विश्वासको मत लिंदै मुख्यमन्त्री शाक्य, गठबन्धनबाट दुई जनाको दाबेदारी
नेकपा (एमाले) फुटेपछि अल्पमतमा परेको बागमती प्रदेश सरकारले २५ असोजमा विश्वासको मत लिने भएको छ।
एमालेका १३ प्रदेश सभा सदस्य नेकपा (एकीकृत समाजवादी)मा लागेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन लागेकी हुन्। उनी विश्वासको मत नपाउने अवस्था भए पनि सामना गर्न तयार रहेको बताउँछिन्।
५६ सांसद सहित एकल बहुमत रहेको एमाले प्रदेश सभा संसदीय दलको नेताका रूपमा २ भदौमा उनी मुख्यमन्त्री नियुक्त भएकी थिइन्। ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक सांसद सङ्ख्या नभएपछि शाक्यले विश्वासको मत लिनुपरेको हो।
संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रदेश सभामा प्रस्ताव राख्नुपर्ने व्यवस्था गरिएको छ ।
बागमती प्रदेश सभामा एमालेका ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदूर किसान पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सांसद छन्।
संघमा गठबन्धन गरेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी यो प्रदेशमा मिल्ने हो भने मुख्यमन्त्री शाक्यको बहुमत नपुग्ने निश्चितप्रायः छ।
बानियाँ कि पाण्डे ?
सत्ता गठबन्धन दलबीच एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनाउने समझदारी भएपछि यसको तयारी थालिएको तीन साता बित्दा पनि ठोस निर्णय हुन सकेको छैन। एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा प्रदेश सांसद मुनु सिग्देल आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी भइरहेको बताउँछिन्।
“बागमतीमा एकीकृत समाजवादीकै मुख्यमन्त्री बन्ने हो, हाम्रो आन्तरिक तयारी भइरहेकै छ, व्यक्तिको टुङ्गो नलागेको हो, त्यो पनि चाँडै लाग्नेछ,” सिग्देलले भनिन्।
गठबन्धनले मुख्यमन्त्री कसलाई बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन। २ भदौमा शाक्यले शपथ लिंदा दुई साताका लागि मुख्यमन्त्री बनेको भन्ने विपक्षीको टिप्पणी थियो। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र एकीकृत समाजवादीको प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्। पाण्डेले आफूले मुख्यमन्त्री पाउने सहमति भइसकेको बताउँदै आएका छन्।