किन बढ्दै छन् परिवारसँग जोडिएका अपराध?
सहनशील मानिएको नेपाली समाजमा पछिल्लो केही वर्षयता भने परिवारसँगै सम्बन्धित अपराधका घटना बढ्दै गएको देखिएको छ।
संखुवासभाको मादी नगरपालिका-१ उमलिङको खोलागाउँमा २१ भदौमा एकै परिवारका ६ जनाको घरभित्रै हत्या भयो। जसमा बालबालिकाको समेत ज्यान गएको छ। प्रहरी अनुसन्धानमा पैसाका लागि हत्या गरिएको देखिएको छ। हत्यामा गाउँकै मान्छे, अझ नातेदारकै संलग्नता देखिएको छ।
मान्छेले आफूलाई सुरक्षित महसुस गर्ने ठाउँ घर हो। र, सुरक्षित महसुस गर्ने परिवार, आफन्तसँगै हो। तर, केही वर्षयता संखुवासभामा जस्तै आफन्तबाटै, नातेदारबाटै ज्यान गएका घटना बाहिर आइरहेका छन्।
सञ्चारमाध्यममा बाबुले छोरा मारेको, श्रीमानले श्रीमती मारेको, नातीले बाजे मारेको जस्ता समाचार दिनहुँ आउने गरेका छन्। किन यस प्रकारको अपराध बढिरहेको छ? यसले समाज, खासगरि परिवारमा कस्तो असर परिरहेको छ? यसमा अध्ययन भएको छैन।
हत्या सँगसँगै लुटपाट पनि परिवारभित्र पसेको छ। बझाङको घटनालाई प्रतिनिधिमूलक घट्नाको रुपमा हेर्न सकिन्छ। जहाँ हजुरआमाले लगाएको गहना लुट्नाका लागि हत्या र त्यसपछि शव आँगनमा गाडेको घटनाले अपराधको भयावहतालाई चित्रित गर्छ।
गरिबी, बाध्यताले जन्माएको सहनशिलता, जागरुकता, बाध्यतावश लगायतका विभिन्न कारणले यस्ता अपराध भएको पाइन्छ। कुनै प्रदेशमा कमबेसी होला, तर देशका सातै प्रदेशमा यस्ता घटना भएका छन्।
सात प्रदेश र उपत्यकालाई छुट्टै एकाइ राखेर गत पाँच वर्षको तथ्यांक केलाउँदा पारिवारिक सदस्यबाट भएका हत्याका घटना उपत्यकामा एकदम न्यून छन्। सबैभन्दा बढी प्रदेश १ मा र सबैभन्दा कम सुदूरपश्चिममा छन्।
सात प्रदेश र उपत्यकालाई छुट्टै एकाइ राखेर गत पाँच वर्षको तथ्यांक केलाउँदा पारिवारिक सदस्यबाट भएका हत्याका घटना उपत्यकामा एकदम न्यून छन्। सबैभन्दा बढी प्रदेश १ मा र सबैभन्दा कम सुदूरपश्चिममा छन्। परिवारसँग जोडिएका अपराधका घटनामा सबैभन्दा बढी श्रीमान-श्रीमतीबीचका छन्।
यस्ता घटना पछिल्लो पाँच वर्षमा बढ्दै गएको पनि देखिन्छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार, २०७३/७४ मा १७३ घटना, २०७४/७५ मा २०६ घटना, २०७५/७६ मा २०९ घटना, २०७६/७७ मा २०१ घटना र २०७७/७८ मा २६६ घटना भएका छन्।
कुनै पनि घटना अर्थात अपराध नियन्त्रणका लागि अध्ययन आवश्यक पर्छ। त्यसका आधारमा अपराध नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने उपाय निस्कन्छ। परिवारसँग जोडिएका अपराधका घटना अध्ययन गर्दा विभिन्न कारण देखिएका छन्। यस्ता अपराधिक घटना बढ्नमा निम्न कारणले भूमिका खेलेको पाइएको छ।
