बहादुर शाहको मरण : तातो तेल खन्याएर
पृथ्वीनारायण शाह जहाँ जान्थे, बहादुर शाहलाई पनि साथै लिएर जान्थे। उनी भारदारहरूबीच लोकप्रिय थिए। बसन्तपुर दरबारमै रहेको अभिलेखमा ‘पृथ्वीनारायण शाहका दुई छोरामध्ये बहादुर शाह निक्कै लोकप्रिय छन्’ भनेर बयान गरिएको छ।
नेपाली इतिहासमा राजकुमार बहादुर शाह एक जना महत्त्वपूर्ण व्यक्तिका रूपमा स्थापित छन्। अधिकांश इतिहासकारहरूले उनलाई बाबु पृथ्वीनारायण शाहले शुरु गरेको राज्यविस्तार अभियानलाई पूर्ण रूप दिने नायकका रूपमा उल्लेख गरेका छन्।
उनले आफ्ना भतिजा रणबहादुर शाहको नायबी लिएर नेपालको सिमाना विस्तार गर्ने क्रममा पश्चिम किल्ला काँगडासम्म पुर्याई तत्कालीन नेपालको क्षेत्रफललाई तेब्बर ठूलो पारेका थिए (डा. प्रेमसिंह बस्न्यात, नेपाली सेना लिगलिगकोटदेखि वर्तमानसम्म ( २०७१ः६२-६३)।
पृथ्वीनारायण शाहका माइला छोरा
नेपालका अधिकांश इतिहासकारहरूले बहादुर शाहको जयगान गरे पनि इतिहासकार चित्तरञ्जन नेपालीले भने उनलाई एक ‘षडयन्त्रकारी’का संज्ञा दिएका छन्। उनले उल्लेख गरेअनुसार हरक्षेत्रको युद्धमा आफ्ना बाबु विजयी हुँदै गएबाट यी घटनाहरूको सफलताको असरस्वरूप विस्तारै उनमा महत्त्वाकाङ्क्षा एवं शक्तिप्रतिको लालच बढ्यो। तर उनी बाबुको शेषपछि आफू राजा हुन नपाइने भएबाट स्वतः विरोधी गुटमा पर्न गए (चित्तरञ्जन नेपाली, श्री ५ रणबहादुर शाह- २०७५ः४)।
पृथ्वीनारायण शाह जहाँ जान्थे, बहादुर शाहलाई पनि साथै लिएर जान्थे। उनी भारदारहरूबीच लोकप्रिय थिए। बसन्तपुर दरबारमै रहेको अभिलेखमा ‘पृथ्वीनारायण शाहका दुई छोरामध्ये बहादुर शाह निक्कै लोकप्रिय छन्’ भनेर बयान गरिएको छ। दरबारभित्र द्वन्द्वको अवस्थाको पृष्ठभूमि यसै अभिलेखले तयार पारेको थियो। एक समूहले प्रतापसिंह शाहलाई आफ्ना भाइबाट सशङ्कित हुन सल्लाह दियो। उनीहरूले बहादुर शाहले उनलाई सत्ताच्यूत गर्न सक्ने पनि बताएका थिए (डा. भद्ररत्न बज्राचार्य, ईकान्तिपुर डट कम- २०७३ जेठ २९)।
युवराज अवस्थामा हुँदा प्रतापसिंह शाह भोगविलासमा चुर्लुम्म डुबेका थिए। पृथ्वीनारायण शाह आफैं पनि युवराजदेखि निराश थिए। कतिसम्म भने पृथ्वीनारायण शाहलाई उनका एक भाइ दलजित शाहले प्रतापसिंहको ठाउँमा बहादुर शाहलाई उत्तराधिकारी बनाउनसमेत सुझाव दिएका थिए।
