मिश्रले विवेकशील साझालाई दिए पुस्तकबाट पाएको ६ लाख
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक राजनीतिसँगै राजकाज बाट पाएको लेखकस्व पार्टीलाई प्रदान गरेका छन्।
उनले राजनीतिसँगै राजाकाज पुस्तकबाट कर कट्टी गरी ६ लाख पाँच हजार ६२५ रुपैयाँ पाएका छन्। त्यो रकम विवेकशील साझालाई प्रदान गरेका हुन् ।
यो पुस्तक गत चैतमा प्रकाशित भएको थियो। उनले यो पुस्तकको सबै लेखकस्व विवेकशील साझालाई बुझाउने घोषणा गरेका थिए। यस अघि प्रकाशित तीन पुस्तकको लेखकस्व १२ लाख रुपैयाँ पनि चितवनका विपन्न चेपाङलाई सहयोगार्थ प्रदान गरेका थिए।
मिश्रको पछिल्लो पुस्तक राजनीतिसँगै राजकाजको पहिलो संस्करण सात हजार पाँच सय प्रति बिक्री भएको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले जानकारी दिए।
कोभिड-१९ ले पुस्तक बजारमा नराम्रो असर पारेको समयमा पनि मिश्रको पुस्तकको बिक्री सन्तोषजनक रहेको बताउँदै भारीले भने, “यो पुस्तक बजारका लागि खुशीको विषय हो। हामीले दोस्रो संस्करणका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं।”