मानसिक स्वास्थ्यका लागि सचेतना
मानसिक स्वास्थ्य सम्बन्धी जनस्तरसम्म सचेतना जगाउन सकियो भने मानसिक रोगबाट त बचिन्छ नै, कैयौंलाई आत्महत्याबाट पनि जोगाउन सकिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २००५ मा मानसिक स्वास्थ्यबारे एउटा परिभाषा दिएको छ। जसमा भनिएको छ, ‘मानसिक स्वास्थ्य भनेको कल्याणकारी अवस्था हो, जहाँ व्यक्तिले उसको आफ्नै क्षमतालाई महसूस गर्दछ, जीवनको सामान्य तनावसँग सामना गर्नसक्छ, फलदायी रूपमा काम गर्नसक्छ, परिणाममुखी ढङ्गले काम गर्नसक्छ र आफ्नो समुदायको भलाइमा योगदान गर्नसक्छ।’
डब्लूएचओको परिभाषाले कुनै पनि व्यक्ति शारीरिक रूपले मात्र हैन, मानसिक रूपले पनि स्वस्थ हुनु कति जरुरी छ भन्ने दर्शाउँछ। तर, डब्लूएचओले उठाएको मानसिक स्वास्थ्यको महत्त्वको विषय जनस्तरसम्म पुग्न सकेको छैन। जसले गर्दा बहुसङ्ख्यक नेपाली मानसिक स्वास्थ्यबारे अझै अनभिज्ञ छन्।
अझ कोभिड–१९ को पहिलो र दोस्रो लहरपछि मान्छेमा मानसिक अस्वस्थता बढ्दै गएको छ। परिवारबाट टाढा, व्यस्त दैनिकी र शहरी जीवनशैलीले पनि पछिल्लो समय विभिन्न प्रकारका मानसिक तनावबाट गुज्रिनुपर्छ। यस्तो अवस्थामा मानसिक स्वास्थ्यका कुरा गौण बन्न पुगेका छन्।
यद्यपि, कछुवाकै गतिमा भए पनि शहरमा मानसिक स्वास्थ्यबारे चर्चा–परिचर्चा हुन थालेको छ। व्यस्त जीवनशैली बिताउने शहरबासी वेलावेला मनोचिकित्सकसँग परामर्श लिन थालेका छन्। तर, मनोचिकित्सकसँग परामर्श लिने गरेको विषय सहज रूपमा लिने वातावरण भन्ने अझै बन्न सकेको छैन।
कैयौं अभिभावक सन्तानको भविष्यको विषयलाई लिएर कुनै न कुनै रूपमा मानसिक तनावबाट गुज्रिरहेका हुन्छन्। अधिकांशलाई मानसिक स्वास्थ्यको विषय त परको कुरा, यस्तो अवस्थालाई कसरी सहज रूपमा लिने भन्ने आधारभूत ज्ञान समेत छैन।
यहाँ एउटा उदाहरण दिंदा सजिलो हुन्छ। केही महीना अघि काठमाडौंबाट फर्केकी नातेदारले वेलावेला मनोचिकित्सककहाँ जाने गरेको सुनाइन्। उनको यति कुराले मलाई रातभर निद्रा लागेन। चिनजानको कुनै पनि मान्छेले ‘म मानसिक रूपमा अस्वस्थ छु’ भन्दा स्वाभाविक रूपमा चिन्तित बनाइहाल्दो रहेछ।
पढाइ र कामको सिलसिलामा लामो समयदेखि घरभन्दा टाढा एक्लै बसेका छोराछोरीले आफ्नो मानसिक स्वास्थ्यबारे बताएपछि कुनै पनि अभिभावकलाई सहज लाग्दैन। तैपनि, अभिभावकले मानसिक स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि छोराछोरीसँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा सचेत हुनुपर्छ। उनीहरूको अवस्थालाई हृदयङ्गम गरी आफ्ना तर्फबाट सामान्यीकरण गर्नुपर्छ।
यो त एउटा प्रतिनिधिमूलक घटना हो। कैयौं अभिभावक सन्तानको विषयलाई लिएर कुनै न कुनै रूपमा मानसिक तनावबाट गुज्रिरहेका हुन्छन्। अधिकांशलाई मानसिक स्वास्थ्यको विषय त परको कुरा, यस्तो अवस्थालाई कसरी सहज रूपमा लिने भन्ने आधारभूत ज्ञान समेत छैन।
अझ किशोरावस्थादेखि वयस्क हुँदै गरेका लाखौं युवा शारीरिक रूपमा स्वस्थ देखिए पनि मानसिक रूपमा अस्वस्थ छन्। तर, उनीहरूले आफ्नो मानसिक अस्वस्थताबारे अभिभावकलाई भन्न सकेका छैनन्।
कोरोनाभाइरसको महामारी अघि फाट्टफुट्ट रूपमा मानसिक स्वास्थ्य सम्बन्धी समाचार आउने गरेका थिए। थोरै मात्रामा चर्चा–परिचर्चा हुने गरेका थिए। महामारी यता भने चर्चा पनि बाक्लिँदै गएको छ, जनचासो पनि बढेको छ। मानसिक रूपमा अस्वस्थ हुनेको सङ्ख्या बढेको अध्ययनहरूले देखाएका छन्।
