महिला अपमानित गर्ने उखान
परम्परा तथा संस्कृतिको नाममा प्रयोग गरिंदै आएका कतिपय उखान-टुक्काले लिङ्ग, जाति र समुदाय विशेषलाई अपमानित गर्छ।
लामा-लामा वाक्यको सट्टा एउटै उखान-टुक्काले मनको भाव सजिलै उजागर गर्नसक्छ। बोलाइ तथा भनाइलाई तिख्खर बनाउँछ। यससँगै उखान-टुक्काले समाजमा कस्ता चालचलन छन् भन्ने पनि देखाउँछ।
कतिपय उखान-टुक्काले जाति र समुदाय विशेषलाई अपमानित गर्छन्। कतिपय उखानले महिलाको अपमान गर्छन्। त्यस्ता उखान समयसँगै प्रयोग गर्न पनि छोडिन्छ। तर, अझै पनि कतिपय उखान प्रयोग भइरहेका छन्, जसले जाति, लिङ्ग तथा समुदाय विशेषलाई अपमानित गर्छन्।
लैङ्गिक समानता प्रति सचेत नागरिकले अरूलाई अपमानित गर्ने उखान प्रयोग गर्दैनन्। तर, कतिपयले नबुझेर त कतिपयले बुझ्दाबझ्दै यस्ता उखान प्रयोग गरिरहेका छन्।
लैङ्गिक समानता प्रति सचेत नागरिकले अरूलाई अपमानित गर्ने उखान प्रयोग गर्दैनन्। तर, कतिपयले नबुझेर त कतिपयले बुझ्दाबझ्दै यस्ता उखान प्रयोग गरिरहेका छन्।
अपमानजनक उखान प्रयोगमा रोक लगाउनुपर्ने विषय उठ्दा कतिपयले प्रतिवाद पनि गर्दै आएका छन्। उनीहरूको तर्क हुन्छन्- ‘यस्ता उखान हटायो भने त हाम्रो साहित्यिक भण्डार सानो हुन्छ।’ अरूलाई अपमान गर्ने उखान राख्दा होइन, हटाउँदा नै साहित्य समृद्ध हुन्छ।
परम्परा एवं संस्कृतिका रूपमा रहेका कतिपय मानवता विरोधी प्रथा हटाइएका छन्। जस्तो, सती प्रथा हट्यो। बालविवाहलाई कानूनले बन्देज लगाएको छ। जातीय छुवाछूतलाई कानूनले अपराध मानेको छ। संस्कृति बचाउने नाममा त्यस्ता चलन ठीक छन् भनेर कसैले भन्न सक्दैन।
त्यस्तै, संस्कृति र संस्कारको नाममा अप्रासङ्गिक भइसकेका उखानलाई बोलीचाली र लेखाइमा प्रयोग गर्दा नेपाली भाषाकै ओज रहन्न। यसको प्रयोगले भाषाकै ओज घटाउँछ। त्यो त समय विरोधी काम हुन्छ।
संस्कृति र संस्कारका नाममा अप्रासङ्गिक भइसकेका उखानलाई बोलीचाली र लेखाइमा प्रयोग गर्दा नेपाली भाषाकै ओज रहन्न। त्यो त समय विरोधी काम हुन्छ।
महिला विरोधी उखान थुप्रै छन्। अहिले पनि ‘तरुनी बेस्से सात वटा पोइ, मर्न लागी बेस्से कोई न कोई’, ‘जब पर्यो राति, अनि बूढी ताती’, ‘अनुहार न दनुवार पोइ खोज्न थाली’, ‘आई बूढी मच्चिंदै, गई बूढी थच्चिंदै’ जस्ता उखान प्रयोग भइरहेका छन्। यस्ता उखानले महिलाको यौनिकताको अपमान गर्छन्।
त्यस्तै, महिलाहरू फाल्तु कुरा गर्न मात्र रुचाउँछन्, उनीहरू गम्भीर तथा महत्त्वपूर्ण विषयमा कुराकानी गर्दैनन् भन्ने किसिमका उखान प्रयोग भइरहेका छन्। ‘आइमाईको पेटमा कुरा पच्दैन’, ‘रुद्रघण्टी नहुनेको विश्वास नगर्नु’ भन्ने उखान यसका उदारहण हुन्।
अहिलेको समयमा पनि महिला घरभित्र मात्र बस्छन्, बस्नुपर्छ भन्ने भाव मुखरित हुने गरी उखान प्रयोगमा छन्। जस्तै, ‘लुगा धोइस् बूढी?, सुँघी हेर बुढा नै’, ‘आमा–छोराको ऐंचोपैंचो, बाबु–छोराको लेनदेन।’
त्यस्तै, अन्धविश्वासलाई बढावा दिने, कुरीतिलाई मान्ने र त्यसमा पनि महिलालाई नै अपमान हुने उखान–टुक्का प्रयोग भइरहेका छन्। ‘जो बोक्सी, उही सुँडेनी’, ‘कङ्गालको जात छैन, बोक्सीको गाउँ छैन’ लगायत उखान यसका उदाहरण हुन्।
