‘उपेन्द्र यादवको पार्टीका दस्तावेज माओवादी अध्यक्ष दाहालकै फोटोकपी’
जनताको चाहना संघीयता हो, संघीयतालाई सबैले रुचाएका छन्। कुनै व्यक्ति खराब हुँदैमा संघीयता खराब भन्नु हुँदैन।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ संसदीय दलको नेतामा पूर्व मन्त्री जितेन्द्रप्रसाद सोनाल निर्वाचित भएका छन्। नेता सोनालसँग प्रदेशको समसामयिक राजनीति र प्रदेश सरकार लगायतका विषयमा हिमालखबरका लागि वीरेन्द्र रमणले गरेको कुराकानी :
प्रदेश २ विपक्षी विहीन जस्तै देखिएको छ। जसले गर्दा सरकारले मनपरी गरिरहेको गुनासो आउन थालेको छ। यस्तो वेला प्रमुख विपक्षी दलका रूपमा देखिएको लोकतान्त्रिक समाजवादी पार्टीको भूमिका कस्तो हुन्छ?
हाम्रो पार्टीको भर्खरै संसदीय दलको निर्वाचन सम्पन्न भएको छ। पार्टीभित्र सरकार र संसद्बारे छलफल पनि गरेका छौं। सरकार सत्ता पक्षको हुन्छ भने संसद् विपक्षीको हुन्छ।
सरकारले गरिरहेको कामका गुण र दोषका आधारमा सदनमा र बाहिर पनि सशक्त रूपमा प्रस्तुत हुन्छौं। यस अघिभन्दा फरक ढंंगले आफूलाई प्रस्तुत गर्छौं। प्रदेश सभामा हाम्रो भूमिका गुण र दोषका आधारमा अगाडि बढ्छ।
अब सरकारले अविलम्ब प्रदेश सभाको बैठक बोलाएर विश्वासको मत लिनुपर्छ। संविधानको पालन गर्ने दायित्व सरकारको हो, यसमा गम्भीर बन्नुपर्छ।
तपाईंको पार्टी विभाजित भएपछि सरकारले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने होइन र?
प्रदेश सरकारले संविधानको उल्लङ्घन गरिरहेको छ। संविधानको अपव्याख्या गरिरहेको छ। मुख्यमन्त्री सरकारलाई लम्ब्याउने कार्यमा लागेका छन्। प्रष्ट रूपमा, संविधानमा दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने लेखिएको छ। यो संविधानको धारा १८८ को उपधारा २ मा उल्लेख छ।
अहिले ३० दिन बितिसकेको छ। अब सरकारले अविलम्ब प्रदेश सभाको बैठक बोलाएर विश्वासको मत लिनुपर्छ। प्रदेश सभाको बैठक बोलाउन आग्रह पनि गर्छौं। संविधानको पालन गर्ने दायित्व सरकारको हो, यसमा गम्भीर बन्नुपर्छ।
सरकारसँग स्पष्ट बहुमत छ। त्यसैले विश्वासको मतको आवश्यकता नदेखेको पो हो कि?
यो सरकार रुईको भुइँ जस्तो हो। सरकारले संसद्मा विश्वासको मत लिनुपर्छ, जवाफ दिनुपर्छ। मधेशका जनताको भावना विपरीत जसरी गठबन्धन बनाइएको छ, त्यसको जवाफ सरकारले दिनुपर्छ। त्यो जवाफ दिन सरकार डराइरहेको छ। नत्र बहुमत छ भने विश्वासको मत लिंदा भइहाल्यो नि।
विश्वासको मतको प्रस्ताव असफल गराउनुहुन्छ र?
प्रश्न असफल र सफलको होइन। बहुमत छ भने प्रदेश सभामा आएर सामना गर्दा भइहाल्यो नि।
संविधानको धारा १८८ मा जे व्यवस्था गरिएको छ, त्यसलाई पढ्दा भइगयो नि। नेपाली भाषा त मुख्यमन्त्रीलाई आउँछ होला। आउँदैन भने जनकपुरको कुनै कलेजका शिक्षकलाई बोलाएर संविधानको धारा पढ्दा भइगयो नि।
मुख्यमन्त्री त समय आएको छैन भन्नुहुन्छ?
