‘लोक सेवा तयारी गर्दाको पढ्ने बानीले मदन पुरस्कार विजेता बनायो’
७ असोजमा बसेको मदन पुरस्कार गुठीको साधारण सभाले भगिराज इङ्नामको पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहः सम्वत् १७१९–२०२० लाई मदन पुरस्कार दिने घोषणा गर्यो। २२२ पुस्तक मध्ये उत्कृष्ट ९ को सूचीमा परे पनि मदन पुरस्कार पाउला भने नलागेको इङ्नाम बताउँछन्।
त्यही भएर होला, आफ्नो पुस्तक पुरस्कृत भएको सुन्दा उनले शुरूमा विश्वासै गर्न सकेनन्। उनै इङ्नामसँग पुरस्कार घोषणा र पुस्तक लेखनको सन्दर्भमा हिमालखबरकर्मी अनिता भेटवालले गरेको कुराकानीको सम्पादित अंशः
यहाँको पुस्तकले मदन पुरस्कार पाउला भन्ने लागेको थियो?
थिएन। मेरो पुस्तकले मदन पुरस्कार पायो भन्ने सुन्दा शुरूमा पत्याउनै सकिनँ। साँच्चै पाएकै हुँ त भनेर आफैंलाई प्रश्न गरें। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितको हस्ताक्षर भएको विज्ञप्ति पढेपछि बल्ल विश्वास लाग्यो।
विज्ञप्ति हतारमा पढेछु, पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापा र मैले संयुक्त रूपमा पाएका रहेछौं भन्ने लाग्यो। एक जना आफन्तको फोन आएपछि बल्ल थाहा भयो, थापाले जगदम्बाश्री सम्मान पाउनुभएको रहेछ।
ऐतिहासिक पुस्तक लेख्ने सोच कसरी आयो?
मेरो पुर्ख्यौली घर आठराई–४, तेह्रथुम हो। एसएलसीसम्म गाउँमै पढें, आईएस्सी धरानबाट गरें। काठमाडौं आएपछि सुब्बा सरहको पदमा जागीर खाएँ। जागीर खाँदै स्नातक तहको पढाइ पूरा गरें।
२०३८ सालमा लोक सेवा आयोगको परीक्षा दिएर शाखा अधिकृत भएँ। लोक सेवा पास गर्न स्नातक उत्तीर्ण गर्नुभन्दा सयौं गुणा बढी पढ्नुपर्ने रहेछ। रात दिन नभनी पढें।
लोक सेवा उत्तीर्ण गर्न एउटा विषयको ज्ञानले मात्र पुग्दैनथ्यो। इतिहासका पुस्तकहरू खासै उपलब्ध थिएनन्। २०२० सालमा विजयपुरको किराँतकालीन इतिहास भन्ने पुस्तक पढ्न पाएँ। २०२४ सालमा पृथ्वीनारायण शाह सम्बन्धी किताब पढें। ती किताबहरूमा केही न केही लालमोहर थिए।
लिम्बुवानका सुब्बाहरूले पनि लालमोहर राखेका थिए। मेरै घरमा पनि बाँसको ठूलो पेटारमा लालमोहरका कागजहरू थिए। लोकसेवा पढ्दा नै मलाई इतिहासको महत्त्व के कति छ भन्ने हेक्का भइसकेको थियो। फेरि आफ्नै समुदायको इतिहास खोज्दा लोक सेवाको पुस्तक र अन्य इतिहासको पुस्तकहरूमा केही पाइँदैनथ्यो।
लोक सेवाको तयारी गर्दागर्दै लिम्बू समुदायको इतिहास बोल्ने लालमोहरका अभिलेख जम्मा गर्छु भन्ने सोच आयो। ठोस रूपमा खोजी नथाले पनि सामग्री पाउँदा जतन गरेर राख्न थालें।
किनभने, पुराना कागजपत्र नेपालको सम्पत्ति हुने भन्ने मैले लोक सेवा परीक्षाका लागि इतिहास पढ्दा बुझिसकेको थिएँ। त्यस क्रममै मैले लिम्बुवानको इतिहास खोजें। यो खोज त नेपाल सरकार, अभिलेखालय, त्रिभुवन विश्वविद्यालय आदिले गर्नुपर्ने थियो। तर, उनीहरूले गरेनन्। यस्ता कागजपत्र सुब्बा, राई, इतिहासका जानकारसँग हुन्छन् भन्ने थाहा थियो। त्यस वेला कागजहरू पनि हराउन थालेका थिए। पछिल्लो पटक २०७० सालदेखि २०७६ सालसम्म सोधखोज गरेपछि २०७७ मा यो पुस्तक तयार भयो।
यो पुस्तकका खास लक्षित पाठक को हुन्?
