पिक समयमा नचलाउने शर्तमा उद्योगलाई थप विद्युत् दिइने
नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी माग हुने साँझ र बिहान (पिक समय) मा उद्योग नचलाउने सर्तमा औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउने भएको छ।
मुलुकभित्र उत्पादित विद्युत् बर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत पिक समयमा प्रसारण तथा वितरण लाइन ओभरलोड भएमा नचलाउने शर्त राखी उद्योगलाई विद्युत् उपलब्ध गराउन लागेको हो। प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगलाई परिमाण खुलाएर आवेदन दिन समेत आग्रह गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगीसँग छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत् आपूर्ति लिन आग्रह गरे। उद्योगले अहिले ११ र ३३ केभीबाट विद्युत् आपूर्ति लिइरहेका छन्। ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युत् महसुल सस्तो छ।
“एकातर्फ प्रसारण तथा वितरण प्रणाली संरचनाले नधान्दा मागे जति विद्युत् दिन सकिरहेका छैनौं भने अर्कोतर्फ मुलुकभित्र उत्पादित विद्युत् खेर फाल्नुपर्ने अवस्था छ, लाइन ट्रिपिङ हुने, कम भोल्टेज लगायत समस्या छन्,” घिसिङले भने, “यस्तो अवस्था अन्त्यका लागि एउटा–दुईवटा ट्रान्सफर्मर, पोल, कन्डक्टर जस्ता उपकरण थपेर मात्रै नहुने देखिएको छ। यसका लागि मुख्य रूपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाउँदै छौं।”
उनले उत्पादनतर्फ भन्दा पनि प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण गरी विद्युत् खपत बढाउन पूर्वाधारमा लगानी बढाइने बताए। देशको दैनिक विद्युत् माग दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ, तर पूर्व–पश्चिम विद्युत् आपूर्तिका लागि १३२ केभीको मात्रै प्रसारण संरचना छ। प्रसारण सञ्जाल विस्तारका लागि ४ सय र २ सय केभीका लाइन निर्माणाधीन भए पनि स्थानीयको अवरोध, अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रक्रिया र रूख कटानीको स्वीकृति ढिलाइ, ठेकेदारको कामजोर कार्यसम्पादन कारण आयोजनाको निर्माण नसकेको पनि घिसिङले बताए।
औद्योगिक करिडोरले बेहोरिएको ट्रिपिङ, लो भोल्टेज लगायत समस्या समाधान गर्न स्रोतसाधन अभाव नहुने गरी काम अगाडि बढाइएको उल्लेख गर्दै घिसिङले यस्ता समस्या न्यूनीकरण गर्दै भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको प्रतिबद्धता जनाए। दीर्घकालीन योजना अन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सब–स्टेशन निर्माण शुरू गरिने उनको भनाइ छ।
छलफलमा उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश १ प्रादेशिक तदर्थ समितिका प्रतिनिधिले मोरङ-सुनसरी औद्योगिक करिडोरमा सञ्चालित उद्योगले बेहोरिरहेको विद्युत् आपूर्तिको समस्याका विषयमा जानकारी गराएका थिए। संगठनहरूले दैनिक रूपमा भइरहेको ट्रिपिङ, न्यून गुणस्तर लगायत समस्या समाधान गरी विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित गर्न माग गरेका छन्।