एकल परिवार
विस्तारै संयुक्त परिवार टुक्रिदै गएको छ। रोजगारी, अध्ययन लगायतका विभिन्न कारणले एकल परिवारको परिपाटी बढ्दै गएको छ। संयुक्त परिवारमा बस्दा परिवार सम्हाल्ने जिम्मा सबैको हुन्थ्यो। परिवारभित्रको असन्तुष्टि सगोलमा छलफल गरिन्थ्यो, हल निकालिन्थ्यो।
त्यस्तै, बालबालिकामाथि सबैको दृष्टि रह्न्थ्यो। उनीहरूको संगत कोसँग छ? के गर्छन्? केही गलत काममा लागेका त छैनन्? व्यवहारमा केही परिवर्तन त आएको छैन? यस्तै, मनोविज्ञानसँग जोडिएका विषयमा सबैको ध्यान हुने गर्थ्यो।
एकल परिवारमा विशेष गरि जागिर तथा काम गरी खाने परिवारमा बिहान छुट्टिए पछि एकै पटक राति खाना खाने वेलामा भेट हुन्छ। बालबालिकाले दिनभरि के गरे? कोसँग संगत गरे? हेरविचार गर्ने फुर्सद कसैलाई हुँदैन।
एकल परिवारमा विशेष गरि जागिर तथा काम गरी खाने परिवारमा बिहान छुट्टिए पछि एकै पटक राति खाना खाने वेलामा भेट हुन्छ। बालबालिकाले दिनभरि के गरे? कोसँग संगत गरे? हेरविचार गर्ने फुर्सद कसैलाई हुँदैन। यस्तो अवस्थामा एकैपटक थाहा हुने भनेको कुनै गल्ती हो, त्यो सानो पनि हुन सक्छ, ठूलो पनि।
सामाजिक बनावटमा परिवर्तन
पहिले समाज भनेको परिवार जस्तै हुन्थ्यो। बालबालिकाको हेरविचार गर्ने जिम्मा परिवारको भए पनि वरिपरिको मान्छेले पनि आफ्नो दायित्व ठान्थे। अहिले छरछिमेकमा को बस्छन्? सरोकारको विषय हुनै छाड्यो।
बालबालिका गलत संगतमा परेको देखेमा पनि छरछिमेकीले अभिभावकलाई जानकारी गराउनुपर्छ भन्ने ठान्दैनन्। किनकि, आमाबुवालाई सूचित गरायो भने पनि अर्काको परिवारमाथि किन चासो राखेको भन्ने मनोविज्ञानले थिच्दै गएको छ।
बालिबालिकालाई आफूले हेरविचार गर्न पनि नसक्ने, अरुले देखेको कुरा जानकारी गराएमा पनि रिसाउने प्रवृति बढेको छ। जसले गर्दा बालबालिकाले गल्ती गरिरहेका विषयमा छरछिमेकबाट जानकारी अभिभावकसम्म पुग्दैन। स्कुलमा गरेको केही गल्ती औल्याएमा अभिभावक पाखुरा सुर्कन पछि पर्दैनन्। स्कुलका शिक्षक-शिक्षिकामाथि अभिभावकबाट भइरहेका दुव्र्यवहार तथा कुटपिटका घटना उदारहण हुन्।
अनुशासनहिनता
समयसँगै अनुशासनका मान्यता परिवर्तन भइरहेका छन्। बालबालिकाले अनुशासन सिक्ने भनेको घरमै हो। घरमा बालबालिकालाई अनुशासन सिकाउने फुर्सद कमै अभिभावकलाई हुन्छ, अभिभावकले फुर्सद निकाल्देनन् पनि।
