ। हुसैनीको दोस्रो उपन्यास ए थाउजेन्ड स्प्लेन्डिड सन्सको निम्न अंशले अरू विदारक अवस्था ओकल्छ।
‘विश्वविद्यालय बन्द गरियो र विद्यार्थीहरूलाई घर पठाइयो। भित्ताका चित्रहरू च्यातिए, मेटाइए। टेलिभिजनका पर्दा फुटालिए। चाङका चाङ किताब जलाइए, कुरान बाहेक अरू कुनै नछोडी। किताब पसलहरू बन्द गरिए। खलिली, पज्वक, अन्सारी, हाजी देहक्वन, वेहताव, हाफेज, जामी, निजामी, रुमी, खैयाम, वेदेल र अरू थुप्रैका कविता धुवाँ बनेर आकाशमा उडे।’
ए थाउजेन्ड स्प्लेन्डिड सन्समा दुई प्रतिनिधि नारी पात्र मरियम र लैलालाई छानेका छन्, हुसैनीले। निरन्तरको द्वन्द्वमा साधारण अफगानी महिलाले भोगेका भयानक पीडा, सास्ती र ज्यादतीको कैरन हो, यो उपन्यास। नाजायज सन्तान मानिएकी मरियम र उसकी आमा नानाले झेलेको दुःख र अपमान अनि रसिदलाई साझा पति मान्न विवश मरियम र लैलाबीच अन्तमा स्थापित आमा-छोरी जस्तो सम्बन्धले यस उपन्यास नारीप्रधान बनेको छ। पुरुष लेखक भईकन पनि नारीका विरह र ऊहापोहको गहिराइसम्म पुगेर गरेको हुसैनीको उत्खनन बेजोड छ।
सन् १९५० देखि २००२ सम्मका राजनीतिक-सामाजिक उतारचढावको आलोकमा बुनिएका छन्, ए थाउजेन्ड स्प्लेन्डिड सन्सका गाथाहरू। निर्दयी र हिंस्रक पति रसिदले पितृसत्ता र धार्मिक कट्टरताको प्रतिनिधित्व गर्छ। मरियम र लैला जस्तै दोहोरो मारमा परेका छन्, कैयौं अफगानी महिला। सोभियत सेनालाई धपाएपछि सुख-समृद्धि भित्रिने आशमा बसेका अफगानीहरू मुजाहिद्दीनहरूबीचको आपसी सङ्घर्षबाट आजित छन्।
चङ्गा उडाउने प्रतिस्पर्धाले चर्चित काबुल शहरको आकाशे परिदृश्य पूरै बदलिएको छ, मुजाहिद्दीनको सत्तारोहणपछि। कथावाचकको यो वर्णनमा त्यही नमीठो परिवर्तन भेटिन्छ- ‘हिउँ पर्न थालेसँगै आकाशमा चङ्गा देखिने गर्थे। कुनै समय काबुलका हिउँदे आकाशमा आधिपत्य जमाउने चङ्गाको ठाउँ अहिले रकेट र लडाकू जहाजले ओगटेका छन्।’
हुसैनीको पछिल्लो उपन्यास एन्ड दि माउन्टेन्स् इकोभित्र पनि अफगानी अस्थिरताका असरहरू बाक्लै छन्, तर अघिल्ला दुई आख्यानमा जस्तो प्रत्यक्ष द्वन्द्वका कथाभन्दा त्यसका छिटा-बाछिटा छन् जसको विकेन्द्रीकरण भएको छ देश-देशावरसम्म। यही द्वन्द्वले अथाह दुःख झेलेको अब्दुल्लाहलाई पाकिस्तानको पेशावर हुँदै अमेरिका पुर्याउँछ। अब्दुल्लाहकी बहिनी परीलाई निःसन्तान वाहादाती दम्पतीले छोरीको रूपमा अपनाउँछन्। पछि आमासँगै पेरिस पुग्छे र अन्त्यमा दाजुको खोजीमा अमेरिका फर्कन्छे।
