चीनमा नेपाल
चीनले सधैं भन्दै आएको छ- हामीलाई हिमाल, पहाड र नदीनालाले जोडेको छ। प्राकृतिक सम्पदाले जोडिएको यो सम्बन्ध अब जनस्तरसम्म ल्याएर भावनात्मक बनाउनु दुवै देशको काम हो।
प्रातः भ्रमणमा निस्किएका वेला चिनियाँ बूढापाकाले सोधिरहन्छन्, “तिमी कुन देशका हौ?” नेपाली भन्ने थाहा पाएपछि अनुहार उज्यालो बनाउँदै भनिहाल्छन्, “ओहो त्यो सुन्दर र सानो देश! सिचाङको छेउमै रहेको हाम्रो छिमेकी मुलुक।”
चिनियाँहरू तिब्बतलाई सिचाङ भन्छन्। नेपालबारे बोल्दा प्रायः चिनियाँको साझ लहजा हुन्छ, “संस्कृतिले भरिपूर्ण देश अनि हँसिला मानिसहरू।”
बूढो पुस्ताका चिनियाँहरू अहिले पनि राजा वीरेन्द्रलाई सम्झ्न्छन्। वीरेन्द्रले १० पटक चीनको भ्रमण गरेका थिए। त्यसैले पनि उनीहरूले राम्ररी चिन्ने र सम्मान गर्ने नेपाली नेतामा वीरेन्द्रको नाम अग्रभागमा आउने गर्छ।
१२ जनवरी २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको रात्रिभोजमा म ढाका टोपीमा ठाँटिएर गएको थिएँ। त्यो देखेरै थुप्रै चिनियाँ नेता र विदेशी कूटनीतिज्ञहरू मसँग झ्याम्मिए। चिनियाँ नेताहरूले सन् १९७८ मा तत्कालीन चिनियाँ वरिष्ठ नेता तङ स्याओफिङले नेपाल भ्रमण गर्दा नेपाली टोपी उपहार पाएका थिए। तङले नेपाली टोपी लगाएको फोटो चीनमा अहिले पनि लोकप्रिय रहेको बताएपछि बल्ल मैले ढाका टोपीको महत्त्व थाहा पाएँँ।
नेपालको उत्तरी सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिएको छ। १४१४ किलोमिटर लामो यो सीमा क्षेत्रमा अधिकांश अग्ला हिमाल र पहाड छन्। हिमाल र पहाडको खोच पार गर्दै हिमनदीहरू तिब्बती क्षेत्रबाट नेपालतिर बग्ने गर्दछन्। दुई देशबीचमा प्रकृतिले सिर्जना गरेको हिमाल र पहाडसँगै नदीनाला नेपाल र चीनबीचका मित्रताका द्योतक हुन्।
त्यसैले त दुई देशबीचको मैत्री सम्बन्धलाई साङ्केतिक रूपमा भन्ने गरिन्छ, ‘नेपाल र चीनबीचको मित्रता हिमाल जस्तै अटल, हिउँ जस्तै कञ्चन र हिमनदी जस्तै स्वच्छ छ।’ सन् १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता सम्हालेपछि नेपालबारे चीनले प्रकाशन गरेका दस्तावेजमा के छुटाइएको छैन भने, ‘हामीलाई हिमाल, पहाड र नदीनालाले जोडेको छ।’
नेपाल र चीनबीचका अग्ला हिमशिखरहरू मैत्री सम्बन्धमा कहिल्यै अवरोध बनेनन्। ती शिखरको वारिपारि बसोबास गर्ने नागरिकमा सयौं वर्ष अगाडिदेखि सांस्कृतिक र आर्थिक आदानप्रदान हुँदै आएको छ। त्यसलाई सांस्कृतिक आदानप्रदान तथा कला र साहित्यले अझै कसिलो बनाउँदै आएको छ।
कलाको साइनो
