सीपीसीको १०० वर्ष : सङ्घर्षदेखि समृद्धिसम्म
कम्युनिष्टहरू सङ्घर्ष मात्रै गर्न जान्दछन् भन्ने सङ्कथनलाई समृद्धिको सफलता मार्फत जवाफ दिएको चीन आज कसैले नचाहे पनि विश्व शक्ति सन्तुलनको एक अपरिहार्य शक्ति बनेको छ।
विष्णु रिजाल
अमेरिकी म्यागजिन फरेन अफेयर्सले हालै प्रकाशित (जुलाई/अगस्ट, २०२१) अङ्कमा ‘आवरण कथा’ छापेको छ- ‘क्यान चाइना किप राइजिङ?’ अर्थात् चीन अगाडि बढिरहन सक्ला? विचारधारात्मक रूपमै चीनप्रति आलोचक उक्त म्यागजिनमा चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष पुगेको सन्दर्भको सेरोफेरोमा सात वटा लेख प्रकाशित छन्।
विभिन्न कोणबाट लेखिएका ती लेखहरूको सार समेट्दै सम्पादक ड्यानियल कुर्ज फेलनले सम्पादकीयमा लेखेका छन्- ‘पूर्व उदाइरहेको छ,’ अमेरिकी राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसमा प्रवेश गर्दै गर्दा चिनियाँ नेताहरूले उद्घोष गरे, ‘र पश्चिम अस्ताइरहेको छ।’
यो घोषणाको दोस्रो भागले वासिङ्टन र यसका सहयात्री राजधानीहरूका आँखीभौं तन्काउन वा क्रोध जगाउन सक्छ। तर, पहिलो भाग चाहिं लगभग आम सहमतिको बिन्दु बनेको छः वर्षौंदेखिको उत्साहजनक आर्थिक सफलता र सी चिनफिङको प्रभावशाली नेतृत्वबाट आत्मविश्वासी बनेको चीनले विश्व शक्तिका रूपमा आफ्नो स्थान बनाएको छ र स्वीकार गरेको छ, अमेरिकासँग दीर्घकालीन प्रतिस्पर्धा निश्चित छ।...’
१ जुलाई २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थापनाको सय वर्ष पुगेको अवसरमा पार्टी महासचिव तथा राष्ट्रपति सी चिनफिङले थ्यानआनमेन स्क्वायरमा उभिएर मन्तव्य दिंदै गर्दा गौरवपूर्ण शताब्दीको मात्र चर्चा गरेनन्, चीनमा कम्युनिष्ट पार्टीले सत्ता हातमा लिएको सय वर्ष पुग्दा सन् २०४९ सम्ममा चीन कस्तो हुनेछ भन्ने सन्देश पनि सार्वजनिक गरे। ८० करोड जनसङ्ख्यालाई निरपेक्ष गरीबीको रेखाबाट उकास्ने, पछौटे चीनलाई आणविक शक्ति सम्पन्न राष्ट्र बनाउने, गरीब राष्ट्रबाट विश्वको दोस्रो आर्थिक महाशक्ति बनाउने जस्ता ‘चामत्कारिक’ कामको नेतृत्व गरेको चिनियाँ कम्युनिष्ट पार्टीले आगामी तीन दशकभित्र चीनलाई मध्यम आय भएको विकसित र समाजवादी देशमा स्तरोन्नति गर्ने लक्ष्यलाई केन्द्रमा राखेको बताइरहँदा सीले त्यसका आधार पनि प्रस्तुत गरे- आर्थिक, सामरिक र रणनीतिक रूपमा गरिएको तयारी।
कसैले नचाहे पनि चीन आज विश्व शक्ति सन्तुलनको एक अपरिहार्य शक्ति बनेको छ। जी-७, क्वाड, नेटो वा हालैको बीथ्री डब्लू जस्ता मञ्चमा चीन उपस्थित नभए पनि छलफलको मुख्य विषय नै यही बन्ने गरेको छ। यतिसम्म कि, एक शताब्दीसम्म विश्वमा महाशक्तिको ताज पहिरिएको अमेरिकाले सन् २०१७ मा अघि सारेको इन्डो-प्यासिफिक स्ट्राटेजी (आईपीएस)को मुख्य उद्देश्य नै ‘चीनलाई घेर्नु’ रहेको घोषणा गरेको छ। यी घटनाक्रमबाट विश्वको मानचित्रमा चीनको जुन अनिवार्य उपस्थिति कायम भएको छ, यसको निर्माणमा चिनियाँ कम्युनिष्ट पार्टीको एक शताब्दी लामो लगानी, समर्पण, योजना र नेतृत्वले काम गरेको छ।
