नीनाले साँचो बोल्दा...
‘विवाह नगरीकन एक वेस्ट इन्डिजका खेलाडीकी छोरीकी आमा भएकी’ भनेर छविबद्ध गरिए पनि नीनाको जीवनको मुख्य बिन्दु यो होइन। उनको जीवनको मुख्य बिन्दु हो- धीरता।
एक थिए- रूपनारायण गुप्ता। यिनको जीवन सत्तरीको दशकको आम भारतीय मध्यम वर्गीय मानिसको जस्तै थियो। सरकारी जागीर थियो। परम्परागत परिवार थियो, जहाँ सबै हुकुम बाबुको चल्थ्यो। परिवारका केही सदस्य व्यापारमा पनि थिए।
आम जीवन बाँच्नेहरूसँग नै खास बन्ने सम्भावना हुन्छ। गुप्ताजीले एउटा त्यस्तै खास काम गरे, पञ्जाबी युवतीसँग भागी विवाह गरे। यी युवती सुन्दर थिइन्, दुई वटा विषयमा एमए गरेकी थिइन्। उनीहरू आपसमा प्रेम गर्थे। तर, कुनै सस्तो हिन्दी फिल्ममा जस्तै गुप्ताजीका पिताले यो विवाहलाई स्वीकार गरेनन्।
यो समीकरणका थुप्रै कुरामा पिताजीको असहमति थियो। त्यसमध्ये मुख्य चाहिं पञ्जाबी केटीबाट जन्मिने नातिनातिना पनि पञ्जाबी नै हुन्छन्, उनीहरू आफ्नो कुलमा रहँदैनन् भन्ने थियो। त्यसैले उनले छोरासामु एउटा अनौठो प्रस्ताव गरे- तिमीलाई मन परेकी श्रीमतीसँग पनि बस, तर हाम्रा लागि हाम्रै जातकी केटी पनि विवाह गरिदेऊ। यो प्रस्तावलाई कुनै कारणले छोराले माने। र, विवश भएर पञ्जाबी युवतीले पनि यसलाई स्वीकार गरिन्।
तत्–उप्रान्त गुप्ताको जीवन एउटा सम्झौतामा चल्न थाल्यो। उनी हरेक दिन बिहान उठेर पञ्जाबी श्रीमतीको घर ब्रेकफास्ट खान जान्थे, लन्च अफिसमा खान्थे। डिनरका लागि फेरि पञ्जाबी श्रीमतीकै घर आइपुग्थे। तर, डिनर खाएपछि भने उनी जस्तै जाडो होस् वा पानी परेको किन नहोस्, आफ्नो स्कूटर लिएर दिल्लीको सडकमा निस्किन्थे। र, खुरुखुरु पुग्थे, बुबाको घर। उनले बुबाले रोजेकी श्रीमतीसँग खाना खाएनन्, आफूले रोजेकी श्रीमतीको घरमा रात बिताएनन्।
यो क्रम चलेको धेरै वर्षपछि एक दिन गुप्ताजी अचानक गायब भए। गायब भएको झण्डै नौ महीनापछि नैनीतालबाट उनको एउटा पोस्टकार्ड घरमा आयो। त्यो पोस्टकार्डमा के थियो? गुप्ताजी किन गायब भएका थिए? त्यसपछि उनको जीवनमा के भयो भन्ने जान्नका लागि पढ्नुहोस्- उनकी छोरी नीना गुप्ताको हालै बजारमा आएको आत्मकथा, सच कहुँ तो ।
नीना यिनै गुप्ताकी पञ्जाबी युवतीपट्टिकी छोरी हुन्। नीना गुप्ता खासमा दुई कारणले प्रसिद्ध छिन्। एक, उनी बलिउड अभिनेत्री हुन्। असीको दशकदेखि अभिनय थालेकी नीना अहिले पनि सक्रिय छन्। ठूलो बलिउड फिल्ममा मुख्य हिरोइनको भूमिका खोज्दाखोज्दै साना भूमिकाबाटै प्रसिद्धि कमाएकी नीनाले मुख्य भूमिका ६० वर्षको उमेरमा पाइन्।
तीन वर्ष पहिले आएको बधाई हो उनको त्यस्तो फिल्म थियो, जसमा नीना मुख्य भूमिकामा थिइन्। यो फिल्म सुपरहिट मात्रै भएन, यसमा नीनाको अभिनयको पनि निकै तारीफ भयो।
