विद्यार्थी संगठन: दलका कारिन्दा कि परिवर्तनका संवाहक?
विद्यार्थी सङ्गठनहरू सधैं राजनीतिक दलको कारिन्दाका रूपमा मात्रै सीमित रहने वा साँच्चिकै परिवर्तनको संवाहक बनेर राजनीतिक संस्कृति सुदृढ गर्नतर्फ लाग्ने?
असोज तेस्रो साता सम्पन्न अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनमा सभाहल तोडफोडदेखि दलका नेताले अध्यक्ष चयन गरेको विषय समाचारमा आए। प्रायजसो विद्यार्थी सङ्गठनहरूको नेतृत्व चयनमा पार्टीका नेताहरूको संलग्नता वा निर्णायक भूमिका सामान्य बनिसकेको छ। विद्यार्थी सङ्गठनहरूको नेतृत्वमा राजनीतिक दलहरूको विशेष चासोले भ्रातृ सङ्गठनहरू, विशेष गरी विद्यार्थी सङ्गठनसँग माउ पार्टीको सम्बन्धको प्रकृति दर्शाउँछ।
वर्तमान राजनीतिको गति र दिशाको परिप्रेक्ष्यमा विद्यार्थी राजनीतिको स्थानलाई बुझ्न १० वर्ष पुरानो अध्ययन हेर्दा केही कुरा सान्दर्भिक लागेर यो लेख लेख्दै छु। सन् २०१० मा स्नातकोत्तर गर्दा नेपालको राजतन्त्रदेखि गणतन्त्रको यात्रामा युवाहरूको भूमिकाका बारेमा उक्त अध्ययन गरिएको थियो।
अध्ययनका क्रममा त्यस वेलाका प्रमुख तीन दलसँग सम्बद्ध विद्यार्थी सङ्गठन र युवा सङ्गठनहरूका नेता, राजनीतिक दलका नेता र राजनीति बिट हेर्ने पत्रकारसँग अन्तर्वार्ता गरिएको थियो। जसमा युवाहरूको भूमिका तथा विद्यार्थी सङ्गठन र माउ पार्टीहरूको सम्बन्धबारे केही बुझ्ने प्रयास गरिएको थियो l
नेपालमा गणतन्त्रको मुद्दा उठानको श्रेय माओवादी आन्दोलनलाई जान्छ, तर शहरी क्षेत्रमा र मूलधारमा गणतन्त्रको अवधारणालाई बहसमा ल्याउन र लोकप्रिय बनाउने श्रेय विद्यार्थी राजनीतिलाई जान्छ भन्दा अत्युक्ति नहोलाl मुख्य राजनीतिक दलहरूले गणतन्त्रबारे औपचारिक रूपमा बहस गर्ने आँट नगरेको वेला तिनकै विद्यार्थी सङ्गठनहरू दलको निर्देशन विपरीत गणतन्त्रको मुद्दाको संवाहक बनेका थिएl नेपालमा गणतन्त्रको सान्दर्भिकतामा जनसुनुवाइ गर्ने, शैक्षिक संस्थाहरूमा गणतन्त्र र राजतन्त्रबीच जनमत सङ्ग्रह गराउनेदेखि राजद्रोहको मुद्दा खेप्ने लगायत कार्यमा रहेर देशको शासकीय प्रणालीको परिवर्तनमा एक दिशा निर्देशकका रूपमा विद्यार्थी सङ्गठनहरूको यो भूमिका निकै निर्णायक मानिन्छl
सङ्कटको घडीमा अघि सर्ने तर प्रणालीलाई संस्थागत गर्ने कुरामा चुपचाप बसी मातृ पार्टीको छत्र-छायामा हराउने विद्यार्थी सङ्गठनहरूको प्रवृत्ति देखिन्छ।
तर, एक दशक अघि र देशमा सङ्कटको समयमा एकदमै महत्त्वपूर्ण भूमिका खेल्ने विद्यार्थी राजनीतिको योगदान अन्य वेला चाहिं देखिंदैनl सङ्कटको घडीमा अघि सर्ने तर प्रणालीलाई संस्थागत गर्ने कुरामा चुपचाप बसी मातृ पार्टीको छत्र-छायामा हराउने विद्यार्थी सङ्गठनहरूको प्रवृत्ति देखिन्छ। राजनीतिमा पुरानो पुस्ताले जीवन पर्यन्त कुर्सीको मोह नत्याग्दा युवाले अवसर नपाएर नेपाली राजनीति जनमुखी हुन नसकेको आम धारणा छ।
