सरकारको खोजीमा मनाङका बाढीपीडित
मनाङमा बाढी र पहिरोले उठिबास लगाएको तीन महीना पूरा हुँदा समेत पीडित परिवारले सरकारका तर्फबाट राहत पाउन सकेनन्।
नासो गाउँपालिका-१ तालगाउँ, मनाङका मीनराशि गुरुङले १८ रोपनी जग्गामा आलु, खुर्सानी, टमाटर, भटमास र मकै फलाउँथे। श्रीमान्, श्रीमती र छोराबुहारीलाई खेतको कामले भ्याईनभ्याई हुन्थ्यो। खेतमा फल्ने आलु, खुर्सानी र टमाटरको आम्दानीले पालिएको थियो, उनको परिवार। तर, १ असारमा मर्स्याङ्दी नदीमा आएको बाढीले मीनराशि गुरुङको गरिखाने खेतबारी सबै बगायो। उनको खेतमा अहिले मर्स्याङ्दी बगिरहेको छ।
“खेतबारीमा उब्जिएको अन्नपातले ६ जनाको परिवार पालिएका थियौं,” मीनराशि भन्छन्, “अहिले बगाएको ठाउँमा मेरा जिजुबाजे, हजुरबाजे र बाजेले खेती गरेका हुन्। अहिलेसम्म यस्तो घटना भएको थिएन।”
मर्स्याङ्दीको बाढीले घरखेत बगाएपछि मीनराशि र उनकी श्रीमती मसिनी लमजुङ र मनाङ जिल्लाको सिमानामा पर्ने म्यार्दी खोलामा चिया पसल थापेर बसेका छन्। “बाढी र पहिरोले लखेटेर यहाँ आएर बसेका छौं,” मसिनी भन्छिन्।
लमजुङ हुँदै जाँदा मनाङ जिल्ला प्रवेश गर्दा आउने मनाङको पहिलो बस्ती हो, ताल। अन्नपूर्ण सर्किटमा पदयात्राका लागि पुग्ने स्वदेशी तथा विदेशीले एक रात तालमा बास बसेर बाँकी गन्तव्य तय गर्दथे। विदेशी पर्यटकको समेत रोजाइमा परेको र मर्स्याङ्दी नदी किनारको आकर्षक बस्ती भएकाले पदयात्रीको रोजाइमा पर्दथ्यो। त्यही कारण पनि तालमा सुविधा सम्पन्न होटलहरू सञ्चालनमा थिए। अन्नपूर्ण सर्किटको पदयात्रामा जाने पर्यटकहरूले ताललाई खुम्बु क्षेत्रको नाम्चे र काठमाडौंको ठमेलसँग तुलना गर्दथे।
भानु माध्यमिक विद्यालय तालका शिक्षक सिंहबहादुर गुरुङका अनुसार, भदौदेखि जेठसम्म ताल क्षेत्रका होटल विदेशी र स्वदेशी पर्यटकहरूले भरिभराउ हुन्थे। “यहाँ त ठमेल घुमे जस्तै हुन्थ्यो। पसल र पर्यटकको चहलपहलले ठ्याक्कै ठमेलकै झल्को आउँथ्यो,” उनी भन्छन्।
अन्नपूर्ण सर्किटमा पर्ने आकर्षक र पर्यटकको रोजाइमा रहेको तालगाउँ १ असारमा मर्स्याङ्दीमा आएको बाढीले एकाएक खण्डहर बन्यो। अहिले तालमा विगतमा पर्यटकहरूले भरिभराउ हुने होटलको भग्नावशेष पनि देख्न पाइँदैन।
वडा नं १ का सदस्य गञ्जमान गुरुङका अनुसार, तालगाउँमा होटल तथा निजी घर गरी ५७ मध्ये ३५ वटा भवन मर्स्याङ्दीले पूर्ण रूपमा बगाएको छ। १५ वटा घरमा आंशिक रूपमा क्षति पुगेको छ भने सात वटा घर सग्ला र मानिस बस्न लायक छन्। आंशिक रूपमा क्षति पुगेका घरमा मर्स्याङ्दीले ल्याएको बालुवा थुप्रिएको छ।
अहिले स्थानीयले त्यही मर्स्याङ्दीले ल्याएको बालुवा फालेर घरलाई बस्न लायक बनाउने प्रयास गरेका छन्। तर, क्षति बढी भएकाले तत्काल बस्न लायक बनाउन सम्भव नभएको वडा सदस्य गुञ्जमान बताउँछन्।
