बागमतीमा अब को बन्ला मुख्यमन्त्री?
अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले विश्वासको मत नपाउने देखिएपछि बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री चयनका लागि गृहकार्य शुरू भएको छ।
संघीय सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै बागमतीमा नयाँ मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी)ले गृहकार्य थालेको हो। संघीय सरकारमा सत्तारूढ दलबीच भागबण्डा मिलेसँगै बागमतीमा दाबेदार रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीको दौडबाट बाहिरिएका छन्।
अब बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेको सम्भावना बलियो बनेको छ। सत्ता गठबन्धनमा रहेका दलबीचको सहमति अनुसार, बागमती र प्रदेश १ मा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने भएको छ।
यो सहमतिसँगै बागमतीमा पाण्डेले मुख्यमन्त्री चयनका लागि गृहकार्य थालेको जनाएको छ। एकीकृत समाजवादी संसदीय दलले दुई साता अघि नै आफ्नो नेतृत्वमा सरकार गठनका लागि अन्य दलसँग समन्वय गर्न पाण्डेलाई नै जिम्मेवारी दिएको थियो।
२ भदौमा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनसँगै अल्पमतमा परेकी छन्। ५५ जना प्रदेश सभा सदस्यमध्ये १३ जना एकीकृत समाजवादीमा गएका छन्।
मुख्यमन्त्रीले नेतृत्व गरेको दल विभाजन भएमा प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसकै आधारमा विश्वासको मत लिन २४ असोजमा प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ।
त्यसका लागि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव पेश गरेकी छन्। मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले विश्वासको मत लिनका लागि शुक्रबार प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई प्रस्ताव बुझाएका छन्।
शाक्यले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्न सूचना गरेको उल्लेख गरेकी छन्।
११० सदस्यीय बागमती प्रदेश सभामा अहिले १०९ सदस्य छन्। बहुमतका लागि ५५ सदस्यकाे समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री शाक्यको पक्षमा अहिले एमालेका ४३ जना सांसद मात्रै देखिएका छन्।
अहिले प्रदेश सभामा एमालेका ४३, नेकपा (माओवादी केन्द्र) का २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदूर किसान पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सांसद छन्।
यस अनुसार, विपक्षी गठबन्धनमा भने स्पष्ट बहुमत देखिएको छ। कांग्रेस, माओवादी र एकीकृत समाजवादीका गरेर ५८ सांसद छन्।
यो महीनाभित्रै नयाँ सरकार गठन गर्ने तयारी भइरहेको विपक्षी गठबन्धनका एक नेताले बताए। प्रदेश सभामा विश्वासको मत असफल हुने बित्तिकै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइने भएको छ।