माओत्सेतुङ।
सय वर्ष, तीन नेता
आधुनिक चीनका सय वर्षलाई चिनियाँहरू मूलतः तीन नेताका जीवन र नेतृत्वसँग जोडेर बुझनरबुझउन चाहन्छन्ः
पहिलो, सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनादेखि १९४९ को जनवादी क्रान्ति र त्यसपछिका आरम्भिक दिनहरूको सेरोफेरोको केन्द्रमा जनवादी क्रान्तिका नेता माओेत्सेतुङ छन्। त्यस अवधिमा चीनलाई विदेशी उपनिवेश र गृहयुद्धबाट मुक्त गरी स्वतन्त्र मुलुकमा रूपान्तर मात्र गरिएन, विश्वमै नयाँ जनवादी क्रान्तिको सफल प्रयोगको उदाहरण समेत स्थापित गरियो। ‘महान् अग्रगामी छलाङ’, ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ आदिको असफलताका बावजूद चीनमा आत्मविश्वास भर्न, चिनियाँ जनतालाई जगाउन र अलग राष्ट्रका रूपमा स्थापित गर्न यस अवधिले निर्णायक काम गरेको छ।
दोस्रो, सन् १९७८ पछि तङ स्याओफिङको नेतृत्वमा चीनले आफूलाई खुलापनतर्फ नडोर्याएको भए आजसम्म के हुन्थ्यो, भन्न सकिन्न। त्यसै कारण उक्त ‘खुलापनको युग’ (ओपनिङ अप एरा) लाई महत्त्व दिंदै चिनियाँ कम्युनिष्ट पार्टीका नेता-कार्यकर्ता सबैभन्दा बढी तङको नाम लिन्छन्। जनताको जीवनस्तर माथि उकास्न गरिने प्रयासलाई जे नाम दिए पनि फरक नपर्ने जबर्जस्त धारणा अगाडि सारेर चीनलाई बाहिरी संसारसँग घुलमिल र प्रतिस्पर्धी बनाउनमा तङले गरेको नेतृत्व आधुनिक चीनका लागि सर्वाधिक प्रभावकारी र समयसापेक्ष कदमका रूपमा स्थापित भएको छ।
तेस्रो, सन् २०१२ मा सी चिनफिङ नेतृत्वमा आएपछि चीनले आफूमा सञ्चय गरेको शक्तिलाई बिस्तारै विश्वव्यापी रूपमा उपयोग गर्न थालेको देखिएको छ। ‘बलियो हुँदै गरेको युग’ (गेटिङ स्ट्रङ्गर एरा) का रूपमा चिनियाँहरूले नामकरण गरेको यस समयलाई अरूले पनि ‘सुतेको सिंह ब्युँझ्एिको’ रूपमा विश्लेषण गरिरहेका छन्। ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई चीनले सय वर्षमा आर्जन गरेको शक्ति र हासिल गरेका अनुभवको विश्वव्यापीकरणका रूपमा अर्थ्याउन थालिएको छ।
चीन आज शान्त देखिए पनि यसको गर्भमा कैयौं उतारचढावका डोब छन्। नयाँ जनवादी क्रान्तिको सफलताबाट १ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र स्थापना भएपछि उत्पन्न चुनौतीलाई सफलतापूर्वक सामना गर्नु सामान्य कुरा थिएन। एकातिर क्रान्तिका घाउ आलै रहेको र अर्कातिर अमेरिका सहित शक्ति राष्ट्रहरूको निरन्तर घेराबन्दी जारी रहेको अवस्थामा आफ्नो खुट्टामा उभिन गरेका प्रयोगहरूका सफलता र विफलताका दुवै थरी अनुभव छन्।