नेपालमा चिनियाँ चलचित्र लोकप्रिय भए पनि चीनमा नेपाली चलचित्र खासै प्रदर्शन हुँदैनन्। पर्यटन प्रवर्द्धनार्थ चीनका विभिन्न भागमा हुने नेपाली गीत तथा नृत्यलाई धेरै चिनियाँले प्रशंसा गरेका छन्।
नेपालमै छायाङ्कन गरेका चिनियाँ चलचित्रले पनि नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गरेका छन्। एउटा उदाहरण हो, चिनियाँ चलचित्र तङ फङ लाई (पर्ख, हावा चल्न देऊ)। पोखराको पाराग्लाइडिङसँग सम्बन्धित रहेर सन् २०१३ मा बनेको यो चलचित्रले चिनियाँसामु नेपालको सौन्दर्य पस्किएको छ।
आनी छोइङ डोल्माको ‘फूलको आँखामा फूलै संसार’ गीत पनि चिनियाँ भाषामा अनूदित छ भने केही नेपाली लोकगीतको भाकामा तिब्बती गीत बनाइएका छन्। प्रसिद्ध चिनियाँ गायक वाङ फङले गाएको ‘च्यातमान्डु त फङ लिङ’ (काठमाडौंको घण्टी) बोलको गीत चिनियाँ जनजिब्रोमा रत्तिएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङकी श्रीमती गायिका फङ ली युआनले गाएको ‘सगरमाथा म तिमीलाई प्रेम गर्छु’ बोलको गीतले पनि नेपाललाई जोडेको छ।
पछिल्लो समय साहित्यले पनि दुई देशलाई जोडेको छ। आठ दशक अगाडि लेखिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाकृत मुनामदनलाई चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत राष्ट्रिय संस्थाको अन्तर्राष्ट्रिय रणनीतिका प्राध्यापक लिउ चिआनले चिनियाँ भाषामा अनुवाद गरेका छन्।
पछिल्लो समय साहित्यले पनि दुई देशलाई जोडेको छ। आठ दशक अगाडि लेखिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाकृत मुनामदनलाई चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत राष्ट्रिय संस्थाको अन्तर्राष्ट्रिय रणनीतिका प्राध्यापक लिउ चिआनले चिनियाँ भाषामा अनुवाद गरेका छन्।
प्रोफेसर लिउले मुनामदनलाई अंग्रेजी भाषाबाट चिनियाँमा उल्था गरेका हुन्। जसरी देवकोटाले ल्हासा नपुगीकन त्यहाँको वर्णन गरेर मुनामदन लेखेका थिए, त्यसैगरी लिउले पनि नेपाल नटेकीकन मुनामदन चिनियाँमा अनुवाद गरे। बरु उनले सन् २०११ को डिसेम्बरमा किताब प्रकाशन गरेपछि भने नेपाल भ्रमण गरेछन्।
मुनामदन अनुवादका क्रममा उनले विभिन्न वृत्तचित्र हेरेर नेपालबारे धेरै बुझ्ने कोशिश गरेछन्। प्राध्यापक लिउ पहिलो भ्रमणको अनुभव सुनाउँछन्, “काठमाडौं उपत्यका देखेपछि म ढुक्क भएँ। मैले मुनामदन अनुवाद गर्दा कल्पना गरेको नेपालीपनलाई प्रत्यक्ष नियाल्दा खासै फरक देखिनँ।” उनले देवकोटा निवास र त्रिचन्द्र कलेज पनि अवलोकन गरेका रहेछन्।
लीलाध्वज थापाको उपन्यास मनको अनुवाद प्रोफेसर छन मिन यीले चिनियाँ भाषामा गरेका छन्। २०१४ सालको ‘मदन पुरस्कार’ प्राप्त यो कृतिलाई चिनियाँ पाठकले निकै मन पराएका छन्।