अर्कोतिर, आधुनिकताले अनुशासनलाई थिच्दै गइरहेको छ। सहि र गलतको दायरा छुट्याउन कडी कमजोर हुँदै गएको छ। त्यो भनेको समाजमा अनुशासनहिनता बढ्दै गइरहेको छ। त्यसले परिवारभित्र पनि व्यापकता पाइरहेको छ। जसले गर्दा पनि अपराधिक घट्ना भइरहेको पाइएको छ।
नैतिक शिक्षालाई धर्मसँग जोडेर हेर्न थालिएको छ, जुन गलत हो। नैतिक शिक्षा पढाउने भन्दा पूरानै पुस्तक रटाउने होइन, समयको माग अनुसार परिवर्तन गर्दै लग्नुपर्छ।
बढ्दो दण्डहीनता
बाल मस्तिष्कले के सही, के गलत भन्ने छुट्याउन सक्दैन। बालबालिकाले सिक्ने भनेकै आफ्नो वरिपरि र साथी–संगीबाटै हो। अहिलेका बालकका आदर्श उत्तेजक खेलका स्टार छन्। खेल्ने भनेको मर्ने-मार्ने खालका ‘भिडियो गेम’ छन्।
यस प्रकारका खेलले कलिलो मस्तिष्कमा कस्तो असर परिरहेको छ भन्ने सोच्ने फुर्सद अभिभाकसँग छैन। जसको परिणाम समाजमा दण्डहीनता बढ्दै गएको छ। त्यसले नित्याउने भनेकै अपराध हो।
नैतिक शिक्षाको अभाव
समयानुसारको नैतिक शिक्षाले बालबालिकालाई समाज, परिवार र राष्ट्रप्रति दायित्व बोध गराउँछ। बालबालिकामा सानैदेखि दायित्व जगाउन पनि जरुरी हुन्छ।
तर, अहिले नैतिक शिक्षा नै पाठ्यक्रमबाट हटाइएको छ। नैतिक शिक्षालाई धर्मसँग जोडेर हेर्न थालिएको छ, जुन गलत हो। नैतिक शिक्षा पढाउने भन्दा पूरानै पुस्तक रटाउने होइन, समयको माग अनुसार परिवर्तन गर्दै लग्नुपर्छ। अब स्कुलको पाठ्यक्रममा नैतिक शिक्षालाई जोड्न जरुरी छ।
दश वर्षे सशस्त्र द्वन्द्व
द्वन्द्वकालमा राज्य र विद्रोह पक्षबाट भएका ज्यादती र विस्थापनका कारण सामाजिक स्वरुपमा परिवर्तन आएको छ। त्यसले अपराधको स्वरुपमा लिएर आएको परिवर्तनबारे विस्तृत अध्ययन हुनु आवश्यक छ।
सहनशिलता नेपाली समाजको चरित्र हो। दश वर्षे सत्रस्त्र द्वन्द्वले समाजको प्रकृति, प्रवृति र व्यक्तीको मानसिकतामा परिवर्तन ल्याएको छ। यसले व्यक्तिलाई असहनशिल, उत्तेजक बनाएको छ। त्यो असहनशिलता मर्ने-मार्नेसम्म पुगेको छ, त्यो घर बाहिर होस या घरभित्र।
सहनशिलता नेपाली समाजको चरित्र हो। दश वर्षे सत्रस्त्र द्वन्द्वले समाजको प्रकृति, प्रवृति र व्यक्तीको मानसिकतामा परिवर्तन ल्याएको छ। यसले व्यक्तिलाई असहनशिल, उत्तेजक बनाएको छ। त्यो असहनशिलता मर्ने-मार्नेसम्म पुगेको छ, त्यो घर बाहिर होस या घरभित्र।
सामाजिक सञ्जाल
अहिले संसार प्रविधिले जोडिएको छ। अझ सामाजिक सञ्जाल सबैलाई जोड्ने माध्यम बनेको छ। बालबालिका झन सामाजिक सञ्जालसँग नजिकिएका छन्। उनीहरूले सहि प्रकारले उपयोग गरेनन् भने गलत कुरा सिक्ने र गलत संगततिर डोर्याउने माध्यम बन्न सक्छ।
