‘जलवायु परिवर्तन नेपाल जस्ता देशका लागि ठूलो सङ्कट’
नेपाल जस्ता देशका लागि जलवायु परिवर्तन ठूलो सङ्कट भएको एक कार्यक्रमका सहभागीले बताएका छन्।
स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पक्ष राष्ट्रहरूको २६औं सम्मेलनको तयारी र जलवायु परिवर्तनका विषयमा मंगलबार नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले आयोजना गरेको सम्पादकहरूसँग अन्तर्क्रियाका सहभागीले सो कुरा बताएका हुन्। कार्यक्रममा वातावरणविद् भूषण तुलाधरले जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा ठूलठूला घटनाहरू भइरहेको र यी घटनालाई सम्बोधन गर्न ढिलो भइसकेको बताए।
त्यस्तै, नेपाली टाइम्सका प्रधान सम्पादक कुन्द दीक्षितले जलवायु परिवर्तन राजनीतिक मुद्दा भएको र यो आम नागरिकको जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको बताए। “एकातिर, मानवीय स्वास्थ्य र सर्वसाधारणको बाँच्ने उमेर समेत घटिरहेको अवस्था छ। अर्कोतिर देशको अर्थतन्त्र वातावरण प्रदूषण गर्ने प्रज्वलनशील इन्धनको आयातमा खर्च भइरहेको छ,” दीक्षितले भने, “हाम्रो जस्तो मुलुकका लागि यो एउटा ठूलो सङ्कट हो।”
त्यस्तै, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी प्रमुख डा. राधा वाग्लेले यस पटकको पक्ष राष्ट्रहरूको सम्मेलनमा नेपालले प्रभावकारी उपस्थिति जनाउने तयारी गरिरहेको बताइन्। “हामीले त्यहाँ उठाउने विषयबारे राष्ट्रिय धारणा बनाउन १० वटा थिमेटिक कमिटी बनाएका छौं। कमिटीले आ-आफ्ना सुझाव दिएपछि त्यसका आधारमा राष्ट्रिय दस्तावेज तयार गरेर हामी सम्मेलनमा भाग लिन जान्छौं,” उनले भनिन्।
कार्यक्रममा जलवायु परिवर्तन महाशाखाका उपसचिव डा. अरुणप्रकाश भट्टले जलवायु परिवर्तनबाट सिर्जित समस्या सम्बोधन गर्न नेपालले अनुकूलन र नियमनका क्षेत्रमा धेरै राम्रा कामहरू गरेको उल्लेख गरे। नेफेजका अध्यक्ष कसमस विश्वकर्माले वातावरण र जलवायु परिवर्तनका मुद्दा राजनीतिक मुद्दा नै भएको र वातावरण संरक्षणलाई ध्यान नदिई गरिने विकास आयोजनाले क्षति मात्रै पुर्याउने भएकाले योजना बनाउँदा नै ध्यान पुर्याउनुपर्ने बताए।