तर, युवा पुस्ता आउने बित्तिकै राजनीतिमा कायापलट भइहाल्छ र देशको मुहार नै फेरिन्छ भन्ने अपेक्षा अहिलेको सन्दर्भमा असम्भव सपना झैं देखिन्छ। किनकि, युवा पुस्ताका आशलाग्दा नेता भनेर चिनिएकाहरूको प्रस्तुति हेर्दा नेतृत्व नभई संस्कार परिवर्तन महत्त्वपूर्ण रहेछ भन्ने छनक मिल्छ।
आन्दोलनको अग्रपंक्तिमा रहेर आफ्नो पहिचान बनाएका विद्यार्थी सङ्गठनहरूको क्षमता आफ्नो (शैक्षिक) क्षेत्रमा उल्लेखनीय नदेखिनुले पनि युवा पुस्ताबाट कुशल नेतृत्वको आश राख्ने ठाउँ नरहेको देखाउँछ। लामो इतिहास भएको विद्यार्थी राजनीतिले हाम्रो प्राज्ञिक कर्ममा वा पठनपाठनको संस्कृति विकासमा खासै भूमिका खेलेको देखिंदैनl
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्ने विद्यार्थी सङ्गठनहरू विश्वविद्यालयमा भागबन्डाको राजनीतिले पर्ने दीर्घकालीन असरबारे मौन रहन्छन्l शैक्षिक संस्थाहरूको नाम विदेशी भएकोमा आपत्ति मान्ने उनीहरूले सरकारी विद्यालय वा क्याम्पसको शैक्षिक गुणस्तर कस्तो हुनुपर्ने र कसरी स्तरोन्नति गर्नेबारे खासै चासो राखेको पाइँदैन।
विद्यार्थी सङ्गठनहरू कोभिड-१९ महामारीको वेला शैक्षिक क्षेत्रका चुनौतीहरू सामना गर्न सरोकारवालाहरूसँग न त बहसमा छन् न त कुनै निश्चित अवधारणा अगाडि सार्न सकेका छन्।
विद्यार्थी सङ्गठनहरू कोभिड-१९ महामारीको वेला शैक्षिक क्षेत्रका चुनौतीहरू सामना गर्न सरोकारवालाहरूसँग न त बहसमा छन् न त कुनै निश्चित अवधारणा अगाडि सार्न सकेका छन्l शिक्षामा आफ्नो माउ पार्टीको अवधारणा र दीर्घकालीन योजना कस्तो हुने भनेर सुसूचित गर्ने विषय विद्यार्थी सङ्गठनहरूको प्राथमिकतामा परेकै देखिंदैन।
यी केही प्रतिनिधि उदाहरण मात्र हुन्l विद्यार्थी राजनीतिको आफ्नो क्षेत्रमा मौनता र अकर्मण्यता बुझ्न आफूले आस्था राख्ने माउ पार्टी र विद्यार्थी सङ्गठनबीचको सम्बन्धबारे बुझ्न जरुरी छl राष्ट्रिय राजनीतिमा आउने धेरै तरीकामध्ये विद्यार्थी राजनीति एउटा प्रमुख बाटो हो। हालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा आएका हुन्।
दश वर्ष अघिको अध्ययनमा विद्यार्थी राजनीति किन जरुरी छ भनेर सोध्दा विद्यार्थी नेताहरूको बुझाइ थियो- विद्यार्थी सङ्गठनहरू परिवर्तनका संवाहक र समय सापेक्ष हुने भएकाले राजनीतिक दललाई चुस्त राख्न र आम जनतासँग जोडिराख्न सेतुको भूमिका निर्वाह गर्ने भएकाले निकै महत्त्वपूर्ण छन्l साथै, लोकतन्त्र जोगाउने अभिभारामा विद्यार्थीहरू लागिपरेको ठम्याइ पनि उनीहरूको थियोl
