कलाकार कसरी भए देशका गहना?
कलाकार न सुन हो, न त चाँदी, हीरा र मोती। कसरी भयो गहना? अझ, राष्ट्रको गहना हुन त झनै विशेष धातु हुनुपर्छ होला!
म एक गहना! : औपचारिक कार्यक्रमहरूमा कलाकारलाई आसन ग्रहण गराउँदा तारीफमा अनेक फूलबुट्टा गाँस्ने क्रममा प्रायः नछुट्ने पदावली हो- राष्ट्रका गहना।
आसन ग्रहणमा उद्घोषकले नाम बोलाएसँगै पररर ताली बज्छ। कालो चश्माधारी कलाकार मञ्चमा उक्लिन्छ, दर्शकदीर्घातिर फर्केर जुम्लीहात जोड्दै कुर्सी/सोफामा गजक्क परेर बस्छ।
राष्ट्रको गहना भए पनि राष्ट्रले आफूहरूलाई कहिल्यै वास्ता नगरेको दुःखेसो पोखेपछि दुई-चार प्रस्तुति दिएर कलाकार मञ्चबाट बिदा हुन्छ।
कलाकार न सुन हो, न त चाँदी, हीरा र मोती। कसरी भयो गहना? अझ, राष्ट्रको गहना हुन त झनै विशेष धातु हुनुपर्छ होला! आफू कलाकार भए पनि कलाकार राष्ट्रको गहना हो भन्ने कुरा म कदापि मान्दिनँ।
एक दिन एउटा समाचारको शीर्षकले मेरो आँखा मात्र होइन, मनै तान्यो। शीर्षक थियो- ‘कलाकार राष्ट्रका गहना होइनन्ः विश्वप्रकाश शर्मा’।
मनको कुरा पत्रिकाको शीर्षकमै पढ्न पाउँदा फुरुङ्ग भएँ। उहिलेदेखि राजादेखि रैतीसम्मले स्विकारेका ‘राष्ट्रका गहना’ लाई आज कम्तीमा एक नेताले स्पष्ट शब्दमा नकारिदिए। नेतामा त यसरी आफ्नो कुरा स्पष्ट बोल्न सक्ने ल्याकत पो हुनुपर्छ। शर्माजीलाई मनमनै क्याबात् भनें।
सबैले आफूले जानेको काम गर्ने हो। रुचि वा संयोगले जुराएको काम गर्दा कोही राष्ट्रका गहना हुने कोही नहुने कुरा कसरी स्थापित भयो? कलाकार भनेको किसान, कर्मचारी, व्यापारी जस्तै एउटा कर्मी हो, कुनै विशेष र अलग्गै प्रजाति हैन।
सोचौं, यो देशमा सबै कलाकार मात्र भएको भए के हुन्थ्यो? अथवा सबै कर्मचारी, सबै किसान वा सबै व्यापारी मात्र भएको भए के हुन्थ्यो? पेशा, कर्म फरक छन्, दुनियाँ विविध छ र त देश फूलबारी जस्तो छ।
अन्तर्राष्ट्रिय पुरस्कार पाएका कतिपय किसान गुमनाम छन्, यो देशमा। तर, जिल्ला स्तरीय पुरस्कार पनि नपाएका कलाकार यहाँ राष्ट्रका गहना कहलिएका छन्। यो अमिल्दो थिति विरुद्ध कमसेकम एक नेता त बोले भनेर मन रमायो। चाहे भने एक जना नेताले म जस्ता हजारौं-लाखौंलाई खुशी दिन सक्ने रहेछन्।
मन छुने शीर्षक पढेपछि समाचारभित्रै पसें। पढ्दै जाँदा मन हल्लिए जस्तो भयो। एउटा वाक्य पढेपछि भने मनमा ठूलै पहिरो गयो। त्यो वाक्यमा शर्माजीको भनाइ थियो, ‘कलाकार राष्ट्रका गहना होइनन्, किनकि गहनाको मूल्य हुन्छ, कलाकार त अमूल्य छन्। त्यसैले कलाकार राष्ट्रका अमूल्य गहना हुन्!’
लौ मार्यो! शर्माजीले कलाकारलाई त झन् अमूल्य गहना पो बनाइदिनुभयो। गहना र अमूल्य गहनाबीच कलाकारले कतिन्जेल अतिरिक्त लाभ सँगाल्नुपर्ने हो?
(हिमालको २०७८ असोज अंकबाट।)
‘हिमाल’को असोज अङ्कको पीडीएफ भर्सन पढन चाहनुहुन्छ भने तलको लिङ्कमा क्लिक गर्नुहोला। हामी तपाईंलाई एक साताभित्र पीडीएफ प्रति उपलब्ध गराउनेछौं। भदौ अङ्कका लागि फर्म भरिसक्नुभएकाहरूलाई भने सोही ठेगानामा पीडीएफ पठाइनेछ। फर्म भर्न
यहाँ क्लिक गर्नुहोला।