ईपीएलमा चितवन बन्यो च्याम्पियन
चितवन टाइगर्स चौथो एभरेस्ट प्रिमियर लिग (ईपीएल)को च्याम्पियन बनेको छ।
शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै चितवनले ईपीएलको उपाधि जितेको हो। पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको छ।
चितवनका लागि भीम सार्कीले ४५ बलमा दुई छक्का र सात चौका प्रहार गर्दै ६३ रन बनाए। त्यस्तै, दिलीप नाथले १८, राजेश पुलामीले १४, मोहम्मद सैजादले ११ र सोमपाल कामीले चार रन बनाए।
पोखराका लागि किशोर महतोले चार र नन्दन यादवले दुई विकेट लिए।
यस अघि ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्रै बनाउन सक्यो। पोखराका लागि असेला गुणरत्नेले ३४, रिचार्ड लेभीले २६, विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
चितवनका लागि कमल ऐरीले चार, करिम जनत र सिकुज प्रसन्नाले दुई–दुई तथा सोमपाल कामी र सागर ढकालले एक–एक विकेट लिएका थिए।
फाइनल खेलमा कमल ऐरी प्लेयर अफ द म्याच भएका छन्। त्यस्तै, सागर ढकालले प्लेयर अफ द सिरिजको उपाधि जितेका छन्।