छोरा होस् वा छोरी, विवाह २० वर्ष पारि
२० वर्षमा बिहेबारी भन्ने कानून हुँदा त बालविवाह रोकिएको छैन। त्यसभन्दा पनि कम उमेरमा बिहेबारीको कानून बन्यो भने अप्रत्यक्ष रूपमा बालविवाहलाई नै बढावा दिनेछ।
केही सांसदले संसदीय समितिमा विवाह गर्ने उमेर हद २० वर्षबाट घटाउन माग गरेका छन्। विवाहको उमेर हद कानूनले तोक्नेभन्दा पनि व्यक्ति आफैंले निर्धारण गर्ने हो। १६ होस् या १८ वर्ष, विवाह गर्ने उमेर तोक्नु नै व्यावहारिक छैन।
बिस्तारै शिक्षामा पहुँच बढ्दै छ। सामाजिक जीवनमा परिवर्तन आइरहेको छ। ‘लिभिङ टुगेदर’ मा बसेर केही वर्ष एकअर्कालाई बुझेर मात्र विवाह गर्ने पनि थुप्रै छन्। साँच्चै भन्ने हो भने शारीरिक रूपले २० वर्षभन्दा तलको उमेरमा विवाहका लागि तयार भएका हुँदैनन्। आर्थिक र मानसिक रूपले पनि तयार भइसकिएको हुँदैन।
कुनै पनि कानून बनाउँदा व्यावहारिक पक्ष हेर्नुपर्छ। २० वर्षमै विवाह भनेर तोके पनि त्योभन्दा कम उमेरमा विवाह गर्नेहरूको यहाँ कुनै कमी छैन। तर, राज्यले विवाह गर्ने उमेर तोक्नुभन्दा ‘शारीरिक विकास भइसकेपछि विवाह गर्न स्वतन्त्र छन्’ भन्न सकिएला।
१६ वर्षमै विवाहको स्वीकृति मागिएको हो भने त यो सरासर बालविवाह भइहाल्यो। १८ वर्षमा त उनीहरू भर्खर बालबालिकाको उमेर पार गर्दै गरेका हुन्छन्। भर्खर करिअर बनाउने चरणमा हुन्छन्। विवाहको जिम्मेवारी कति उठाउन सक्छन् भन्ने पनि प्रश्न उठ्छ।
केही विकसित मुलुकले १६ वर्षमाथि विवाह गर्न दिएका छन्। तर, हामीले ती देशको शिक्षाको स्तर कस्तो छ भन्ने पनि विचार गर्नुपर्छ। राम्रो शिक्षा, चेतना र रोजगारी भएका देशमा विवाहपछि त्यस्तो समस्या आएको देखिंदैन।
त्यसो त केही विकसित मुलुकले १६ वर्षमाथि विवाह गर्न दिएका छन्। तर, हामीले ती देशको शिक्षाको स्तर कस्तो छ भन्ने पनि विचार गर्नुपर्छ। राम्रो शिक्षा, चेतना र रोजगारी भएका देशमा विवाहपछि त्यस्तो समस्या आएको देखिंदैन।
कतिपय देशमा आफ्नै बच्चाले बुबाआमाबाट यौन वा कुनै पनि किसिमका दुर्व्यवहार भोगेमा राज्यले नै न्याय दिने व्यवस्था छ। तर, हाम्रो राज्य यति निरीह छ कि महिलामाथि जुनसुकै दुर्व्यवहार भयो भने पनि राज्यले हेरिरहने वा हेरेर पनि न्याय दिने आधार देखाउँदैन।
आफ्नो देशको सामाजिक संरचना र अवस्थालाई बिर्सेर विकसित देशको हिसाबले अन्य देशमा १६ वा १८ वर्षको हिसाबले विवाह गर्न दिए र हाम्रो देशमा किन भएन भन्नुको कुनै तुक छैन। अझ महिलाहरू नै हिंसामा बढी परिरहेको हुनाले कम्तीमा १८ वर्षसम्म महिलाहरूको शिक्षाको अवस्था, शारीरिक अवस्था र उनीहरूलाई कस्तो समस्या परिरहेको छ भन्ने पहिले बुझ्नुपर्छ। विवाह भनेको हरेकले परिपक्व र आफ्ना लागि आफैंले पैरवी गर्न सक्ने उमेरमा हुनुपर्छ।
आर्थिक रूपले सबल भएर, भोलि कुनै हिंसा होस् वा अन्य समस्यासँग लड्न सक्छु भन्ने खालको परिपक्वता नभई विवाह गर्नु हुँदैन। यसमा स्वतन्त्रताको कुरा पनि जोडिएला। तर, मुलुकको अवस्था, कानून र समस्या पनि हेर्नुपर्छ।
