पहिलेभन्दा हाम्रो जनमत बढेको छः सीके राउत
अलग मधेशको नाराले चर्चामा आएका सीके राउत नयाँ पार्टी गठन गरेपछि भ्रष्टाचार विरुद्धको अभियान लिएर गाउँमा पुगिरहेको भए पनि मधेशका मुद्दा नछोडेको बताउँछन्।
अलग मधेशको नाराले चर्चामा आएका जनमत पार्टीका अध्यक्ष सीके राउत अहिले मधेशका गाउँगाउँमा पुगिरहेका छन्। उनको नेतृत्वमा जनमत पार्टीले स्थानीय र प्रदेश सरकारले गरेका अनियमितताबारे नागरिकलाई जानकारी गराउँदै प्रदर्शनमा उतारिरहेको छ।
२५ फागुन २०७५ मा सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएसँगै भ्रष्टाचार विरुद्धको अभियानलाई प्रमुख मुद्दा बनाइरहेका राउत मधेशका मुद्दा पनि नछोडेको बताउँछन्। समसामयिक विषयमा राउतसँग हिमालखबरका लागि वीरेन्द्र रमणले गरेको कुराकानीः
अहिले मधेशमा प्रदर्शन गरिरहनुभएको छ। चुनाव आउन लागेकाले त होइन?
जुन दिन मधेश केन्द्रित पार्टी सत्तामा थिए, त्यति वेला पनि हामी आन्दोलनमै थियौं। जुन दिन उपेन्द्र यादव सरकारमा सहभागी थिए, उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री थिए, त्यो दिन मेरो कार्यकर्ताको जेलमा ज्यान गएको छ। राम मनोहर यादवको मृत्यु भएको यिनीहरूले गर्दा नै हो।
चुनाव आउन लागेकाले हामी संघर्ष गर्न लागेका होइनौं। हामी हिजो पनि संर्घषमा थियौं, आज पनि छौं।
अहिले के कस्ता अजेन्डा बोकेर जनतामाझ गइरहनुभएको छ?
अहिले हाम्रो पार्टीका केही प्रमुख अजेन्डा छन्। मधेशका छोराछोरी विदेशमा गएर मरिरहेका छन्। उनीहरूका लागि मधेशमै १० लाख रोजगारी सिर्जना गर्नुपर्छ। त्यसका लागि सत्ता प्राप्त गर्नुपर्छ। सत्ता बाहिर रहेर रोजगारीको अवसर सिर्जना गर्न सकिंदैन।
अर्को, जनतालाई थाहा छ, अहिलेका पार्टीले कसरी मधेशलाई लुटेका छन्। त्यसको विकल्पमा हामीलाई जनताले साथ दिइरहेका छन्। जनता भ्रष्टाचारीलाई सहनै सक्दैनन्।
प्रदेश सरकारले ४९ करोडभन्दा बढी अनियमित खर्च गरेको छ। साइकलको विषय त सबैतिर आएकै छ। परिवहन, बीमा कार्यक्रम, पोखरी सौन्दर्यीकरणको नाममा भ्रष्टाचार भएको छ। प्रदेशमा कुनै कार्यक्रम नै छैन, जहाँ आफ्ना कार्यकर्तालाई पैसा नबाँडेको होस्।
प्रदर्शनमा प्रदेश २ सरकारले भ्रष्टाचार गरिरहेको छ भनिरहनुभएको छ। स्थानीय तहका कार्यालय घेराउ र तोडफोड पो भइरहेका छन्?
हामीले सामाजिक सञ्जाल मार्फत ‘महालेखापरीक्षकको प्रतिवेदन पढ्नुस्’ भनी आह्वान गरेका थियौं। जनतालाई जागरुक गराउन भनेका थियौं। अहिले आ-आफ्नो गाउँपालिका, नगरपालिकामा भएका अनियमितताका विषयमा बोलिरहेका छन्। सामाजिक सञ्जालमा लेखिरहेका छन्।
प्रदेश सरकारले ४९ करोडभन्दा बढी अनियमित खर्च गरेको छ। साइकलको विषय त सबैतिर आएकै छ। परिवहन, बीमा कार्यक्रम, पोखरी सौन्दर्यीकरणको नाममा भ्रष्टाचार भएको छ। प्रदेशमा कुनै कार्यक्रम नै छैन, जहाँ आफ्ना कार्यकर्तालाई पैसा नबाँडेको होस्।
मधेशमा बालबालिकालाई साइकल प्रदान गर्ने त राम्रै कार्यक्रम होइन र?
