भेन्टिलेटर छन्, चलाउने मान्छे छैनन्
मुलुकभर कुन-कुन अस्पतालमा कति भेन्टिलेटर छन् भन्ने तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगै छैन। १० लाखदेखि करोडौंसम्म खर्चेर जिल्ला अस्पतालहरूमा पुर्याइएका अधिकांश भेन्टिलेटर प्रयोग विहीन छन्।
कोभिड-१९ सङ्क्रमणका कारण फोक्सोमा समस्या र निमोनिया भएको १५ दिनसम्म आईसीयूमा राख्दा पनि अक्सिजन स्तरमा खासै सुधार नआएपछि नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलका लागि भेन्टिलेटर नै अन्तिम विकल्प बन्यो। खरेललाई मुखमा मास्क लगाएर दिइने नन्इन्भेसिभ भेन्टिलेसनमा राखिएको थियो।
फोक्सोको तन्किने क्षमता घट्दै गएपछि हाई फ्लो अक्सिजन थेरापी र हाई फ्लो नासुल क्यानुल्ला (एचएफएनसी) पद्धतिबाट खरेललाई उपचार गरिएको नेपाल प्रहरी अस्पतालका पल्मोनरी क्रिटिकल मेडिसिन विशेषज्ञ डा. मनोजकुमार यादव बताउँछन्। उनी भन्छन्, “फोक्सोमा श्वास भर्न भेन्टिलेटर प्रयोग गरी खरेललाई बचाउन सकिएको हो।”
खरेल पनि मुश्किलले बाँचेकाे बताउँछन्। उनी पाँच महीना अघिको अस्पताल बसाइ सम्झिँदै भन्छन्, “१२ दिनको भेन्टिलेटर बसाइ असाध्यै पीडादायी भए पनि बाँचेर घर फर्कन पाएँ।”
अर्का कोभिड-१९ सङ्क्रमित जयप्रकाश पराजुलीले सामान्य रुघाखोकी, ज्वरो आउँदाको अवस्थामा टेकुस्थित कोभिड-१९ अस्पतालमा हप्ता दिन उपचार गराए। निमोनिया बिग्रँदै गएपछि ३० दिन भेन्टिलेटरमा बस्नुपर्यो। पराजुली भन्छन्, “टेकु अस्पतालमा भेन्टिलेटर अभाव भएर हेल्पिङ हेन्डस् अस्पतालमा पुगें र आजसम्म बाँचेको छु।”
पराजुलीको उपचारमा खटिएका हेल्पिङ हेन्डस्का डा. सुविन थपलियाका अनुसार, महीना दिनसम्म नन्इन्भेसिभ भेन्टिलेसनमा राखेपछि क्रमिक सुधार आएको थियो। “१५ लिटर अक्सिजन दिंदा पनि ७७ भन्दा बढी अक्सिजन लेभल नबढेको अवस्थामा भेन्टिलेटरको उपचार साँच्चै उहाँका लागि वरदान भयो,” डा. थपलिया थप्छन्।
खासमा अक्सिजन दिंदा पनि बिरामीको स्वास्थ्यमा सुधार नभएपछि थप उपचार दिन भेन्टिलेटरमा राखिन्छ। तर, भेन्टिलेटरमा राखेपछि बिरामी पूर्ण स्वस्थ नै हुन्छन् भन्ने निश्चित नहुने सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन्। सुवेदी भन्छन्, “बिरामीको उमेर, अन्य रोग र कस्तो अवस्थामा ल्याइयो भन्ने जस्तै, भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति पनि उत्तिकै महत्त्वपूर्ण छ।”
