प्रकृतिकाे पूजा गर्दै किरात समुदायले मनाए उभौली
किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले महान चाडका रूपमा शनिबार उभौली पर्व मनाएका छन् ।
पर्वका अवसरमा शनिबार किराती परम्पराअनुसार भूमिको पूजा गरियो । प्रकृतिका पूजक किरातले मनाउँदै आएको यो चाड कहिलेबाट मनाउन शुरु गरियो भन्ने सम्बन्धमा कुनै तथ्य प्रमाण फेला परेको छैन ।
ठाउँ र परम्पराअनुसार विभिन्न मिथक सुनिन्छन् । पृथ्वीमा कृषि युगको शुरुआत भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिँदै आएको छ।
यो पर्व ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक धूमधामका साथ मनाउने चलन छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मंसिर शुक्ल पूर्णिमा अर्थात् शरद् ऋतुमा उधौली पर्वका रूपमा मनाइन्छ ।
“दुमी भाषामा उभौली पर्वलाई ‘धिरियाम्लो’ र उधौली पर्वलाई ‘छिरीयाम्लो’ भन्ने गरिन्छ, हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र अन्नबाली पाक्ने बेला खुशियाली मनाउँदै उधौली पर्व मनाइन्छ”, राईले भने ।
अन्नबाली लगाउने समयमा लगाएको अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, किराफट्यांग्र्रा तथा जंगली जनावरले दुःख नदिऊन्, सबैमा सुख शान्ति, सुस्वास्थ्य होस्, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ ।
तराईतिर गर्मी बढेर माछा, पशुपक्षी, चराचुरुङ्गी, कीराफट्यांग्रासमेत उभो चिसो लेकतिर बसाइँ सर्छन् भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने यो पर्वलाई उभौली भन्ने गरिएको हो ।
त्यसैगरी किरात उधौली पर्वमा उभौली पर्वको समयमा लगाएको अन्नबाली पाक्ने, अन्नबाली खेतबारीमा लहलह देखिने, अन्नबालीले भकारी भरिएको हुने हुँदा अन्नबालीको सह बसोस्, आउँदो साल खाद्यान्नको अभाव नहोस् भन्दै खुशी, सुख र समृद्धिको कामना गर्दै उधौली पर्व मनाउँछन्।
यस समयमा लेक तथा पहाडतिरको वातावरण चिसो हुने हुँदा गर्मीको समयमा तराईतिरबाट उभो चिसो लेकतिर बसाइँ सरेका माछा, पशुपक्षी, चराचुरुङ्गी र कीराफट्यांग्र्रासमेत उधो गर्मी भएको ठाउँ मधेश, तराईतिर बसाइँ झर्छन् भन्ने विश्वासले पनि मंसिर पूर्णिमामा मनाइने पर्वलाई उधौली भनिन्छ ।
राई, लिम्बू, याक्खा र सुनुवार लगायत किरात जातिको यो पर्वको पहिलो दिनमा घरघरमा लिपपोत शुद्ध बनाइन्छ । आफ्ना पिता पुर्खाले मानेको तीन चुल्हो ढुङ्गाको विधिपूर्वक पूजा गर्छन् ।
गाउँ, समाज, टोलमा पहिलेदेखि नै स्थापना गरी राखिएको साकेला थान, भूमेथान र त्यो नभएको ठाउँमा कटुसको हाँगा गाडी थान स्थापना गरेर भूमि र नागनगेनीको पूजाआजा गरिन्छ ।
पूजा आराधना गर्ने पुजारी नागिरे धाँमी र यस्ता व्यक्ति नभएमा विधिसम्बन्धी ज्ञान भएकाले पूजा गर्छन् । पूजाका लागि कुखुरा, सुुँगुर, जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँडालगायत सामग्री आवश्यक पर्दछ ।
पूजा सम्पन्न भएपछि सो थानकै वरिपरि सामूहिकरूपमा परम्परागत बाजा, ढोल, झ्याम्टा, अर्ना भैँसीको सिङ आदि बजाएर नाच्ने गरिन्छ । पहिलो दिन पूजा स्थलमा नाचिए पनि त्यसपछिका दिनमा अन्य स्थानमा जम्मा भई नाचेर रमाइलो गरी १५ दिनसम्म उभौली मनाइन्छ ।
यसरी नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउका माध्यमबाट ढोल, झ्याम्टाको तालमा जीव, जनावर, चराचुरुङ्गीको नक्कल, खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको तथा उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।
यसका साथै कपासबाट धागो कातेको, कपडा बुनेको, सिङ्गारपटार गरेको जस्ता कार्यलाई पनि अभिनयका माध्यमबाट नाचमा देखाइन्छ । यसलाई ‘सिली टिप्ने’ भनिन्छ ।
सिली टिप्ने वा नाच्ने तरिका स्थान, जातिअनुसार फरक हुन्नसक्छ । कुनै सिली ढिलो हुन्छ भने कुनै छिटो टिपिन्छ । यसरी नाच्दा वा सिली टिप्दा त्यही अभिनय वा हाउभाउसँग मिल्ने, पितृ र प्रकृतिसँग मेल खाने गीत गाइन्छ । गीतले पनि मौलिक विशेषता बोकेको हुन्छ ।
उभौली पर्वमा नाच्दा जातीय पहिचान झल्काउने पहिरन लगाइन्छ । पुरुष कालो कोट, खाँडीको कपडा, अल्लोको धागोको दौरासुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौरीको पुच्छर, सिन्कौली सेउली हल्लाउँदै, ढोल, झ्याम्टा बजाउँदै त्यसकै तालमा नाच्ने गर्छन् ।
महिला पनि चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा हँसिया, परम्परागत गरगहनाले सजिएर सिन्कौली सेउली हल्लाउँदै ढोल, झ्याम्टा बजाउँदै नाच्छन् । महिला, पुरुष, बालक, वृद्धवृद्धा सबै जम्मा भएर गोलाकाररूपमा नाच्ने गरिन्छ ।
–पूर्णप्रसाद मिश्र