करोडबाट रोडमा
भनिन्छ, विपत्ति बाजा बजाएर आउँदैन। सम्भावित विपत्तिबारे पूर्वानुमान भएको भए तालबजारका केशरे गुरुङ (६१)ले होटल व्यवसायबाट कमाएको आम्दानी अन्य ठाउँमा लगानी गर्थे। जीवनको करीब आधा उमेर होटल व्यवसाय गरेर बिताएका उनले मर्स्याङ्दीमा बाढी आएर त्यसले उठिबास लगाउला भनेर कहिल्यै कल्पना गरेनन्। त्यही कारण नै भएको आम्दानी जति होटलको स्तरोन्नतिमा खर्च गर्दै गए, होटल व्यवसायलाई नै राम्रो बनाए। तर, मर्स्याङ्दीको बाढीले न उनीसँग होटल व्यवसाय रह्यो, न अन्य कुनै ठाउँमा जग्गा जमिन र सम्पत्ति।
रु.४ करोडभन्दा बढीको होटलमा गरिएको लगानी मर्स्याङ्दीले बगाएपछि अहिले उनी पालमुनि बसेका छन्। विभिन्न संघसंस्थाले दिएका चामल, तेल, नुन, बेसारले गुजारा चलाएका छन्। “आज यो नियति आउला भन्ने भएको भए त अन्य ठाउँमा जग्गा–जमीन किन्थें होला, कमाएको जति पैसा यहाँ किन लगानी गरिन्थ्यो?” उनी भन्छन्, “यहाँ बगाए पनि अन्य ठाउँमा बस्ने बास त हुन्थ्यो। अहिले त बस्ने बास पनि भएन। अब के गर्ने?”
केशरेका अनुसार, मनाङ नामको उनको होटलमा २१ वटा एट्याच बाथरुम सहितका कोठा थिए। सबै खर्च कटाउँदा पनि वार्षिक रु.१६ लाख कमाइ हुन्थ्यो। भए जतिको आम्दानी होटलमै लगानी गरेर रु.४ करोड पुर्याएका थिए। मर्स्याङ्दीले घर र होटल सहितका सबै संरचना बगाएपछि अहिले उनको परिवार ताल फेदीमा छिमेकीको जग्गामा पालमा बसिरहेको छ।
१ असारमा मनाङमा आएको बाढी र पहिरोले केशरे गुरुङको जस्तै नियति भोग्ने थुप्रै छन्। सिरान तालमा गोलमाया गुरुङको १० कोठाको होटल, घर र १० रोपनी जग्गा थियो। अहिले उनको घर र जग्गा कहाँ थियो भनेर छुट्याउन सकिन्न। उनको घर र जग्गाबाट मर्स्याङ्दी बगिरहेको छ।
जेठको अन्तिम हप्तादेखि शुरू भएको वर्षाले १ असारमा मर्स्याङ्दी नदीमा ठूलो बाढी आएको थियो। उक्त दिन नदीमा बाढी बढ्न थालेपछि गोलमाया सहित सिरान तालका सात परिवारले भागेर ज्यान जोगाएका थिए। दुई दिन ओडारमा बसेपछि हेलिकप्टरले उद्धार गरेर तालफेदीमा ल्याएको उनी बताउँछिन्। त्यस यता उनी आफ्नो घर रहेको ठाउँमा फर्केर जान सकेकी छैनन्।
“अहिले जान सक्ने अवस्था पनि छैन। टाढैबाट हेर्दा घर भएको ठाउँमा नदी बगेको देखिन्छ, रूखका बोटले घर त्यहाँ थियो भन्ने अनुमान मात्र लगाउन सक्छु,” गोलमाया सुनाउँछिन्।
१ असारको बाढीबाट क्षति पुगेको मनाङ जिल्लाको अर्को बस्ती हो, धारापानी। तालगाउँ–चामे सडक खण्डको बीचमा पर्ने धारापानीका आठ वटा घर मर्स्याङ्दीले बगाएको छ। नदीले बगाएका ती घरको नामोनिशान छैन। पहिला होटल र घर भएका ठाउँमा अहिले ठूलो आवाजमा सोस्याउँदै मर्स्याङ्दी बगिरहेको छ। धारापानीमा कमरकली गुरुङको ‘होटल हेभन’ नाम चलेको होटल थियो। अन्नपूर्ण पदयात्रामा निस्केका प्रायः विदेशीको रोजाइमा पर्दथ्यो, यो होटल। आठ वर्षसम्म भाडामा होटल व्यवसाय गरेर कमाएको पैसाले कमरकली र उनका श्रीमान्ले २०७० सालमा जग्गा किनेर होटल बनाएका थिए। रु.२ करोड ५० लाखको लागतमा बनाएको होटलको अहिले भग्नावशेष समेत देख्न पाइँदैन।
