भल्लीअम्माको सम्झनामा थिल्लय्यडी पुगेका गान्धी
भल्लीअम्मा तमिल मूलकी दक्षिण अफ्रिकी युवती थिइन् जसले गान्धीलाई रङ्गभेदी शासन (अपार्टाइड)सँग लड्ने उनको अहिंसात्मक आन्दोलनको प्रारम्भिक दिनहरूमा साथ दिएकी थिइन्।
महात्मा गान्धीको १४५औं जन्मोत्सवका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा ‘स्वच्छ भारत अभियान’ शुरू गरेका थिए। ‘स्वच्छता स्वतन्त्रताभन्दा महत्त्वपूर्ण छ’ भन्ने गान्धीको स्वच्छ भारत सपना अझै साकार भएको छैन।
सन् २०१९ सम्म राष्ट्रपिताको इच्छा पूरा गर्ने लक्ष्य भारतले लिएको थियो। त्यही वर्ष पढाइका लागि म भारत जाँदा स्वच्छ भारत अभियानको आलोचना भइरहेको पाएँ। ‘कभरिङ डेप्रिभेसन’ (गरीबी सम्बन्धी समाचार लेख्न) का लागि म तमिलनाडुको पूर्वी तटीय जिल्ला नागपट्टिनमको थारङ्गमबडी तहसिलमा पर्ने थिल्लय्यडी गाउँ पुगेकी थिएँ।
तमिलनाडुको थारङ्गमबडी तहसिलस्थित थिल्लय्यडी गाउँमा सरसफाइ हुँदै । तस्वीरहरू: सजना बराल
म त्यहाँ पुग्दा गाउँलेहरू झाडु, कुचो बोकेर टोल, गल्ली सफा गर्दै थिए। त्यो साल गान्धीको १५०औं जन्मोत्सव परेकाले उनले छोडेको सरसफाइको सन्देश पालना गर्न गाउँलेहरूले हरेक दिन पालैपिलो बढार्ने गरेका रहेछन्। तमिलनाडुको राजधानी चेन्नईबाट २८३ किमी टाढा रहेको थिल्लय्यडीले आफ्नो इतिहास संरक्षण र राष्ट्रपिताको सम्मानमा उदाहरणीय काम गरेको देखिन्थ्यो।
गान्धी र तमिलहरूको पुरानो सम्बन्ध छ। यस लेखमा गान्धीपथमा लागेर शहिद भएकी एक तमिल युवतीबारे वर्णन गरिएको छ। दक्षिण अफ्रिकामा भारतीयहरूमाथि हुने नश्लीय भेदभावका विरुद्ध अवज्ञा आन्दोलन गरिरहँदा थुप्रै आप्रवासी तमिलहरूले गान्धीको साथ दिएका थिए। सन् १९१४ मा दक्षिण अफ्रिका छोडेर इंग्ल्यान्ड हुँदै भारत फर्किएपछि सन् १९१५ को ९ जनवरीमा गान्धीले पत्नी कस्तुरबासँगै दक्षिण भारतको भ्रमण गरे।
उनी त्यहाँ पुग्दा दक्षिण अफ्रिकाको आन्दोलनमा साथ दिएका थुप्रै ‘फ्रिडम फाइटर’ र तिनका परिवारले गान्धीको स्वागत र जयजयकार गरेका थिए। तर, जसका लागि उनी त्यहाँ पुगेका थिए, ती मान्छे उनले भेटिरहेका थिएनन्।
त्यो वेला उनी सोझै तमिलनाडुको ट्रयांकेबार (हालको थारङ्गमबडी) भन्ने ठाउँ गएका रहेछन्। उनी त्यहाँ पुग्दा दक्षिण अफ्रिकाको आन्दोलनमा साथ दिएका थुप्रै ‘फ्रिडम फाइटर’ र तिनका परिवारले गान्धीको स्वागत र जयजयकार गरेका थिए। तर, जसका निम्ती उनी त्यहाँ पुगेका थिए, ती मान्छे उनले भेटिरहेका थिएनन्।
थारङ्गमबडीभित्रकै थिल्लय्यडी गाउँमा पनि उनी गए। त्यहाँ जानुको प्रमुख उद्देश्य नै उनै नभेटिएकी व्यक्ति, भल्लीअम्मा मुनुसमी (१८९८–१९१४) थिइन्। भल्लीअम्मा तमिल मूलकी दक्षिण अफ्रिकी युवती थिइन् जसले गान्धीलाई रङ्गभेदी शासन (अपार्टाइड)सँग लड्ने उनको अहिंसात्मक आन्दोलनको प्रारम्भिक दिनहरूमा साथ दिएकी थिइन्।
“ट्रयांकेबारमा गान्धीलाई भेट्न झुम्मिएकाहरूको भीडमा भल्लीअम्मा थिइनन्, उनको त एक वर्ष अघि नै निधन भइसकेको थियो,” थिल्लय्यडी ग्रामपञ्चायतका पूर्व अध्यक्ष ए. रेंगराजनले त्यो बेला पङ्क्तिकारसँग भनेका थिए, “भल्लीअम्माकै सम्झनामा गान्धी हाम्रो गाउँ आउनुभएको थियो। उहाँ बसेको ठाउँमा थिल्लय्यडी भल्लीअम्माइ मेमोरिअल हल र पुस्तकालय बनाएका छौं।”
थिल्लय्यडीको संग्रहालयमा रहेको भल्लीअम्मा मुनुसमीको मूर्ती ।