पुस्तकले ३०१ वर्षको नेपालको इतिहास बोलेको छ। यो अब राष्ट्रको सम्पत्ति भयो। नेपालको ऐतिहासिक समय केलाउन यस पुस्तकले सहयोग गर्नेछ। त्यसैले यो पुस्तक सबैभन्दा पहिला राष्ट्रका लागि हो। त्यसपछि हरेक समुदायको हो । अनि राई, लिम्बू, याख्खाहरूको आफ्नै पुर्खाको इतिहास हो। नेपालको इतिहासको विषयमा अध्ययन, अनुसन्धान गर्न चाहने सबैका लागि हो।
किताबको नाममै ‘लिम्बुवान’ भनिएको छ। गैरलिम्बूहरूका लागि यो पुस्तकको के महत्त्व छ?
यो लिम्बूहरूको पहिचानका लागि त छँदै छ। यसले अन्य जातिका लागि झन् धेरै महत्त्व राख्छ। २०२१ सालसम्म पनि पूर्वाञ्चलका नौ जिल्ला लिम्बुवान हो भन्ने राजपत्रमा उल्लेख थियो। राजनीतिक रूपले त लिम्बूको राज्य भनेर धेरैले भन्ने गरेको देखिन्छ। तर, लिम्बू के हो, कहाँबाट आयो र लिम्बूको इतिहास के छ भन्ने कसैले हेरेको थिएन। अभिलेख सहितको यस पुस्तक वास्तविक लिम्बू र अन्य नेपालीहरूको प्रामाणिक इतिहासको दस्तावेज हो।
लिम्बूको राज्य व्यवस्था कस्तो रहेछ भन्ने जान्न चाहने सबैका लागि हो, यो पुस्तक। लिम्बूहरू सुब्बा हुन्थे। राजाका पालामा कस्तो व्यवहार हुन्थ्यो, कसरी काम गर्थे भन्ने यसमा देखाएको छु। इतिहासदेखि लिम्बूका लागि बनाएको व्यवस्था कस्तो रहेछ भनेर गैरलिम्बूले अध्ययन गर्नु पनि नेपालको इतिहास जान्नु हो।
मदन पुरस्कार पाएपछि पुस्तकको चाख बेग्लै हुने रहेछ। बौद्धिक वर्गले पनि नहेरेको इतिहास अब हेरेर समीक्षा गर्दा यसले फाइदा पुर्याउला। लिम्बू जात नै पनि कसरी रह्यो? शासक वर्ग र लिम्बूको सम्बन्ध कस्तो थियो भन्ने कुरा पुस्तकले भन्छ। भाषागत रूपले पनि नेपालको इतिहास यस पुस्तकले भनेको छ। त्यस वेला मैथिली, राजकीय, स्यावरो हुँदै नेपाली भाषा आयो। कतिपय त्यस्ता लोप भएका शब्दहरू अहिले खोज्दा पनि भेटिंदैनन्, जुन यो पुस्तकमा छन्।
पुस्तक लेख्ने क्रममा के कस्ता चुनौती भोग्नुभयो?
यो पुस्तक तयार गर्न लाग्नु अघिसम्म म धनकुटाको प्रमुख जिल्ला अधिकारी थिएँ। त्यति वेलासम्म मैले सुब्बा, राई र सरकारी क्षेत्रमा काम गरेका कस्ता मान्छेहरूसँग यस्तो इतिहास हुन्छ भन्ने पत्तो पाइसकेको थिएँ। धेरै सचिव र उपसचिवहरूलाई बोलाएर सोधिसकेको थिएँ। एक वर्ष यस्ता मान्छेहरू भेट्नमै गयो। त्यसपछि गाउँ–गाउँ पसें। पुस्तककै लागि तेह्रथुम, फिदिम, आठराई, ताप्लेजुङ, पाँचथर, इलाम, धरान, झापाका गाउँहरू घुमें। पहाडबाट बसाइँ सरेर आएकाहरूले कागज ल्याएका हुन्छन् भनेर तराईका जिल्ला पनि घुमें। यस्तो खोजी कार्य पाँच वर्षसम्म चलिरह्यो।
संवत् १८१४ को अभिलेखीय कागज पाउँदा सबैभन्दा धेरै खुशी भएँ। यो मैले खोजी गरेको सबैभन्दा पुरानो अभिलेख थियो। यस पुस्तकमा ७६ वटा लालमोहर छन्। यी मध्ये आधाभन्दा धेरै अप्रकाशित छन्। यस्ता विशेषता भएका अभिलेख खोज्न पक्कै पनि मलाई गाह्रो भयो। यसरी खोजी कार्यमा लाग्दा घाम, पानी, रात पनि नभनी हिंडें । हिउँमा हिंडें । लेक लाग्यो। बिरामी पनि परें । तर, खोजी नै रहें। कतिले लिम्बुवान राज्य खोज्न आएको भनेर गलत व्याख्या पनि गरे। आवश्यक कागज भेटेर पनि कतिलाई विश्वास दिलाउन नसकेर हो, वा मानिसले गलत बुझेर हो, उनीहरूबाट ती कागज ल्याउन सकिनँ। कतिपय पढेलेखेकै मान्छेहरूले पनि लिम्बुवानको प्रचारक भन्दै कुरा गर्न मानेनन् । जातीय द्वन्द्व भड्काउन खोजेको आरोप पनि लगाए । यस्ता दुःखका कुरा त कति छन् कति, तर मदन पुरस्कारले सबै दुःख बिर्साइदियो।
यहाँ सरकारी सेवामा भएकाले पनि यस्ता दस्तावेज खोज्न सहज भयो कि?