“कमाए जतिको पैसा होटलमा लगानी गर्यौं, यस्तो होला भन्ने जानेको भए थप लगानी गर्ने थिएनौं,” बाढीबाट विस्थापित कमरकली भन्छिन्, “होटल चल्दै गयो, कमाएको पैसा सबै होटलमा थप्दै गयौं।”
कमरकलीको बस्ने घर र होटल एउटै घरमा थियो। बाढीले घर बगाएपछि अहिले उनको परिवार नजिकको छिमेकमा आश्रय लिएर बसिरहेको छ। “यो घरको मालिक काठमाडौंमा बस्थे, त्यसैले बसेका थियौं,” उनी भन्छिन्, “दशैंपछि मालिक आउने भनेका छन्, हामी कहाँ जाने?”
१ असारको बाढीबाट क्षति पुग्ने मनाङका तालगाउँ, धारापानी, चामे, बगरछाप लगायत स्थान हुन्। ती स्थानमा धारापानी र तालगाउँमा जस्तै मर्स्याङ्दी र मर्स्याङ्दीमा मिसिन आउने ठाडा खोलाले घरहरू बगाएका छन्।
मनाङको चामेका भूतराम गुरुङले चामेमा १५ वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए। घट्टखोला छेउमा उनको घर र होटल थियो। बर्खामा घट्टखोलामा पानी बढे पनि बाढी आएको चामेबासीलाई अहिलेसम्म जानकारी छैन। तर, १ असारमा घट्टखोलामा अनुमान नै नगरेको बाढी आयो। र, भूतराम गुरुङ सहित विजय गुरुङ, धर्म महर्जनका घर बगायो। “घट्टखोला बहुलायो, हेर्दाहेर्दै घरहरू सबै बगायो,” उनी भन्छन्।
१६ जेठमा पनि घट्टखोलामा बाढी आएको थियो। तर, त्यति वेला सानो पुल बगाए पनि व्यक्तिको निजी घरजग्गामा क्षति भएको थिएन। भूतराम सहित घट्टखोलाले विस्थापित गरेका तीन परिवार अहिले जिल्ला कारागार मनाङको भवनमा बसिरहेका छन्। केही परिवारले पालमा रात कटाएका छन्। मनाङ जिल्लामा १ असारमा आएको बाढीले कति क्षति पुर्यायो, त्यसको आधिकारिक तथ्याङ्क नै सरकारसँग छैन।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने बाढीले रु.एक अर्ब १० करोड बराबरको क्षति गरेको बताउँछन्। तर, स्थलगत अध्ययनमा देखिएको अवस्था र पालिकाले सङ्कलन गरेको तथ्याङ्कका आधारमा मनाङ जिल्लामा बाढी र पहिरोबाट निजी तथा सार्वजनिक सम्पत्ति गरी रु.तीन अर्बभन्दा बढीको क्षति पुगेको देखिन्छ। चामे गाउँपालिकामा मात्रै निजी घर, विद्यालय, सडक, विद्युत्गृह लगायतमा रु.एक अर्बभन्दा बढी क्षति पुगेको छ। त्यसैगरी नासो गाउँपालिकामा दुई अर्बभन्दा बढीको क्षति भएको छ।
यी दुई गाउँपालिका बाहेक विभिन्न स्थानमा मर्स्याङ्दी नदीले बगाएको सडक, झोलुङ्गे पुल लगायत अन्य भौतिक सम्पत्ति गरी रु.एक अर्बभन्दा बढी क्षति भएको मनाङ जिल्लाका सांसद पाल्देन छोपाङ गुरुङ बताउँछन्। “प्रशासनले सङ्कलन गरेको तथ्याङ्क मेल खाँदैन। सबैतिरको क्षति गर्दा रु.चार अर्बभन्दा बढीको क्षति छ,” सांसद गुरुङले हिमालखबरसँग भने।