आम्रा, मार्कोस जस्ता धेरै विदेशीको ओइरो लाग्छ अफगानिस्तानमा, तालिबानको पतनपछि। बूढो नवीको हेरचाहमा रहेको परित्यक्त र जर्जर वाहादाती निवास ग्रीसेली नागरिक मार्कोसले पुनर्निमाण गर्छ। जीर्णचूर्ण अफगानिस्तान विदेशीहरूको उदारमन र सहयोगमा बौरिंदै छ भन्ने सन्देश प्रवाह गर्न खोजेका छन् हुसैनीले यहाँ। तर, यो आशा पनि यथार्थमा क्षणभङ्गुर ठहरिंदै छ, आम अफगानीका लागि।
एकातिर शासकवर्गमा मौलाएको चरम बेथिति र भ्रष्टाचार अनि अर्कोतर्फ अनन्त अभाव र गरीबीले आम जीवन अझ कष्टकर हुँदै छ। यूरोप, अमेरिका र एशियाका विविध भूगोलमा छरिएका छन्, द्वन्द्वग्रस्त अफगानिस्तानका केही निरुपाय जीवनहरू। सन् १९५२ देखि २०१० सम्मको पाँच दशकभन्दा बढी कालखण्डलाई समेटेर पछिल्लो अफगानी पुस्ताका सङ्घर्षगाथालाई राम्ररी कथिएको छ, यस एन्ड दि माउन्टेन्स् इकोभित्र।
यूरोप र अमेरिका पुगेका अफगानी सन्ततिहरू आ-आफ्ना जरा पहिल्याउँदै इष्टमित्र र नातेदारको खोजीमा भौंतारिएका छन्, यस उपन्यासभित्र। पुर्ख्यौली जमीन बेचबिखन गर्न अमेरिकाबाट अफगानिस्तान फर्केका तिमुर र इद्रिस दाजुभाइको क्षतविक्षत जन्मभूमिसँगको साक्षात्कारले भोगाइ र बुझाइको अर्को पाटो उघ्रिन्छ। पुर्ख्यौली सम्पर्कसेतुका रूपमा रहेको दाजु अब्दुल्लाहलाई भेट्ने झिनो आशाले परी पेरिसबाट अमेरिका पुग्छे।
अब्दुल्लाहले आफ्नी छोरीलाई भनेको यो संवादले पनि त्यही अफगानी जरामोहको भनक दिन्छ : ‘तिम्रो इतिहास, तिम्रो उद्गम बुझनु जरुरी छ। कहाँबाट तिम्रो जीवन शुरू भयो, त्यो जान्नु आवश्यक छ। अन्यथा, आफ्नो जीवन नै अवास्तविक लाग्नेछ तिमीलाई- नसुल्झिएको एउटा रहस्य जस्तो। कथाको प्रारम्भ छुटेर मध्यभागबाट अर्थ खोज्ने जमर्को गरे जस्तो।’
पस्तुन जातिको बाहुल्य छ, अफगानिस्तानमा। ताजेक, उज्वेकहरू पनि उल्लेख्य सङ्ख्यामा छन्, तर हजारा अल्पसङ्ख्यकमा पर्छन्। दुर्भाग्य, उनीहरूबीचकै जातीय द्वन्द्वले अफगानिस्तानलाई अस्थिरताको भुमरीमा धकेलेको छ। मसुद, दोस्तम, हेक्मत्यार यस्तै जातीय नेताहरू थिए, जो सधैं एकआपसमा लडिरहन्थे।
दि काइट रनरमा हसन तथा उसको परिवारलाई हजारा जाति भएकै कारण निरन्तर अपमान गरिएको छ। अन्ततः हसन, उसकी पत्नी अनि उसको बाबु अली तालिबानबाट मारिन्छन्। तालिबान नेता आतेफ यसलाई जातीय सफाया भनेर उद्घोष गर्छ। ए थाउजेन्ड स्प्लेन्डिड सन्सको एक पात्र रसिदको यो आक्रोश उत्तिकै सान्दर्भिक छ, ‘पस्तुन, ताजेक, उज्वेक, हजाराहरू एकअर्कालाई सिध्याउँदै छन्। अमेरिकीबाट सहयोगको आश नगरे पनि हुन्छ। सोभियत सेना स्वदेश फर्केपछि अमेरिकीका लागि हामी केही कामका रहेनौं। उनीहरूका लागि त अफगानिस्तान फगत एक पाइखाना न हो।’
