छोरी भएकैले बुबाले त्यागे, सडकमा फलफूल बेचेर बनिन् राष्ट्रिय खेलाडी
कुनै पनि केटी वा महिलालाई मौका, अवसर र लगानी दिँदा मैले जस्तै प्रगति गर्न सक्छन्। म भर्खर २० वर्षकी भएँ र दुई हप्ताअघि मात्रै सार्वजनिक भएको नेपालको राष्ट्रिय महिला फूटबल टिममा पर्न सफल भएकी छु।
मेरो बुबालाई छोराे चाहिएको थियो। म पहिलो सन्तान थिएँ। मपछि तीन जना बहिनी जन्मिए। त्यसपछि पनि मेरी आमा तीन पटक गर्भवती हुनुभयो, उहाँको पेटमा छोरी नै थिए। तीनै पटक उहाँले गर्भपतन गराउनुभयो।
अवैध तरिकाले लिंग पहिचान गरेर छोरी भएमा गर्भपतन गराउने क्लिनिकमा जानुभएको थियो। त्यसलाई महिला भ्रुणहत्या (फिमेल फिटिसाइड) भन्छन् भन्ने कुरा म अहिले बुझ्दै छु। यस्तो अभ्यास नेपालसँगै दक्षिण एसियामा नै धेरै हुने रहेछ।
मेरा अभिभावकले छोराका लागि पटक-पटक प्रयास गर्नुभयो, एक न एक दिन छोरा जन्मिन्छ भन्ने आश थियो, उहाँहरूलाई। पेटमा फेरि पनि छोरी नै रहेको थाहा पाउँदा मेरो आमाको आँखामा देखिने उदासी र चिन्ता चिन्ने उमेरमा म पुगिसकेकी थिएँ।
मेरी आमालाई मानिसहरू श्रापित र अक्षम भन्थे। सन्तानका रूपमा म किन पर्याप्त थिइनँ? हामी छोरीहरू किन पर्याप्त थिएनौं? यसको उत्तर कसैले दिएन।
अन्ततः बुबाले हामीलाई छोड्नु भयो। एक रात, हामीलाई एक बचन केही नभनी, एउटा भत्केको घरमा टुटेको मुटुसहित बिचल्ली पारेर गायब हुनुभयो। अर्को बिहान हामी वरिपरि ऋण उठाउन आउनेहरूको हुल थियो।
मेरी आमाको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। उहाँ मुस्कुराएको विरैले देखिन्थ्यो। आमाको पीडा अलि कम होस् भनेर मैले बस बिसौनी छेउमा खाना बनाउने काम शुरू गरेँ।
हामी केरा, फलफूल बेच्थ्यौं। बुबाको सहाराबिनै बाँच्न सक्दो प्रयास गर्थ्यौं। त्यही वेला मैले आमासँग उहाँ र बुबाले असाध्यै चाहेको छोराको कमी महसुस गराउँदिन भनेर कसम खाएकी थिएँ।
यो सबैका लागि बुबालाई दोष दिन चाहन्नँ। उहाँका लागि दुःखी छु। पितृसत्ताबाट पीडित उहाँले कुनै मेसो पाउनु भएन। हाम्रो समाजले उहाँलाई बिहे गरेर अर्काको घर जाने छोरीहरूमाथि लगानी गर्नु व्यर्थ भएकाले वंशको नाम र पूर्खाको सम्पत्ती सम्हाल्न छोरा नै चाहिन्छ भनी स्वीकार्न सिकाएको थियो।
विडम्बना के भने सम्पत्ती सम्हाल्न हामीसँग सम्पत्ती नै थिएन, जमिन थिएन, केही पनि थिएन। छोरा जन्माउने प्रयासमा हाम्रो परिवार गरिबी, ऋण र निराशामा थप भासियो।
तर, विस्तारै व्यवहार मिल्दै गयो। मैले सुर्खेतको कोपिला भ्याली स्कुलमा प्रवेश परीक्षा दिएँ। त्यहाँका शिक्षकहरूलाई मेरो अवस्थाबारे थाहा भएछ र भाग्यवश मेरो उमेर समूहका लागि उपलब्ध थोरै ठाउँमध्ये मैले एउटा पाएँ।