मुख्यमन्त्रीज्यूलाई संविधानको धारा त थाहा होला नि। संविधानको धारा १८८ मा जे व्यवस्था गरिएको छ, त्यसलाई पढ्दा भइगयो नि। नेपाली भाषा त मुख्यमन्त्रीलाई आउँछ होला। आउँदैन भने जनकपुरको कुनै कलेजका शिक्षकलाई बोलाएर संविधानको धारा पढ्दा भइगयो नि।
सरकार किन गतिशील बनिरहेको छैन?
सरकार टाइमपास गरिरहेको छ। लालबाबु राउत सरकारसँग मधेशको उन्नति, प्रगति, समृद्धि र संघीयता संस्थागत पर्ने सवालमा कुनै प्रष्ट दृष्टिकोण छैन। जसरी हुन्छ, सरकार बचाउमा लागेका छन्। आफ्नो समय मात्र कटाउन लागेका छन्। मन्त्रिपरिषद्को बैठक होस् वा नहोस्, प्रदेश सभाको बैठक बसोस् वा नबसोस्, कुनै मतलब छैन।
अहिले मन्त्री-मन्त्रीबीच क्षेत्राधिकारको विषयमा विवाद छ। मन्त्रीलाई बस्ने कोठा छैन, मन्त्रालयमा बस्ने ठाउँ छैन। सरकारसँग कुनै व्यवस्थापकीय दृष्टिकोण छैन। हरेक दिन सरकारका कर्तुतहरू बाहिर आइरहेका छन्। सरकारको प्रष्ट दृष्टिकोण आइरहेको छैन।
सरकारको दृष्टिकोण बाहिर आइरहेको छैन। सरकार समय काट्ने काममा मात्रै लिप्त देखिन्छ। जनताको आकाङ्क्षा अनुसार सरकार चल्नुपर्छ, जनताको समय खेर फाल्नु हुँदैन। हामी सरकारलाई त्यो छूट दिन्नौं, घेराबन्दी गर्छौं।
पार्टी विभाजन भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवको चर्को आलोचना गरिरहनुभएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग जोडेर यादवको आलोचना गरिरहनुभएको छ। किन?
मैले उपेन्द्रजीलाई केही भनेको छैन, पुष्पकमल दाहालजीकै भनाइ दोहोर्याएको मात्रै हो। दाहालजी भन्नुहन्छ- उपेन्द्रजी मेरो मान्छे हो। मैले जनताको बीचमा गएर यो कुरालाई दोहोर्याइदिएको मात्रै हो।
सरकार समय काट्ने काममा मात्रै लिप्त देखिन्छ। जनताको आकाङ्क्षा अनुसार सरकार चल्नुपर्छ, जनताको समय खेर फाल्नु हुँदैन।
उपेन्द्र यादवका जम्मै गतिविधि, उहाँको पार्टीको दस्तावेज सबै माओवादी अध्यक्ष पुष्पकमल दाहालकै फोटोकपी हुन्। हिन्दू धर्ममा जुन गुरुशिष्य परम्परा हो, त्यसैको निर्वाह उहाँ गर्दै हुनुहुन्छ। दाहालजी पनि पटक पटक भन्नुहुन्छ- उपेन्द्रजी मेरो मान्छे हो।
उनीहरू त अहिले संघीयताका पक्षधरहरू, अग्रमनका पक्षधर एक भएका हुन् भन्छन्। तपाईंहरू किन विरोध गरिराख्नुभएको छ?
को अग्रगामी, को प्रतिगामी? त्यो छुट्याउने साधन के त? संसद् विघटन गर्दैमा अग्रगमन विरोधी हो र! बाबुराम भट्टराईले संविधानसभा विघटन गरेको हैन? उहाँ त्यही पार्टीमा हुनुहुन्छ।
मनमोहन अधिकारीले संसद् विघटन गर्नुभयो। संसद् विघटन अग्रमगन र प्रतिगमन हुँदैन। जनताको बीचमा जानु राम्रो कुरा हो। त्यसकारण सबै दलले सत्ता जोगाउन संसद् विघटन गरेका छन्। अहिले संसद्लाई बिजनेस दिइएको छैन। बिजनेस पनि नदिने, बन्दी बनाउने अनि जनताको बीचमा जाँदा त्यो प्रतिगमन हुन्छ?
अहिलेका प्रदेश सरकारका गतिविधिले संघीयता प्रति जनतामा निराशा देखिन्छ नि ?
संघीयतालाई सबलीकरण गर्नु सबैको दायित्व हो। जनताको चाहना संघीयता हो, संघीयतालाई सबैले रुचाएका छन्। कुनै व्यक्ति खराब हुँदैमा संघीयता खराब भन्नु हुँदैन।