राजनीतिक द्वन्द्वको छायामुनि अफगानी सामाजिक तथा सांस्कृतिक जनजीवनका विविध आयाम समेटिएका छन्, हुसैनीका उपन्यासमा। हरेक समाजमा पाहुना सत्कार र आतिथ्यमा परिकारको अग्रणी स्थान रहन्छ नै। हलाल गरिएको भेडाको मासुको कबाबको विशेष चर्चा गरेका छन् उनले।
अफिमको अवैध व्यापार अफगानी युद्ध अर्थतन्त्रको मूल आधार मानिन्छ। हरेक शासनकालमा जारी द्वन्द्व मौलाउनु र अशान्ति बढ्नुमा देशभित्र र बाहिर समेत निर्बाध भइरहेको अफिमको कारोबार मान्छन्, स्यान्डी गल आफ्नो किताब वार अगेन्स्ट दि तालिबानमा। उनी अगाडि थप्छन्, ‘तालिबान आतङ्क र अफिम व्यापारको गहिरो सम्बन्ध छ, यी दुई विषयलाई छुट्ट्याएर हेर्न सकिंदैन।’
यो पक्षमा भने हुसैनीका आख्यानहरू चुकेका छन्, सतही रूपमा मात्र उल्लेख गरिएको छ, अफिम र युद्धको जेलिएको गठजोडलाई। उनका आख्यानमा देखिने अर्को कमजोरी हो- अमेरिकाको मधुरो स्वरमा विरोध।
जगजाहेर छ, सोभियत सङ्घसँग जुध्न मुजाहिद्दीन जन्माउने अमेरिका थियो। सन् २००१ को सेप्टेबर ११ मा अलकायदाले अमेरिकाको न्यूयोर्कस्थित ट्विनटावरमा आक्रमण गरेपछि बिन लादेनको खोजीमा अफगानिस्तान पसेको अमेरिका एउटा समूहलाई उचाल्ने र अर्को समूहलाई पछार्ने गर्दै अफगानिस्तानलाई अरू अस्थिर र अझ् जीर्णविदीर्ण तुल्याउन लागिपर्यो। तर, हुसैनी पात्रहरू मार्फत सोभियत हस्तक्षेप नै अफगान दुर्दशाको प्रमुख कारण बताउँछन्, किटानीसाथ।
अनि तालिबान शासनको उछित्तो काढ्छन्। तर, अमेरिकी हस्तक्षेप र त्यसपछिका निरन्तर अस्थिरतामा अमेरिकाको भूमिकामा उनी आक्रामक देखिंदैनन्। तिनै वटा उपन्यास यो दृष्टिदोषबाट मुक्त छैनन्। कतिपय प्रसङ्गमा त अमेरिकी उपस्थिति र सहयोगको अतिरिक्त महिमा मण्डन समेत गरिएको छ।
राजनीतिक द्वन्द्वको छायामुनि अफगानी सामाजिक तथा सांस्कृतिक जनजीवनका विविध आयाम समेटिएका छन्, हुसैनीका उपन्यासमा। हरेक समाजमा पाहुना सत्कार र आतिथ्यमा परिकारको अग्रणी स्थान रहन्छ नै। हलाल गरिएको भेडाको मासुको कबाबको विशेष चर्चा गरेका छन् उनले।
साथै, कोफ्ता, कोर्मा, नान, वोलानी लगायतका परिकारको प्रसङ्गले समृद्ध अफगान खाद्य संस्कृति झल्किन्छ। पाकोल, चपन जस्ता जातीय टोपी, फेटा, अनि अधिकांश अफगानी पुरुषले लगाउने ह्वार्लाङह्वार्लाङ परेको दौरा-सुरुवाल (पिरहान तुम्वन) मात्र होइन, महिलाका बुर्का, काफिए तथा अन्य कपाल ढाक्ने वस्त्रहरूको सजीव वर्णनले पहिरनका विविधता र विवशता दुवै उजागर हुन्छ।