प्रवेश परीक्षा दिँदा अन्तर्वार्तामा भनेको कुरा अहिले पनि सम्झिन्छु। मैले भनेकी थिएँ- पढ्ने अवसर पाएमा मेरी आमालाई तीन बहिनीको हेरचाह र पढाइमा मद्दत गर्न सक्छु।
मैले आफ्नो क्रोध र उदासीलाई दृढतामा ढल्काएँ। मलाई सबैथोकमा उत्कृष्ट बन्न मन लाग्थ्यो। बुबाले त्यसो गरेको हुनाले ‘मैले केही प्रमाणित गर्नु छ’ भन्ने लाग्थ्यो।
म कक्षाको क्याप्टेन बने। केटीहरूको इम्पावरमेन्ट क्लबमा जोडिएँ। परम्परागत नृत्यको कक्षा लिएँ। कविता लेखेँ। वक्तृत्वकला प्रतियोगितामा भाग लिएँ।
पुस्तकालयबाट किताब लगेर आधा रातसम्म पढेर बस्थेँ। कक्षाका साथीहरूभन्दा पछि नपरौं भनेर हरेक दिन कक्षाकार्य/गृहकार्य गर्थें। मेरो बाटोमा आएका हरेक अवसरलाई मैले च्याप्प समाएँ, नफुत्किने गरी।
स्कुलमा एकदिन सूचना टाँसियो- कोपिला भ्याली स्कुलले पहिलोचोटी छात्राहरूको फूटबल समूह बनाउँदै छ। बिनाजुत्ता, निधारबाट पसिना चुहाउँदै, केही नयाँ गर्न तम्तयार भएर म मैदानमा पुगेँ, पहिलो दिनको अभ्यासका लागि। त्यसअघि मैले फूटबल मैदान देखेकी थिइनँ, खेल हेरेकी थिइनँ र खेलाडीले लगाउने हाफ प्यान्टसमेत कहिल्यै लगाएकी थिइनँ।
हाम्रो गाउँमा सानो एक टुक्रा जमिन पनि बाली उमार्न प्रयोग गरिन्थ्यो। र बाली भित्र्याएपछिको बाँझो खेतमा छोराहरूले मात्रै खेल खेल्थे। फूटबल मेरा लागि हो भन्ने कहिल्यै पत्तै पाइनँ।
म हरेक दिन गुरु गोपीसँग अभ्यास गर्न मैदानमा पुग्थेँ। उहाँ केटाहरूलाई जसरी सिकाउनु हुन्थ्यो, मलाई पनि त्यसरी नै सिकाउनु भयो। कहिलेकाहीँ झपार्नु हुन्थ्यो, तर हौसला पनि प्रदान गर्नुहुन्थ्यो। म अझै पनि मेरो पहिलो खेल सम्झन्छु- पोशाक लगाएर बलको लागि दौडिँदा बेग्लै महसुस भएको थियो।
समयसँगै फूटबलमा मैले राम्रो गर्दै गएँ र हाम्रो समूहले प्रतियोगिताहरू जित्दै गयो। मैले गोल गर्न थालेँ र विशेषगरी डिफेन्स, हेड बल्स र कर्नर किकमा राम्रो गरेँ। योबीच पढाइलाई पनि ध्यान दिन छोडिनँ। विद्यार्थी र खेलाडीका रूपमा म चिनिनँ थाले।
ठूला समूहमा छानिएपछि प्रतियोगिताका लागि मलाई बोलाउन थाले। धेरै हल्ला पनि फैलिए। घर ढिलो आउने, बिहान चाँडै हिँड्ने भन्दै छिमेकी मेरो कुरा काट्थे। कतिले मलाई स्वार्थी भने। आफ्नो ‘औकातभन्दा ठूला सपना’ देख्छेस् पनि भने।
पहिलो पटक महिनावारी भएपछि त्यस्ता अवरोध अझै थपिए। म कहाँ जान मिल्छ, कहाँ जान मिल्दैन, मैले के गर्न मिल्छ, के मिल्दैन भनेर मान्छेहरू सिकाइरहन्थे।
