जलवायु परिवर्तनको मारमा मनाङ (तस्वीरहरू)
बाढीले घरखेत बगाएको साढे तीन महीना बितिसक्दा पनि हिमालपारिको जिल्ला मनाङका बासिन्दाले राज्यको सहारा पाउन सकेका छैनन्।
हिमालपारिका मनाङ र मुस्ताङ कम पानी पर्ने जिल्ला हुन्। तर, विश्वव्यापी रूपमा भइरहेको तापक्रम वृद्धि र त्यसबाट सिर्जित जलवायु परिवर्तनका कारण मनाङ र मुस्ताङमा पछिल्ला वर्षमा पानी पर्ने दरमा वृद्धि भइरहेको छ। गत असारमा मनाङमा सरदर वर्षाको तीन सय प्रतिशतभन्दा बढी वर्षा भयो ।
असारमा मनाङमा गएको बाढी र पहिरोबाट भौतिक संरचनामा क्षति भएकाे छ भने खेत बगरमा परिणत भएका छन्। “विद्युत्, सडक, निजी सम्पत्ति समेत जोड्दा एक अर्ब १० करोडभन्दा बढी क्षति भएको अनुमान छ,” प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछाने भन्छन्।
मर्स्याङ्दीमा आएको बाढीले बेसीशहर-मनाङ सडकखण्डको थुप्रै ठाउँमा सडक बगाएको छ। बेसीशहरदेखि धारापानीसम्म यातायात सञ्चालनमा आए पनि सदरमुकाम चामे र मनाङगाउँ पुग्ने सडक भताभुङ्ग छ।
नयाँ ट्र्याक खोल्ने प्रयास गरिएको भए पनि भौगोलिक कठिनाइका कारण गति लिन सकेको छैन।
सडक मात्रै होइन, स्थानीय बासिन्दाको घरखेत पनि भताभुङ्ग छ। बाढीले सबैभन्दा बढी क्षति नासो गाउँपालिकाको तालगाउँ, धारापानी र सदरमुकाम चामेमा पुर्याएको छ। घर रहेको ठाउँमा खोला बगिरहेको छ।
बाढी र पहिरोले क्षति पुर्याएका घर तथा होटल खण्डहर बनेका छन्। खेत बगर बनेका छन्।
शब्द : मुकेश पोखरेल, तस्वीरहरू : कृष्ण पौड्याल