वरदायिनी स्कुल
सानुले भन्यो- जाबो सय रूपैयाँ पनि कसैले ब्याङ्कमा राख्छ? गतिलो ब्याङ्कमा त खाता खोल्नै पाँच सय लाग्छ। पत्रुलाई यत्ति पनि थाहा छैन।
टिङ् टिङ् टिङ् टिङ्...।
लामो घन्टी बज्यो। कक्षाबाट केटाकेटी कुदाकुद गर्दै बाहिर निस्किए। यस्तो लाग्थ्यो, ती केटाकेटी होइनन्। खुला आकाशमा रमाउँदै उडिरहेका चराहरू हुन्। स्कुलको गेटबाट निस्किएपछि ती कोही पूर्व, कोही पश्चिम, कोही उत्तर र कोही दक्षिणतिरको बाटो समाउँदै आ-आफ्ना घरतिर हान्निए।
वैशाख सकिनै लागेको थियो। गर्मी शुरू भएको थियो। वरिपरिका रुखबिरुवामा पालुवा पलाएर हरियाली गाढा भएको थियो। दिनको ४ बजेको भए पनि घामको राप तातो तावा जसरी रन्किरहेको थियो। बालुवामाथि कछुवा घस्रे जसरी आकाशमा एक-दुई चोक्टा बादल बिस्तारै घस्रँदै थिए। रुखतिर विभिन्न चरा कराइरहेका थिए।
स्कुलबाट पूर्व दिशामा १० मिनेटको बाटोमा एउटा पीपलको चौतारो थियो। बाटामाथिको बकैनाको रुखमा पुच्छर ठाडो पारी पारी कुक्कु चरो कराउँदै थियो। बाटामुनिको पाखो बारीमा खेतालाहरू मकै रोप्दै थिए। बाटोको दायाँबायाँ रहेका अरु रुखमा पनि चराहरू आफ्नै तालमा चिर्बिराइरहेका थिए। अलि परको उत्तिसको रुखमा बसेर एउटा कोइली पनि कराउँदै थियो। कुहु...कुहु...कुहु...।
सफल, साधु र सानु ८ कक्षामा पढ्थे। सफल अलि दुब्लो पातलो र अग्लो देखिन्थ्यो। साधु अलि मोटो र पुड्को। सानु भने अलि सानै कदकाँठीको थियो। उमेरको हिसाब गर्ने हो भने सफल र साधु १४ वर्षमा हिँड्दै थिए। सानुचाहिँ १५ वर्ष। ऊ नै साथीहरूभन्दा कान्छो देखिन्थ्यो।
रुखतिर हेर्दै सानेले चरालाई जवाफ दियो- ‘तेरो बाजे म हुँ।’
चराले जतिचोटि कुहुकुहु गर्यो, सानेले त्यतिचोटि भन्यो- ‘तेरो बाजे म हुँ।’
सानेको ध्यान रुखको चरामै थियो। सफल र साधु पनि आफूसित हिँड्दै छन् भन्ने कुरा उसले लगभग बिर्सिसकेको थियो। साधुको ध्यान पनि रुखको चरामै गएको थियो। सानु र साधु रुखतिर हेरेर हिँडिरहेका थिए भने सफल भुइँतिर। यति नै खेर सफलले भुइँमा कटकटाउँदो सयको नोट देख्यो। उसले हतार हतार नोट टिपेर भन्यो- ‘आहा सय रूपैयाँ।’
सानुलाई चरादेखि रिस उठ्यो। उसले मनमनै सोच्यो- ‘चरा नकराएको भए मैले रुखतिर हेर्ने थिइनँ। रुखतिर नहेरेको भए भुइँतिर हेर्ने थिएँ। भुइँतिर हेरेको भए नोट मैले देख्ने थिएँ। यो नोट मेरै हुने थियो।’
अझ चरो चाहिँ तिहारमा भट्याउनेले देउसी भटट्याएझैँ मच्चीमच्ची कराइरहेको थियो- ‘कुहु कुहु।’ सानेले यसपालि ‘तेरो बाजे म हुँ’ भनेन। बरु ‘तेरो काल म हुँ’ भन्यो। एउटा ढुङ्गो टिपेर रुखतिर हेर्यो। चरो उडिसकेको थियो। सानु हिस्स पर्यो। सफल र साधु मरीमरी हाँसे।
सानुले सोध्यो- ‘ए सफल, अब तँ त्यो सय रूपैयाँले के गर्छस्?