केटीहरूले कस्तो व्यवहार देखाउनुपर्छ भन्ने हाम्रो गाउँको अपेक्षाविरुद्ध म हिँडिँरहेकी थिएँ। नबोली शान्त रहने, टाउको निहुराउने, कसैको ध्यानमा नपर्न कोशिस गर्ने र समय भएपछि बिहे गर्ने- म यो सब गरिरहेकी थिइनँ।
आलोचनाको पर्वाह नगरी मैले आफ्नो सपनामा ध्यान दिएँ। पढाईंलाई निरन्तरता दिँदै सबैभन्दा धेरै अंक ल्याएर कक्षाहरू उत्तीर्ण गरेँ। छात्रवृत्तीका लागि योग्य भएर काठमाडौंको क्याम्पसमा भर्ना भएँ। मैले फूटबल खेल्न छोडिनँ, प्रतियोगितामा भाग लिइरहन्थेँ र सदैव दिनरात अभ्यास गरिरहेँ।
मेरो कथा नौलो छैन। कुनै पनि केटी वा महिलालाई मौका, अवसर र लगानी दिँदा मैले जस्तै प्रगति गर्न सक्छन्। म भर्खर २० वर्षकी भएँ र दुई हप्ताअघि मात्रै सार्वजनिक भएको नेपालको राष्ट्रिय महिला फूटबल टिममा पर्न सफल भएकी छु।
मैले करार सम्झौतामा हस्ताक्षर गरिसकेकी छु र मेरो नाम पत्रपत्रिकामा आएको थियो। अब म आधिकारिक रूपमै मेरो देशको प्रतिनिधित्व गर्ने एक पेशेवर फुटबल खेलाडी हुँ।
नेपालको छोरी हुनुमा त्यस्तो गौरव महसुस गर्न सकिनँ। मेरो देशले पनि मप्रति गर्व गरेको मैले महसुस गरेकी छैन। मलाई रातो राष्ट्रिय खेल पोशाक लगाएर रंगशाला प्रवेश गर्न असाध्यै मनपर्छ। मेरो एक किकमा बल स्वाट्टै गोलपोस्टभित्र छिरेर पछाडिको नेटमा ठोक्किँदाको रोमाञ्चक अनुभव म अहिले पनि महसुस गर्न सक्छु।
मलाई फूटबल मनपर्छ किनभने यसले मलाई स्वतन्त्र, बलियो र शक्तिशाली महसुस गराउँछ। मेरो अर्को ठूलो सपना भनेको नेपालको महिला टिमले विश्वकप खेलेको वा ओलम्पिकमा छानिएको हेर्ने हो।
धेरै वर्षपछि बुबा घर फर्किनुभयो। उहाँका आँखा खुलेका थिए र आफ्ना गल्तीहरूप्रति प्रायश्चित गर्नुभयो भन्ने मैले सोचेकी थिएँ। तर, कुरा त्यस्तो थिएन। उहाँले फेरि पनि छोराको लागि प्रयास गर्नुभयो र अन्तिममा मेरो भाइ जन्मियो।
म सानो भाइलाई धेरै माया गर्छु र म खेलेको हेर्दै ऊ हुर्कियोस् भन्ने आशा छ ताकी छोरीहरूको समक्षताप्रति उसको बेग्लै र यथार्थपरक धारणा बन्न सकोस्। मेरो बुबाले सँधैभरि जे चाहनु भएको थियो, पाउनुभयो र मैले मेरो सपना पूरा गरेँ। टिम खडा गर्दा मैले उहाँलाई बोलाएकी थिएँ, बुबा मप्रति गौरव महसुस गर्दै हुनुहुन्थ्यो।
मलाई अहिले के आभास भएको छ भने अब मैले उहाँसामू केही प्रमाणित गर्न बाँकी छैन। मेरो सपना अब ती छोरीहरूका लागि छ जसका बुबाहरू छोरा मात्रै चाहन्छन्। मेरा सपनाहरू मेरा बहिनीहरू र मेरी आमाका लागि छन्। तर, सबैभन्दा मुख्य कुरा, मेरा सपना अब मेरा लागि हुन्।
(नेपाली टाईम्सबाट भावानुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)