जनताको कर उठाएर बाँडिरहेका छन्। उनीहरूले आफ्नै घरबाट पैसा ल्याएर बाँडेका त होइनन्। विदेशमा खुन–पसिना बगाएर पठाएको पैसाको करबाट भ्रष्टाचार गरिरहेका छन्। ५० प्रतिशत बाँडेका छन्, २० प्रतिशत खाएका छन्।
मधेशमा तपाईंको नाममा जुन आकर्षण थियो, अहिले घटे जस्तो लाग्दैन?
अहिले पनि अवस्था उही छ। सत्तामा नपुगेकै कारण पत्रकार, बुद्धिजीवी मेरो नजिक आएनन्। तर, हाम्रो पक्षमा जनता अर्थात् जनमत पहिलेभन्दा पनि बढेको छ।
दुई वर्षमा हाम्रो पार्टी पाँच गुणाले बढेको छ। पिपरा गाउँपालिकाकै उदाहरण दिऔं। गत निर्वाचनमा बुथ प्रतिनिधिको समेत अभाव भएको थियो। त्यस्तो परिस्थितिमा पनि जनताले सम्मानजनक मत दिए। आज त्योभन्दा धेरै बलियो भएको अवस्था छ।
हामीले कहिले पनि कुनै मुद्दा छाडेका छैनौं। हाम्रो मूलभूत मुद्दा मधेशको समृद्धि र विकास नै हो। राजनीतिमा साध्य र साधन हुन्छ, हाम्रो साध्य भनेका समाजको समृद्धि हो।
पहिले जे जस्तो मुद्दा उठाएका थियौं, त्यो समाजको समृद्धिका लागि नै थियो। अहिले हामीले गर्ने राजनीति संसदीय व्यवस्था नै हो। त्यसैले संसदीय राजनीति मार्फत हामी संघर्षमा छौं।
मधेशमा मुख्यतः दुई वटा पार्टी क्रियाशील छन्। तपाईंको पार्टी कहाँ छ?
बीउ नै फरक भयो भने त्यसको उत्पादन नै फरक हुन्छ। मधेशमा अहिले जे जति पार्टीहरू छन्, तिनका आधारहरू के हुन् वा कहाँबाट आएका हुन् बुझ्नुपर्छ। राणाहरूले शासन गर्न नदिएपछि केही सामन्तहरूले बनाएको पार्टी हो, नेपाली कांग्रेस। मधेशमा पनि राणाकालमा हुकुमत चलाउन नपाएका व्यक्तिहरू नै कांग्रेसमा लागेका हुन्।
अहिलेसम्म पनि कांग्रेस सामन्तवादी पार्टी नै हो। प्रदेश सरकारमा कांग्रेसले चलाइरहेका मन्त्रालयमा केही दिन पहिले लगाएका फोटोहरूमा कुनै आम मधेशीको अनुहार भेटिंदैन। मधेशी शहीदहरूको फोटो हटाएर एउटै जाति र सामन्तवादीको फोटो लगाइयो।
उपेन्द्र यादव, महन्थ ठाकुर लगायत नेताहरूले मधेशी जनताको हकहितका लागि पार्टी गठन गरेका हैनन्। अन्य पार्टीमा रहँदा अवसर नपाएपछि मधेशी दल बनाएर अवसरको खोजीमा मधेश आएर नेता बनेका हुन्।
माधवकुमार नेपालले पनि नयाँ पार्टी निर्माण गरेका छन्। उनीहरूको फोटो सार्वजनिक भएको छ। त्यहाँ पनि मधेशी देखिंदैन। एउटै समुदायका व्यक्ति देखिन्छन्।
माओवादीमा पनि त्यस्तै छ। सशस्त्र संघर्षमा मधेशीको सहभागिता धेरै थियो। तर, जयकृष्ण गोइतले विरोध गरे, उनलाई निकालियो, मातृका यादव अगाडि बढ्न खोजे, उनलाई पनि दमित गरियो।
जसपा र लोसपाको अवस्था पनि फरक छैन। उपेन्द्रजी एमालेका कार्यकर्ता हुन्, पछि माओवादी हुँदै फोरम निर्माण गरे। त्यो वेला एउटा पार्टी निर्माण भएको थियो, तमलोपा। त्यो समयमा मधेशमा व्यक्ति मरिरहेका थिए, त्यो पार्टीका नेता महन्थ ठाकुरले मन्त्री पदमा बसेर ‘मधेशी आन्दोलन केही होइन, पानीको बुलबुला हो’ भनेका थिए।
उनीहरूले मधेशी जनताको हकहितका लागि पार्टी गठन गरेका हैनन्। अन्य पार्टीमा रहँदा अवसर नपाएपछि मधेशी दल बनाएर अवसरको खोजीमा मधेश आएर नेता बनेका हुन्। अहिले सबै पार्टी भ्रष्टाचारमा लिप्त छन्। हामीले नेपाललाई भ्रष्टाचारबाट मुक्त गराउन चाहेका छौं।
अरू पार्टीलाई त भन्नुभयो, तपाईंलाई पनि काठमाडौंले नै परिचालित गरेको हो भनेर चर्चा गरिन्छ नि!
