हुलाकबाट अब राहदानी
अहिलेसम्म हुलाकबाट चिठी आउने गरेका थिए, अब भने हुलाकीले घरघरमा राहदानी पुर्याउने भएका छन्।
दुई महीना अघि कोभिड-१९ विरुद्धको खोप भएको बाकसलाई खोला तारिरहेको भिडियो भाइरल बन्यो। त्यो देख्दा भने जिल्ला हुलाक कार्यालय, ललितपुरमा कार्यरत राजेन्द्र पाण्डेलाई दुई दशक अघिको झझल्को आयो।
“मैले पनि त्यसैगरी बाढी आइरहेको खोला तारेको थिएँ,” पाण्डे भन्छन्। त्यति वेला उनले खोप होइन, चिठी तारेका थिए।
२०६३ सालमा उनी ललितपुरको भट्टेडाँडामा चिठी बोकेर हिंडेका थिए। बर्खाको याम बाढी आयो। खोला तर्न सकेनन्। त्यसपछि चिठीले भरिएको झोला बाँसको ढुङ्ग्रोमा हालेर खोला पारि फालेका थिए।
कति ठाउँ साइकलमा त, कति ठाउँ पैदल हिंडेर चिठी पुर्याएका छन्। “पुरानो झोलाभरि चिठी हुन्थे। साइकलमा दिनभरि घरघरमा पुर्याउँदा पनि सकिंदैनथे,” उनी भन्छन्, “अब त्यो जमाना रहेन।”
२५ वर्षदेखि हुलाक सेवामा कार्यरत पाण्डे पछिल्लो समय भने काममा रमाउन सकेका छैनन्। किनकि, अचेल उनलाई कोही कुरेर बस्दैन। “पहिला कति वेला हुलाकी आउँछन् भनेर मानिस पर्खेर बस्थे। बेग्लै सम्मान गर्थे,” उनी भन्छन्।
हल्कारा भएर उनले उपत्यकाका सबै स्थानमा चिठी पुर्याएका छन्। त्यति वेला घरघरमा चिठी पुर्याउँदा पाइने सम्मान त अहिले छैन, बरु उल्टै प्रश्न सुन्छन्। “पहिले जस्तो छैन। अहिले त हुलाकमा काम गर्छु भन्दा पनि अझै हुलाकको काम हुन्छ र भन्छन्,” पाण्डे सुनाउँछन्।
झापाको गौरादहका मधु आचार्यको अनुभव पनि उस्तै छ। ७० वर्षीय आचार्यलाई अहिले त दमले च्यापेको छ। ५८ वर्षसम्म जिल्ला हुलाक कार्यालय, झापामा हुलाकी भएर काम गरेका उनी त्यो वेलाको कामको रौनक भुल्नै नसकेको बताउँछन्।
“बाटोमा हिंड्दा सबैले नमस्कार गर्थे। घरमा चिठी पुर्याउँदा सम्मान गर्थे, खाना खुवाएरै पठाउँथे,” आचार्य भन्छन्, “तर, अहिले त खै चिठी लेख्ने जमाना गइगयो।”
त्यो जमानामा चिठी मार्फत नै खबर आदान-प्रदान गरिन्थ्यो। त्यसकै लागि राणा प्रधानमन्त्री रणोदिपसिंहबहादुर राणाले १९३५ सालमा नेपाल हुलाक घरको स्थापना गरेका थिए। र, नेपालमा हुलाक सेवाको प्रारम्भ भएको थियो।
त्यसको ९५ वर्षपछि २०३० सालमा नेपालले विश्व हुलाक संघको सदस्यता प्राप्त गर्यो। यससँगै नेपाल अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँचमा पुग्यो।
चिठीपत्र ओसारपसारमा मात्रै केन्द्रित हुँदै आएको हुलाक सेवाले पछिल्लो केही वर्षदेखि भने अन्यत्र पनि हात बढाउन थालेको छ। सूचना प्रविधिको विकाससँगै आफूलाई स्तरोन्नति गर्ने प्रयासमा छ।
अहिले हुलाक बचत ब्याङ्क, धनादेश, ईएमएस, उपत्यकामा घुम्ती सेवा, ट्र्याकिङ सेवा लगायतका आधुनिक सेवा सञ्चालन गरिरहेको छ। तैपनि, जनताको पहुँचमा हुलाक पुग्न नसकेको जिल्ला हुलाक कार्यालय, ललितपुरका प्रमुख दिलकाजी शाक्य बताउँछन्। “हुलाकको सान र मान खस्कँदो छ। प्रविधिले गर्दा चिठी लेखेर पठाउने जमाना पनि रहेन,” शाक्य भन्छन्।