केही सहयोग पक्कै भयो। प्रमुख जिल्ला अधिकारी भएर काम गरेकाले पाँचथर, तेह्रथुम, धरान, संखुवासभा, झापाका सुब्बाहरूसँग छिटो चिनजान भयो। तर, प्रमुख जिल्ला अधिकारी भएरै पुस्तक लेखेको चाहिं हैन।
लोक सेवाको तयारी गर्दा नै इतिहास कसरी र कहाँ खोज्ने भन्ने थाहा भइसकेको थियो। त्यति वेला गरेको इतिहास अध्ययनले मलाई यो काम गर्न रुचि र चेत दिइसकेको थियो। पछि सरकारी जागीरे भएपछि स्रोत पहिल्याउन सहज भएको चाहिं पक्कै हो।
प्रकाशन गृहलाई नदिएर आफ्नै छोराबुहारीलाई किन प्रकाशक बनाउनुभयो?
विभिन्न प्रकाशन गृहमा नधाएको हैन। तर, उनीहरूको ‘अफर’ मलाई चित्त बुझेन । उनीहरूले प्रति हजार पुस्तक छाप्दा जम्मा ५० प्रति मलाई दिने भनेका थिए। एक त लिम्बू सम्बन्धी किताब भनेपछि फरक व्यवहार पाएँ। एउटा सरकारी अड्डामा गएको थिएँ। ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज पुस्तक’ लेख्दै छु भन्नासाथ उनीहरूको मलाई हेर्ने नजर फेरियो। त्यति वेला पूर्वाञ्चलमा लिम्बुवान क्षेत्र घोषणा गर्ने वा नगर्ने भन्ने ठूलै राजनीतिक बहस चलिरहेको थियो।
यो पुस्तक प्रकाशन गरेर जातीय सद्भाव खलबल्याउन लागेको आरोप लाग्दा मानसिक तनाव भयो। त्यस्तो माहोलको प्रभाव प्रकाशकहरूमा परेको हुनसक्छ। त्यही भएर छोराबुहारीको खर्चमा पुस्तक प्रकाशन गरेको हुँ।
यो पुस्तकमा अझै केही थप्न पाए हुन्थ्यो भन्ने छ?
यो पूर्ण हुँदै होइन। कतिपय सक्कल दस्तावेज को–कोसँग छन् भन्ने पनि मलाई थाहा छ, तर दिएनन्। ती दस्तावेज पनि छाप्न पाएको भए नयाँ नयाँ कुरा थपिन्थ्यो। ऐतिहासिक तथा पुरातात्त्विक दस्तावेज जोसँग छ, उनीहरूकोे जीवनकालपछि के हुन्छ भन्न सकिंदैन। मलाई नदिएकोमा चिन्ताभन्दा बढी ती दस्तावेजहरू हराउने डर छ। उनीहरूले दिए हाम्रै इतिहास धनी हुन्थ्यो।
यो पुस्तक लेखेपछि विश्राम लिने सोचेको थिएँ। मदन पुरस्कार घाेषणापछि जाँगर भरिएको छ। सबै कुरा पैसा मात्र पनि हुँदैन रहेछ भन्ने पनि लागेको छ। इज्जत र सम्मान पनि महत्त्वपूर्ण हुँदो रहेछ भन्ने प्रमाण मदन पुरस्कारले दियो । मैले पहिचान पाएँ। मेरो पुस्तकले पनि पायो। हिजो छुटेका दस्तावेजहरू अब फेरि गाउँगाउँ गएर खोज्न र कागजात दिंदैनौं भन्नेहरूसँग पुनः अनुरोध गर्ने आँट आएको छ।
यसरी ऐतिहासिक दस्तावेज खोजी गर्दा नेपालीहरूको अभिलेख संरक्षणको चेत कस्तो पाउनुभयो?
कत्ति अभिलेख संयोगले बँचेका छन्। कत्ति भने बहुमूल्य भनेर पट्याउँदा बिग्रन्छ भन्दै बेरेर बाँसको ढुङ्ग्रोमा सुरक्षित राखिएको छ। कति टीनमा पोको पारेर पनि राखिएका छन्। कुनै कुनै अब अक्षर उडिसके भनेर पनि फ्यालिएको पाएँ। कति त बन्दुक पड्काउँदा ‘लत्ता’ बनाएर खेर फालेको पनि पाएँ। भत्केको घरबाट अर्को ठाउँ सर्दा खोजी नगर्ने र कुहिएर गएको देखियो। कत्तिलाई दुई–चार हजार दिएर यस्ता कागज लगेका रहेछन्। नाश भएका भए, तर नयाँ पुस्तामा भने यस्ता दस्तावेज बचाउने जागरुकता बढेको पाएको छु।