जात-व्यवस्थाको विरोधाभास
दलित, अछूत, हरिजन अर्थात् हिन्दू समाजमा तल्लो तहमा रहेका समुदाय र जात-व्यवस्थामाथि भारतका दुई प्रखर चिन्तक बीआर अम्बेडकर र महात्मा गान्धीको दृष्टिकोणको चिरफार हो, यो पुस्तक।
बीआर अम्बेडकरको एनाइअलेसन अफ् कास्टमाथि लेखिएको अरुन्धती रोयको भूमिका द डक्टर एण्ड द सेन्टः दी अम्बेडकर-गान्धी डिबेटको नेपाली अनुवाद हो, ती विद्रोही, ती महात्माः अम्बेडकर-गान्धी बहस। यो लामो निबन्ध मार्फत अरुन्धतीले भारतीय समाजमा जात-व्यवस्थाको विगत र वर्तमानलाई आलोचनात्मक ढङ्गले पर्गेल्ने प्रयास गरेकी छन्।
अनुवादकद्वयले अनुवादको उद्देश्यबारे लेख्ने क्रममा यो निबन्धलाई इतिहासले अम्बेडकरमाथि गरेका अन्याय विरुद्ध अरुन्धतीको बुलन्द ‘मूर्दावाद’ को संज्ञा दिएका छन्। यद्यपि, यो पुस्तक दलित, अछूत, हरिजन अर्थात् हिन्दू समाजमा तल्लो तहमा रहेका समुदाय र जात-व्यवस्थामाथि भारतका दुई प्रखर चिन्तक बीआर अम्बेडकर र महात्मा गान्धीको दृष्टिकोणको चिरफार हो। त्यस्तै, जात-व्यवस्थामा आधारित समाजमा समावेशी र सामाजिक न्याय सहितको लोकतन्त्रको परिकल्पना कसरी भताभुङ्ग हुन्छ भन्ने देखाउने दस्तावेज पनि हो।
पुस्तकको शुरूआतमा अरुन्धतीले आजको भारतीय समाजमा दलित समुदायको अवस्थालाई मिहिन ढङ्गले चित्रण गरेकी छन्। न्याय क्षेत्र, प्रशासन, मिडिया, व्यवसाय, ज्ञान उत्पादनका माध्यम र राजनीतिक शक्ति सम्बन्धमा दलित समुदायको कमजोर पहुँच र सहभागिताको यस्तो चित्रले हिन्दू समाजमा दलितहरूको अवस्था मात्र प्रतिविम्बित गर्दैन, यसले जात-व्यवस्था र लोकतन्त्रबीचको विरोधाभास समेत देखाउँछ।
चार उपशीर्षकमा विभाजित पुस्तकमा दलित सवालहरूलाई अरुन्धतीले जात-व्यवस्थाको मूलका रूपमा ‘वर्णाश्रम धर्म’ वा ‘चतुर्वर्ण’, यसको विस्तार, अमानवीय विशेषता, वर्तमान समयमा जात-व्यवस्थाको पुनरुत्पादन, दलित राजनीतिक तथा सामाजिक आन्दोलन र अन्य राजनीतिक आन्दोलनहरूमा दलितको मुद्दालाई विभिन्न कोणबाट विश्लेषण गरेकी छन्। सबैभन्दा बलियो रूपमा अरुन्धतीले अम्बेडकरको क्रान्तिकारिता र बौद्धिकताको विमर्श गर्दै उनलाई भारतीय दलितहरूका नेताका रूपमा मात्र सीमित गरिदिएकोमा आक्रोश पोखेकी छन्।
पुस्तकमा गान्धीको विरोधाभासपूर्ण जीवनबारे उनी स्वयंका लेखन र विचारहरू मार्फत चर्चा गरिएको छ। गान्धीका विरोधाभासयुक्त अभिव्यक्ति, व्यवहार, दलित समुदायलाई आफ्नो राजनीतिक लाभका लागि प्रयोग र सन् १८७९ देखि शुरू भएको बेलायती गोरा र अफ्रिकी बम्बाथा नेतृत्वबीचको युद्धमा गोराहरूको पक्षमा पैरवी गरेको एक व्यक्तिका रूपमा गान्धीलाई ‘पितृसत्तावादी, घोर रङ्गभेदी र जातिवादी मानसिकता भएको’ व्यक्तिका रूपमा चित्रण गरिएको छ भने अम्बेडकरलाई एक ‘विद्रोही र बौद्धिक’ का रूपमा। सन्त भनिएका गान्धी सन्त नभएर ‘सन्तपनको बाटोमा’ रहेको अरुन्धतीको विश्लेषण छ।