घरमा सामाजिक सञ्जालको सहि र गलत उपयोग छुट्याउन सिकाउने भनेको अभिवावकले नै हो। तर, अध्ययन र जानकारीका लागि भनेर सामाजिक सञ्जाल उपयोग गरिराखेका बालबालिकामाथि घरमा निगरानी राख्ने गरिएको छैन। जसले उनीहरूलाई गलत संगततिर डोर्याइरहेको पाइन्छ।
वैदेशिक रोजगारी
घरको व्यवस्था मिलाउन ठूलो संख्यामा युवा भारत, खाडी मुलुकसँगै विभिन्न देश गएका छन्, गइरहेका छन्। बालबालिकालाई बाजेबज्यैको जिम्मा छोड्ने गरिएको छ।
घरको दैनिक कामको चापका कारण अभिभावकले बालबालिका के गरिरहेका छन्, कोसँग संगत छ, कस्तो संगत छ, ध्यान दिन सकेका छैनन्। यस्ता बालबालिका छिट्टै अरुको प्रभावमा पर्नसक्छन्।
सधै रडाको मच्चिने घरका बालबालिका बढी जाेखिममा हुन्छन्। आमाबुवाको झैझगडाले बालबालिकामा नराम्रो प्रभाव पर्छ। जसकाे परिणाम बालबालिका गलत काममा लाग्नसक्छन्।
घर भित्रको वातावरण
बालबालिकालाई सबैभन्दा धेरै प्रभाव पार्ने घरको वातावरणले हो। सधै रडाको मच्चिने घरका बालबालिका बढी जाेखिममा हुन्छन्। आमाबुवाको झैझगडाले बालबालिकामा नराम्रो प्रभाव पर्छ। जसकाे परिणाम बालबालिका गलत काममा लाग्नसक्छन्।
महिलामा जागरुकता
अहिलेको आधुनिक समाजमा महिलाले आफ्नो हकअधिकारबारे बुझेका छन्, त्यसको उपयोग गर्न खोजेका छन्। पुरुषप्रधान समाजमा पुरुषले त्यो पचाउन गाह्रो मान्छन्।
जसले गर्दा श्रीमान-श्रीमतीबीच तनावको स्थित आउने गरेको देखिएको छ। त्यसकै कारणले हुनुपर्छ, परिवारभित्र हुने अपराधमा श्रीमान-श्रीमती बीचको हत्याका घटना ५० प्रतिशत जति छन्। अझ यसमा श्रीमानले श्रीमतीको हत्या गरेका घटना ८० प्रतिशतको हाराहारीमा छन्।
लागूऔषध तथा मदिरा
लागूऔषधको प्रयोग र मदिराको सेवन गर्ने व्यक्तिले सन्तुलन गुमाउने डर अत्यधिक रहन्छ। त्यसैले होला, स-साना विषयमा हुने झैझगडा वा सानो विषयको विवाद पनि मदिरा सेवनको कारणले हत्यासम्म पुगेको थुप्रै उदाहरण छन्।
नेपालमा मदिराको उत्पादन, खरीद-बिक्रीको सहजता छ। यति सहज अन्य देशमा पाइँदैन। त्यसैले यसको व्यवस्थापन जरुरी छ।
अन्त्यमा, केही वर्षयताको तथ्यांक हेर्दा परिवारका सदस्यबाट हुने अपराधका घटनाको संख्यामा निरन्तर बढिरहेको देखिन्छ। यसलाई नियन्त्रण गर्ने उपाय अवलम्बन गर्न सरकारले पहल गरेको पनि देखिँदैन। यसमा गम्भीर अवस्था नित्याउन अघि तीनै तहका सरकार र सरोकारवालाले ध्यान दिन जरुरी छ।