विश्वासको मत लिने मुख्यमन्त्री शाक्यको तयारी, यस्तो छ गणित
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलष्मी शाक्यले २४ असोजमा विश्वासको मत लिने तयारी गरेकी छन्। तर, कुनै राजनीतिक फेरबदल नभए उनले विश्वासको मत पाउने सम्भावना छैन।
२० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको हो। नवौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार मन्त्री केशवराज पाण्डेले बताए।
प्रदेश सभामा बहुमत प्राप्त दलको नेताका रूपमा शाक्य २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन्। त्यसपछि नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ।
दल विभाजनपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रदेश सभामा प्रस्ताव राख्नुपर्ने व्यवस्था गरिएको छ।
त्यही व्यवस्था अनुसार, मुख्यमन्त्री शाक्यले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेकी हुन्। अहिलेको अवस्थामा मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना छैन।
उनी मुख्यमन्त्री हुँदा एमालेका ५६ सांसद थिए। ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसदकाे समर्थन आवश्यक पर्छ।
२ भदौमा एमाले विभाजन भएपछि १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएका छन्।
अहिले प्रदेश सभामा एमालेका ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदूर किसान पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सांसद छन्।
केन्द्रमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ। प्रदेशमा पनि उनीहरूको गठबन्धनले निरन्तरता पाउने भएको छ।