अरुन्धतीले अम्बेडकर र गान्धीका विचार र विवादलाई मसिनो गरी केलाउँदै जात–व्यवस्था रहेको समाजमा अम्बेडकर किन महत्त्वपूर्ण छन् भन्ने बलियो तर्क पेश गरेकी छन्। त्यसैगरी, यी दुईबीचको वैचारिक भिन्नताको मिलनबिन्दु नभएको उनको ठहर छ। यद्यपि, ‘गान्धीका नकारात्मक पाटा बिर्सिएर किन असल पाटामा केन्द्रित नहुने’ भन्ने उनको व्याख्या र पश्चिमा उदारवादको विरोधका नाममा गान्धीको ‘ग्राम गणराज्य’ प्रतिको घुमाउरो समर्थनले अरुन्धती स्वयंको वैचारिक विरोधाभासको छनक दिन्छ।
अरुन्धतीले अम्बेडकरको शहरीकरण तथा आधुनिकतावादी ‘विकास मोडल’ को आलोचना गर्दै त्यसलाई लाखौं मानिस प्रतिको अन्याय र पर्यावरण विनाशको कारक ठहर्याएकी छन्। उनले अम्बेडकरलाई आदिवासी समुदायको प्रश्नमा चुकेको समेत आरोप लगाएकी छन्।
वामपन्थी राजनीति र यसको सैद्धान्तिक जडता प्रति अरुन्धती आलोचनात्मक देखिन्छिन्। वामपन्थीहरूको ‘वर्ग सम्बन्धी सैद्धान्तिक जडता’ ले कम्युनिस्ट पार्टीहरूले दलित समुदायमा आफ्नो प्रभाव गुमाएको उनको ठहर छ। यद्यपि, जात-व्यवस्थाको अन्त्यका लागि अम्बेडकराइट आन्दोलन र कम्युनिष्ट आन्दोलनको मिलनबिन्दुबारे उनी मौन छिन्।
लेखकले दलितहरूलाई इतिहासदेखि सवर्ण समुदायबाट प्रयोग, दुरुपयोग र निरन्तर शोषणमा परेको समुदाय भनेर चित्रण गरेकी छन्। यस्तै, उनीहरूलाई भोट ब्याङ्कका रूपमा प्रयोग भइरहेको र सामाजिक तथा राजनीतिक रूपमा शक्तिहीन समूहका रूपमा हेरिएको छ। दलित समुदायको यस्तो चित्रण मूलतः सवर्ण सौन्दर्यचेत हो। प्रसिद्ध भारतीय दर्शनशास्त्री देवीप्रसाद चट्टोपाध्यायले सवर्ण सौन्दर्यचेतको आधार ‘वर्णाश्रम’ धर्म र त्यसलाई टिकाउन प्रयोग भएका हिन्दू धर्मशास्त्रलाई औंल्याएका छन्।
दक्षिणएशियामा जात-व्यवस्था विरोधी आन्दोलनको जग हाल्ने श्रेय अम्बेडकरलाई जान्छ। नेपालमा दलित समुदायको मुक्तिको मुख्य समस्या ‘जात-व्यवस्थाको अन्त्य’ हो भन्ने तथ्यको सैद्धान्तिकीकरण २०७२ सालको संविधान निर्माणपछि मात्र शुरू भएको देखिन्छ। तहगत असमानता र संरचनागत विभेद रहेको हाम्रो जस्तो समाजमा समाज र राज्यकै लोकतन्त्रीकरणका लागि अम्बेडकर विचारको आलोचनात्मक सान्दर्भिकता महत्त्वपूर्ण देखिन्छ।
यद्यपि, नेपालको ‘जात-व्यवस्था विरुद्धको आन्दोलन’ ले अम्बेडकर विचारलाई स्विकार्दैन, उनलाई जात-व्यवस्थाको गहन अध्ययन गर्ने एक अध्येता मात्र मान्छ। हिन्दू समाजमा वर्ग निर्माणको मुख्य आधार ‘जात-व्यवस्था र पूँजीवादी व्यवस्था’ हो भनेर स्विकार्ने र पूँजीवादलाई हिन्दू समाजको सन्दर्भमा ब्राह्मणवाद र जात-व्यवस्थालाई सैद्धान्तीकरण गर्ने अम्बेडकरलाई नस्विकार्ने ‘नेपाली जात-व्यवस्था विरुद्धको आन्दोलन’ को द्वैध चरित्र हो।