आर्थिक रूपले सबल भएर, भोलि कुनै हिंसा होस् वा अन्य समस्यासँग लड्न सक्छु भन्ने खालको परिपक्वता नभई विवाह गर्नु हुँदैन।
विवाहमा नेपाली रीतिरिवाजभन्दा पनि आर्थिक समस्याले निम्त्याएका जटिलताहरू बढी देखेकी छु। किनभने, विवाह भइसकेपछि पुरुष र महिलाका आ-आफ्नै भूमिका हुन्छन्। घरपरिवार चलाउने जिम्मा महिला र पुरुष दुवैको हो। तैपनि, घरेलु काम मात्र गर्दा महिलाहरू आर्थिक रूपमा पछाडि परेका देखिन्छन्।
यस्तो समाज र परिवारको परिवेशमा दाम्पत्य जीवनमा टकराव आएर त्यो सम्बन्ध तोड्नुपर्यो भने धेरैजसो महिला कहाँ गएर के गर्ने भन्ने अप्ठ्यारो अवस्थामा हुन्छन्। हिंसाका अनेक घटना सहेर बस्ने पनि आखिर उही महिला नै हुन्। यी विषय महिलाको आर्थिक सबलीकरणसँग पनि जोडिएका छन्।
विवाहमा सबैभन्दा ठूलो भूमिका आर्थिक पाटोले खेलेको हुन्छ। त्यसैले २० वर्ष तल त महिला होस् वा पुरुष, पूर्ण आत्मनिर्भर भइसकेका हुँदैनन्। यस्तो अवस्थामा कानून ल्याउनु भनेको कम उमेरमै विवाह गर्न प्रोत्साहन गर्नु जस्तै हो।
परिवार भनेको एउटा सामाजिक संस्था हो, जहाँ निश्चित नियमहरू हुन्छन्। परिवारमा बसेपछि निश्चित नियमहरू मान्नु नै पर्छ। तर, २० वर्षभन्दा कम उमेरमा विवाह गर्दा भोलि उनीहरूको शारीरिक र मानसिक विकासले स्वतन्त्रता खोज्दै जाँदा परिवारमा द्वन्द्व निम्तिन सक्छ। त्यसैले न त १६, न १८ वर्ष नै उपयुक्त हुन्छ। उनीहरू शारीरिक र मानसिक रूपमा सबल भएपछिको समयलाई राज्यले उपयुक्त भन्नु उचित हुन्छ।
२० वर्ष तल त महिला होस् वा पुरुष, पूर्ण आत्मनिर्भर भइसकेका हुँदैनन्। यस्तो अवस्थामा कानून ल्याउनु भनेको कम उमेरमै विवाह गर्न प्रोत्साहन गर्नु जस्तै हो।
बिहेबारी जस्तो जिम्मेवारीमा बाँधिनु अघि कम्तीमा शारीरिक, मानसिक र आर्थिक रूपमा दुवै जना बराबरी हैसियतमा हुनुपर्छ। २० वर्षभन्दा तल विवाहका लागि कतै पनि मान्यता नदिएको राम्रो। २० वर्षमा बिहेबारी भन्ने कानून हुँदा त अहिलेसम्म बालविवाह रोकिएको छैन। त्यसभन्दा पनि कम उमेरमा बिहेबारीको कानून बन्यो भने अप्रत्यक्ष रूपमा यसले बालविवाहलाई नै बढावा दिनेछ।
हाम्रो जस्तो मुलुकमा जहाँ शिक्षाको स्तर नाजुक छ, महिलाहरूको स्वास्थ्य स्थिति पनि राम्रो छैन। त्यस्तो देशमा विवाहको उमेर २० वर्षभन्दा कममा ल्याउनु पटक्कै राम्रो होइन।
पहिलो कुरा त, हाम्रो देशमा कानून बनाउँदा सर्वपक्षीय विषय नै हेरिंदैन। कुनै एउटा जाति वा ठाउँ विशेष भएकै आधारमा यहाँ धेरै थोक परिवर्तन गरिन्छ। एउटा पक्षकै कारण केही घटना भेटिए त्यसैलाई 'लबिइङ' गरेर कानून संशोधन गर्ने चलन छ। यस्ता कानून बनाउँदा कम्तीमा लक्षित समूहका मुख्य गरी महिलाहरूलाई कस्तो असर गर्छ भनेर अध्ययन हुनैपर्छ । तर, नेपालमा यसरी कुनै कानून बनाएको देखेकी छैन।
(हिमालखबरकर्मी अनिता भेटवालले गरेको कुराकानीमा आधारित)