यी सबै स्वास्थ्य प्रणालीको तालमेल हुँदा मात्र बिरामीलाई बचाउन सकिने सम्भावना बढी हुन्छ। धेरैजसो जिल्ला अस्पतालमा भेन्टिलेटर छन्, तर तिनलाई सञ्चालन गर्ने जनशक्तिको अभावमा बिरामीले कोभिड-१९ महामारीमा ज्यान गुमाए। “मेरै आफन्तको पनि भेन्टिलेटर र कोरोनाको सघन उपचार गराउने प्रणालीको व्यवस्थापन नभएरै ज्यान गयो,” डा. सुवेदीको भन्छन्, “अस्पतालसँग भेन्टिलेटर छ, चलाउने दक्ष जनशक्ति छैन।”
डा. सुवेदीका अनुसार, दुर्गम क्षेत्रका कोभिड-१९ का बिरामीका लागि राजधानीका अस्पतालको जस्तो विज्ञता र सघन उपचारको पहुँच छैन। भेन्टिलेटरले मात्रै पुग्दैन, विज्ञ जनशक्ति पनि चाहिन्छ।
“भेन्टिलेटरको भाँडोले मानिसलाई बचाउने हैन, त्यसलाई विज्ञताले व्यवस्थापन गरे मात्र उपचार सम्भव छ,” उनी भन्छन्, “त्यसैले जहाँ भेन्टिलेटर राखिएको छ, त्यहाँ सघन उपचार प्रणालीका सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्छ।”
जिल्ला र प्रदेश अस्पतालमा प्रयोग विहीन
कोरोनाका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु अन्तिम उपचार विधि हो। तर, जिल्ला र प्रदेश अस्पतालमा भेन्टिलेटर भएर पनि त्यसको व्यवस्थापन गर्न चुक्दा बिरामीले राजधानी धाउनुपर्ने बाध्यता छ। अझ उपचारमा ढिलो भएर ज्यान गुमाउनुपरेका कैयौं उदाहरण छन्।
सन्धिखर्कस्थित अर्घाखाँची अस्पतालमा ६ महीना अघि ‘कोरोना बजेट’ अन्तर्गत एउटा भेन्टिलेटर खरीद गरियो। तर, अस्पतालमा ल्याएको दिनदेखि नै स्टोरमा थन्क्याइएको छ। भेन्टिलेटर भए पनि सन्धखर्क अस्पतालमा राख्ने निश्चित कोठा छैन, विशेषज्ञ डाक्टर र कर्मचारी छैनन्।
“दुई दिन अघि मात्र कोभिडको बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको थियो,” अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जिसी भन्छन्, “तर, भेन्टिलेटर चलाउने जनशक्ति नभएपछि बिरामीलाई बुटवल अस्पताल पठाइयो।”
प्रयोग विहीन भेन्टिलेटर बिग्रने अवस्थामा पुगेको छ। डा. जिसी भन्छन्, “यहाँ आवश्यक समयमा उपचार दिन काठमाडौंका डाक्टर आउँथे। अहिले त्यो पनि कम भएको छ। अब भेन्टिलेटर चलाउने त नसोचे पनि हुन्छ।”
त्यस्तै, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा ११ वटा भेन्टिलेटर छन्। तर, सबैलाई एकैपटक आवश्यक पर्दा चलाउने जनशक्ति पुग्दैन। ५० शय्या क्षमताको अस्पतालमा जहाँ खाली ठाउँ छ, त्यहीं बेड राखेर उपचार गर्नुपर्ने अवस्था रहेको अस्पताल व्यवस्थापक वेदप्रकाश जोशी बताउँछन्। उनी भन्छन्, “यहाँ त भेन्टिलेटर बिग्रियो भने पनि काठमाडौंबाट प्राविधिक नआएसम्म उपचार रोकिन्छ।”