ऐतिहासिक विरासत
काठमाडौं उपत्यकामा जमेको पानीलाई कटुवाल दहबाट निकास गराई मानव बस्ती बसाउने काम चीनबाट नेपाल प्रवेश गरेका महात्मा मञ्जुश्रीले गरेको जनश्रुति छ। छैटौं शताब्दीसम्म नेपालबाट चीन आएका बुद्धभद्र र पद्मसम्भव तथा चीनबाट नेपालमा गएका स्वान चाङ र फा सियान जस्ता बौद्ध धर्मका अध्येताले नेपाल र चीनबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको जग बसालेका थिए। यही सिलसिलामा सातौं शताब्दीमा नेपाली राजकुमारी भृकुटीले तिब्बतका सम्राट् स्रोङचोङ गम्पोसित विवाह गरेपछि दुई देशबीचको सम्बन्धमा पारिवारिक नाता गाँसिन पुग्यो।
सातौं शताब्दीमा नेपाली राजकुमारी भृकुटीले तिब्बतका सम्राट् स्रोङचोङ गम्पोसित विवाह गरेपछि दुई देशबीचको सम्बन्धमा पारिवारिक नाता गाँसिन पुग्यो।
बेहुली बनेर तिब्बत आउँदा भृकुटीले अक्षोभ बुद्धको मूर्ति पनि साथमा ल्याएकी थिइन्। उनले ल्हासामा नेपालपट्टि फर्काएर बनाएको भव्य बौद्ध (जोखाङ) मन्दिरमा नेपालबाट ल्याएको अक्षोभ बुद्धको मूर्ति राखिएको छ। भृकुटीले माइतीबाट नेपाली थाङ्का र कालिगड पनि तिब्बत लगेकी थिइन्। उनले लगेका कालिगडले नेपाली कलासँगै रञ्जना लिपिलाई तिब्बतभर छरेका थिए। सातौं शताब्दीमा नेपालबाट तिब्बत पुगेका कलाकृति अहिले पनि ल्हासामा संरक्षित छन्।
लिच्छविकालमा सत्ताच्युत भएर तिब्बतमा शरणागत नेपालका राजा उदयदेवको तिब्बतमै मृत्यु भयो। उनका छोरा नरेन्द्रदेवले तिब्बतको सहयोगमा नेपालमा गद्दी फिर्ता लिए। तिनै नरेन्द्रदेवले चीनको थाङ वंशकालीन राजधानी सिआनमा आफ्ना दूतहरू पठाउँदा नेपालबाट पालुङ्गाको बीउ पनि पठाएका थिए जसलाई चिनियाँले अत्यधिक मन पराए। नेवारी भाषामा पालुङ्गोलाई पःछा भनिन्छ। यही शब्द चिनियाँ जिब्रोमा अपभ्रंश हुँदा पोछाई भयो। अहिले पनि पोछाई चिनियाँहरूको प्रिय सागका रूपमा स्थापित छ।
भृकुटीपछि दुई देशबीचको सम्बन्धमा नयाँ इँटा थपे कलाकार अरनिकोले। सन् १२४३ मा जन्मिएका अरनिको चीन प्रवेश गर्दा जम्मा १७ वर्षका थिए। उनी ८० जना नेपाली कालिगडको नेतृत्व गरी तिब्बत हुँदै त्यहाँबाट तीन वर्षपछि बेइजिङ आइपुगे। चीनमा आएपछि उनी कहिल्यै नेपाल फर्किएनन्, बरु श्रीमतीलाई पनि चीनमै बोलाए। नेपाली श्रीमती बाहेक उनले १० जना चिनियाँ युवतीसँग बिहे गरेको जनश्रुति छ।
अरनिकोले चीनमा नेपाली कला र संस्कृतिलाई प्रवेश गराए। उनले बनाएको श्वेत चैत्य अहिले पनि बेइजिङको केन्द्रभागमा छ। यो चैत्य चीनमा भएकामध्ये सबैभन्दा ठूलो हो। अरनिकोले बेइजिङ बाहिर उथाइसानमा पनि चैत्य बनाएका छन्। अन्य विभिन्न भागमा उनले बनाएका कलाकृति भने लोप भइसकेका छन्।