दोस्रो, असीको दशकमा विवाह नगरीकन छोरी जन्माएका कारण नीना चर्चित भइन्। उनका छोरीका पिता वेस्ट इन्डिजका प्रसिद्ध क्रिक्रेटर भिभिएन रिचर्डस् थिए, जो त्यस वेला विवाहित थिए। विवाह नगरीकन बच्चा जन्माए-हुर्काएर नीनाले त्यस वेला भारतीय समाजमा एउटा तूफान ल्याइदिएकी थिइन्।
तपाईं सोध्नुहोला, नीनाको कुरा नगरी किन उनको बाबुको कथा हालेको? नीना आत्मकथाको शुरूतिरकै पानामा भन्छिन्- मलाई थाहा छ तपाईंहरूमध्ये धेरैले भिभिएनसँगको मेरो अफेयरबारे पढ्नका लागि यो किताब उठाउनुभएको छ। तर, त्यो नीनालाई पूर्ण रूपमा जान्नका लागि तपाईंले नीना को हो, कसरी त्यो स्थितिमा पुगी भन्ने पनि जान्नु जरुरी छ।
खासमा कुनै पनि आत्मकथामा दुइटा कुरा हुन्छन्- एउटा, त्यो व्यक्तिको आफ्नो निर्माण कथा। म को थिएँ, कस्तो परिस्थिति र परिवेशबाट आएँ र कसरी आजको ठाउँसम्म आइपुगें। दोस्रो, त्यो यात्रा र अहिलेका उपलब्धिलाई म कसरी लिन्छु?
नीना आत्मकथाको शुरूतिरकै पानामा भन्छिन्- मलाई थाहा छ तपाईंहरूमध्ये धेरैले भिभिएनसँगको मेरो अफेयरबारे पढ्नका लागि यो किताब उठाउनुभएको छ। तर, त्यो नीनालाई पूर्ण रूपमा जान्नका लागि तपाईंले नीना को हो, कसरी त्यो स्थितिमा पुगी भन्ने पनि जान्नु जरुरी छ।
मानिसका सारा झूट र आत्मप्रशंसा यसैसँग मोरिएर आत्मकथामा आउँछन्। कसैले यो कथालाई बडप्पनका साथ भन्छन् र पाठकको नजरमा घमण्डी ठहरिन्छन्, कसैले यसैलाई विनम्रताका साथ पेश गर्छन्। नीनाको कथामा घमण्डको मात्रा खासै छैन भनिदिंदा हुन्छ।
यो पुस्तकले पनि मेकिङ अफ नीनाबारे बताउँछ। कसरी १८ वर्षको अल्लारे उमेरमा नीनाको पहिलो बिहे भयो। र, आफ्नै टोलको यो बंगाली केटासँग एक वर्षभन्दा बढी सम्बन्ध टिकेन। कसरी नीना घरबाट बाहिर जानका लागि राष्ट्रिय नाट्य विद्यालय पुगिन्? कसरी त्यहाँ सतीश कौशिक उनका क्लासमेट भए? र, दिल्लीको नाटक संसारमा केही समय रुमल्लिएपछि बलिउडमा हिरोइन बन्न मुम्बई पुगिन् भन्ने कुरा उनले पुस्तकमा विस्तारमा लेखेकी छन्।
नीना आफैं हिरोइनका रूपमा सफलताको कुनै शिखरमा नपुगेकाले पनि होला, उनको लेखाइमा बडप्पनभन्दा बढी भोगाइ छ। उनले मुम्बईमा एक्लै बस्ने केटीले त्यति वेला कोठा पाउनका लागि गर्नुपरेको सङ्घर्षलाई सजीव तरीकाले प्रस्तुत गरेकी छन्। केटाहरूप्रतिको आफ्नो आकर्षण र प्रेम सम्बन्धहरूबारे पनि उनी खुला छन्। एक नामचीन सङ्गीतकारका छोरासँग तय भएर पनि हुन नसकेको विवाहबारे पनि उनले लेखेकी छन्।
फिल्म पाउनका लागि औसत युवतीले गर्ने सङ्घर्षका प्रायः सबैजसो पाटो उनले उधिनेकी छन्। यसमा कास्टिङ काउच पनि पर्छ। उनले कास्टिङ काउचका केही घटना उल्लेख गरेकी छन्। उनी आफैंले त्यसलाई कास्टिङ काउच नभने पनि त्यो प्रस्टै बुझिन्छ।
आजभन्दा ३०-३५ वर्ष पहिलेको भारतमा अविवाहित आमाका रूपमा छोरी हुर्काउँदाका दुःसाध्य दिनहरूको उनको बयान दुःखदायी छ। छोरीलाई स्कूलमा भर्ना गराउने जद्धोजेहाददेखि फरक शारीरिक बनावट भएका कारण साथीहरूले जिस्क्याएकाले स्कूल जान मन नगर्ने छोरीको मनोविज्ञानसम्मको बयान उनले गरेकी छन्।