म कुन प्रकारको राजनीतिक गरिरहेको छु, त्यो मधेशका बच्चा-बच्चालाई थाहा छ। मधेशको राजनीतिमा आफ्नो ज्यानकै बलिदानी दिने गरी आन्दोलन कहिल्यै भएको थिएन। हतियारको आन्दोलन भयो होला, तर यस्तो शान्तिपूर्ण आन्दोलन यस अघि भएको थिएन।
मधेशको भूमिमा अहिलेसम्म जति आन्दोलन भए, त्यसको नेतृत्व गर्नेहरू यति डरपोक थिए कि सीडीओ वा वडाका हाकीमले एउटा सामान्य मुद्दा लगाइदिन्थे, उनीहरू मधेशको भूमि छोडेर बेपत्ता भइहाल्थे। उनीहरूसँग कस्तो मधेश-प्रेम थियो? हामीमाथि दर्जनौं मुद्दा लगाइए, देशद्रोह जस्तो मुद्दा लगाइयो, तैपनि मधेशको माटोमा बसेर आन्दोलन गर्यौं।
अहिलेका जुन यथास्थितिवादी पार्टीहरू छन्, उनीहरू खानपानका लागि मिलेकै छन्। को विपक्षी, को सरकारवादी छुट्याउनै गाह्रो भइसकेको छ। उनीहरूलाई कतै अवरोध गरेका छैनौं, तर यथास्थितिवादी पार्टीको तारोमा हामी किन पर्यौं?
हाम्रो पार्टीका कार्यकर्तामा जसरी इमानदारी भरिएको छ, त्यो अरू पार्टीमा छैन। त्यसैले उनीहरू भयभीत छन। हामीसँग कुनै साधनस्रोत छैन, तैपनि हाम्रा कार्यक्रममा जनताको निकै समर्थन हुन्छ। त्यसैले उनीहरू बेतुकको आरोप लगाइरहेका छन्।
तपाईं त विदेशमा पढेलेखेको मान्छे। भूमिगत हुनुभयो, जेल पर्नुभयो। अहिले गाउँगाउँ गइरहनुभएको छ। पार्टी त खासै बलियो भए जस्तो देखिंदैन। यो सबै हेर्दा निराशा लाग्दैन?
राजनीतिमा सोचेरै आएको हुँ। कुन राजनीतिक दलले एकै पटक सफलता पाएको छ र! हामी पूर्वीय दर्शनमाथि विश्वास गर्छौं, त्यसमा निष्कामको कुरा गरिएको छ। यसबारे गीतामा पनि पटक पटक चर्चा गरिएको छ। मैले यसलाई जीवनमा प्रयोग गरेको छु। एउटा त गीता पढेको छु, पढ्छु। अर्को, यसलाई आफ्नो जीवनमा प्रयोग गरेको छु। त्यसैले म डगमगाउँदिनँ।
कुनै सानो कुरा पनि ‘एक्सन’ विना हुँदैन। ब्रह्माण्डमा सानो घटना पनि हुन्छ भने त्यसको प्रभाव हुन्छ। म आज जे गर्छु, त्यसको प्रभाव आज न भोलि अवश्य देखिन्छ।
क्षणिक लाभका लागि गरिने राजनीतिको प्रभाव क्षणिक मात्रै हुन्छ। नेपाली कांग्रेस नै हेरौं। कांग्रेसले ३० वर्ष भूमिगत अवस्थामै कार्यक्रम गर्यो। हाम्रो त कति नै भएको छ र! राजनीतिमा संर्घष लामो हुन्छ।
अहिले पार्टीहरू मुख्य गरी वामपन्थी र लोकतान्त्रिक धारमा छन्। तपाईंको पार्टीको धार कुन हो?