राजा प्रतापसिंह शाहले वज्रनाथ पण्डित तथा स्वरूपसिंह कार्की लगायतका समूहको एउटा भारदारी गुट बनाएका थिए। ब्रजनाथ पण्डित र स्वरूपसिंह कार्कीलाई पृथ्वीनारायण शाहले पनि मन पराउँदैनथे। उनीहरूलाई इंगित गर्दै पृथ्वीनारायण शाहले आफ्नो उपदेशमा ‘...पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति गराउंछन्...’ भनेका छन् (बाबुराम आचार्य, नरहरिनाथ योगी, बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश- २०६१ः५५)।
इतिहासकारहरूले पूर्वका खषका रूपमा स्वरूपसिंह कार्की र पश्चिमका ब्राह्मणका रूपमा ब्रजनाथ पण्डितलाई इंगित गरी भनिएको भन्ने मत राखेका छन्। युवराज अवस्थामा हुँदा प्रतापसिंह शाह भोगविलासमा चुर्लुम्म डुबेका थिए। पृथ्वीनारायण शाह आफैं पनि युवराजदेखि निराश थिए। कतिसम्म भने पृथ्वीनारायण शाहलाई उनका एक भाइ दलजित शाहले प्रतापसिंहको ठाउँमा बहादुर शाहलाई उत्तराधिकारी बनाउनसमेत सुझाव दिएका थिए। तर परम्पराअनुसार जेठोले पाउने रोलक्रमलाई खलल बनाउने खालको यस्तो सुझाव पृथ्वीनारायण शाहले सुनेनन् (ज्ञानमणि नेपाल, नेपालको महाभारत- २०५२ः११)।
बहादुर शाह पृथ्वीनारायण शाहका कान्छा छोरा भनी नेपालीहरूको मनमा स्थापित छ। बास्तवमा उनी पृथ्वीनारायण शाहका माइला छोरा हुन्। वंशावलीअनुसार पृथ्वीनारायण शाहका छोराहरूमध्ये जेठा प्रतापसिंह, त्यसपछि बहादुर शाह र नारायण शाह हुन्। त्यतिखेर मरेका छोराको गणना नगर्ने चलन भएकोले कान्छो छोराको मृत्युका कारण माइला भएर पनि चलनचल्तीअनुसार कान्छा छोरा भनिएको पाइन्छ। रणबहादुर शाहले पनि उनलाई चिठी लेख्दा माइला बाबा भनेको पाइन्छ (बज्राचार्य, उही)।
बुवाको कोरा सकिनासाथ निर्वासन
विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा पृथ्वीनारायण शाहको मृत्युपछि दरबारभित्र सुषुप्त अवस्थामा रहेका गुटबन्दी छताछुल्ल भएर बाहिर प्रकट भयो। हुन त पृथ्वीनारायणको पार्थिव शरीरसँगै सतीमा चढ्नुअघि रानी नरेन्द्रलक्ष्मीले ‘दाजुभाइ मिली पिताका नीति नियममा चल्नू’ भनी प्रतापसिंह शाहलाई राजमुकुट पहिराइदिएकी थिइन्।
उसै दिन प्रतापसिंह शाह काठमाडौं आई सजधजका साथ राजसिंहासनमा बसेर ब्रजनाथ पण्डितलाई मुख्य मन्त्री र स्वरूपसिंह कार्कीलाई काजी गराई मुख्य सेनापति बनाए (बाबुराम आचार्य, पूर्णिमा पूर्णाङ्क ५१- चैत २०३८ः२)। आफू राजा हुनासाथ प्रतापसिंह शाहले शङ्कैशङ्कामा आफ्ना काका तथा भाइका गतिविधिमा निगरानी राख्न लागे।
नजरबन्दजस्तै भएर बहादुर शाहले बाबुको काजकिरिया सके। त्यसपछि नयाँ राजाबाट कतिपयको सर्वस्वहरण भयो। प्रतापसिंह शाहका काकामध्ये दलजित शाह भागे भने दलमर्दन शाह थुनामा परे। बहादुर शाह पनि तनहुँ, पाल्पा हुँदै मुगलान पसेर बेतिया गई बसे (ज्ञानमणि नेपाल, नेपालको महाभारत- २०५२ः११)।
