कोरोनामा अभिभावक गुमाएका विद्यार्थीलाई ‘भरोसा छात्रवृत्ति’
कोरोनाभाइरस संक्रमणबाट अभिभावक गुमाएका बालबालिकाले छात्रवृत्तिमा पढ्न पाउने भएका छन्।
राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय केही युवाको अगुवाइमा ती बालकालिकालाई छात्रवृत्ति व्यवस्था गर्न लागिएको हो। कांग्रेस नेता एवं सांसद गगनकुमार थापा, डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास ब्याङ्कका अध्यक्ष सुदीप आचार्य, तथ्याङ्क सङ्कलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनीष झा, सिन्धुपाल्चोकलाई प्रमुख कर्मथलो बनाएर शिक्षा क्षेत्रमा कार्यरत संस्था ‘हेल्प नेपाल’ का सञ्चालक जिमी लामा र सामाजिक अभियन्ता चारु चड्डाले अभियानको नेतृत्व गरेका छन्।
अभियानलाई ‘भरोसा छात्रवृत्ति अभियान’ को नाम दिइएको छ। अभियानमा विद्यालय तहमा अध्ययनरत बालबालिकालाई मात्र समावेश गरिनेछ।
नेता थापाले कोभिड-१९ को महामारीका कारण अभिभावक गुमाएका बालबालिकाले राज्य, संघसंस्था र व्यक्तिगत तवरबाट तत्कालका लागि केही राहत पाएको भए पनि उनीहरूको शैक्षिक निरन्तरता चुनौतीपूर्ण हुने ठानेर अभियान थालिएको बताए। “हामी विभिन्न क्षेत्रमा सक्रिय साथीहरूबीच कोभिडमा बाबुआमा गुमाएका छोराछोरीको शैक्षिक भविष्यबारे लामो छलफल हुँदा छात्रवृत्ति अभियान सञ्चालन गर्ने निष्कर्षमा पुग्यौैं,” थापाले भने।
पहिलो वर्षको छात्रवृत्तिका लागि आवश्यक रकमको जिम्मा डिशहोम नेटवर्कले लिएको छ। आगामी वर्ष अभियानमा संलग्न सबै र सहयोगी हातहरूलाई अपील गरेर अभियान निरन्तर अगाडि बढाउने योजना रहेको जनाइएको छ।
हालका लागि छात्रवृत्तिमा आवश्यक रकमको जोहो डिशहोम परिवार (लगानीकर्ता, कर्मचारी, देशभरका डिलर तथा सब–डिलर)ले गर्नेछ। यो वर्ष ४० लाख रुपैयाँ खर्च गर्ने कार्यक्रम रहेको डिशहोमका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए। कोरोना कहरसँगै आर्थिक मन्दीको मार खेपेको समाजका लागि केही गरौं भन्ने उद्देश्यले ‘भरोसा छात्रवृत्ति अभियान’ सञ्चालन गर्न लागिएको उनले बताए । “कोरोनाका कारण मुख्य आम्दानी गर्ने अभिभावक गुमाएपछि शिक्षाबाट वञ्चित हुन पुगेका असहाय बालबालिकाको शैक्षिक ज्ञान आर्जनको निरन्तरताका लागि अभियान थालेका हौं,” आचार्यले भने।
आचार्यका अनुसार, विद्यार्थी छनोट गर्दा मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लालाई प्राथमिकतामा राखिनेछ। तर, अभियानले सातवटै प्रदेशमा काम गर्ने उनले स्पष्ट गरे।
फ्याक्ट नेपालले कुनै पनि प्रदेश नछुट्ने गरी कोरोनाका कारण ज्यान गुमाएकाहरूको तथ्याङ्क सङ्कलन गरेपछि त्यसमध्येबाट निरपेक्ष गरीबीको रेखामुनि रहेका विद्यार्थी छनोट गरिनेछन्। तथ्याङ्क सङ्कलनपछि विज्ञ समूहको सुझाव अनुसार, डिशहोम सञ्जाल मार्फत विद्यार्थीसम्म सहयोग पुर्याइनेछ।
विद्यार्थीले हाल अध्ययन गरिरहेको विद्यालयमै पूर्ण छात्रवृत्तिको सुविधा पाउनेछन्। अभियान व्यवस्थापनका लागि एक विशेष सचिवालय समेत स्थापना गरिएको र समन्वयको काम ‘हेल्प नेपाल’ ले गर्ने आचार्यले बताए।
यो वर्ष शुरूआत मात्र भएकाले आगामी वर्ष अभियानलाई विस्तृत बनाउने गरी गृहकार्य भएको उनले बताए। “यो वर्ष साङ्केतिक शुरूआत मात्र हो,” आचार्यले भने, “आगामी वर्ष कार्यक्रमको ढाँचालाई परिमार्जन सहित विस्तृत बनाउँछौं।” यो विशुद्ध शैक्षिक चेतना अभिवृद्धिको अभियान भएकाले सबैको साथ र सहयोग प्राप्त हुने उनको विश्वास छ।