उनका अनुसार, व्यक्तिगत चिठी पठाउने सेवा त ठप्प जस्तै भएको छ। हुलाकी सेवा प्रभावकारी बनाउन ल्याएको हुलाक बचत ब्याङ्क पनि उपयोग विहीन बन्दै गएको छ। “वर्ष दिनदेखि ललितपुरको हुलाक कार्यालयमा बचत ब्याङ्कमा खाता खोल्ने एक जना पनि छैन,” उनी भन्छन्।
२०६१ सालसम्म नेपाल दूरसञ्चारको मात्र इन्टरनेट पहुँचमा थियो। त्यसपछि अन्य कम्पनी आए। संसारसँगै नेपालमा पनि प्रविधिको विकासले हुलाकको प्रयोग सरकारी कामकाजमा मात्र सीमित बनायो।
यसरी हुलाकी सेवाको प्रभाव कम हुँदै जानुमा यसको प्रचार गर्नै नजान्नु र निजी संस्थाहरूले उनीहरूको सेवा प्रभावकारी बनाउनु रहेको शाक्य स्वीकार गर्छन्।
प्रविधिले फड्को मारे पनि अझै हुलाकको आवश्यकता रहेको हुलाक सेवा विभागका यज्ञराज भट्ट बताउँछन्। केही निश्चित काममा हुलाकको आवश्यकता रहेको बताउँदै उनी भन्छन्, “सर्वोच्च अदालतका मुद्दाका कागजात, ब्याङ्कका कागजात, सक्कल फाइल चाहिने कामकाजी कागजात लगायतलाई हुलाक सेवा नभई हुँदैन।”
यसमा पनि केही निजी कम्पनी आएका छन्। उनीहरूको चुस्तताले हुलाक सेवालाई प्रभाव पारिरहेको शाक्य बताउँछन्। निजी कम्पनीको व्यापकताले पनि असर परेको उनी सुनाउँछन्। शाक्य भन्छन्, “हुलाक सेवाको ईएमएस सेवा कतार, मलेसिया, दुबई र भारतमा मात्र छ भने निजी कम्पनीको पहुँच विश्वका सबै देशमा छ। यही अन्तरले फरक पर्छ।”
हुलाक सेवाको स्तरोन्नतिमा सरकारी बेवास्ताले पनि असर पारेको उनी गुनासो गर्छन्। “बजेट आउँदैन। काम गर्न बजेट माग्दा पनि दिंदैनन्,” जिल्ला हुलाक कार्यालय, ललितपुरका प्रमुख शाक्य भन्छन्, “मुसाले कागजपत्र काटिरहेको छ। कागजपत्र राख्ने दराज खरीदका लागि विभागमा जानकारी गराउँदा पनि वास्तै गरेका छैनन्।”
विभागका निर्देशक भट्ट अब देशभरका हुलाक कार्यालयको स्तरोन्नति गर्न लागिएको बताउँछन्। यसको पुनःसंरचनाका लागि यस वर्षको बजेटमा व्यवस्था गरिएको उनको भनाइ छ। “अब हामी नयाँ संरचनाको विकास र कामलाई चुस्त बनाएर अघि बढ्नेछौं, मान्छेलाई हुलाक सेवा लिन आकर्षित गर्नेछौं,” उनी भन्छन्।
नयाँ योजना सहित हुलाकको नयाँ सेवा शुरू भइसकेको उनी बताउँछन्। “चिठी मात्रै होइन, राहदानी पनि ढुवानी कार्यक्रम थालेका छौं,” उनी भन्छन्।
हुलाक सेवा विभागले १ असोजबाट यो कार्यक्रम लागू गरेको छ। अहिले जिल्ला-जिल्लामा ढुवानी भइरहेको बताउँदै उनी भन्छन्, “अब चाँडै घरघरमा राहदानी आउनेछन्।”
त्यस्तै, प्रविधिको प्रयोग गरी सेवाग्राहीकै घरसम्म पार्सल पुर्याउने गरी सेवा विस्तार गरिन लागेको छ। यसलाई छिटो र प्रभावकारी बनाउन हुलाकले डाँक सेवा पुनरावलोकन गर्ने तयारी गरेको निर्देशक भट्ट बताउँछन्।
त्यस्तै, ई-कमर्शबारे पनि छलफल भइरहेको छ। हुलाक सेवा स्वायत्त नहुँदा पनि समस्या भएको बताउँदै उनी भन्छन्, “अब पुरातन शैलीमै चलेर हुँदैन, हुलाक सेवालाई आधुनिकीकरण गर्नुको विकल्प छैन।”