तङ स्याओफिङ।
उतारचढावको सिलसिला
चिनियाँ कम्युनिष्ट पार्टी वेलावेलामा चरम आन्तरिक विवाद र सङ्कटबाट नगुज्रिएको होइन। माओ जीवित रहँदा नै पार्टीमा सही रूपमा अन्तरविरोधको पहिचान र सञ्चालन हुन नसकेको तीतो इतिहास छ। जनवादी क्रान्तिका नेतृत्वकर्ता १० मार्शलमध्ये मार्शल पेङ तेहुई जस्ता योद्धा अपमानित हुनु परेन, राष्ट्राध्यक्ष भइसकेका ल्यु शाओचीदेखि पार्टीका महासचिव रहिसकेका तङ स्याओफिङले समेत शारीरिक, राजनीतिक र मानसिक प्रताडना भोग्नुपर्यो।
खासगरी, पार्टीभित्र भिन्न मत राख्ने वा नेतृत्वलाई शङ्का लागेका व्यक्तिहरूलाई विभिन्न बहानामा किनारा लगाउने, कारबाहीदेखि भौतिक रूपमै सफाया गर्नेसम्मका काम जनवादी अभ्यासभित्रका थिएनन्। जोसेफ स्टालिनका पालामा रूसमा धेरै नेताले भोेगेको नियति चिनियाँ कम्युनिष्ट पार्टीमा पनि दोहोरिएको पाइन्छ।
सन् १९६६ बाट शुरू भएको ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ चिनियाँ कम्युनिष्ट पार्टीले गरेका भूलहरूमध्ये सबैभन्दा ठूलो थियो। सांस्कृतिक क्रान्तिका नाममा पार्टीभित्रका प्रतिस्पर्धीलाई सिध्याउने, तलदेखि माथिसम्म नेतृत्वको एउटा पंक्तिलाई कत्लेआम पार्ने, अस्वाभाविक रूपमा नेतृत्वमा आउने र पार्टीको प्रणाली नै ध्वस्त पार्ने जस्ता कामहरू भए।
‘लिन प्याओ प्रवृत्ति’ सांस्कृतिक क्रान्तिको अवैध र भद्दा उत्पादन थियो। लिन प्याओले माओलाई केन्द्रमा राखेको देखाउने, उनका भनाइ सहित रेडबुक छापेर बाँड्ने, लेख र भाषणहरूमा उनका भनाइको उद्धरणलाई अनिवार्य बनाउने जस्ता काम देश र क्रान्तिका लागि नभई आफ्ना लागि गरेका थिए भनेर थाहा पाउन सन् १९७१ को डिसेम्बरभन्दा धेरै कुर्नैपरेन।
सांस्कृतिक क्रान्तिका नाममा च्याङ चिङ, चाङ चुङकियो, याओ वेनयुआन र वाङ होङवेनको ‘ग्याङ अफ फोर’ ले बनाएका घाउ चीनमा अझै पुरिइसकेका छैनन्। आफ्नै कमरेडमाथि ‘बुर्जुवा’, ‘सीआईडी’, ‘दक्षिणपन्थी’, ‘विदेशी दलाल’, ‘प्रतिक्रियावादी’ जस्ता आरोप लगाउँदै १० वर्षसम्म चलाइएको त्यस दर्दनाक ताण्डवका क्रममा ७ लाख २९ हजार ५११ जनामाथि ‘छानबिन’ गरिनुका साथै मुद्दा लगाउने, श्रम शिविरमा पठाउने, पार्टीबाट बर्खास्त गर्ने, सामाजिक रूपमा बहिष्कृत बनाउने र बजार घुमाउने जस्ता काम भएको अभिलेख सन् १९८१ मा चीनको न्यू वल्र्ड प्रेसबाट प्रकाशित अ ग्रेट ट्रायल इन चाइनिज हिस्ट्री पुस्तकमा लेखिएको छ।