सफलले हाँस्दै भन्यो- ‘बिहे गर्छु।’
ह्या नजिस्की न। भन् न के गर्छस्?
केही पनि गर्दिनँ।’
केही नगर्ने भए मलाई दे न यार।
अँ, त्यत्ति बाँकी छ अब। तैँलाई दिऊँला। (सफल अलि कडा स्वरमा बोल्यो।)
दे न त दे। सानुलाई नै दे। त्यसले फलाँस खेलेर हार्यो भने खलाँस बनाइदिन्छ। जित्यो भने सयको दुई सय बनाइदिन्छ। (साधुले पनि थप्यो।)
हेर साथी हो, यसमा आँखा नगाढ। अब यसलाई चट्ट लगेर ब्याङ्कमा राखिन्छ। (सफलले निर्धक्कसित भन्यो।)
सानुले भन्यो- ‘जाबो सय रूपैयाँ पनि कसैले ब्याङ्कमा राख्छ? गतिलो ब्याङ्कमा त खाता खोल्नै पाँच सय लाग्छ। पत्रुलाई यत्ति पनि थाहा छैन। मोटर भाडा तिर्नु पर्यो। बजार जानु पर्यो। खाता खोल्नु पर्यो। खाजा खानु पर्यो। एक सयको खाता खोल्न बाटो खर्च नै पाँच सय। ब्याङ्कमा बुझाउनु पर्ने अर्को पाँच सय गरेर एक हजार खर्च हुन्छ। बुझिस् कि बुझिनस् बच्चु?’
मलाई एक पैसा खर्च नगरी पैसा जम्मा गर्न मिल्ने ब्याङ्कको बारेमा पनि थाहा छ। आफूलाई मन लागे जति पैसा बिना झन्झट खुरुखुरु जम्मा गर्न पाइन्छ। म त भन्छु त्यस्तो ब्याङ्कमा तिमीहरू पनि पैसा जम्मा गर। (सफल परेला झिमझिम पार्दै, जान्ने पल्टिँदै अनि शान लगाउँदै बोल्न थाल्यो।)
सानुले अघिभन्दा अलि हेपे जसरी सोध्यो- ‘त्यस्तो ब्याङ्क कहाँ हुन्छ मुला? त्यसै धाक दिन्छ।’
हाम्रै घरमा छ।
नपत्याउने कुरा।
हो, कस्सम।
हाम्रो घरमा ब्याङ्क छ। कति धेरै समय भइसक्यो मैले ब्याङ्क किनेर ल्याएको। ब्याङ्क अर्थात् खुत्रुके। मेरा लागि त खुत्रुके नै ब्याङ्क हो बाबै। अब म यो सयको नोटलाई त्यही ब्याङ्कमा राख्छु र धेरै पैसा जम्मा गर्छु।
भनेपछि अस्ति टुरिस्ट गाइड गरेको पैसा पनि खुत्रुकेमा हालिस्?
हो त।
गाउँको बाटो भएर नगरकोट जाने पर्यटकलाई उनीहरू टुटेफुटेको अङ्ग्रेजी बोलेर कहिलेकाहीँ गाइड गर्थे। दुई चार पैसा झार्थे र बराबरी बाँड्थे। सानुले सोध्यो- ‘कस्तो घुसघुसे रैछ। कन्जुस मुला। खाई नखाई पैसा थुपारेर के गर्छस्?’
किताब किन्छु।
कुन किताब?