२०६२/६३ को आन्दोलनपछि भर्खरै व्यवस्था परिवर्तन भएको तत्कालीन स्थितिमा विद्यार्थी नेताहरूको यी अभिव्यक्तिहरूले विद्यार्थी राजनीतिको महत्त्व र योगदानलाई उजागर गरेको थियो। तर, व्यवस्था परिवर्तन गर्ने र संस्थागत गर्ने विषय फरक रहेको कुरामा विद्यार्थी सङ्गठनहरूको ध्यान गएको देखिएनl विकासको गति धिमा भएको भनेर चिन्तित विद्यार्थीहरूको विकासको बुझाइ के-कस्तो हो र मापन के हो भन्नेबारे प्रष्ट धारणा पनि रहेको पाइँदैनl विद्यार्थीले कल्पेको विकासको गति सर्वसुलभ शिक्षा र स्वास्थ्यमा पहुँचले प्रतिविम्बित गर्छ या “भ्युटावर र कङ्क्रिटका संरचना”को विकासका प्रवृतिले गर्छ भन्ने प्रश्न पनि अनुत्तरित छl
कहिले राणा विरुद्ध त कहिले राजा विरुद्ध लडेर लोकतन्त्र जोगाउनुपरेको कुरामा दुई मत नभए पनि लोकतान्त्रिक व्यवस्थाको मूल मर्म जोगाउने कार्य हरेक दिनको अभ्यास हो भन्ने बुझाइ राजनीतिक दलहरूसँगै विद्यार्थी सङ्गठनहरूमा पनि कम देखियो।
अर्को पेचिलो विषय, लोकतन्त्रबारेको बुझाइ होl कहिले राणा विरुद्ध त कहिले राजा विरुद्ध लडेर लोकतन्त्र जोगाउनुपरेको कुरामा दुई मत नभए पनि लोकतान्त्रिक व्यवस्थाको मूल मर्म जोगाउने कार्य हरेक दिनको अभ्यास हो भन्ने बुझाइ राजनीतिक दलहरूसँगै विद्यार्थी सङ्गठनहरूमा पनि कम देखियो। जननिर्वाचित सरकार हुनु लोकतन्त्रको एक प्रमुख सूचक हो, तर यो व्यवस्थाको सुनिश्चितता त्यतिले पुग्दैन भन्ने कुरा हामीले पछिल्लो एक दशकदेखि भोगिरहेका छौंl
लोकतन्त्रको यस मर्मको रक्षा गर्न राजनीतिक पार्टीहरूको सोचमा आमूल परिवर्तनको खाँचो छ l २०६२/६३ को जनआन्दोलन अघि दलहरूले गर्ने विरोधका कार्यक्रममा जनसहभागिता न्यून रहँदै गर्दा कुनै एक वेला दलका नेताहरूले आफूहरूले जनताका कुरामा ध्यान नदिएकोमा माफी माग्दै भुल सुधार गर्ने प्रण पनि गरेका थिएl तर, सत्ताको नजिक पुग्दै गर्दा जनताबाट टाढिएको महसूस नगर्ने दलहरूलाई विद्यार्थी राजनीतिले प्रश्न नगर्ने वा घचघच्याउन ध्यान नदिने प्रवृत्तिका कारण विद्यार्थी सङ्गठनहरूकै लोकतन्त्रको बुझाइ र यसको रक्षा गर्ने प्रतिबद्धतामा प्रश्न उठेको छl
अध्ययनका क्रममा विद्यार्थी सङ्गठन र पार्टीको सम्बन्धमा प्रश्न सोध्दा दलका एक नेताले भनेका थिए, “राजनीतिक दलहरू कमजोर रहेका वेला विद्यार्थी सङ्गठनहरू अगाडि आउँछन् र दलहरू बलियो भएका वेला सङ्गठनहरू पछि पर्छन्l” अति सामान्य रूपले बुझ्दा आन्दोलनको माहोलमा यो बुझाइले काम गरे पनि पार्टी र सङ्गठनबीचको यो सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न लाग्नुपर्ने देखिन्छl
विद्यार्थी सङ्गठनहरूले दलहरूलाई मार्गनिर्देशन गर्ने रूपमा आफ्नो स्थान देखाए पनि दलहरू सत्ताको वरपर रहँदा सङ्गठनहरूको कुरा खासै सुनिंदैन। विडम्बना चाहिं, सङ्गठनहरूले त्यस्तो परिस्थितिलाई विचार गरी आफ्नो स्थान बलियो बनाउनतर्फ घनीभूत प्रयास गरेको देखिंदैनl पछिल्लो समय कुनै पनि विद्यार्थी सङ्गठनले न त नेतृत्वलाई जनता प्रति उत्तरदायी बनाउन अग्रसरता लिएका छन्, न संविधान वा लोकतन्त्रको मर्म विपरीत चालेका कदमको विरोध जनाएको देखिन्छ।