अहिले पनि अरनिकोनिर्मित बेइजिङको श्वेत चैत्यलाई नेपाल र चीनबीचको मित्रताको प्रतीक मानिएको छ। अरनिकोले नेपाली कलासँगै रञ्जना लिपि पनि चीनमा ल्याएका थिए। श्वेत चैत्यभित्र तथा ग्रेटवालका पुरातात्त्विक सम्पदामा अहिले पनि रञ्जना लिपिको झलक छ।
सत्रौं शताब्दीमा भएको व्यापारिक सम्झैतामा दुई देशबीचमा आवतजावत गर्ने ३५ वटा नाकामध्ये २४ वटा भञ्ज्याङ प्रयोगमा आएको अनि केरुङ र कुतीलाई मुख्य व्यापारिक नाका मान्ने सहमति भएको इतिहास छ। नेपालमा राणा शासन शुरू हुनुभन्दा अगाडिसम्म नेपालको वैदेशिक व्यापारको अधिकांश हिस्सा चीनको तिब्बतसँग हुँदै आएको थियो। तिब्बतका मुख्य व्यापारिक कोठीहरू नेपालीका थिए र उनीहरूका समस्या समाधानका लागि नेपाली वकील राख्ने कुरा दुवै देशले मान्यता दिएका थिए। यी वकीलको हैसियत महावाणिज्यदूत वा सो सरह थियो।
चीनको स्वायत्त प्रदेश तिब्बतमा विदेशी नियोगका रूपमा नेपालको महावाणिज्य दूतावास मात्र छ। सन् १९६२ को चीन-भारत युद्ध अगाडिसम्म भारतको पनि महावाणिज्य दूतावास तिब्बतमा थियो, तर युद्धका कारण बन्द भयो। अगस्ट १, १९५५ मा औपचारिक रूपमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भयो। दुवै देशले पञ्चशील सहअस्तित्वका सिद्धान्त मानेर एक-अर्काको सम्मान गरेका छन्।
बेइजिङको केन्द्रभागमा लामा मन्दिर रहेको छ। मन्दिरमा विश्वकै सबैभन्दा अग्लो काठबाट बनेको मैत्रेय बुद्धको मूर्ति छ। नेपालको कपिलवस्तुमा बनाएर तिब्बत ल्याएको मूर्ति सातौं दलाई लामाले चीनका छिङलोङ बादशाहलाई उपहार दिएका थिए। तिब्बतबाट बेइजिङ पुर्याउन दुई वर्ष लागेको थियो।
बेइजिङको केन्द्रभागमा लामा मन्दिर रहेको छ। यस मन्दिरमा विश्वकै सबैभन्दा अग्लो काठबाट बनेको मैत्रेय बुद्धको मूर्ति छ। जमीनमुनि ८ मिटर र जमीनमाथि १८ मिटर गरी २६ मिटरको उक्त मैत्रेय बुद्धको मूर्ति एउटै चन्दनको काठबाट बनेको हो। नेपालको कपिलवस्तुमा बनाएर तिब्बत ल्याएको मूर्ति सातौं दलाई लामाले चीनका छिङलोङ बादशाहलाई उपहार दिएका थिए। त्यस मूर्तिलाई तिब्बतबाट बेइजिङ पुर्याउन दुई वर्ष लागेको थियो। सन् १७४८ मा तिब्बतबाट हिँडाएर सन् १७५० मा मात्र बेइजिङ ल्याएको इतिहास छ।
उपहारमा नेपालीपन
चीनमा नेपाल चिनाउने मुख्य कलाकृतिमा नेवारी आँखीझ्याल, बुद्धका मूर्ति र थाङ्का पहिलो लहरमा पर्दछन्। चिनियाँलाई नेपालीले दिने उपहारमा पनि यस्तै वस्तु पर्दछन् भने नेपाल घुम्न गएका चिनियाँले किन्ने सामानमा पनि यही प्रकारका हस्तकलाका सामग्री रोज्दछन्।
