प्रधानन्यायाधीशले मन्त्री मागेको भन्ने समाचार खेदजन्य : सर्वोच्च
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्दै आएका समाचारलाई सर्वोच्च अदालतले खेदजन्य भनेकाे छ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले सोमबार प्रेश विज्ञप्ति जारी गरि प्रधानन्यायाधीश जबरा जोडेर आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनदेखि मन्त्रिपरिषद्को विस्तारमा प्रधानन्यायाधीशको संलग्नता समेतका शीर्षक राखी विभिन्न पत्रपत्रिका एवं अनलाइन माध्यमबाट समेत प्रकाशित भएका समाचारहरूको सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको छ।”
यसलाई सर्वोच्चले खेदजन्य विषय भनेको छ। सर्वोच्चले भनेको छ, “संविधानतः प्रधानमन्त्रीको सिफारिशमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्मानीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद र खेदजन्य विषय हो।”
न्यायालयको नेतृत्वलाई लाञ्छित गर्ने उद्देश्यले समाचार आएको जनाइएको छ। “नेपालको संविधानबमोजिम स्वतन्त्र, स्वायत्त एवं संवेदनशिलताका साथ क्रियाशिल रहनुपर्ने संस्था र त्यसको नेतृत्वप्रति कुत्सित मनसाय राखी लाञ्छित गर्नु अत्यन्त दुःखद अवस्था हो,” विज्ञप्तिमा भनिएको छ, “सम्मानीय प्रधानन्यायाधीशज्यूबाट नेपालको संविधानबमोजिम न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने विषयमा आफ्नो स्पष्ट प्रतिवद्धता रहेको धारणा विभिन्न समयमा व्यक्त हुँदै आएको स्मरण गराउँदै सर्वोच्च अदालतको अमुक फैसला समेतका सन्दर्भ जोडी यस प्रकारका समाचारहरू आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दुषित मनसाय बाहेक अरु केही हुनसक्दैन।”
सर्वोच्चले यस्ता समाचारमा विश्वास नगर्न नागरिकलाई अनुरोध पनि गरेको छ।