विदेशमा यातना, घर फर्केपछि झन् पीडा
वैदेशिक रोजगारीमा गएका महिलाले सम्झौता अनुसार कामको माग गर्दा यातना पाउने गरेको र घर फर्केपछि पनि परिवारजनले अनेक आरोप लगाएर थप पीडा दिने गरेको गुनासो गरेका छन्।
घरपरिवार चलाउन मुश्किल भएपछि हेटौंडाकी राधा वैदेशिक रोजगारमा साउदी अरब गइन्। घरेलु कामदारका रूपमा गएकी उनलाई घरमालिकले दुर्व्यवहार गर्न थालेपछि नेपाल फर्किइन्।
घर फर्केपछि उनले साउदीमा पाएको पीडा श्रीमान्लाई सुनाइन्। श्रीमान्लाई सुनाउँदा हलुका होला भन्ने सोचेकी थिइन्, तर झन् पीडा थपियो। उनका श्रीमान्ले सँगै बस्न नसक्ने बताए।
परिवारको सुखद भविष्यका लागि विदेश गएकी उनले धेरै दुःख र हन्डर खेपेर घर फर्किंदा परिवारकै साथ पाइनन्। सामाजिक संस्थाको सहयोगमा नेपाल फर्केकी उनले श्रीमान्को घरमा प्रवेश नपाएपछि सिन्धुपाल्चोकस्थित माइतीघर गइन्।
मकवानपुरकी पार्वती रोजगारीका लागि भारत पुगिन्। राम्रो रोजगारी पाइने भनेपछि उनी आफन्तसँगै भारत पुगेकी थिइन्। तर, त्यहाँ उनी बेचबिखनमा परिन्।
६ वर्षपछि नेपाल फर्किंदा दुःखका दिन सकिए जस्तो लागेको थियो, उनलाई। तर, परिवारजनले स्वीकार गरेनन्। अहिले उनी बुटवलमा व्यवसाय गरेर छोरा हुर्काइरहेकी छन्।
मकवानपुरकै सरस्वती वैदेशिक रोजगारीका लागि विदेश गएकी थिइन्। विदेशमा दुःख पाएपछि घर फर्किइन्। परिवारजनले त सहज रूपमा लिएका थिए, तर छरछिमेकले अनेक टीकाटिप्पणी गर्ने गरेको उनी सुनाउँछिन्।
विदेशमा बेचिएकी भनेर छरछिमेकले कुरा काटेको सुन्दा बेचैन भएको उनी बताउँछिन्। “घरपरिवारले त स्वीकार गर्यो, तर छिमेक, साथीभाइले नानाथरी कुरा गरेर पीडा दिइरहन्छन्,” उनी भन्छिन्।
उनीहरू जस्तै वैदेशिक रोजगारीमा गएका कैयौं महिलाले विदेशमा त पीडा खेपेकै छन्, घर फर्किएपछि पनि झन् अप्ठ्यारोमा परेका छन्। विदेशबाट फर्केका युवाले सम्मान पाउने भए पनि महिलाहरू भने घरपरिवारबाटै अपहेलित हुँदै आएका छन्। “विदेशमा दुःखकष्ट खेप्नुपर्छ। जसोतसो घर फर्कियो, परिवार र समाजले झन् पीडा दिन्छन्,” उनी भन्छिन्।
घर फर्केपछि उनीहरूले न्याय खोज्ने गरेका पनि छैनन्। वैदेशिक रोजगारका क्रममा ठगिएका तथा विभिन्न किसिमका शोषणमा परेका महिलाले कानूनी उपचार खोज्न पनि नचाहने गरेको अधिकारकर्मी बताउँछन्।
ग्रामीण एकीकृत विकास सेवाकी अध्यक्ष सीता विष्ट केहीलाई क्षतिपूर्ति पाइन्छ भन्ने थाहा नहुने गरेको र थाहा भएकाले पनि त्यो बाटो नरोज्ने गरेको बताउँछिन्। उनी भन्छिन्, “कतिपय आफ्नो विगतबारे अरूले थाहा पाउँछन् कि भन्ने भयले न्याय खोज्नेतिर चासो दिंदैनन्।”
वैदेशिक रोजगारका क्रममा पीडा खेपेर आएका उनीहरू पुरानै ठाउँमा नबस्ने गरेको पाइएको उनी बताउँछिन्। अध्यक्ष विष्ट भन्छिन्, “कतिपय समाजमा पुरानै हैसियतमा स्थापित हुन नसकेपछि कि फेरि वैदेशिक रोजगारीमा जान्छन् कि बसाइँ सरेर अन्यत्र जान्छन्।”
मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको जिल्ला सञ्जालकी अध्यक्ष आरती पाठक कमजोर आर्थिक अवस्था, घरेलु हिंसा, श्रीमान्को दबाब लगायतका कारणले महिला वैदेशिक रोजगारमा जाने गरेको बताउँछिन्। “पहिले वैदेशिक रोजगारीमा पठाउँछन्, समस्यामा परेर फर्केपछि परिवारले नै हेर्दैन,” उनी भन्छिन्।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरका अनुसार, राहदानी बनाउनेमध्ये ४० प्रतिशत महिला छन्। पछिल्लो समय राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ।
सजग गराउने प्रयास
वैदेशिक रोजगारमा जाँदा हुने समस्याबारे सजग गराउन थालिएको छ। जानु अघि भएको सम्झौता अनुसार काम नपाएपछि समस्या पर्ने भएकाले सचेत गराउन थालिएको माइती नेपाल, मकवानपुर संयोजक माया लामाले जानकारी दिइन्।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय, मकवानपुरको आप्रवासन स्रोत केन्द्रले पनि राहदानी बनाउँदा सचेत गराउँदै आएको छ। वैदेशिक रोजगारीका क्रममा समस्या नहोस् भनेर दैनिक १५ देखि २० जनालाई परामर्श दिने गरिएको सूचना तथा परामर्शकर्ता पार्वती विकले बताइन्।
विशेष घरेलु काममा जानेहरूलाई समस्या पर्ने गरेको पाइएको उनको भनाइ छ। त्यसैले राहदानी बनाउन आउनेहरूलाई सूचना तथा परामर्श दिने, इजाजत प्राप्त म्यानपावर, श्रम स्वीकृति, तालीम, सीप र पैसा बुझाउँदा ध्यान दिनुपर्ने विषयमा परामर्श दिने गरेको उनले सुनाइन्।
हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र बकैया गाउँपालिकामा एकीकृत ग्रामीण विकास सेवाको सहजीकरणमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले समस्यामा परेका व्यक्तिलाई न्यायका लागि सहजीकरण गर्दै आएको छ। गत दुई महीनामा ३२ जनाले सहयोगका लागि निवेदन दिएको परियोजना संयोजक अन्जिता थापा मगरले बताइन्।
गत वर्ष ८९ वटा निवेदन आएका थिए। जसमध्ये ५५ मुद्दा दर्ता गरिएको उनले बताइन्। पीडितलाई ७९ लाख रकम क्षतिपूर्ति उपलब्ध गराइएको अध्यक्ष विष्टले जनाइन्।