निर्वासित भएर बेतिया पुगेपछि बहादुर शाह क्रिश्चियन पादरी माइकल एन्जोलोको पाहुना भई बसेका थिए। माइकल एन्जोलो उपत्यका हात परेपछि त्यहाँबाट पृथ्वीनारायण शाहद्वारा निष्कासन हुने पादरीमध्ये एक थिए। इसाई पादरीहरूले गर्ने गरेको धर्मप्रचारप्रति पृथ्वीनारायण शाह अनुदार थिए। कप्तान किनलकको अभियानका कारण पनि इसाई तथा अङ्ग्रेजप्रति उनी चिढिएका थिए। त्यसैले उनले उपत्यकाका तीनवटै राज्य कब्जामा लिएपछि इसाई पादरीहरूलाई निष्कासन गर्ने योजना बनाए।
पृथ्वीनारायण शाहबाट निस्कासनमा परेका पादरीहरू बेतिया गएर बसेका थिए। आफ्ना दाजुबाट निस्कासन परेपछि बहादुर शाह उनै पादरीमध्ये एक माइकल एन्जोलाकहाँ गई बसेका थिए। उनी त्यतिबेला १७ वर्षका थिए।
उनी आफू तनहुँ आक्रमण गर्ने योजना सञ्चालनका लागि गोरखा राजदरबारमा जाँदा कीर्तिपुरमा रहेका केपुचिन पादरीहरूलाई निकाल्ने जिम्मा उनले युवराज प्रतापसिंह शाहलाई सुम्पेका थिए (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी- २०६१ः३५३-३५४)।
पृथ्वीनारायण शाहबाट निस्कासनमा परेका पादरीहरू बेतिया गएर बसेका थिए। आफ्ना दाजुबाट निस्कासन परेपछि बहादुर शाह उनै पादरीमध्ये एक माइकल एन्जोलाकहाँ गई बसेका थिए। उनी त्यतिबेला १७ वर्षका थिए।
बेतियामा जसको निवासमा बहादुर शाह पाहुना भएर बसेका थिए, उनै माइकल एन्जोलोले कीर्तिपुरमा गोरखालीहरूद्वारा कीर्तिपुरेहरूको नाक ओठ काटिँदा उनीहरूको औखतिमूलो गरिदिएका थिए। एन्जोलोले कीर्तिपुरका जनताका लागि दयाको भिख पनि मागिदिएका थिए तर भिख पाएनन्। यति धेरै मानिसको काटिएको नाक र दाँतको दृश्य देख्दा साँच्चै नै उनीहरू मुर्दा त होइनन् भन्नेसम्म लाग्थ्यो भनी गुसिपीले जर्नल अफ् एशियाटिक सोसाइटी भोलम २, पृ.३१९ मा उल्लेख गरेका छन् (श्रेष्ठ, शुक्रसागर, कीर्तिपुरको सांस्कृतिक र पुरातात्त्विक इतिहास- २०५७ः२१-२२)।
उनी बेतिया पुगेपछि उनलाई पाहुना स्वीकार गर्ने इसाई पादरी माइकल एन्जोलोले तत्कालीन राजा प्रतापसिंह शाहलाई बहादुर शाह बेतिया आइपुगेको खबर गर्न लेखेको पत्र प्रकाशित भएको छ। विसं १८३४ आश्विन सुदी ६ रोज ३ मा बेतियाबाट हिन्दी भाषामा लेखिएको पत्रको ब्यहोरा यस्तो छः