मर्स्याङ्दी नदीले मनाङ गाउँदेखि तालबजारसम्म एक दर्जनभन्दा बढी स्थानमा बगाएको मूल सडकलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउन गरिएको प्रयास अहिले पनि जारी छ। भार्ताङको भीरमा ब्लास्ट गरेर मनाङदेखि भार्ताङसम्म सहज रूपमा गाडी चल्न सक्ने बनाइएको छ। तर, भार्ताङदेखि चामेबीचमा दुई किलोमिटरभन्दा बढी सडक नै मर्स्याङ्दीले बगाएको छ। त्यस ठाउँमा नयाँ सडक बनाउने काम भइरहेको छ। नयाँ सडक बनाउन पनि सजिलो छैन।
त्यसैगरी धारापानीदेखि चामेको बीच बगरछापमा गएको पहिरोले बिगारेको सडकबाट पनि अहिले गाडी वारपार गर्न सक्दैनन्। डोजर लगाएर अस्थायी रूपमा सडक बनाइए पनि माटोको लेदो खस्ने क्रम जारी छ।
पूर्ववत् अवस्थामा सवारी साधन सञ्चालनको सम्भावना तत्काल नरहेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घले बताउँछन्। “पहिले जस्तो सडक सञ्चालन हुन त तत्काल सम्भव छैन, अब कामचलाउ बनाउने हो,” उनी भन्छन्, “मनाङलाई त यस पटकको बाढीले बिजोग नै बनायो।”
दिउँसोको बाढीले जोगियो ज्यान
मनाङमा गएको पहिरो, नदी तथा खोलामा आएको बाढीले भौतिक रूपमा ठूलो क्षति भए पनि मानवीय क्षति हुन पाएन। यो नै मनाङबासीका लागि सबैभन्दा ठूलो सुखद पक्ष हो। मानवीय क्षति हुनबाट मनाङ जोगिनुको प्रमुख कारण चाहिं दिउँसोको समयमा बाढी आउनु हो।
नासो गाउँपालिका–३ धारापानीकी लमु लामाका भनाइमा, बिहानीपखबाट बाढी आउन थालेपछि मानिस भागेर ज्यान जोगाउन सफल भए। तर, घरबाट कसैले लगाउने कपडा समेत निकाल्न पाएनन्।
कमरकली गुरुङको परिवार १ असारको बिहान उठ्यो। त्यति वेला उनको किचनसम्म मर्स्याङ्दीको छालले हिर्काउन शुरू गरेको थियो। पारिबाट स्थानीयहरूले चिच्याएर मर्स्याङ्दीले कटान गरेको भन्दै भाग्न भनेपछि ज्यान जोगाउन सुरक्षित स्थान खोज्दै भाग्न थाले। कमरकली भन्छिन्, “चम्चा पनि निकाल्न पाएनौं, यत्तिका वर्षसम्म दुःख गरेर कमाएको सबै सम्पत्ति एकै दिनमा मर्स्याङ्दीले स्वाहा बनायो।”
नासो गाउँपालिका–१ तालगाउँस्थित अरिना गुरुङ ३१ जेठ साँझ सुत्दा वर्षा भइरहे पनि सबै ठीक थियो। मर्स्याङ्दी आफ्नै बाटोमा बगिरहेको थियो। तर, १ असार बिहान उठ्दा भान्साभरि पानी पसिसकेको थियो। उनले आत्तिँदै परिवारका सदस्यलाई उठाइन् र त्यहाँबाट अग्लो ठाउँ खोज्दै भागिन्।
“उठ्दा त किचन भरिसकेको। १५ वटा कुखुराका चल्ला थिए, ती पनि मरेका,” उनी भन्छिन् “शरीरमा भएको कपडा बाहेक केही नै निकाल्न पाएनौं।”
घरमा राखेका दुई वटा खसी पनि बचाउन नसकेको उनी बताउँछिन्। सोही ठाउँका काइँला गुरुङले दुई तोला सुन र रु.५० हजार नगद पनि निकाल्न भ्याएनन्। “कम्तीमा त्यति मात्र निकाल्न सकेको भए पनि केही राहत हुन्थ्यो,” काइँला सुनाउँछन्।
किन भयो यस्तो?