यस्ता सामग्रीमा काठमाडौं उपत्यकाको इतिहास, संस्कृति, कला र सम्पदा समेटिएको छ। चीनमा नेपाली काठका कलात्मक झ्यालको महत्त्व कति छ भने बेइजिङको केन्द्रभागमा रहेको राष्ट्रिय सङ्ग्रहालयमा नेपाली हस्तकलाका सामान राखिएका छन्।
बेइजिङको थिआन आनमन स्क्वायरको पूर्वपट्टि विश्वकै सबैभन्दा ठूलो मानिएको राष्ट्रिय सङ्ग्रहालय छ। प्रायः देशका एक वा दुई वटा उपहारको प्रतिनिधित्व गराइएको सङ्ग्रहालयमा नेपालका झण्डै एक दर्जन उपहार राखिएका छन्। त्यसमा सन् १९७२ मा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले अध्यक्ष माओ चतुङ (माओत्सेतुङ)लाई उपहार दिएको तामाको महाबुद्ध मन्दिर, सन् १९७९ मा तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री तङ स्याओफिङलाई उपहार दिएको काठको मयूर झ्याल आदिले नेपाल चिनाएकै छन्। भृकुटीले दाइजोमा चीन ल्याएका थाङ्का र बुद्धका मूर्तिहरू, उपहारमा पठाइएको पालुङ्गाको बीउ, अरनिकोले ल्याएको कलासँगै यी उपहारले नयाँ पुस्तालाई नेपालको गौरव र पहिचान दिँदै आएका छन्।
सन् १९७२ मा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले अध्यक्ष माओ चतुङ (माओत्सेतुङ)लाई उपहार दिएको तामाको महाबुद्ध मन्दिर, सन् १९७९ मा तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री तङ स्याओफिङलाई उपहार दिएको काठको मयूर झ्याल आदिले नेपाल चिनाएकै छन्।
जनशक्ति उत्पादन
नेपालको शिक्षा, स्वास्थ्य, दूरसञ्चार, कृषि, पर्यटन, पूर्वाधार र जनशक्ति विकासमा चीनले चार दशकदेखि सहयोग गर्दै आएको छ। कोभिड–१९ महामारीभन्दा अगाडिसम्म नियमित रूपमा सात हजार नेपाली विद्यार्थी चीनमा थिए।
चिनियाँ छात्रवृत्ति पाउने विदेशी विद्यार्थीमा नेपालले नवौं स्थान ओगटेको छ। चाइना डेलीका अनुसार, चीनमा छात्रवृत्ति पाएर पढ्ने विदेशी विद्यार्थीहरूमा नेपालको स्थान नवौंमा रहेको हो। सन् २०१५ मा चीनमा अध्ययनरत विदेशी विद्यार्थीको सङ्ख्या तीन लाख ९७ हजार ६ सय ३५ रहेकोमध्ये छात्रवृत्तिमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या ४० हजार ६ सय थियो। त्यस वेला चीनमा सबैभन्दा धेरै छात्रवृत्ति पाउनेमा क्रमशः पाकिस्तान, मङ्गोलिया र भियतनाम थिए। त्यसैगरी रुस, थाइल्यान्ड, दक्षिण कोरिया, अमेरिका, लाओस, नेपाल रकजाकस्तान थिए।