...श्रीबाहादुरर्साहा बट्यामाहो आइ पौंचा था. सो साहेवका हजुर्मु षवर्भेदिया है. सो आदितेवार्मु वेतियामा दाषिल हुवा है. हाम्सो मुलाकात् किया है. वहुत् वातचित् हुवा है. हामसे वचन दिया है कि श्रीमाहाराजके वर्सै उसका वात वनाया जायेगा. फेर्हामने ठिक देषा है कि माहांराजने आगे गोसा कर्ता था लिकि जल हाम नेपालमु गया था. तल हांमने ठिक देषा है कि महांराजने आफ्ना भाइकों पियार कर्णे लगा है. अव सव गोसा मेटाया हैग सो हाम्ने श्रीबाहदु साहिको विंति किया है. सो हामारा वातको माना है...ऊ आफ्ना भाइकों आफ्ना हजुर्मु वोलवाना चाहिये. दउलथ ञांहा भेजिदिना कि कासिमु उसकों भेजिदिना सो वन्दिसका वात न हि है. उनन हामको भि छोडिदेगा. अवर्आप पट्ना कि कलकता कि जांहा उसका दिल होगा तांहां जायेग लेकिं जो हजुर्मु बोलावने होगा. उस्का दि तयार्है उनले भाईमाफिक् सेवा करैगा... (पन्त, दिनेशराज, पूर्णिमा पूर्णाङ्क ५५-मङ्सिर २०४०ः३४–३५)।
बहादुर शाह दरबारभित्र मौलाएको गुटगत गतिविधिका कारण दाजु राजा प्रतापसिंह शाह, भाउजू महारानी राजेन्द्रलक्ष्मी र भतिजा राजा रणबहादुर शाहको कोपभाजनबाट कहिले निर्वासन, कहिले नजरबन्दमा परे। कहिले भाउजू राजेन्द्रलक्ष्मीसँग मिलेर त कहिले भतिजा रणबहादुर शाहको नायब भएर राज्यविस्तारको अभियान चलाउनुका साथै तिब्बत र चीनसँगको युद्ध पनि व्यहोरे।
यो पत्रमार्फत् यी दाजुभाइबीच एकापसमा मेल गराउन खोजेको देखिन्छ। यसका लागि दाजुले बोलाएको खण्डमा बहादुर शाह स्वदेश फर्कन चाहेको पनि बुझ्न सकिन्छ। उनी राजा प्रतापसिंह शाहको मृत्युपछि भाउजू राजेन्द्रलक्ष्मीको बोलावटमा विसं १८३४ मा स्वदेश फर्केर केही समय भाउजुसँग मिलेर शासनमा सहभागी भए।
बहादुर शाह दरबारभित्र मौलाएको गुटगत गतिविधिका कारण आफ्ना दाजु राजा प्रतापसिंह शाह, भाउजू महारानी राजेन्द्रलक्ष्मी र भतिजा राजा रणबहादुर शाहको कोपभाजनबाट कहिले निर्वासन, कहिले नजरबन्द हुँदै रहे। कहिले भाउजू राजेन्द्रलक्ष्मीसँग मिलेर त कहिले भतिजा रणबहादुर शाहको नायब भएर उनले राज्यविस्तारको अभियान चलाउनुका साथै तिब्बत र चीनसँगको युद्ध पनि व्यहोरे।
बहादुर शाहले दाजुको राज्यकाल र भाउजूको नायबी कालभरि १० र ११ वर्ष निर्वासित जीवन विताउनु पर्यो (नेपाल, उहीः३२)। अन्ततः विसं १८५४ असारमा ४० वर्षको उमेरमा विसं नजरबन्दी अवस्थामै उनले मृत्युवरण गरे। उनको मृत्यु अप्रिय र रहस्यमय थियो।
दरबारबाट निष्कासन
राजा रणबहादुर शाह मूर्खता, मोजमस्ती र स्वेच्छाचारिताजस्ता अवगुणहरूले भरिएका थिए। विसं १८५१ देखि उनले आफैं राजकाज चलाउन थाले। राजाको यस्तो इच्छा देखेर बहादुर शाह नायबी छाडेर अलग भए। रणबहादुर शाहले बहादुर शाहलाई दरबारबाटै निकालिदिए। उनी बसेको दरबारको भागमा रणबहादुर शाहले आफ्ना भाइलाई बस्न दिए। त्यसपछि विरक्तिएर बहादुर शाह आफैले बनाएको पशुपतिनाथको धर्मशालामा बस्न गए (नेपाल, उहीः३२)।