भल्लीअम्माको मावलीपट्टिको पुर्ख्यौली घर थिल्लय्यडी थियो। उनका अभिभावक (आमा मंगलम र बाबु आर. मुनुसमी मुदलिअर) मजदूरीका लागि दक्षिण अफ्रिका गएका थिए। भल्लीअम्माको जन्म उतै, जोहानेसबर्गमा भयो। बेलायती औपनिवेशिक शासकले दक्षिण अफ्रिकी रीत वा चर्चको कानून विपरीत गरेको विवाह खारेज गरिदिने घोषणा गरेपछि गान्धीकै सल्लाहमा भल्लीअम्माले राजनीतिक सङ्घर्ष शुरू गरेको कुरा द हिन्दूको यस लेखमा उल्लेख छ।
सानो उमेरमै मानव अधिकार र समानताको लडाइँमा होमिएर जेल समेत परेकी भल्लीअम्मा बिस्तारै थला पर्दै गइन्। “जेलमा कठोर यातना दिइन्थ्यो,” तीन वर्ष अघिको भेटमा हमीदिआ हायर सेकेन्डरी स्कूलका पूर्व प्रधानाध्यापक रामलिङ्गमले भनेका थिए, “उनी सिकिस्त बिरामी भएपछि उनलाई भेट्न गान्धी जेलमै पुगेका थिए।”
भल्लीअम्माइ बिरामी भएपछि उनलाई भेट्न जेलमै पुगेका गान्धीसहितको चित्र। स्रोत: भल्लीअम्माइ मेमोरिअल हल
त्यही वेला, गान्धीकै सामु भल्लीअम्माले १६ वर्षको कलिलो उमेरमा प्राण त्याग गरेको बताइन्छ। गान्धीको अहिंसात्मक आन्दोलन वा सत्याग्रहका प्रथम शहीदहरूमा भल्लीअम्माको पनि नाम आउँछ। तर, उनीबारे तमिल समुदाय बाहिर खासै चर्चा छैन। गैर-तमिलले चिन्दा पनि चिन्दैनन्। उनको शव जोहानेसबर्गको ब्रामफोन्टेन सिमेट्रीमा अर्का तमिल शहीद नागप्पनको छेउमा गाडिएको छ।
थिल्लय्यडी ग्राम पञ्चायतका पूर्वअध्यक्ष रेंगराजनका अनुसार, गान्धीले थिल्लय्यडी आउँदा भल्लीअम्माको निधनले आफूलाई ठूलो दाजु लक्ष्मीदास गुमाउँदाको भन्दा धेरै पीडा दिएको बताएका थिए। भल्लीअम्माको निधनको केही दिनपछि उनले अफ्रिका छोडे। पछि, भारतको राष्ट्रिय झण्डा डिजाइन गर्ने वेला गान्धीले भल्लीअम्माकै सारीको रङ अनुसार केशरी, सेतो र हरियो रङ छानेका थिए भन्ने अपुष्ट भनाइ पनि छ।
थिल्लय्यडी ग्राम पञ्चायतका पूर्व अध्यक्ष ए. रेंगराजन।
गान्धी र भल्लीअम्माबारे थिल्लय्यडीमै पनि अनेक किस्सा छन् जुन प्रमाणित हुन सकेका छैनन्। जस्तै– आफूलाई भल्लीअम्माका नातेदार बताउने प्रेग मुनुसमी थिल्लय्यडीको सङ्ग्रहालयमा वेलावेला आइरहन्छन्। “भल्लीअम्मा मेरा हजुरबुबाकी दिदी थिइन्,” उनले द हिन्दूसँग भनेका छन्। तर, भल्लीअम्मा एक्ली सन्तान भएकाले मुनुसमीको हजुरबुबा कसरी उनका दाजु भए भन्ने प्रश्न कपितय थिल्लय्यडीबासी गर्छन्।

समानताको लडाइँमा लागेर कलिलो उमेरमै ज्यान गुमाएकी भल्लीअम्मालाई तमिल महिलाहरू विशेष आदर गर्छन्। उनको सम्मानमा थिल्लय्यडी गाउँको नाम परिमार्जन गरेर थिल्लय्यडी भल्लीअम्माइ ग्राम पञ्चायत बनाइएको छ। दक्षिण अफ्रिकामा उनको अर्धकदको मूर्ति स्थापना गरिएको छ भने मलेसियामा उनको नाममा स्मारक बनाइएको इकोनमिक टाइम्समा उल्लेख छ। भारत सरकारले उनको मुहार अङ्कित हुलाक टिकट बनाएको छ।
भल्लीअम्माको मावली गाउँ भए पनि थिल्लय्यडीमा उनलाई सबैले अम्मा(आमा) भनेर सम्बोधन गर्छन्। गाउँको बीचमा रहेको भल्लीअम्माइ सङ्ग्रहालयमा गान्धी र भल्लीअम्माका पुराना तस्वीर, चित्र र गान्धीले लेखेका चिठीहरू राखिएका छन्। सङ्ग्रहालयसामु एउटा स्तम्भ बनाइएको छ, जसमा लेखिएको छ– हेयर स्याट गान्धी, १–५–२०१५ (गान्धी यहाँ बसेका थिए)।
थिल्लय्यडीको भल्लीअम्माइ मेमेरिअल हल।
“हाम्रो सानो, गरीब गाउँमा पर्यटकहरू खासै आउँदैनन्, तर हामी अरूलाई देखाउन होइन, आफ्नै लागि गान्धी र भल्लीअम्मासँगै हाम्रा अरू शहीदहरूका कथा र अनुहार बचाइरहन चाहन्छौं,” गाउँका अगुवा समेत रहेका पूर्व प्रधानाध्यापक रामलिङ्गमले हामीसँग भनेका थिए, “हाम्रा छोरीहरूलाई भल्लीअम्मा जस्तै बहादुर र देशप्रेमी बनाउन भल्लीअम्माको इतिहास जोगाएर राखेका हौं।”
गान्धी बसेको ठाउँमा बनाइएको स्तम्भ।