छात्रवृत्तिसँगै सशुल्क अध्ययन गर्ने सर्वाधिक विदेशीमध्ये दक्षिण कोरिया, अमेरिका र थाइल्यान्डका थिए। यसैगरी भारत, रुस, पाकिस्तान, जापान, कजाकस्तान, इन्डोनेसिया र फ्रान्स थिए। चीनमा सशुल्क अध्ययन गर्नेमा नेपाली थोरै छन्। अहिले पनि चीनमा छात्रवृत्ति पाउने विदेशी विद्यार्थीमध्ये नेपाल ‘टपटेन’ मै छ। चीनमा नेपाली विद्यार्थीको रोजाइ प्रायः प्राविधिक विषय हुने गरेको छ। चिनियाँ विज्ञान प्रतिष्ठानमा अध्ययन गरेर नेपाल फर्केका वैज्ञानिकहरूको सङ्ख्या सयको हाराहारीमा पुगेको छ भने एक दर्जन जति चीनमै कार्यरत छन्।
द्विविधामा नयाँ पुस्ता
चीनको सीमा जोडिएका १४ वटा मुलुकमध्ये पाकिस्तानपछि नेपालसँग सबैभन्दा घनिष्ट सम्बन्ध रहेको छ। चिनियाँहरू यसलाई ‘आइरन फ्रेन्डशिप’ अर्थात् फलामे मित्रता मान्छन्। अत्यन्त प्रगाढ सम्बन्ध हुँदाहुँदै पनि चिनियाँमा नेपालबारे थुप्रै भ्रम छन्। दुई देशबीचको ऐतिहासिक-सांस्कृतिक आदानप्रदानका कुरामा जान-अन्जानमा नेपालको नाम छुटाइएको छ। सोझै नेपाल जोडिएको अथवा नेपाली कलाका विषयमा पनि नेपाल भनेर उल्लेख गर्न आनाकानी गरिएको वा कन्जुस्याइँ गरेको देखिन्छ।
अरनिकोकै समकालीन रहेका मार्काेपोलोको नामलाई चीनले जताततै उल्लेख गरेको छ, तर अरनिकोलाई खासै प्रचार गरेको देखिँदैन। त्यो समय मार्कोपोलोको भन्दा अरनिकोको काम र पद उच्च थियो।
अरनिकोकै समकालीन रहेका मार्काेपोलोको नामलाई चीनले जताततै उल्लेख गरेको छ, तर अरनिकोलाई खासै प्रचार गरेको देखिँदैन। त्यो समय मार्कोपोलोको भन्दा अरनिकोको काम र पद उच्च थियो। बेइजिङको लामा टेम्पलमा राखिएको मैत्रेय बुद्धको मूर्ति एउटै काठबाट बनेको सबैभन्दा ठूलो मूर्ति हो। तर, लामा टेम्पलको सूचनापाटीमा यो मूर्ति नेपालमा बनाएर ल्याएको कतै उल्लेख छैन।
चिनियाँ इन्टरनेट सर्च इन्जिन ‘पाइत’ मा खोज्दा कपिलवस्तुबाट ल्याइएको भेटिन्छ। कतिपय चिनियाँलाई लुम्बिनी र कपिलवस्तु कहाँ पर्छ भन्ने पनि थाहा छैन। पुरानो चिनियाँ पाठ्यक्रममा बुद्धको जन्म भारतमा भएको उल्लेख थियो। अझै पनि त्यही भ्रम बोकेका छन् धेरै चिनियाँले।
बेइजिङको पश्चिमपट्टि वल्लो शान्सी प्रान्तमा प्रख्यात उथाइसान पर्यटकीय स्थल छ। त्यहाँ अरनिकोले बनाएको श्वेत चैत्य र शाक्यमुनि बुद्धका छोरा राहुलको पनि मन्दिर छ। उक्त मन्दिरमा पर्यटक गाइडले बुद्ध भारतमा जन्मिएका हुन् भनेर व्याख्या गरिरहेको सुनेपछि आफूले प्रतिवाद गरेको प्राध्यापक चौ च्याउचुन बताउँछिन्।
चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको प्रमुखका रूपमा निवृत्त उनी भन्छिन्, “बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै त्रुटि औंल्याइदिँदा पर्यटक गाइडले उल्टै मलाई हप्काइन्।” बेइजिङको राष्ट्रिय सङ्ग्रहालयमा बुद्धका बारेमा छुट्टै हलमा विशाल प्रदर्शनी छ, तर बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा कतै पनि उल्लेख छैन।