कम्युनिष्ट पार्टी जडतामा होइन, गतिमा फक्रन्छ। यसै मान्यताका आधारमा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना विचारलाई सूत्रबद्ध गर्दै आएको छ। चीनमा जनवादी क्रान्तिको नेतृत्व गर्ने माओत्सेतुङका धारणालाई ‘माओत्सेतुङ विचारधारा’ र चीनलाई आधुनिकीकरण, खुलापन र समृद्धितर्फ लैजाने नेता तङ स्याओपिङका विचारलाई ‘तङ स्याओपिङ अवधारणा’ का रूपमा अघि सारिनुका साथै च्याङ चमिनका पालामा ‘थ्योरी अफ थ्री रेप्रेजेन्ट्स’ र हु जिन्ताओका पालामा ‘साइन्टिफिक आउटलुक अन डेभलपमेन्ट’ को अवधारणा अगाडि सारिएको थियो। यी सबैलाई संश्लेषण गर्दै सी चिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले सन् २०१६ मा सम्पन्न १९औं महाधिवेशनबाट ‘सी चिनफिङ विचारधारा’ बनाएको छ।
सी चिनफिङ।
‘सी चिनफिङ विचारधारा’ का १४ वटा नीतिमध्ये विश्वलाई प्रभावित पार्ने अवधारणाका रूपमा ‘साझ भविष्य सहितको समुदाय निर्माण’ लाई अगाडि सारिएको छ। यो अवधारणा व्याख्या गर्ने क्रममा सीले उल्लेख गरेका छन्, ‘चिनियाँ जनताको सपना अन्य मुलुकहरूका जनताको सपनासँग घनिष्ट रूपमा जोडिएको छ, चिनियाँ सपना शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण र स्थायी अन्तर्राष्ट्रिय प्रबन्ध (अर्डर)को मातहतमा मात्र पूरा हुनसक्छ।
चीनमा जनवादी क्रान्ति सम्पन्न भएको सय वर्ष पुग्दा (सन् २०४९) सम्ममा सबै क्षेत्रमा मध्यम तहको समृद्ध समाज र आधुनिक समाजवादी मुलुक बनाउने चीनको सङ्कल्प छ।
क्रान्तिबाट स्थापित सोभियत सङ्घ कुनै ठूलो रक्तपात विना एकाएक ढल्नु र त्यसपछि पूर्वी यूरोपका कम्युनिष्ट सत्ताहरू धराशायी हुनु पछाडिका अनेक कारण आ-आफ्नो हिसाबले केलाउन सकिएला, तर प्रमुख कारण चाहिं कम्युनिष्ट पार्टी बढी नोकरशाही र जनतासँग अलग-थलग हुनु थियो। जसका लागि शासन स्थापना भएको हो, उनीहरूसँग दूरी कायम गरेर वर्गभित्रै वर्ग खडा गर्ने नोकरशाहीपनले पार्टीलाई आन्तरिक रूपमा जीर्ण बनायो। मिखाइल गोर्वाचेभको जीवनीमा आधारित विलियम टाउबम्यानको पुस्तक हिज लाइफ एन्ड टाइम्सले सोभियत सत्ता भित्रभित्रै कसरी मक्किएको थियो भन्नेबारे गरेको खुलासा कुनै एक देश विशेषको मात्र होइन।
माक्र्सवादलाई गरीबीको दर्शन होइन, गरीबहरूको मुक्तिको दर्शन मानिन्छ। चीनले यस अवधिमा ८० करोड मानिसलाई गरीबीको रेखाबाट बाहिर निकालेको छ, एक अर्ब ४० करोड जनसङ्ख्याको प्रतिव्यक्ति आय १० हजार अमेरिकी डलर हाराहारी पुर्याएको छ, आफूलाई विश्वको दोस्रो ठूलो आर्थिक शक्तिका रूपमा विकास गरेको छ र मानव जातिको साझ भविष्य सहितको बृहत् अवधारणाका आधारमा सबैतिर सञ्जाल फैलाइरहेको छ। चीनमा जनवादी क्रान्ति सम्पन्न भएको सय वर्ष पुग्दा (सन् २०४९) सम्ममा सबै क्षेत्रमा मध्यम तहको समृद्ध समाज र आधुनिक समाजवादी मुलुक बनाउने चीनको सङ्कल्प छ।
चिनियाँ नीति र नेपाली कम्युनिष्ट आन्दोलन