हुसैनीको विशेषता नै हो, अस्तव्यस्त राजनीतिक परिवेशबीच पनि मानवीय प्रेम र सम्बन्धका विविध आयामलाई उधिन्ने र मिहिन ढङ्गले केलाउने। पात्रहरू पीडामा हुन्छन्। अनवरत युद्ध चर्किरहेको हुन्छ। गोलाबारी, विस्फोटन, तहसनहसले बाँची बसेकाको जीवनकथा पनि पीडाग्रस्त नै हुन्छ।
विभिन्न जातिको बसोबास रहेकाे भए पनि अफगानी जनता अरू मुस्लिम देशमा जस्तै धार्मिक रूपले सुन्नी र सियामा बाँडिएका छन्। भेटघाट, समारोह, बिहे, अन्त्येष्टि जताततै यी विविधता झल्किन्छ, जसले विभेद, उँचनीच, विवादसँगै कालान्तरमा विग्रहको बीजारोपण समेत गरेको देखाउँछन्, हुसैनी। नेपाली जनजिब्रोमा अभ्यस्त केही शब्दका आदिस्रोत अफगान भूमिमा प्रचलित फारसी भाषा रहेछ भन्ने थाहा लाग्दा सुखद पठन अनुभूति मिल्छ।
आफ्नो थातथलो र परिचित ठाउँ छोडेर अनिश्चित भविष्य र अपरिचित भूगोलमा शरणापन्न बन्नु युद्धले निम्त्याएको नियमित बाध्यता हो, धेरै अफगानीका हकमा। विशेष गरी त्यहाँको हजारा जाति यो नियतिको निरन्तर शिकार बनिरहेछ। न्यूयोर्क टाइम्सको हालैको एउटा रिपोर्टिङमा पाकिस्तानका विभिन्न शिविरमा पुगेका अफगानी शरणार्थीमा हजाराको सङ्ख्या धेरै रहेको उल्लेख छ।
यही विस्थापनका पीडा छरपष्ट छन्, हुसैनीका तीनवटै आख्यानमा- चाहे दि काइट रनरका फरिद र उसको परिवार हुन्, या ए थाउजेन्ड स्प्लेन्डिड सन्सका लैला र तारेख हुन्, या एन्ड दि माउन्टेन्स् इकोका अब्दुल्लाह र परी। मजिद मजिदीको सिनेमा वरामले देखाए झैं मारिने डरले बिरानो गन्तव्यमा गुमनाम बाँच्न र कहर झेल्न विवश छन्, कैयौं अफगानीहरू। पाकिस्तान र इरानमा मात्र होइन, ज्यान हत्केलामा राखेर यूरोप-अमेरिका समेत छिर्न प्रयासरत छन्, उनीहरू।
हुसैनीको विशेषता नै हो, अस्तव्यस्त राजनीतिक परिवेशबीच पनि मानवीय प्रेम र सम्बन्धका विविध आयामलाई उधिन्ने र मिहिन ढङ्गले केलाउने। पात्रहरू पीडामा हुन्छन्। अनवरत युद्ध चर्किरहेको हुन्छ। गोलाबारी, विस्फोटन, तहसनहसले बाँची बसेकाको जीवनकथा पनि पीडाग्रस्त नै हुन्छ।
तर, त्यही अस्तव्यस्त दैनिकीबीच बिस्तारै प्रेम अङ्कुरण हुन्छ। जीवनका अन्य रङ्ग थपिन्छन्। आशाका किरण उदाउँछन्, दूर क्षितिजमा कतै। प्रतिकूलतामाझ पनि आम अफगानीले भविष्य प्रति झिनो आशा सँगालेर भने जस्तै- जेन्दगी मिग्जारा। अर्थात्, जीवन चलिरहन्छ।