महिलालाई वस्तुका रूपमा प्रस्तुत गर्ने, द्विअर्थी, अश्लीलता झल्किने उखान पनि प्रशस्त छन्। ‘बाह्र वर्षमा पोइ आयो, मै राँडीलाई ज्वरो आयो’, ‘मोहबत राख्ने स्वास्नी मानिसका सात वटा हुन्छन्’ उखानले महिलालाई मनोरञ्जन, भोगको सामान जस्तो मानेर हियाउँछन्।
महिलालाई होच्याउने उखानमा पनि सासू र बुहारीलाई जोडेर बनाइएका उखान धेरै छन्। ती उखान सासू-बुहारीको सम्बन्ध राम्रो हुँदैन भन्ने विचारले बनाइएका छन्।
कुरीतिलाई प्रश्रय दिने उखान पनि प्रशस्तै भेटिन्छन्। जस्तो, ‘कान्छीको पादै प्यारो, जेठीको बोलाइ नै प्यारो’, ‘तीन गोरुको हल पक्का, दुई स्वास्नीको घर पक्का’, ‘लागे लाग मोहनी, नलागे घरमा नै सात वटी’, ‘सौताको रिसले पोइको काखमा मुत्नु’ जस्ता उखानले कुसंस्कारलाई प्रश्रय दिन्छन्।
कतिपय उखानले एकल महिलालाई होच्याउँछन्, अपमान गर्छन्। शहरमा कम भए पनि गाउँमा भने अझै पनि ‘नामर्दको भर नपर्नू, राँडीको भोज नखानू’, ‘राँडीलाई पोतेको रहर’, ‘राँडीलाई ढोग मै जस्तो होस् भन्छे’, ‘गरीबलाई दिउँला नभन्नू, राँडीलाई लैजाउँला नभन्नू’ जस्ता अपमानित गर्ने उखान सुनिने गरेका छन्।
छोराछोरीबीच भेदभाव गर्ने उखान त अहिले पनि जताततै प्रयोग गरिन्छ। ‘छोरा पाए खसी, छोरी पाए फर्सी’, ‘छोरी मरी, राम्रै घर परी’, ‘छोरा पाल्नु शहरमा, छोरी पाल्नु कुनामा’ उखान पढेलेखेकै मान्छेले पनि प्रयोग गरिरहेका हुन्छन्। छोरा र छोरी समान हुन भन्ने स्वीकार गर्न अझै पनि कतिपयलाई गाह्रो हुने गरेको छ।
समाजको नेतृत्व गर्ने मान्छेले नै असमानता जनाउने गरी उखान टुक्का भनिरहेका हुन्छन्। २०४७ को संविधान जारी हुँदा कृष्णप्रसाद भट्टराईले ‘ढिलो भयो, छोरै भयो, संविधान ढिलै आए पनि राम्रो आयो’ भनेका थिए। अहिले पनि कतिपय नेताले यस्तो उखान प्रयोग गरिरहेका छन्।
लिङ्ग, जाति, समुदाय विशेषलाई अपमानित गर्ने उखानहरू प्रयोग गर्नु कुरीति, कुसंस्कारको पक्षपोषक र अन्धविश्वासको समर्थक बन्नु हो।
महिलालाई होच्याउने सिलसिलामा सासू र बुहारीलाई जोडेर बनाइएका उखान पनि धेरै छन्। ती उखान सासू-बुहारीको सम्बन्ध राम्रो हुँदैन भन्ने विचारले बनाइएका छन्। ‘चोर्ने बुहारीलाई भण्डार सुम्पिनू’, ‘ठूलो गाँस नहाल बुहारी, कण्ठश्री चुँडिएला’, ‘कुन्ताकी बुहारी भटमास खाएकी’, ‘गनगन गर्ने सासू, फनफन पर्ने बुहारी’ यसका उदाहरण हुन्।
यस्ता उखानले सासू-बुहारीको सम्बन्धलाई हेय दृष्टिकोणले हेर्छन्। सासू-ज्वाइँ, ससुरा-बुहारी, ससुरा-ज्वाइँको सम्बन्धमा यस्ता अपमानित गर्ने उखान-टुक्का छैनन्, बन्दैनन्।
यस्तै, जात अनि समुदायलाई अपमानित गर्ने उखान–टुक्का पनि अझै सुनिन्छन्। ‘कामी दमाईं माग्न जान्दैन, दाद लुतो आउन जान्दैन’, ‘कामी ढर्रा, दमाईं स्वाङ’, ‘नेवार इष्ट, बाबु दुष्ट हुँदैन’ जस्ता उखानले अपमानित गर्छन्। अझै पनि यस्ता उखानलाई सत्य जस्तै ठानेर प्रयोग गर्नेको कमी छैन।
अहिले पनि यस्ता उखान प्रयोग गर्नु कुरीति, कुसंस्कारको पक्षपोषक र अन्धविश्वासको समर्थक बन्नु हो। त्यसैले यस्ता उखान-टुक्का दैनिक जीवनमा प्रयोग नगरौं। अहिले हामीले प्रयोग नगरेपछि अर्को पुस्ताले पनि यस्ता अपमानजनक उखान-टुक्का सिक्न सक्दैन।