आफ्ना भतिजा रणबहादुर शाहसँग उनको खटपट पर्नुमा राजाले आफ्नै ढङ्गले गठन गरेको मन्त्रिपरिषद्का केही सदस्यहरूप्रति उनी असहमत थिए। यस्तै, बालविधवा मैथिल ब्राह्मणी कान्तवतीलाई रानी बनाएपछि उनीबाट जन्मेको छोरालाई राजा बनाउने रणबहादुर शाहको कटिबद्धताप्रति बहादुर शाह असहमत थिए।
रणबहादुरले ल्याइतातिरका भाइहरू विदुर शाही र शेरबहादुर शाहीलाई चौतारिया पद्वी दिई मन्त्रीमण्डलमा राखे। टक्सारी, खजाञ्ची र कपरदारहरूलाई पनि मन्त्रीमण्डलमा राखी मन्त्रीहरूको सङ्ख्या बढाए। त्रिभुवन सिंहलाई हजुरिया मन्त्री बनाई अरू मन्त्रीहरूको अधिकार कम गरिदिए। ल्याइतातिरका भाइहरू विदुर शाही र शेरबहादुर शाहीलाई मन्त्री बनाएको बहादुर शाहलाई मन परेको थिएन। यस्तै, आश्रित राज्य पाल्पाका राजा महादत्त सेनको गुल्मीको रियासत खोसिएकोमा बहादुर शाहले विरोध गरेका थिए। यसैको परिणामस्वरूप बहादुर शाह दरबारबाट बाहिर निस्कन पर्यो (बाबुराम आचार्य, पूर्णिमा पूर्णाङ्क ६३-चैत २०४१ः२१)।
दरबारबाट समेत निष्कासित भइसकेपछि विरक्तिएका उनी विदेश जान चाहन्थे। पहिले आश्रयका लागि चीनतर्फ जाने आशयले उनले चीन वादशाहकहाँ पत्र पठाएका थिए। तर उनको योजना सफल हुन नदिन रणबहादुर शाहले कडा कैदमा राखे।
कान्तवतीतिरबाट जन्मेको छोरालाई राजा बनाउने रणबहादुर शाहको कटिबद्धताप्रति पनि बहादुर शाह विरोधी थिए नै, उनलाई अरूले पनि यसमा साथ दिएका थिए। ब्राह्मण र सगोत्रीलाई मार्न नहुने चलन भएको हुँदा रणबहादुर शाहको परम्परागत धर्मविरुद्धको उक्त कटिबद्धताको विरोधमा केही ब्राह्मण र चौतारियाहरूले खुलेरै विरोध मात्रै होइन दरबारअगाडि आएर धर्ना नै कसेका थिए। बहादुर शाह पनि यो विरोधी दलमा सामेल भएका थिए। यसरी धर्ना दिने ब्राह्मणहरूमध्ये कसैलाई डामियो, कसैलाई अभक्ष्य खुवाएर सर्वश्व गरी देशनिकाला गरियो भने बहादुर शाह कैदमा परे (ज्ञानमणि नेपाल, उहीः३४-३५)।
दरबारबाट समेत निष्कासित भइसकेपछि विरक्तिएका उनी विदेश जान चाहन्थे। पहिले आश्रयका लागि चीनतर्फ जाने आशयले उनले चीन वादशाहकहाँ पत्र पठाएका थिए। चीनबाट आफ्नो सुरक्षा हुने आशा उनले गरेका थिए। तर उनको योजना सफल हुन नदिन रणबहादुर शाहले उनलाई कडा कैदमा राखे। उनले बहादुर शाहप्रति विभिन्न दोष थोपरेर चिनियाँ अम्वाकहाँ दूत पनि पठाए (नेपाल, उहीः३५)।