उपन्यास वा अरु कुनै राम्रो कथा।
सफलको पहिलो रुचि किताब पढ्ने हो। कक्षा चारमा उसले स्कुलको पुस्तकालयमा रहेका धेरै कथाका किताब पढ्यो। पछि कमिक्स र अरु कथाहरू पनि पढ्न थाल्यो। जीवनी र विज्ञान कथा पनि पढ्न थाल्यो। हुँदा हुँदा ठुला मान्छेका लागि लेखिएका किताब पनि धेरै पढिसकेको छ। अचेल ऊ कहाँ कहाँबाट किताबहरू जम्मा गर्छ। साधु र सानुले चाहिँ पढ्नै पर्दैन। यो किताबमा यस्तो र उस्तो छ भनेर सफलले सबै बेलिविस्तार लगाइहाल्छ।
‘आज दिउँसो कता जाने? पारि बारी कि पाखाबारी कि सानीखोला?’ साधुले भनेको सुन्दै नसुनी सफल बतास झैँ कुदेर घरमा पुग्यो। ‘आमा, ए आमा’ भनेर एक-दुईचोटि करायो। झोला बाहिर पिँढीमा फ्यात्त फ्याँक्यो अनि घरभित्र छिर्यो।
काठको भर्याङ चढेर आफ्नो कोठामा पुग्यो। खुत्रुकेमा हाल्न पैसा निकाल्यो। राखेको ठाउँमा खुत्रुके थिएन। खै त कहाँ गयो खुत्रुके? यताउता सबैतिर हेर्यो। खोपामा, दराजमा, तखतामा, खाटमुनि। तकिया वरपर, चोटा, कोठा, मटान, बुइँगल सबैतिर। उसको मनमा आगो लागेजस्तो भयो। ऊ चिच्याउन थाल्यो।
‘आमा, खोइ मेरो खुत्रुके! आमा?’
कतैबाट केही जवाफ आएन। एकछिन घोरियो ऊ। उसका मनमा धेरै कुरा खेल्न थाले। कतै खुत्रुके बाँदरले त लगेन? गाउँमा अचेल एउटा ढेडु छिरेको छ भन्ने हल्ला थियो। ढेडुलाई खुत्रुके के काम? कतै बहिनीले त लगिन? तर बहिनी त्यस्ती छैन। उसले भेटेको पैसा त मलाई नै राख्न दिन्छे। हे दशा...। मेरो खुत्रुके कहाँ गयो? उसले सम्झने धेरै कोसिस गर्यो। राखेको ठाउँ भुलेको पनि छैन।
हे खप्पर! बिहानसम्म यहीँ थियो। दसैँमा मामाघरमा टीका लगाको पैसा अनि तिहारमा देउसी खेलेको पैसा पनि उसले त्यसैमा हालेको थियो। कहिलेकाहीँ आमाबुवाले खाजा खान भनी दिएको पैसा पनि ऊ त्यसैमा राख्थ्यो। आफूले खाई नखाई पैसा जम्मा गरेको खुत्रुके एकाएक गायब हुँदा उसलाई धेरै नरमाइलो लाग्यो।
मनमा डढेलो लागे जत्तिकै भयो। छाती चरक्क दुख्यो। मुटु भतभती पोल्यो। उसका आँखा पिरा भएर आए। एकछिनपछि उसका दुवैतिरका गालाबाट आँसुका गेडा गुडेर भुइँमा पुगी फुट्न थाले।
ऊ एकछिन खाटमा घोप्टे परेर आँखा मिच्दै बस्यो। गोठमा गाईबाख्रा कराएको आवाजले उसको ध्यान भङ्ग भयो। अघिपछि भए यसरी गाईबाख्रा कराउँदा ऊ गोठमा गएर घाँस या परालको मुठो फुकाएर टाट्नामा फालिदिन्थ्यो। आज उसको मनले केबल यत्ति भन्यो- ‘डाम्नाहरू कराइरहून्।’