बुहारीको एउटा परम्परागत छविमा बाँधिएको भारतीय समाजले नीनालाई बुहारी नबनीकन आमा बनेको स्वीकार गर्न निकै गाह्रो भएको बुझिन्छ। अझै एकल आमा सार्वजनिक परिचय भएकी कामकाजी हुँदा झन् कति मुश्किल हुन्छ भन्ने पनि उनले लेखेकी छन्।
पुस्तकमा एक जना पत्रकारको प्रसङ्ग छ, जसको उनले नाम लिएकी छैनन्। एकल आमा नीनाले बच्चा जन्माएको खबर भारतीय मिडियामा ठूलो मसलाका रूपमा फैलिएको थियो। यो बच्चीको बाबु को होला भनेर नै समाचारहरू छापिएका थिए। यसले नीनालाई धेरै नै असर गरेपछि एक दिन उनका मित्र/कलाकार सतीश कौशिकले भनेछन्- यो बच्चाको बाबु म हो भनिदेऊ। तिमीलाई त्यस्तै गाह्रो परेको छ भने म विवाह गर्न पनि तयार छु। तर, नीनाले यो प्रस्ताव स्वीकार गरिनन्।
गसिप बजार निकै तातेका वेला फिल्म अभिनेत्री एवं नीनाकी मित्र सोनी राजदन र उनका फिल्ममेकर पति महेश भट्टले एक दिन नीनालाई भन्छन्- यसबारे तिमीले नै बोल्नु ठीक हुन्छ। त्यस वेलाको चल्तीको एउटा म्यागजिनका नाम चलेका सम्पादकको नाम लिएर उनीहरूले अन्तर्वार्ताको प्रस्ताव गर्छन्। नीनाका शर्तमा कुरा गर्ने भनेर पनि भन्छन्। नीनाले यी सम्पादकसँग कुरा गर्छिन् र अफ दी रेकर्डमा पनि थुप्रै कुरा हुन्छ।
उनलाई विश्वास गरेर नीनाले छोरीका बाबुबारे पनि ‘अफ द रेकर्ड’ मा बताउँछिन्। पत्रिकामा उनको अन्तर्वार्ता प्रकाशित हुन्छ- ‘नीनाकी छोरीका बाउ भिभिएन भएको खुलासा’। यसलाई तीतो प्रसङ्गका रूपमा उल्लेख गरे पनि उनले सम्पादकको नाम भने उल्लेख गरेकी छैनन्।
आफ्ना बाबुको वचन हार्न नसकेर दुई विवाह गरेका नीनाका पिता आखिरीमा छोरीका ती सङ्घर्षका दिनमा उनको सहारा बन्न पुग्छन्। आफ्नी छोरीको चरित्रमाथि कोलोनीका अध्यक्षले प्रश्न उठाएपछि उनलाई लल्कारेर आफैं कोलोनीको अध्यक्ष उम्मेदवार भएर विजयी पनि हुन्छन्।मानिसलाई उसको जीवनले कसरी परिवर्तन गर्न सक्छ र मानिसले जीवनलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने बुझ्न यी बाबु-छोरीको कथा पढ्दा सहयोगी हुनेछ।
एक विवाहित निर्देशकसँग मेरो अफेयरको हल्ला चल्यो। हाम्रो अफेयर थिएन, तर यो हल्लाका कारण निर्देशककी श्रीमतीले मलाई गाली समेत गरिन्। आखिर यसकै कारण मैले उनको फिल्म पनि पाइनँ। ती निर्देशकले कहिल्यै पनि मलाई फिल्ममा लिन सकेनन्।
तर, रूपनारायण गुप्ता नीनाको कथाका सहायक चरित्र हुन्। यसकी मुख्य पात्र हुन्- नीनाकी आमा शकुन्तला। नीना वेलावेला आफ्नी आमाबारे प्रश्न गर्छिन्- मेरी आमा सुन्दर थिइन्। शिक्षित थिइन्। क्षमता भएकी थिइन्। तर, उनले किन आफूसँग बस्न समेत नसक्ने मानिसलाई लोग्ने मानेर जीवन बिताइन् होला? उनले त्यस्तो सम्बन्धबाट किन बाहिर निस्किने हिम्मत गरिनन् होला?