जतिखेर दरबार छाडेर बहादुर शाह पशुपति, देवपाटनमा आफैंले बनाएको सदावर्त घरमा बसी साधु सन्तका साथ समय बिताइरहेका थिए, त्यतिबेला रणबहादुर शाह व्यसनी र फजुलखर्ची भई राजकोशका धन रित्याउँदै थिए। बहादुर शाहले धेरै धन लुकाएर राखेका छन् भन्ने शङ्का गरी विसं १८५३ फागुन २ गते रातको समय एक कम्पनी सैनिक पठाई पक्रेर ल्याई आफू बालक छँदा कामकाज गरेको हिसाब बुझाऊ भनी कैदमा राखे (आचार्य, उहीः२२)।
बहादुर शाहले आफ्नो जीवनको अन्त्यतिर आइपुग्दा तत्कालीन राजा रणबहादुर शाहलाई कारागारबाटै पत्र लेखी आफूलाई कैदी जीवन बिताउनु भन्दा बरु त्यता (दरबार) आउन गाह्रो लागिरहेको बताएका थिए।
रणबहादुर शाहको बहादुर शाहविरुद्ध विभिन्न दोषहरू उल्लेख भएको पत्र चीनतिर पठाए। पत्र बोकेर चीनतर्फ जाने दूतहरूमा सर्वजीत पाँडे, चामु भण्डारी र अजित खड्का थिए। उनीहरूले बोकेर लगेको पत्रमा बहादुर शाहले प्रतापसिंह शाहको हत्या गर्ने षडयन्त्र गरेको, आफ्नी आमा राजेन्द्रलक्ष्मीलाई नचाहिँदो आरोप लगाएर सर्वजीत रानालाई मराएको, राजेन्द्रलक्ष्मीलाई विष खुवाउने षडयन्त्र गरेको, आफूलाई तीन सलाम नगरेको, भोटसँगको युद्धका क्रममा गुम्बाहरू भत्काइदिएर त्यसको अपसकुन लागी आफ्नो देश झण्डै डुबेको, देशभित्र अङ्ग्रेजहरूलाई प्रवेश गराएको लगायत छन् (नेपाली, उहीः१०३-१०४)।
बहादुर शाहको पत्र
राजा रणबहादुर शाह आफ्नो कुरा गराएर कायल पारी बहादुर शाहलाई धर्मपत्र गराउने पक्षमा थिए। उनले यस्तो धर्मपत्रमा सही गरे माफी दिएर दरबारमै राख्ने कुरा पनि गरेका थिए। तर यस्तो मोहरमा बहादुर शाहले सही गर्न मानेनन् (नेपाल, उहीः३६)।
बहादुर शाहले आफ्नो जीवनको अन्त्यतिर आइपुग्दा तत्कालीन राजा रणबहादुर शाहलाई कारागारबाटै पत्र लेखी आफूलाई कैदी जीवन बिताउनु भन्दा बरु त्यता (दरबार) आउन गाह्रो लागिरहेको बताएका थिए। उनले लेखेको पत्र उनकै हस्ताक्षरसहित प्रकाशमा आएको छ (सूर्यविक्रम ज्ञवाली, प्राचीन नेपाल सङ्ख्या २१-कात्तिक २०२९ः६०-६१)।
पत्रको व्यहोरा यस्तो छः
अर्जि
उप्रान्त वहाँको समाचार वक्सी पठाउनु भयो सुन्ये ये तरहले वन्दछ त्यसै गर्नु हवस उप्रान्त मोहरको सहीमा नआक्नु मर्जी माफिक गरौंला वकी इहां वस्ना कन गाह्रो त मान्याको छैन तांहां आउन गाह्रो लागी हर्ये छ हजुरको मेहरमानी कत्ती पनि छैन तस् कारण मलाइ ता यहां बस्नु बढिया छ मुकाम कीला सुभम् सुभम्
वंदा वहादुर साहको कुर्नेस वंदगी ३