मनाङ यसै पनि कम पानी पर्ने जिल्ला हो। स्थानीयका अनुसार, मनसुनको समयमा पनि सिमसिम मात्रै पानी पर्दथ्यो। तर, यस पटक मनाङमा फरक प्रवृत्ति देखापर्यो।
यस वर्ष प्रि–मनसुनको वैशाख–जेठमै मनाङमा पानी पर्न शुरू गरेको थियो। मनसुन भित्रिएको २८ जेठदेखि नै मनाङमा ठूलो वर्षा भयो। जल तथा मौसम विज्ञान विभागका अनुसार, मनाङको हुम्देस्थित वर्षा मापन केन्द्रमा रेकर्ड भएको वर्षा अनुसार १६ जूनमा (१–२ असारमा) ८२.२ मिलिमिटर वर्षा भएको छ। यो नै अहिलेसम्म त्यहाँ रेकर्ड भएको सबैभन्दा धेरै वर्षा हो। यस अघि ६ जून (२३ जेठ २०७७) २०२० मा ४१.५ मिलिमिटर वर्षा भएको थियो।
हुम्देमा सन् २०१५–२०२० सम्मको वर्षाको स्थितिका आधारमा जून महीनामा त्यहाँको सरदर वर्षा ४२ मिलिमिटर हो। तर, यस वर्षको जून १६ सम्म १९७ मिलिमिटर वर्षा भयो। यो सरदर वर्षाको ४६९ प्रतिशत हुन आउँछ।
जून महीनामा मात्र होइन, मे महीनामा पनि उक्त स्थानमा सरदर वर्षाको ६९३ प्रतिशत वर्षा भएको छ। मे महीनाको सरदर वर्षा २४ मिलिमिटर रहेकोमा यस वर्ष १६६ मिलिमिटर वर्षा भयो। हुम्देको वार्षिक सरदर वर्षा ३७५ मिलिमिटर रहेकोमा मे र १६ जूनसम्म ३६३ मिलिमिटर वर्षा भएको छ। अर्थात्, एक वर्षमा हुनुपर्नेभन्दा आठ मिलिमिटर कम मात्र वर्षा ४६ दिनको अवधिमा भएको छ। त्यस्तै, हुम्देमा प्रि–मनसुन (मार्च–मे) को सरदर वर्षा १३५ मिलिमिटर रहेकोमा यस वर्ष २३२ मिलिमिटर वर्षा भएको छ।
मनसुनको प्रभाव नपर्ने मनाङमा यस वर्ष बाढी, पहिरो र डुबान हुनुमा छोटो समयमा भएको अत्यधिक वर्षा नै प्रमुख कारण देखिन्छ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय भूगर्भशास्त्रका सह–प्राध्यापक डा. सुबोध ढकालका अनुसार, उच्च हिमाली भागमा हिमपात हुने र हावा चल्ने भएकाले त्यहाँको माटो खँदिलो हुँदैन। जसलाई सामान्य वर्षाले पनि सजिलै बगाउन सक्छ। अवस्था कस्तो छ भने, समतल र अनुमान नै गर्न नसकिने स्थानमा पनि पहिरो गएको छ। मर्स्याङ्दी नदीको मुहानसम्म नै व्यापक वर्षा भएको नदी किनार र सडकमा गएका पहिरोबाट पनि देखिन्छ। मर्स्याङ्दीमा मिसिन आउने ठाडा खोलामा आएको बाढी पनि अस्वाभाविक छ। मनाङबासीको सम्झनामा अहिलेसम्म त्यस्तो भएकै थिएन।
जलवायुविज्ञ ङमिन्द्र दाहाल पृथ्वीको तापक्रममा भएको वृद्धिका कारण मनसुनी वायु उचालिएर हिमाल पार गर्दै मनाङ, मुस्ताङ जस्ता अग्लो स्थानमा पुगेको र त्यसले त्यहाँ वर्षा गराएको बताउँछन्।