सफलको भोक-प्यास हरायो। उसले पटकपटक बाआमाको कोठामा पनि गएर हेर्यो। घरका कुनाकुनामा छान मार्यो। खुत्रुके खोज्दा घरका कुनै सामान ठिक ठाउँमा थिएनन्। लुगाफाटो, ओछ्यान, खाट, दराज सबै लथालिङ्ग थिए। यता र उता गर्दा कतिखेर दिन चिप्लियो। साँझमा आमाबुबा कामबाट घर आइपुगेको उसले पत्तै पाएन।
स्कुल समयबाहेक बिहान-बेलुका बुबा आइपुग्दा सफल पनि घरमा हुनै पर्थ्यो। घरमा भएर मात्रै हुँदैनथ्यो। सफलको हातमा किताब या कलमकापी हुनै पर्थ्यो। नत्र उसले बुबाको कुटाइ भेट्थ्यो। त्यसैले बुबा आउने वेला पारेर सफल जहाँ पुगेको भए पनि घर आइपुग्थ्यो।
सफल दिक्क मानेर ओछ्यानमा आँखा चिम्लिएर घोप्टिएको थियो। बुबाले कन्सिरी तानेपछि ऊ झसङ्ग भएर उठ्यो। बुबाको उही पुरानो फतफत शुरू भयो- ‘थुक्क गधा! यस्तो चालले तँ कसरी पढ्छस्? तँलाई जहिल्यै कराउनु पर्ने? तँलाई अरु केही भन्या छ? पढ्, लेख्, मिहिनेत गर्, पास हो, यत्ति होइन? तँलाई हामीले भारी बोका’को छ? खेतालो गोठालो पठा’को छ? कुनै गारो काममा पठा’को छ? आफूले खाई नखाई गर्यो। उसको भने पारा यस्तो छ। किन यति चाँडो सुतिस्? होमओर्क गर्नु पर्दैन? पढ्नु लेख्नु पर्दैन? हँ... नबोलेर सुख पाउँछस्? भत्काइदिऊँ तेरा दारा? तँ करङकाटा। तेरा पिँडुलाका मासु नझारी पख् न।’
सफल केही बोलेन। ढुङ्गो बनेर बाको गालीको असिना थापिरह्यो। उसलाई थाहा छ, यस्तो वेलामा केही बोल्नु भनेको बाको रिसको आगोमा घिउ थप्नु हो। उसलाई गाली सुन्ने र थप्पड खाने बानी नै परिसकेको छ। बाले अझ थप्दै गए। ‘त्यो मोनिका सधैँ पहिला हुन्छे। त्यसको बाउ सानैमा मर्यो। त्यसकी आमालाई उदाउँदै र अस्ताउँदैमा फुर्सद छैन। हेरचाह र रेखदेख गर्ने गतिलो कोही छैन। तेरै मामाको छोरो पनि त राम्ररी पढ्छ। अझ घोसे मुन्टो लगाउँछस्? अझ किताब पल्टाउँदैनस्? हैन यो केटालाई के भएको हँ यस्तो? केही भन्यो भने सुनेको नसुन्यै गर्छ।’
सफल बिस्तारै उठेर बाहिर गयो। पिँढीमा फालेको झोला टिप्यो र भित्र आई एउटा किताब समाएर पढेजस्तो गर्न थाल्यो।
एकछिनपछि किताब पढिरहेको ठाउँमा बा आए। सफलको हातमा ‘नीला डलफिनहरूको टापु’ नाम गरेको किताब थियो। उनले किताब थुतेर भुइँमा फ्याँकिदिए। उनी बडबडाउन थाले। ‘तँलाई मैले यस्तै किताब पढ् भनेको हो? यो जाँचमा आउँछ? यस्ता चाहिया नचाहिया किताब नपढ् भनेको होइन?’ सफल यसपालि पनि केही बोलेन। बा भने धेरै बेर बोलिरहे। गाईको गोठभित्र पुग्दा समेत उनी के-के भटभटाइरहेका थिए।
~~~ ~~~ ~~~