यो पत्रको सक्कल इतिहासकार बाबुराम आचार्यले सन् १९३६ अप्रिल २९ (विसं १९९३ वैशाख १७ गते) त्यतिखेर दार्जिलिङमा रहेका सूर्यविक्रम ज्ञवालीलाई आफ्ना लेख रचनासहित पठाएका थिए। पछि उनले ज्ञवालीसँग केही पटक यो पत्र फिर्ता पनि मागेका थिए। त्यसबेला ज्ञवालीले ‘कता परेको छ, खोज्नुपर्छ’ भन्ने जवाफ दिए। आचार्य यो पत्रको चित्र नै प्रकाशमा ल्याउन चाहन्थे (ज्ञवाली, उहीः६१)।
इतिहास शिरोमणि आचार्यका अनुसार रणबहादुर शाहले आफ्नी आमा राजेन्द्रलक्ष्मीलाई विष खुवाएको बात लगाएर बहादुर शाहकी रानीको हुर्मत लिए। आफ्नी रानीको हुर्मत लिएको सहन नसकी बहादुर शाहले डोरीको पासो लगाएर कैदी अवस्थामै आत्महत्या गरे।
बहादुर शाहको प्राणान्त
अहिले परोपकार केन्द्र रहेको ठाउँमा पहिले कारागार थियो। बहादुर शाहलाई त्यहीँ राखिएको थियो (बज्राचार्य, उही)। विसं १८५४ असार १५ गते अस्वाभाविक र रहस्यमय ढङ्गले उनको मृत्यु हुन पुग्यो। उनको मृत्यु अस्वाभाविक थियो भन्ने विषयमा इतिहासकारहरू एकमत छन्, तर कसरी उनको मृत्यु भयो भन्ने बारेमा उनीहरूमा मतक्यैता छैन।
इतिहास शिरोमणि आचार्यका अनुसार रणबहादुर शाहले आफ्नी आमा राजेन्द्रलक्ष्मीलाई विष खुवाएको बात लगाएर बहादुर शाहकी रानीको हुर्मत लिए। आफ्नी रानीको हुर्मत लिएको सहन नसकी बहादुर शाहले डोरीको पासो लगाएर कैदी अवस्थामै आत्महत्या गरे (आचार्य, उहीः २२)।
इतिहासकार ज्ञानमणि नेपालले बहादुर शाहले आत्महत्या गरेको नभई उनको हत्या नै भएको उल्लेख गरेका छन्। उनका अनुसार विसं १८५४ असारको औंशीको मध्यरातमा बहादुर शाहलाई कैदी अवस्थामै मारियो। भोलिपल्ट बिहान पटुकाले पासो लगाएर दलिनमा झुण्डिएको लाश देखियो भन्दै उनले आफैं आत्महत्या गरेको घोषणा गरियो। उनी परलोक भएको सूचना दिन चीन वादशाहलाई पठाएको पत्रमा भने बहादुर शाह सिकिस्त बिरामी हुँदा कैदबाट मुक्त गरी भरमग्दुर औषधीमूलो गर्दा पनि केही नलागी दैवको इच्छा दिन आइपुगेको हुँदा परलोक भए भनी लेखिएको छ (नेपाल, उहीः३६)।
तर, बहादुर शाहकै विषयमा विद्यावारिधि गर्ने इतिहासकार डा. भद्ररत्न बज्राचार्यले भने उनको मृत्युबारे आङै जिरिङ हुने तथ्य प्रकाशमा ल्याएका छन्। बहादुर शाहकै परिवारलाई स्रोत बनाएर उनले उल्लेख गरेअनुसार जेलमै रहेका बेला तत्कालीन राजा रणबहादुर शाहको निर्देशनमा उनको शरीरमा तातो तेल छर्किइएको थियो। तातो तेलले पुर्याएको पीडाले नै अन्ततः उनको मृत्यु भएको थियो। त्यस अगाडि उनकी पत्नीको बद्नामी गर्ने चेतावनी दिइएको थियो (बज्राचार्य, उही)।
यसरी ४० वर्षको उमेरमा बहादुर शाहको पीडादायी प्राणान्त हुन पुग्यो।