र, नीना आफैंले त्यसको कारण पनि अनुमान गरेकी छन्- आत्मविश्वासको कमी र आफूमाथिको भरोसाको कमी। अलिकति आँट गरेकी भए मेरी आमाको जीवन अर्कै हुन सक्थ्यो भन्ने उनलाई अहिले पनि लाग्छ।
छोरी मसाबासँगका उनका प्रसङ्गहरू रोचक छन्। यी आमाछोरीबारे अझै जान्ने चाहना छ भने चाहिं नेटफ्ल्क्सिको छोटो सिरिज ‘मसाबा मसाबा’ हेर्नुहोला। हाल दिल्लीका व्यवसायी विवेक शर्मासँग वैवाहिक सम्बन्धमा रहेकी भए पनि नीनाले आफ्नो पूर्व जीवनबारे खुलस्त लेखेकी छन्।
तर, भिभिएनसँगका प्रसङ्गलाई भने उनले सङ्क्षिप्त राखेकी छन्। यसको कारणबारे उनी लेख्छिन्- यो च्याप्टर मेरो मात्र होइन, भिभिएन, उनको परिवार र मेरी छोरीको पनि भएकाले म उनीहरूको गोपनीयतालाई ख्याल गरेर पनि यसबारे धेरै लेख्न सक्दिनँ।
करिअरको शुरूमै केही गलत भूमिकामा देखिएका कारण आफ्नो इमेज बिग्रिएको र यसले हिरोइन बन्न नदिएको उनको निष्कर्ष छ। त्यसैले उनी सल्लाह दिन्छिन्- पैसाका लागि वा अरू कुनै पनि कारणले स्टेरियोटाइप हुने भूमिका नगर्नू। त्यो भनेको भारतको सन्दर्भमा कमेडियन र खलनायिकाको। हिरोका लागि सबै भूमिका गरेर पनि हिरो बन्नु सम्भव छ, तर हिरोइनलाई छैन। ससानो भूमिकामा नोटिस भएर पनि ठूलो फिल्ममा हिरोइन भइएला भनी सोच्नु पनि गल्ती हुने उनको ठम्याइ छ।
असन्तुलित परिवार, असहज परिस्थिति, पर्याप्त विवाद र आलोचनाका बावजूद आफ्ना सीमा र सपना आफैंले निर्धारण गर्नका लागि जत्रो धैर्य चाहिन्छ, त्यसको कल्पना मात्रै पनि कठिन छ। तर, नीनाले त्यो पूरै समुद्र पार गरेर झण्डै ३५ वर्ष आफ्ना लागि राम्रो भूमिकाको प्रतीक्षा गरिन्।
यस्तै, उनी भन्छिन्- हिरोइन हुने नयाँ केटीहरूले विवाहित निर्माता/निर्देशकसँग कहिल्यै अफेयर वा सम्बन्ध नबनाउनू। त्यस्तो सम्बन्धले फाइदाभन्दा घाटा बढी हुने उनको अनुभव छ। उनी भन्छिन्- एक विवाहित निर्देशकसँग मेरो अफेयरको हल्ला चल्यो। हाम्रो अफेयर थिएन, तर यो हल्लाका कारण निर्देशककी श्रीमतीले मलाई गाली समेत गरिन्। आखिर यसकै कारण मैले उनको फिल्म पनि पाइनँ। ती निर्देशकले कहिल्यै मलाई फिल्ममा लिन सकेनन्।