हाम्रो पार्टीका चार वटा आधारस्तम्भ छन्। लोकतन्त्र, जनसम्प्रभुता, सामाजिक न्याय र समाजवाद। हामी लोकतान्त्रिक समाजवादमा विश्वास गर्छौं। समाजवादका पनि विभिन्न स्वरूप छन्। वैज्ञानिक समाजवाद, गान्धीवादी समाजवाद, हामी भने लोकतान्त्रिक समाजवादलाई पार्टीको मूल सिद्धान्त बनाएर अगाडि बढेका छौं, त्यसमा पनि जनसम्प्रभुता प्रधान छ।
अहिले चुनाव लड्न पूँजीपतिको ढोकामा गएर चन्दा लिने, करोडौं खर्च गर्नुपर्ने अवस्था छ। यो कस्तो समाजवाद ल्याउँदै छौं त? पद्धति विकृत भयो भने त्यसले गर्ने उत्पादन पनि विकृत नै हुन्छ।
अहिले चुनाव लड्न पूँजीपतिको ढोकामा गएर चन्दा लिने, करोडौं खर्च गर्नुपर्ने अवस्था छ। यो कस्तो समाजवाद ल्याउँदै छौं त? पद्धति विकृत भयो भने त्यसले गर्ने उत्पादन पनि विकृत नै हुन्छ।
गाउँगाउँ पुग्नुभएको छ। मधेशीमाथि विभेद कम हुँदै गएको छ कि उस्तै छ?
पहिलो मधेश आन्दोलन सफल भयो, दोस्रो र तेस्रो आन्दोलन सफल भएनन्। यसको कारण के थियो भने, पहिलो मधेश आन्दोलन अघि राज्यले मधेशमा आफ्नो संयन्त्रको विकास गर्न सकेको थिएन। पहिलो आन्दाेलनपछि त्यो संयन्त्रलाई मधेशमा विस्तार गरिएको छ।
निजी कम्पनीमा पहिले मधेशीलाई पनि राखिहाल्थ्यो। अहिले त प्रदेश २ बाट आएको हो है भनेर राख्न मान्दैन। विभेद विगतभन्दा बढी संस्थागत भएको छ, संरचनागत रूपमा बलियो बनेर आएको छ।
प्रदेश २ मा मधेश केन्द्रित दलकै सरकार छ। अब यहीं विभेद भइरहेको छ भन्न मिल्छ त?
सत्ताको मूल लक्ष्य नै परिवर्तन हो। मधेश केन्द्रित दलहरू यसमा नलागेकै कारण न हामी आएका हौं। मधेशमा आफ्नो सरकार, आफ्नो प्रहरी, आफ्नो भाषामा शिक्षा, विकास हुनुपर्यो भनेरै त आन्दोलन भएको हो। मधेश आन्दोलनको बलमा बनेको प्रदेश सरकारले प्रदेशको नामकरण गर्न सकेको छैन, मधेश प्रदेश राख्न सकेको छैन।
गठबन्धन गर्नुपर्ने अवस्था आयो भने पार्टीसँग होइन कि सीट अनुसार, कहाँ को जित्न सक्छ, त्यो अनुसार गठबन्धन गर्नुपर्छ। त्यसो हुन सकेन भने एक्लै चुनाव लड्छौं। गत निर्वाचनभन्दा निकै राम्रो मत पाउँछौं।
मधेश आन्दोलनका शहीद परिवारलाई एउटा रोजगारी दिन सकेको छैन। जब कि त्यो निकै सहज थियो, स्थानीय तहमा शहीद परिवारलाई रोजगारी दिन सकिन्थ्यो। बरु सरकार उल्टै मधेशीलाई बदनाम गराइरहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा हान्यो। त्यसको विरोधमा आन्दोलन गर्छन्, यो त भ्रष्टाचार गर्न दिनुपर्यो भने जस्तै भएन र। यसमा मुख्यमन्त्री र पार्टीलाई गाली गरिंदैन, सिङ्गो मधेशी समुदायलाई गाली गरिंदै छ।
स्वास्थ्य, शिक्षामा केही काम गर्न सकेको छैन। संघीय सरकारले दिने बजेटमध्ये २२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। त्यसैले आफूलाई मधेशी दल भनेर चिनिएका दलको वास्तविक अनुहार जनताले थाहा पाइसकेका छन्।
अब चुनावमा त मधेश केन्द्रित दलहरूसँगै तालमेल गर्नुहुन्छ होला नि?
सत्ता केन्द्रित राजनीति गर्ने हो भने गठबन्धन एउटा सामान्य कुरा हो। जुनसुकै पार्टीसँग गठबन्धन हुनसक्छ, त्यो पार्टीले निर्धारण गर्ने हो।
मेरो विचार के हो भने, गठबन्धन गर्नुपर्ने अवस्था आयो भने पार्टीसँग होइन कि सीट अनुसार, कहाँ को जित्न सक्छ, त्यो अनुसार गठबन्धन गर्नुपर्छ। त्यसो हुन सकेन भने एक्लै चुनाव लड्छौं। गत निर्वाचनभन्दा निकै राम्रो मत पाउँछौं।