नेपालमा करीब दुई लाख ६५ हजार मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको ‘नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना, २०१४-२०२०’ मा उल्लेख छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक अध्ययन अनुसार, नसर्ने रोगहरूमध्ये १८ प्रतिशत हिस्सा मानसिक रोगको छ। अर्थात्, नसर्ने रोगहरूबाट उत्पन्न हुने समस्यामध्ये १८ प्रतिशत मानसिक रोगका कारण हुने गरेका छन्। नेपालमा करीब दुई लाख ६५ हजार मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको ‘नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना, २०१४-२०२०’ मा उल्लेख छ।
यस्तै, विश्वमा बर्सेनि आठ लाखभन्दा बढी मानिसले मानसिक अस्वस्थताका कारण आत्महत्या गर्ने गरेको अध्ययनहरूले देखाएका छन्। नेपालमा पनि वार्षिक पाँच हजारभन्दा बढीले मानसिक अस्वस्थताका कारण आत्महत्या गर्ने गरेको पाइएको छ। कोरोना महामारीका कारण नेपालमा दैनिक सरदर १७ जनाले आत्महत्या गरेको तथ्याङ्क छ। जस मध्ये ५७ प्रतिशत १६ देखि ३५ वर्षको उमेरका रहेका थिए।
विशेष गरी गाउँघरमा भन्दा पनि शहरबजारमा बसोबास गर्ने प्रायः सबै उमेरका व्यक्तिमा कुनै न कुनै किसिमको मानसिक समस्या हुने अध्ययनहरूले औंल्याएका छन्। शहरमा त पढेलेखेका मान्छेले आफू मानसिक रूपमा अस्वस्थ छु भन्ने महसूस गरेपछि मनोचिकित्सकको परामर्श लिन्छन्, उपचार गर्छन्। प्रारम्भिक चरणमै सामान्य अवस्थामा फर्किन्छन्।
शहरमै पनि विपन्न, गरीब तथा ग्रामीण भेगमा धेरैजसो नेपालीले अझै पनि यसबारे खुलेर चर्चा गर्दैनन्। कसैले थाहा पाइहाल्छ कि भन्ने डरले मानसिक रोग पालेर बस्छन्। अझ दुःखलाग्दो त, मानसिक समस्या भएका व्यक्तिलाई सहयोग तथा उपचार गर्नुको सट्टा घरपरिवार र समाजले ‘बौलाएछ’ या ‘दिमाग खुस्केछ’ भने प्रताडित गर्छन्।
मानसिक समस्याबाट गुज्रिरहेका व्यक्ति र परिवारका सदस्य थप पीडा भोगिरहेका हुन्छन्। उनीहरूलाई यसबारे कसरी कुराकानी गर्ने भन्ने आधारभूत जानकारी पनि हुँदैन। जसले समस्या जटिल बन्ने गरेको पाइन्छ।
यस्तो अवस्थामा मानसिक समस्याबाट गुज्रिरहेका व्यक्ति र परिवारका सदस्य थप पीडा भोगिरहेका हुन्छन्। उनीहरूलाई यसबारे कसरी कुराकानी गर्ने भन्ने आधारभूत जानकारी पनि हुँदैन। जसले समस्या जटिल बन्ने गरेको पाइन्छ।
प्रारम्भिक चरणमै मानसिक स्वास्थ्यबारे घरपरिवारसँग छलफल गर्न नसक्दा वा घरपरिवारले बेवास्ता गर्दा कतिपय व्यक्ति घर छाड्न बाध्य हुन्छन् भने कतिपय मानसिक रोगी बन्छन्। मानसिक अस्वस्थता बढ्दै गएपछि कार्यक्षमतामा ह्रास मात्र ल्याउँदैन, यसले थप समस्या निम्त्याउँछ।
यी र यस्ता कुरालाई मध्यनजर गर्दै केही समय यता सरकारी तथा निजी स्वास्थ्य संस्थाले निःशुल्क मनोसामाजिक परामर्श सेवा दिन थालेका छन्। कतिपय गैरसरकारी संघसंस्थाले पनि यस्ता परामर्श सेवा सञ्चालन गरिरहेका छन्।
अब सरकारी तथा गैरसरकारी संघसंस्थाले रेडियो, पत्रपत्रिका तथा टेलिभिजनबाट पनि यसबारे जानकारी दिन आवश्यक छ। यस्तै, सरकारी संयन्त्रले पनि सञ्चारका विभिन्न माध्यम प्रयोग गरी मानसिक स्वास्थ्यका विषयमा जनस्तरसम्म जानकारी पुर्याउनु जरुरी छ।
यसका लागि गैरसरकारी संघसंस्थासँग सहकार्य गर्नुपर्छ। यस्तै, तीनै तहका सरकारले मानसिक स्वास्थ्यका विषयमा सचेतनाका लागि कार्यक्रम सञ्चालन गर्न र संघसंस्थालाई सहयोग गर्नु उत्तिकै आवश्यक छ।