बझाङ जिल्ला अस्पतालले पनि तीन महीनाअघि प्रदेश सरकारले दिएको दुई दिने आईसीयू सञ्चालन गर्ने तालीम लिएका तत्कालीन मेडिकल अफिसर भूपेन्द्रमानसिंह श्रेष्ठबाट काम चलाएको थियो। सिंहको सरुवा भएपछि भने आपत्कालीन अवस्थामा अस्पतालका कार्यालय प्रमुख सन्दीपकुमार अखेडाले केही दिनको तालीम लिएको अनुभवका आधारमा सञ्चालन गर्दै आएका छन्। अस्पतालका सूचना अधिकारी गंगाप्रसाद जोशी भन्छन्, “अब डाक्टरहरू आईसीयू सञ्चालन तालीममा जाँदै हुनुहुन्छ। त्यसपछि भने भेन्टिलेटर सुविधा सक्रिय रूपमा सधैं दिन सकिएला।”
यता, आवश्यक दरबन्दी पनि पूरा गर्न नसक्दा र भेन्टिलेटरको व्यवस्थापनमा जनशक्ति पुर्याउन नसकेकामा आफू पनि चिन्तित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेल बताउँछन्। समायोजन शुरू भएदेखि स्थायी डाक्टरको भर्ना नखुलेको बताउँदै उनी भन्छन्, “विशेषज्ञ डाक्टरका पदहरू खाली हुँदा स्वास्थ्य सेवा नै प्रभावित भएको छ। अब भएका जनशक्तिलाई नै तालीम दिएर भेन्टिलेटर सञ्चालन गरिनेछ ।”
स्वास्थ्य मन्त्रालयसँग मुलुकभर कुन-कुन अस्पतालमा कति भेन्टिलेटर छन् भन्ने तथ्याङ्क पनि छैन। सरकारी अस्पतालमा कोरोना महामारी पूर्व पाँच सय भेन्टिलेटर थिए। महामारीपछि एक हजार वटा थपिए।
अवस्था कस्तोसम्म छ भने, प्रदेशको त परै जाओस्, केन्द्र सरकार आफैंले किनेका भेन्टिलेटरको रेकर्ड मन्त्रालयसँग छैन। साथै, निजी अस्पतालले मन्त्रालयमा तथ्याङ्क पठाउँदैनन्। जिल्लाका धेरैजसो भेन्टिलेटर प्रयोग विहीन भएको स्वीकार गर्दै प्रवक्ता डा. पौडेल भन्छन्, “ज्यान बचाउन सक्ने भेन्टिलेटर त जम्मा भए, चलाउने जनशक्ति भएन।”
के हो भेन्टिलेटर, कस्ताे छ जनशक्ति?
चिकित्सकहरूका अनुसार, भेन्टिलेटर कोरोनाका बिरामीलाई मात्र उपचार गर्ने प्रविधि होइन। जुन बिरामीलाई सास फेर्न गाह्रो हुन्छ, दम बढ्छ, अक्सिजन स्तर पुग्दैन, कार्बनडाइअक्साइड फाल्न सक्दैन भने मुखभित्र हावा धकेल्ने काममा भेन्टिलेटर प्रविधिले सहयोग गर्छ।
यस बाहेक अन्य केही रोग लागेर छातीको मासु कमजोर भए, सर्पको टोकाइबाट पक्षघात भए, निमोनिया र बेहोस पारेर गरिने शल्यक्रियामा भेन्टिलेटर प्रयोग हुँदै आएको छ।
कोरोनाका बिरामीको हकमा यसलाई उपचारको अन्तिम विधि मानिन्छ। भेन्टिलेटरमा बिरामी दुई तरीकाले राखिन्छन्। एउटा श्वास फेर्ने पाइप (ट्रेकिया)मा हालेर जसलाई इन्भेसिभ (बेहोस पारेर अक्सिजन दिने) भेन्टिलेसन भनिन्छ।
अर्काे, मुखमाथि मास्क लगाएर दिइने नन्इन्भेसिभ भेन्टिलेसन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आजै पनि कोभिडका ३३८ बिरामीको सघन उपचार कक्ष र ११५ जनाको भेन्टिलेटरमा उपचार चलिरहेको छ।
कोरोना महामारीमा धेरै प्रयोग भएको शब्द र उपचार प्रविधिमध्ये भेन्टिलेटर पनि एक हो। कोरोनाका बिरामीको फोक्सोमा सीधा अक्सिजन दिएर श्वास भर्न र अचेत अवस्थामा भेन्टिलेटर मार्फत औषधि, पौष्टिक आहार सहजै दिन सकिन्छ।
