भवन निर्माणमा कमसल सामग्री, ठेकेदारले बनायो ल्याबको नक्कली रिपोर्ट
खोटाङको ऐंसेलुखर्क गाउँपालिकाको निर्माणाधीन साढे दुई करोडको प्रशासनिक भवनको पिलरको गुणस्तर परीक्षण गर्दा ठेकेदारले ल्याबको नक्कली रिपोर्ट बनाएको खुलेको छ।
गाउँपालिका प्रशासनिक भवनको भुइँतलाको पिलरको गुणस्तर परीक्षणका लागि २१ जेठमा स्याम्पल (कङ्क्रिट क्युब) सङ्कलन गरिएको थियो। त्यसको परीक्षण गर्न ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पठाइएको थियो।
केन्द्रले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ उल्लेख गर्दै २३ असारमा ल्याब रिपोर्ट दिएको थियो। तर, निर्माण कम्पनी रुज-जगदम्बा-भुवनेश्वरी एन्ड बैभव जेभीले १० साउनमा मात्रै गाउँपालिकालाई बुझाएको थियो।
पहिलो रिपोर्ट बुझाएको दुई दिनपछि त्रुटि भएको भन्दै अर्को रिपोर्ट इमेल मार्फत गाउँपालिकामा पठाएको थियो। जसमा ‘२३ असारमा परिपत्र भएको क्युब टेस्टको रिपोर्ट मेसिनमा केही त्रुटि भई गलत रिपोर्ट प्रिन्ट भएकाले उक्त रिपोर्ट फेरि सच्याएर पठाइएको’ उल्लेख छ।
तर, २७ भदौमा गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले पनि गाउँपालिकालाई ल्याब रिपोर्ट पठाएको छ। त्यसपछि मात्रै निर्माण कम्पनीले दिएको ल्याब रिपोर्ट नक्कली भएको खुलेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन्।
प्राविधिक शाखामा पेश भएको ल्याब रिपोर्ट अध्ययन र विश्लेषण गर्दा नक्कली र झूटो भएको आशङ्का भएपछि त्यसको पुष्टि गर्न गाउँपालिकाले केन्द्रलाई पत्राचार गरेको थियो। केन्द्रले जवाफ पठाएपछि निर्माण कम्पनीले सरकारी कागजात दुरुपयोग गरी नक्कली ल्याब रिपोर्ट तयार गरेको पाइएको उनले बताइन्।
निर्माण व्यवसायीले उपलब्ध गराएको रिपोर्टमा ल्याब इन्चार्जको हस्ताक्षर फोटोकपी गरेर टाँसिएको छ। त्यस्तै, पत्रमा ‘महोदय’, ‘चिठ्ठी’ जस्ता शब्द प्रयोग गरिएका छन्। जसका आधारमा गाउँपालिकाले शङ्का लागेर पुष्टि गर्न खोजेकोे प्रमुख प्रशासकीय अधिकृत यादवले बताइन्।
निर्माण कम्पनीका प्रतिनिधि गणेश राईले भने रिपोर्ट नक्कली नभएको दाबी गरे। गाउँपालिकाका इन्जिनियर बाबुराम राउतसँग लेनदेनमा कुरा नमिलेपछि ल्याब परीक्षण रिपोर्ट गलत भनिएको उनको आरोप छ। “ल्याब रिपोर्ट फेल भएको होइन, त्रुटि भएको हो। कम तौलको कङ्क्रिट क्युब परीक्षणमा लगिएको छ,” उनीले भने।
१४ दिनको भन्दा २८ दिनको कङ्क्रिट क्युब स्ट्रेन्थ कम देखिएकाले परीक्षणमा त्रुटि रहेको उनको भनाइ छ। अब आफ्नो रोहबरमा ल्याब परीक्षण हुनुपर्ने उनको माग छ।
ऐंसेलुखर्क गाउँपालिकाले प्रदेश १ सरकारको अनुदानमा प्रशासकीय भवन निर्माणका लागि २६ माघ २०७६ मा टेन्डर आह्वान गरेको थियो। तीन करोड ६९ लाख ८५ हजार ८७३ रुपैयाँमा टेन्डर आह्वान गरिएको भए पनि कम्पनीले दुई करोड ६८ लाख ४३ हजार ३४६ रुपैयाँमा ठेक्का पाएको थियो।
१९ माघ २०७७ मा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो। तर, समयमा काम नसकिएपछि २०७८ असारसम्म म्याद थपिएको थियो। तर, अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको छ। निर्माण कम्पनीले ३९ लाख ९० हजार ७५३ भुक्तानी लिइसकेको छ।
भवन निर्माणको काम रोकियो
नक्कली ल्याब रिपोर्ट दिएपछि गाउँपालिकाले भवन निर्माणको काम रोक्न पत्राचार गरेको छ। १५ भदौमा गाउँपालिकाले पत्र पठाएर काम रोक्न लगाएको हो।
भवन निर्माणको काम तथा भुक्तानी रोकिएको गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए। तर, पत्राचार गर्नुअघि नै निर्माण व्यवसायीले पहिलो स्ल्याब ढलान गरिसकेका थिए।
गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेल भवन निर्माणमा ढिलासुस्ती र लापरवाही भएको बताउँछिन्। काम पनि गुणस्तरीय नभएको उनको भनाइ छ।