माउ पार्टीको हस्तक्षेप सहजै स्वीकार गर्ने र आदेश तथा निर्देशनमा मात्रै चल्ने हुँदा विद्यार्थी सङ्गठनको 'स्वविवेक' र स्वतन्त्रता खासै नरहने कुरा पनि छ्याङ्गै देखिन्छ।
वैचारिक वा सैद्धान्तिक रूपले माउ पार्टी र भ्रातृ सङ्गठनहरू एकै ठाउँमा उभिन्छन् र त्यही अनुरूप उनीहरूको सम्बन्ध हुन्छl विद्यार्थी नेताहरूका अनुसार, पार्टी र सङ्गठनको सम्बन्धका मुख्य चार आयाम हुन्छन्: विचारधारा, दर्शन, सङ्गठन र कार्यक्रमl विचारधारा र दर्शनमा दलहरूले सङ्गठनहरूलाई प्रशिक्षित र निर्देशित गर्छन् भने सङ्गठन र कार्यक्रमको हिसाबले विद्यार्थी सङ्गठनहरू स्वतन्त्र हुन्छन् भन्ने बुझाइ सबै विद्यार्थी नेताहरूको थियोl सङ्गठनको हिसाबमा स्वतन्त्र हुने भनिए पनि माथि शुरूआतमा उल्लेख गरे जस्तै विद्यार्थी सङ्गठनको नेतृत्वमा को हुने, स्ववियु चुनावमा को उठ्नेदेखि विद्यार्थी सङ्गठन विघटन गर्नेसम्मका कार्यमा दलहरूको गहिरो रुचि र संलग्नता रहँदै आएको छl
कार्यक्रमकै सन्दर्भमा पनि अपवाद बाहेक फरक मत वा विचारको यथेष्ट ठाउँ बनाएर आफ्नो स्वतन्त्र पहिचान बनाउन विद्यार्थी सङ्गठनहरू चुकेको देखिन्छl फरक मत फुट र विग्रह निम्त्याउने नभई खुला छलफल र लोकतान्त्रिक परिपाटीलाई मलजल गर्छ भन्ने कुरा न विद्यार्थी सङ्गठनहरूले बुझेका छन्, न त बुझाउनै सकेका छन्l माउ पार्टीको हस्तक्षेप सहजै स्वीकार गर्ने र आदेश तथा निर्देशनमा मात्रै चल्ने हुँदा विद्यार्थी सङ्गठनको 'स्वविवेक' र स्वतन्त्रता खासै नरहने कुरा पनि छ्याङ्गै देखिन्छl यसले न विद्यार्थी वर्ग र शैक्षिक क्षेत्रमा कुनै योगदान दिन्छ, न त राष्ट्रिय राजनीतिलाई आशावादी बनाउन सक्छl
विद्यार्थी राजनीतिलाई राष्ट्रिय राजनीतिमा आउने भर्याङका रूपमा हेरेका विद्यार्थी नेताहरूले “जीहजुरी” गरेर आफ्नो स्थान सुनिश्चित बनाउन लागिपर्दा गइरहेको सन्देश अत्यासपूर्ण छl आन्तरिक लोकतन्त्र सुदृढ गर्नतर्फ आँखा चिम्लिएर आफ्ना स्थान जोगाउन नेतृत्वको हो मा हो मिलाउने र त्रुटि-कमजोरीमा पनि आँखा चिम्लिएर भक्तिभाव देखाउने “युवा” पुस्ताले राजनीतिलाई नयाँ दिशा दिन्छ भनेर सोच्नु दिवास्वप्न होl
विद्यार्थी सङ्गठनहरू सधैं राजनीतिक दलको कारिन्दाका रूपमा मात्रै सीमित रहने वा साँच्चिकै परिवर्तनको संवाहक बनेर राजनीतिक संस्कृति सुदृढ गर्नतर्फ लाग्ने? इतिहासको भरमा मात्रै आफ्नो अस्तित्व नजोगिनेतर्फ सजग हुँदै आफ्नो पहिचान जोगाउन विद्यार्थी सङ्गठनहरूले यी प्रश्नहरू गम्भीर रूपले लिनुपर्ने वेला आइसकेको छl
(खत्री विगत एक दशकदेखि स्वास्थ्य क्षेत्र सम्बन्धी विषयहरूमा अनुसन्धाताका रूपमा कार्यरत छिन्l)