नेपालको जात-व्यवस्था विरोधी राजनीतिक आन्दोलन हिन्दू धर्म र धर्मनिरपेक्षताको सवालमा मौन छ। ‘विश्व सर्वजन सङ्घ’ मार्फत भगत सर्वजितको नेतृत्वमा २००३ सालमा शुरू भएको सङ्गठित दलित आन्दोलनको शुरूआती वैचारिक आधार ‘हिन्दूू धर्मशास्त्रको आधारमा समानता र सम्मानको लडाइँ’ थियो।
२००८ सालतिर ‘जात तोड मण्डल’ को गठनसँगै दलितहरूलाई ‘राजनीतिक शक्ति’ का रूपमा स्थापित गर्ने प्रयास भयो। २०२४ सालको सेरोफेरोबाट वाम नेता रूपलाल विश्वकर्माले राजनीतिक शक्ति सम्बन्धका आधारमा सत्ताको हिस्सेदारी मार्फत दलित समुदायका मुद्दाको सम्बोधनलाई दलित आन्दोलनको कार्यदिशा बनाएको मान्न सकिन्छ।
२०५२ सालदेखि शुरू भएको माओवादीको हिंसात्मक युद्धले भने जातीय विभेदको अर्थ-राजनीतिलाई मूलतः ‘हिन्दू सौन्दर्यशास्त्र’ कै आधारमा व्याख्या गर्यो र परम्परागत शक्ति संरचनामा दीर्घकालीन धक्का दिन सकेन। त्यसैले दलित आन्दोलनलाई ‘हिन्दू सौन्दर्यशास्त्र’ बाट टाढा राख्नुका साथै दलित समुदायभित्र रहेको आस्तिक मतलाई धर्मनिरपेक्षतामा लैजान अर्थात् ‘भौतिकवादी’ मतको प्रवर्द्धनका लागि अम्बेडकर विचारधारा आज सबैभन्दा बलियो राजनीतिक अस्त्र हुनसक्छ। यो नै नेपाली दलित आन्दोलनलाई नेपालका अन्य सामाजिक-राजनीतिक आन्दोलनसँग जोड्दै राजनीतिक शक्ति सम्बन्धमा हस्तक्षेप गर्न सक्ने उपाय हुनसक्छ। त्यसका लागि यो पुस्तक खँदिलो बौद्धिक खुराक हो।
अनुवादका हिसाबले पुस्तक राम्रो छ, अनूदित कृति पढिरहेको महसूस हुँदैन। यद्यपि, हिन्दी शब्दहरूको व्यापक प्रभाव र प्रयोगले भने बिझउँछ। केही लामा वाक्यांशहरूको प्रयोगले पाठकलाई कतैकतै अलमल्याउन सक्छ। जात-व्यवस्था, जातप्रथा, मूर्ति र शालिक जस्ता शब्दहरूको अर्थपूर्ण अनुवादमा अलमल देखिन्छ।
यस बाहेक ज्ञान उत्पादनमा सवर्ण दृष्टिकोणलाई आलोचनात्मक दृष्टिले हेर्न, दलित समुदाय सहित हिन्दू समाजको तल्लो तहमा रहेका बहुसङ्ख्यकको आँखाबाट हिन्दू समाज र जात-व्यवस्थालाई नियाल्न यो पुस्तक महत्त्वपूर्ण छ। त्यस्तै, गान्धी र अम्बेडकरलाई देवत्वकरण गर्ने अभियानमा लागेकाहरूले यी दुवैको वस्तुगत मूल्याङ्कनका लागि यो पुस्तक पढ्नैपर्छ।
ती विद्रोही, ती महात्माः अम्बेडकर-गान्धी बहस
मूल लेखकः अरून्धती रोय, अनुवादकः नरेश ज्ञवाली, विनोदविक्रम केसी
प्रकाशकः बेला पब्लिकेसन्स, पृष्ठः १८२, मूल्यः रू. ३९०।-
(अध्येता तथा अभियन्ता ज्ञवाली मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील छन्। हिमालको २०७८ असोज अंकबाट।)