रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी भइरहेका खोटाङका विद्यार्थीले ‘पकेट वाईफाई’ पाएका छन्।
कोभिड-१९ को महामारी विद्यालयमा बन्द भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका धनकुमार मगरले रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी भएका थिए। अर्खौलेकै सरस्वती मावि कक्षा १० मा अध्ययनरत धनकुमारलाई नेपाल टेलिकमले पकेट वाईफाई डिभाइस प्रदान गरेको हो।
टेलिकमले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपामा नयाँ टावर राखिएको छ। फोरजीको नयाँ टावर सञ्चालनमा आए लगत्तै उनलाई पकेट वाईफाई डिभाइस प्रदान गरिएको नेपाल टेलिकम, ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थी बताए।
अध्ययनमा सहयोग पुर्याउन डिभाइस प्रदान गरिएको पन्थीले बताए। यसमा टेलिकमको सीम राखेर वाईफाई चलाउन सकिन्छ। उनका लागि विराटनगरबाट डिभाइस ल्याइएको हो।
आइतबारबाट उनको घरमा इन्टरनेट सञ्चालनमा आएको छ। अनलाइन कक्षाका लागि विद्यार्थीले रुखमा चढ्नुपर्ने वाध्यताले रहेको खबर आएपछि उनको वडा सहित हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ क्षेत्रलाई लक्षित गरि नयाँ फोरजी टावर पनि राख्न लागिएको टेलिकमले जनाएको छ।
यसरी बनाएका थिए रुखमा डेरा
कोभिड-१९ को महामारीका कारण भौतिक उपस्थितिमा पठन-पाठन गर्ने अवस्था नभएपछि विद्यालयले २४ साउनदेखि अनलाइन कक्षा सञ्चालन गरेको थियो। तर, अर्खौले नवलपुरको पुछारमा खोलाभन्दा माथि रहेको सिम्लेमा मोबाइलको डाटा मुस्किलले कनेक्ट हुन्थ्यो।
कमजोर कनेक्सनकै कारण धनकुमार एक साता भर्चुअल कक्षमा सहभागी हुन सकेका थिएनन्। पढाइ छुट्दा अत्तालिएका धनकुमारले डाटा कनेक्ट हुने ठाउँ खोज्दै जाँदा घर नजिकैको रुखलाई भेट्टाए। र, रुखमै डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएको सरस्वती माविका प्रधानाध्यापक नविन चाम्लिङले बताए।
अहिले पढाइप्रति उनको लगावले सबैतिर चर्चा पाएको छ। उनी कक्षाका अब्बल विद्यार्थी पनि हुन्।
सरस्वती माविले कक्षा ६ देखि १० सम्म अनलाइनबाट पठनपाठन सञ्चलान गरेको थियो। २९ भदौबाट भने भौतिक उपस्थितमै पढाइ चलिरहेको छ।