अप्ठ्यारोमा मुख्यमन्त्री राउत
विपक्षी र सत्ता साझेदार दल मात्रै होइन, आफ्नै मन्त्रीहरूबाट समेत सहयोग नपाइरहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेपछि झन् दबाबमा परेका छन्।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अप्ठ्यारोमा पर्दै गएका छन्। पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा हानेपछि थप सङ्कटमा परेका छन्।
प्रदेश सरकारले सञ्चालन गरिरहेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको भन्दै उजुरी परेपछि १५ असोजमा अख्तियारले छापा हानेको हो। कार्यक्रमका लागि साइकल खरीदमा अनियमितता भएको आरोप छ।
अख्तियारले छापा हानेसँगै उनलाई पार्टीभित्र पनि दबाब पर्न थालेको छ। पार्टी बाहिरबाट घेराबन्दीमा पर्दै आएका उनलाई यो घटनाले पार्टीभित्र पनि घराबन्दी शुरू भएको एक नेताले बताए।
मुख्यमन्त्री हुँदादेखि नै जनता समाजवादी पार्टी (जसपा)भित्रैको एउटा समूहले असहयोग गर्दै आएको थियो। जसको नेतृत्व अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले गरिरहेको मुख्यमन्त्री राउत पक्षका नेताहरू बताउँछन्।
यस अघि अर्थमन्त्री हुँदा यादवले मुख्यमन्त्री राउतका केही योजना रोकेका थिए। राउत र यादवबीच मन्त्रिपरिषद् बैठकमै पनि विवाद भएको थियो। त्यसपछि मुख्यमन्त्री राउतले यादवलाई अर्थ मन्त्रालयबाट हटाएर भूमि मन्त्रालयको जिम्मेवारी दिएका थिए। अहिले पनि राउत र यादवबीच बोलचाल बन्द रहेको जसपा नेताहरू बताउँछन्।
कर्मचारीहरूका अनुसार, मुख्यमन्त्री कार्यालयले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत ल्यापटप वितरण गर्न अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको थियो। तर, अर्थले त्यो योजना नै रोकेपछि दुवै जनाबीच विवाद शुरू भएको कर्मचारी बताउँछन्।
विवाद बढ्दै गएपछि मुख्यमन्त्री राउतले आफूलाई काम गर्न असहज भएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवसँग गुनासो गरेका थिए। त्यसपछि यादवकै सल्लाहमा उनलाई अर्थबाट हटाएर भूमि मन्त्रालयमा पठाएका थिए।
अहिले अर्थमा आएका मन्त्री साह पनि मुख्यमन्त्री राउतको विपक्षमा उभिन थालेको जसपा नेताहरू बताउँछन्। जसपाका एक नेताका अनुसार, अर्थमन्त्री साह र भूमिमन्त्री यादवले जसपा अध्यक्ष यादवलाई मुख्यमन्त्री राउतका काम–कारबाहीका विषयमा जानकारी दिएका छन्।
“पछिल्लो समय पार्टी अध्यक्ष यादव पनि मुख्यमन्त्री राउतसँग सन्तुष्ट छैनन्,” ती नेता भन्छन्, “तर, राउतलाई हटाउँदा पार्टीलाई ठूलै क्षति हुने आकलनकै कारण केही गरेका छैनन्। मन्त्रीहरूबाट दबाब सिर्जना गरिरहेका छन्।”
मुख्यमन्त्री राउत पक्षका नेताहरूले अख्तियारको छापा हान्ने कार्यलाई पनि त्यसैको एक पक्षका रूपमा बुझेका छन्। पार्टीभित्रैबाट त्यसका लागि वातावरण सिर्जना गरिएको उनीहरूको ठम्याइ छ।
यस भनाइलाई मुख्यमन्त्री राउतको पत्रकार सम्मेलनको दृश्यले पनि बल दिएको छ। अख्तियारको छापापछि मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरेका थिए। तर, पत्रकार सम्मेलनमा कुनै पनि मन्त्री उपस्थित भएनन्। अधिकांश मन्त्री जनकपुरमा आयोजित जसपा बैठकमा सहभागी थिए। जुन बैठकमा जसपा अध्यक्ष यादव सहभागी थिए।