“यो जलवायु परिवर्तनसँग सम्बन्धित विषय हो,” दाहाल भन्छन्, “हिजो पानी नपर्ने ठाउँमा पनि आज छोटो समयमा ठूलो वर्षा हुन थाल्यो। यस्ता घटनाले क्षति झन् बढ्ने देखिन्छ।”
त्यसो त मनाङ जिल्लाको तापक्रम वृद्धिको दर पनि अन्य जिल्लाको तुलनामा बढी छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, मनाङमा प्रति वर्ष तापक्रम वृद्धिको प्रवृत्ति ०.०९२ डिग्री सेल्सियस छ। तापक्रम वृद्धिको अवस्थाले पनि हिमाली क्षेत्र प्रभावित बन्दै गएका छन्।
सरकारको आश्वासन मात्रै
मनाङमा आएको बाढीपहिरोपछि दुई पटक हेलिकप्टर लिएर अवलोकनका लागि पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बाढीबाट प्रभावित प्रति परिवारलाई रु.२ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका थिए। मन्त्री पोखरेलले राहत उपलब्ध गराउने भनेको तीन महीना पूरा भइसक्यो। तर, बाढीपहिरो प्रभावितले अहिलेसम्म सरकारले दिने भनेको राहत पाउन सकेका छैनन्।
त्यति मात्र होइन, केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मनाङ जिल्लालाई सङ्कटग्रस्त जिल्लाका रूपमा घोषणा गरेको थियो। त्यसपछि मनाङमा सेनाको हेलिकोप्टर चढेर गृहमन्त्री बालकृष्ण खाँण र ऊर्जामन्त्री पम्फा भुसाल पुगे। उनीहरूले पनि आश्वासन बाहेक केही नदिएको मनाङका स्थानीय बताउँछन्।
धारापानी आधारभूत विद्यालयका शिक्षक रोहित गुरुङ सरकारले जनतालाई झुक्याउने काम गरेको बताउँछन्। “दिने हो भने पनि दिनुपर्यो, नदिने हो भने दिन्नौं भनेर घोषणा गर्नुपर्यो,” उनी भन्छन्, “मान्छेलाई अलमलमा राख्नु भएन।”
नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घले पनि सरकारका तर्फबाट मनाङका बाढीपीडितको घाउमा मल्हमपट्टी लगाउने काम नभएको बताउँछन्। “अहिलेसम्म सरकारका तर्फबाट हामीले केही पनि पाएका छैनौं,” उनी भन्छन्, “विभिन्न देशमा बसोबास गर्ने मनाङबासीले पठाएको सहयोगबाट राहत वितरण गरेका छौं। कति दिनसम्म विदेशबाट पठाएको पैसाले चल्छ?”
मनाङबासीको गुनासो सरकारसँग मात्र छैन, काठमाडौंमा बसेर जलवायुको कुरा गर्ने र मनाङमा आएको बाढीलाई देखाएर व्यक्तिगत फाइदा लिनेहरू प्रति पनि उत्तिकै छ। नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घले मनाङको नाममा काठमाडौंमा बसेर जलवायु परिवर्तनको कुरा गर्नेहरूले पनि समस्यामा परेका मनाङीको सहयोगका लागि कुनै भूमिका निर्वाह नगरेको दुखेसो पोख्छन्।