डा. यादव फोक्सो रोग विशेषज्ञ र सघन उपचार विशेषज्ञले मात्र भेन्टिलेटर चलाउन सक्ने बताउँछन्। यसका लागि इन्टर्नल मेडिसिन वा एनेस्थेसियामा मास्टर्स गरेपछि डीएम वा फेलोसिपबाट ३-४ वर्षको तालीम लिएपछि पूर्ण दक्ष मानिन्छ। यो विज्ञता पोस्ट ग्राजुएटभन्दा पनि माथिको हो।
नेपालमा यस्तो जनशक्ति सबै अस्पतालमा पुर्याउन सकिएको छैन। एनेस्थेसिया र मेडिसिनमा एमडी गरेका डाक्टर र नर्सहरूलाई ‘क्रिटिकल केयर वा आईसीयू ट्रेनिङ’ भनेर दिएमा उनीहरूले केही सहयोग गर्न सक्ने डा. यादव बताउँछन्।
सेती प्रादेशिक अस्पतालले यस्तै किसिमको तालीम दिन स्वास्थ्य मन्त्रालयसँग माग गरिरहेको छ। तर, चार महीना बितिसक्दा पनि तालीम हुन सकेको छैन ।
अन्य रोगभन्दा कोभिड लागेका धेरै बिरामी भेन्टिलेटरमै बितेको हालै टिचिङ अस्पतालमा गरिएको एक अध्ययनले देखाएको छ। इन्भेसिभ भेन्टिलेसनमा गएका ९५ कोरोना बिरामीमध्ये ८४ प्रतिशतको मृत्यु भएको तथ्य उक्त अध्ययनमा खुलेको छ।
“त्यही अध्ययनका अनुसार, भेन्टिलेटरमा बिरामीको मृत्युको कारण सीधै दक्ष जनशक्तिको अभाव भन्न नमिल्ला। तर, भेन्टिलेटरमा बिरामी राखेपछि चौबीसै घण्टा दक्ष जनशक्तिको निगरानी हुनुपर्छ, अन्यथा जटिलता आउँछ,” नेपाल प्रहरी अस्पतालका डा. यादव भेन्टिलेटर सञ्चालनमा लापरवाही रहेको इङ्गित गर्दै भन्छन्, “नेपालका सबै अस्पतालमा यस्तो व्यवस्थापन छैन।”
व्यवस्थापनका चुनौती
हेल्पिङ हेन्डस् अस्पतालका डा. सबिन थपलियाका अनुसार, भेन्टिलेटर मेसिन राख्दैमा उपचारको चुनौती टर्दैन। त्यसका लागि सघन उपचार कक्ष अर्थात् जनशक्ति, बिरामीको ज्यान जोगाउने प्रणाली, प्रक्रिया, तालिम प्राप्त डाक्टर, नर्स, माइक्रोबायोलोजी ल्याब, फार्मेसी, पोषणको व्यवस्थापन अपरिहार्य छ। त्यसपछि मात्र भेन्टिलेटरको औचित्य हुनेछ।
बिरामीलाई नन्इन्भेसिभ भेन्टिलेटरमा राखेर पनि सही उपचार मिल्दा १५ दिनमा बिरामी स्वस्थ भएर घर फर्काउन सकेको अनुभव साट्दै डा. सुवेदी भन्छन्, “म सघन उपचारको विशेषज्ञ नै त होइन, तर अनुभवका आधारमा भन्दा नेपालको सघन उपचारको गुणस्तर खत्तम छ।”
१० लाखदेखि करोडौंसम्म खर्चेर जिल्ला जिल्लामा पुर्याइएका भेन्टिलेटर प्रयोग विहीन हुनु नै सबैभन्दा ठूलो चुनौती भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल बताउँछन्। देशभर प्रयोग विहीन भेन्टिलेटर चलाउन आईसीयू सञ्चालन तालिम शुरू गर्ने जनाउँदै पौडेल भन्छन्, “यस वर्षभरि आवश्यक क्षेत्रहरूको खोजी गरी कम्तीमा स्टोरमा थन्किएका भेन्टिलेटर चाँडै सञ्चालनमा ल्याउने कोशिश गर्नेर्छौं।”