राजीनामा माग्दै विपक्षी दल
१३ असोज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि २० असोजमा प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरे लगत्तै विपक्षी दल एकजुट हुन थालेका छन्। उनीहरू सरकारको काम–कारबाही र महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदन लगायतका विषय उठाउने तयारीमा छन्।
तर, अख्तियारले छापा हानेपछि भने उनीहरू उत्साहित बनेका छन्। यही विषयलाई लिएर विपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश सभामा आवाज उठाउने तयारी गरेका छन्।
अख्तियारले छापा होनेको विषयमा मन्त्रीहरू चुपचाप छन्। त्यससँगै सत्ता साझेदार दल पनि केही बोलेका छैनन्। यसले विपक्षी दललाई बल पुगेको छ।
विपक्षी दल लोसपाका नेता एवं सांसद परमेश्वर साहले अख्तियारले थालेको छानबिन सही रहेको बताए। “अख्तियारले आफ्नो काम गरिरहेको छ, यो ठीक छ,” साह भन्छन्, “भ्रष्टाचारको आरोपमा मुख्यमन्त्री कार्यालयमै छापामारी हुनुले प्रदेशका जनताको शिर निहुरिएको छ। छानबिनमा अख्तियारलाई सहज बनाउन मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ।”
अर्को विपक्षी दल एमालेका नेता सत्यनारायण मण्डल प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँछन्। यस विषयमा पटक पटक आवाज उठाउँदै आएको बताउँदै उनी भन्छन्, “साइकल खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै अख्तियारले छापामारी गरेर भ्रष्टाचार विरुद्ध राम्रो शुरूआत गरेको छ।”
उनी मुख्यमन्त्री कार्यालयबाट सञ्चालित अन्य योजनाको पनि छानबिन हुनुपर्ने बताउँछन्। “साइकल खरीद प्रक्रियाको मात्र होइन, मुख्यमन्त्री कार्यालयबाट सञ्चालित अन्य योजना तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयमा समेत अनुसन्धान हुन जरुरी छ,” उनी भन्छन्।
अध्ययन गर्दै अख्यितार
अख्तियारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमसँग जोडिएका सबै फाइल नियन्त्रणमा लिएको छ। कक्षा ८ मा अध्ययनरत छात्रालाई वितरण गरिएको साइकल खरीदमा अनियमितता भएको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
अख्तियारको बर्दिबास कार्यालयका उपसचिव मेघराज रिमालले साइकल वितरण र खरीदका फाइलहरूको विवरण अध्ययन अनुसन्धान भइरहेको बताए। “अहिले हामी अनुसन्धान गरिरहेका छौं,” उनले भने।
उनका अनुसार, थप फाइल खोजी कार्य जारी छ। यसमा ६ जनाको टोली खटिएको छ।
सातै प्रदेशमा अनियमितता भएका समाचार आएको भए पनि अख्तियारले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। यस विषयमा प्रदेश सरकारका मन्त्रीहरू भने औपचारिक रूपमा केही बोल्न चाहँदैनन्।
मुख्यमन्त्री राउतले भने अख्तियारले गलत तरीकाले आफ्नो कार्यालयमा छापा मारेको बताए। “अख्तियारले छापा मार्ने तरीका ठीक भएन। जुन हिसाबले अख्तियारले छापा मार्यो, त्यो फट्याइँ हो,” मुख्यमन्त्री राउतले भने।
अख्तियारले छापा हाने लगत्तै पनि मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरेर विरोध जनाएका थिए। उनले भने, “सहज तरीकाले आएर फाइल मागेको भए हामी दिन्थ्यौं। तर, छापामार शैलीमा आउनु प्रदेश सरकारमाथिको षड्यन्त्र हो।”