दशैं-तिहारका वेला ट्राफिक प्रहरीले किन बढाउँछ सुरक्षा जाँच?
हरेक वर्ष दशैं-तिहार नजिकिंदै गर्दा ट्राफिक प्रहरीले सवारी साधन जाँचमा कडाइ गरेको देखिन्छ। किन?
दशैं-तिहार-छठ नजिकिंदै गर्दा ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ। चाडबाड नजिकिंदै गएपछि दैनिक २१ घण्टासम्म जाँच गर्ने गरिएको ट्राफिक प्रहरी प्रवक्ता सञ्जीव शर्मा शर्मा बताउँछन्।
दशैं-तिहारकै मुखमा ट्राफिक प्रहरीको सक्रियता किन बढ्छ त? “कतिपयले दशैंमा जाँच बढाएको भनेर नकारात्मक टिप्पणी गरेको सुनिन्छ,” शर्मा भन्छन्, “वास्तवमा हामीले यात्रु र सवारीधनीकै सुरक्षाका लागि यस्तो कडाइ गर्नुपरेको हो।”
दशैं-तिहारमा सवारी साधनको अत्यधिक खरीदबिक्री हुने गर्छ। यति वेला सिकारु चालकदेखि लाइसेन्सविनै सवारी साधन लिएर सडकमा आउनेको सङ्ख्या ठूलो हुन्छ।
नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी हेमन्त मल्ल दुर्घटना न्यूनीकरण र सवारी साधन चोरी घटाउन चाडपर्वका वेला बढी सुरक्षा जाँच गरिएको बताउँछन्। उनी भन्छन्, “प्रहरीको चाडपर्व लक्षित यस्तो सक्रियताले धेरै जनधन क्षति हुनबाट जोगिने गरेको छ।”
सरकारले गरेको ‘स्टेटस् पेपर अन रोड सेफ्टी इन नेपाल’ शीर्षकको अध्ययन प्रतिवेदन अनुसार, ४४ प्रतिशत दुर्घटनाको कारण चालकको लापरबाही हो। त्यस्तै, १९ प्रतिशत दुर्घटनाको कारण तीव्र गति र ६ प्रतिशत दुर्घटनाको कारण मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनु हो।
चाडबाडका वेला धेरैले मापसे गरेर सवारी चलाउने गरेको पाइएको प्रहरीको अनुभव छ। ट्राफिक प्रहरी प्रवक्ता शर्मा काठमाडौं उपत्यकामा जाँचका क्रममा मापसे गरेर सवारी हाँक्ने दैनिक तीन सयलाई कारबाही गरिएको बताउँछन्। उनी भन्छन्, “दशैंका वेलामा सार्वजनिक बस चालकलाई लक्षित गरेर मापसे चेकिङमा कडाइ गरेका छौंं।”
सवारी जाँच कडा गरेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा लिएको छ। नम्बर प्लेट नलेखिएका १६५ र नम्बर प्लेट अस्पष्ट भएका ५४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी प्रवक्ता शर्माले जानकारी दिए।