नीना बलिउडमा आइटम गर्लका रूपमा पनि एक समय देखिइन्- जब उनले सुभाष घईको फिल्म खलनायकको चर्चित गीत ‘चोली के पिछे क्या है...’ मा नृत्य गरिन्। हिरोइनका रूपमा नीनालाई एक समय ठाडै अस्वीकार गरेका घईले उनलाई यो गीतमा नृत्य गर्नका लागि निकै बल गरेर मनाएका थिए। आखिरीमा यही गीतले नीनालाई उनका थुप्रै टेलिफिल्म र साना भूमिकाले भन्दा बढी प्रसिद्धि दिलायो।
‘विवाह नगरीकन एक वेस्ट इन्डिज खेलाडीकी छोरीकी आमा भएकी’ भनेर छविबद्ध गरिए पनि नीनाको जीवनको मुख्य बिन्दु यो होइन। उनको जीवनको मुख्य बिन्दु हो- धीरता।
असन्तुलित परिवार, असहज परिस्थिति, पर्याप्त विवाद र आलोचनाका बावजूद आफ्ना सीमा र सपना आफैंले निर्धारण गर्नका लागि जत्रो धैर्य चाहिन्छ, त्यसको कल्पनामात्रै पनि कठिन छ। तर, नीनाले त्यो पूरै समुद्र पार गरेर झण्डै ३५ वर्ष आफ्ना लागि राम्रो भूमिकाको प्रतीक्षा गरिन्। यसका लागि सानोतिनो धीरताले पुग्दैन।
हुर्किएका छोराछोरी (जसको जेठो छोराको भूमिकामा आयुष्मान खुराना थिए)की आमा फेरि गर्भवती भइन् भने समाजले के भन्ला? परिवारले के भन्ला? यो विषयमा बनेको बधाई हो मा नीनाले त्यही अधेड आमाको भूमिका गरिन्। र, ६० वर्षको उमेरमा आफूले चाहे जस्तो मूख्य भूमिका पाइन्। उनी यो फिल्मको सेटमा आफ्नो लागि सिङ्गै भ्यान दिइँदा जति खुशी देखिन्छिन्, त्यति अरू कुनै चिजमा देखिन्नन्।
उनी यसमा किन यति धेरै खुशी थिइन् भन्ने बुझ्नलाई उनले ३५ वर्ष सानो भूमिकामा अभिनय गर्दा खेपेका अपमानको फेहरिस्त हेर्नुपर्छ। स्टारहरूलाई फाइभस्टार होटलमा राखेर अरू कलाकारलाई धर्मशालामा राख्ने प्रोडक्सनबारे थाहा पाउनुपर्छ। यसका लागि पनि यो पुस्तक उपयोगी हुनसक्छ।
नीना गुप्ताको एउटा मन्त्रले उनलाई सबभन्दा खास बनाउँछ- सफलता कुन समयमा, कुन बिन्दुमा र कुन रूपमा प्राप्त हुनसक्छ भन्ने कसैलाई थाहा छैन। तर, जसले सफलतालाई पछ्याउँदैन, पिछा गर्दैन, त्यसले सफलता पाउँदैन। सफलता त्यसैले पाउँछ जसले त्यसका लागि निरन्तर प्रयास गर्छ र हिम्मत कहिल्यै हार्दैन।
यो मन्त्रलाई नीनाकै जीवनले सिद्ध गर्छ।
पुस्तक: सच कहुँ तो, आत्मकथा (२०२१), लेखक: नीना गुप्ता
प्रकाशक: इबरी प्रेस, पेन्गुइन, पृष्ठ: ३३०, मूल्य: भारु. ५९९