चिनियाँ कम्युनिष्ट पार्टी जुन प्रकारले अघि बढेको छ, संसारका अरू कम्युनिष्ट पार्टीहरू पनि त्यसरी नै अघि बढ्नुपर्छ भन्ने छैन। चीन स्वयंले समाजवाद भनिरहँदा ‘चिनियाँ विशेषता सहितको’ भन्ने शब्दावली छुटाउँदैन। समाजवादसम्म कसरी जाने र त्यसका लागि आ-आफ्नो राष्ट्रिय नीति कस्तो बनाउने भन्ने कुरा सम्बन्धित देशका कम्युनिष्ट पार्टीहरूले तय गर्ने हो। नेपालमा जननेता मदन भण्डारीको अगुवाइमा ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त तय गर्नु कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र विस्तारका लागि सही कदम थियो भन्ने पुष्टि भइसकेको छ।
समाजवाद ढलेको मुलुकका साथीहरू अतीतमोहमा डुबेर ‘विगतमा यति राम्रो गरेका थियौं’ भन्छन्, तर अहिले समाजवाद कार्यान्वयनमा लागेका मुलुकहरूको आलोचना गर्छन्।
सन् १९९० को दशकमा संसारमा कम्युनिष्ट आन्दोलनले चरम प्रतिकूलता भोगिरहेका वेला पनि नेपालमा निर्वाचनबाट लोकप्रिय मत प्राप्त गरेर सरकार गठन गर्नसक्नु विश्व कम्युनिष्ट आन्दोलनमा नेपालको ठोस योगदान थियो। नेपाली कम्युनिष्ट आन्दोलनले स्थापनाकालदेखि नै राष्ट्रियता, बहुदलीय व्यवस्था र जनजीविका गरी तीन वटा पाङ्ग्रालाई एकसाथ अघि बढाइरहेको सन्दर्भमा यसलाई आफ्नो मौलिकता र राष्ट्रिय आवश्यकता अनुरूप अघि बढाउनु नै मार्क्सवादको सिर्जनात्मक प्रयोग ठहर्छ।
विश्वमा आज कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा छ। विगतमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट केन्द्रीय कमिटी सदस्य तथा विदेश विभाग उपप्रमुखका हैसियतले ग्रीस र टर्कीमा भएका कम्युनिष्ट तथा वाम पार्टीहरूको दुईवटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय बैठकमा भाग लिँदा मैले सहभागीहरूमाझ् आशाभन्दा बढी निराशा झल्किएको अनुभव गरें। समाजवाद ढलेको मुलुकका साथीहरू अतीतमोहमा डुबेर ‘विगतमा यति राम्रो गरेका थियौं’ भन्छन्, तर अहिले समाजवाद कार्यान्वयनमा लागेका मुलुकहरूको आलोचना गर्छन्। अर्काथरी मित्रहरू निकै क्रान्तिकारी कुरा गर्छन्, तर उनीहरूको देशभित्र पार्टीको प्रभाव अत्यन्त न्यून छ।
जनताको जीवनस्तर परिवर्तन र समृद्धिका लागि आफ्नो मोडल विकास गरेर अघि जान सकिन्छ र त्यसका लागि कम्युनिष्टहरूले आ-आफ्नो देशमा पार्टीलाई मजबूत बनाउनुपर्छ। चीनले नेपाल लगायत विश्वका कम्युनिष्टहरूलाई सिकाएको पाठ यही हो। एकता, विभाजन, फेरि एकता, फेरि विभाजनको दुश्चक्रमा रुमल्लिरहेको नेपालको कम्युनिष्ट आन्दोलनका लागि चाहिं यो कुरा आफैंमा व्यङ्ग्य जस्तो हुन पुगेको छ।
{रिजाल नेकपा (एमाले) विदेश विभाग उपप्रमुख हुन्। हिमालको २०७८ असोज अंकमा प्रकाशित।}
‘हिमाल’को असोज अङ्कको पीडीएफ भर्सन पढन चाहनुहुन्छ भने तलको लिङ्कमा क्लिक गर्नुहोला। हामी तपाईंलाई एक साताभित्र पीडीएफ प्रति उपलब्ध गराउनेछौं। भदौ अङ्कका लागि फर्म भरिसक्नुभएकाहरूलाई भने सोही ठेगानामा पीडीएफ पठाइनेछ। फर्म भर्न
यहाँ क्लिक गर्नुहोला।