चिनियाँहरू सगरमाथालाई चोमोलोङ्मा भन्छन्। यो नेपाल र चीनको बीचमा पर्छ, त्यसमा पनि चुचुरो चाहिं नेपालतिर पर्छ। कूटनीतिक रूपमा चीनले यो कुरा स्वीकार गरे पनि चिनियाँ दस्तावेज र पाठ्यक्रम लगायतका यावत् सामग्रीमा सगरमाथा चीनमा पर्ने उल्लेख छ।
सगरमाथा नेपाल र चीनको बीचमा पर्छ, त्यसमा पनि चुचुरो चाहिं नेपालतिर पर्छ। कूटनीतिक रूपमा चीनले यो कुरा स्वीकार गरे पनि चिनियाँ दस्तावेज र पाठ्यक्रम लगायतका यावत् सामग्रीमा सगरमाथा चीनमा पर्ने उल्लेख छ।
त्यति मात्र होइन, विश्वको दोस्रो अग्लो शिखर माउन्ट के टु पनि चीनमा नै पर्छ भनी चिनियाँ पाठ्यसामग्रीमा लेखिएको छ। माउन्ट के टुलाई चिनियाँ भाषामा ‘छ्याउ क ली’ भनिन्छ। यो चीन र पाकिस्तानको सीमामा पर्ने भए पनि यसको चुचुरो चाहिं पाकिस्तानमा पर्छ।
विकासमा साझेदारी
नेपाल र चीन सम्बन्धमा अरनिको राजमार्गलाई एउटा ‘कोशेढुङ्गा’ मानिएको छ। यही राजमार्गका कारण आधुनिक युगमा नेपाल-चीन व्यापारले काँचुली फेरेको हो।
सन् १९६० को दशकमा यो राजमार्ग निर्माण हुँदा चिनियाँ कम्पनीका लागि चङ सुयोङले दोभाषेको काम गरेका थिए। राजमार्ग निर्माणका वेला नेपालीले देखाएको माया र विश्वासले आफूलाई गहिरो प्रभाव पारेको चङ बताउँछन्।
पछिल्लो समय नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी चीनको छ। सी चिनफिङले सत्ता सम्हालेपछि अघि सारिएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा नेपालले पनि हस्ताक्षर गरेको छ। अब नेपालमा भित्रिने चिनियाँ लगानी र सहयोग यही बीआरआई मार्फत एकद्वार प्रणालीबाट भित्रिनेछ।
चीनले नेपाललाई दक्षिणएशियाका लागि प्रवेशद्वार मानेको छ। चीनले ल्हासादेखि सिगाच्छे पुगेको रेलमार्गलाई केरुङ हुँदै काठमाडौं र पोखरा तथा लुम्बिनी जोड्ने घोषणा गरेको छ। यो रेलमार्गलाई भारतसँग जोड्ने चिनियाँ चाहना छ। त्यसो भएमा भारतको घना आवादी भएका उत्तर प्रदेश र बिहार जस्ता प्रान्तमा चिनियाँ उत्पादनको बजार पहुँच स्थापित हुनेछ। यही स्वार्थका कारण नेपालमा शान्ति र विकास होस् भन्ने चाहना चीनले खुलस्त गर्दै आएको छ।
{आचार्य बेइजिङस्थित चाइना रेडियो इन्टरनेशनल (सीआरआई)को नेपाली सेक्सन विज्ञ हुन्। हिमालको २०७८ असाेज अंकमा प्रकाशित।}
‘हिमाल’को असोज अङ्कको पीडीएफ भर्सन पढन चाहनुहुन्छ भने तलको लिङ्कमा क्लिक गर्नुहोस्। हामी तपाईंलाई एक साताभित्र पीडीएफ प्रति उपलब्ध गराउनेछौं। भदौ अङ्कका लागि फर्म भरिसक्नुभएकाहरूलाई भने सोही ठेगानामा पीडीएफ पठाइनेछ। फर्म भर्न
यहाँ क्लिक गर्नुहोला।