नवनियुक्त मन्त्री हमालले दिए राजीनामा
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए। प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन्।
विभिन्न सञ्चार माध्यममा आएका समाचार र कानूनविद्हरूले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गरेको बताएका छन्।
“सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसका विभिन्न पदहरूमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मूल्याङ्कन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु,” हमालले राजीनामा पत्रमा भनेका छन्।
उनले भनेका छन्, “हाल विभिन्न सञ्चार माध्यममा सम्प्रेषित समाचार तथा कानूनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकीकरणको सिद्धान्तका लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ। तर, पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु।”