धितोपत्र बोर्ड अध्यक्ष ढुंगानासँग स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले ढुंगानालाई ‘पदबाट किन बर्खास्त नगर्ने’ भनी स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले बताए। उनका अनुसार, तीन दिनको समय दिएर स्पष्टीकरण सोध्ने निर्णय भएको छ।
बोर्डका अध्यक्ष ढुंगानालाई हटाउने तयारी सहित स्पष्टीकरण सोध्न लागिएको जनाइएको छ। धितोपत्र ऐनले अध्यक्ष तथा सदस्यलाई पदमुक्त गर्नु अघि सफाइको उचित मौका दिने व्यवस्था गरेको छ। “भोलि कानूनी अड्चन नआओस् भनेर पदमुक्त गर्ने प्रक्रिया पूरा गर्न स्पष्टीकरण सोध्न लागिएको हो,” स्रोतले भन्यो।
सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर छोरीको नाममा खरीद गरेको भेटिएपछि अर्थ मन्त्रालयले ढुंगानामाथि अनुसन्धान शुरू गरेको थियो।
यस अघि मन्त्रिपरिषद्ले पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा जाँचबुझ समिति बनाएको थियो। समितिले ढुंगानाले कानून विपरीत धितोपत्र व्यवसाय गरेको लगायतका कुरा पुष्टि भएकाले पदमुक्त गर्न सरकारलाई सुझाव दिएको थियो। ढुंगाना अहिले निलम्बित अवस्थामा छन्।
यो पनि पढ्नुहोस् :