नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। त्यस्तै, राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका छन्।
आज विस्तारित मन्त्रिपरिषद्मा राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला र देवेन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै, महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, रामकुमारी झाँक्री शहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूद मन्त्री बनेका छन्।
प्रधानमन्त्री देउवा समक्ष नवनियुक्त राज्यमन्त्रीद्वय भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुख, मुख्यसचिव, प्रधान सेनापति लगायतको उपस्थिति थियो।
समारोहमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेता उपस्थित थिए।
नवगठित मन्त्रिपरिषद्मा ११ जना नयाँ अनुहार आएका छन्। २९ असारमा गठन भएको देउवा नेतृत्वको सरकार आज चौथो पटक विस्तार भएको हो। सरकार गठन भएकै दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई/दुई जना मन्त्री भएका थिए। स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र पछिल्लो पटक परराष्ट्र मन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको थियो।
मन्त्रिपरिषद्मा कांग्रेसका तर्फबाट एक राज्यमन्त्री सहित नौ, माओवादीका तर्फबाट एक राज्यमन्त्री सहित ६, एकीकृत समाजवादीका तर्फबाट एक राज्यमन्त्री सहित पाँच र जनता समाजवादीका तर्फबाट चार मन्त्री छन्।
पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई समर्थन गर्ने भएको छ। नवगठित मन्त्रिपरिषद्मा ६ जना महिला छन्।