भोलिपल्ट स्कुलमा पहिलो पिरियडमा डाँका सरले होमवर्क मागे। सफलले देखाउन सकेन। गरेको भए पो देखाओस्। डाँका सरको बानी खतराको थियो। गृहकार्य नगर्नेलाई, कक्षामा आफ्नो अनुमतिबिना बोल्नेलाई, यताउति चल्ने र हाँस्नेलाई उनी एउटै खालको सजाय दिन्थे। त्यस्ता विद्यार्थीलाई अगाडि बोलाएर गालामा एक चड्कन मात्रै हान्थे। तर यसरी हान्थे कि कुटाइ खानेको तुरुक्क पिसाब आउँथ्यो।
उनी गृहकार्य नगर्ने विद्यार्थीलाई ‘डाँका यता आइज’ भनेर बोलाउँथे। विद्यार्थीलाई डाँका भन्दाभन्दै विद्यार्थीले उनैको नाउँ डाँका राखिदिएका थिए। उनको वास्तविक नाउँ भने राजु राउत थियो। कसै कसैले उनलाई छोटकरीमा रारा सर पनि भन्थे। तर यसो भन्नेको सङ्ख्या ज्यादै कम थियो।
डाँका सरले सफललाई कक्षाको अगाडि बोलाए। चड्याम्म बज्ने गरी दाहिने हातले देब्रे गालामा एक थप्पड लगाए। सफल कुनै प्रतिक्रिया नजनाई चुपचाप उभिइरह्यो। मानौँ उसले चड्कन खाएकै छैन। मानौँ डाँका सरले त्यो चड्कन भित्तामा हानेका हुन्। सफलको दिमागमा खुत्रुके हराएको पीडा आजसम्म पनि यसरी गाडिएको थियो कि उसलाई डाँका सरको चड्कन त पत्तै नभएजस्तो भयो। डाँका सरले केरकार गर्न थाले।
भन् गृहकार्य किन नगरेको?
सर मेरो खुत्रुके हराएर नगरेको।
खुत्रुके र गृहकार्यको के सम्बन्ध छ? गृहकार्य गर्न खुत्रुके चाहिन्छ?
खुत्रुके खोज्दाखोज्दै दिन गयो सर।
अनि साँझमा गर्न सकिनस्?
त्यसमा मेरो सबै पैसा थियो सर। पैसा हराएको पीरले केही गर्न मन लागेन।
बर्ता कुरा नगर्। अब तँलाई के गर्नुपर्छ। मलाई थाहा छ। छिटो बाहिर हिँड्।
विद्यार्थीलाई कहिलेकाहीँ चड्कनले नपुगेको ठाने भने उनी बाहिर लगेर थप सजाय दिन्थे। उनी सफलको कठालो समात्दै बाहिर निस्किए। उनले सफललाई दुइटा हात थाप्न लगाए। सफलले दुवै हात थाप्यो। सरले दुवै हातमा एकेक इँटा थमाए। ‘अब मेरो घन्टी नसकिन्जेल यिनै इँटा समाएर बस्’ भन्दै उनी भित्र छिरे।
सफलले दुवै हात उत्तानु पारेर इँटा समाएर उठिरह्यो। उसलाई पहिला त यस्तो जाबो सजाय भनेर आनन्दै भयो। बोरिङ क्लासमा बस्नु त परेन कि भन्ने पनि लागेको थियो। पछि भने गह्राैं हुँदै गयो। उसका दुवै हात फतक्क गले।
भन्नलाई सबैले बालबालिकालाई सजाय दिनुहुन्न भन्थे। सफलले कैयौँ पटक सुनेको छ। अभिभावकसित कुरा गर्दा शिक्षकहरू हाम्रा विद्यार्थीलाई हामी मायालु वातावरणमा पढाउँछौँ भनेर गफ दिन्थे। तर रिस उठेका वेलामा तिनको मायालु वातावरणको मुखुन्डो उतारिएको हुन्थ्यो।
(२१ असोजमा लोकार्पण हुन लागेको शैक्षिक उपन्यास कखराको अंश।)