एक अर्बको मुद्दामा चुडामणि शर्मालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश
विशेष अदालत, काठमाडौंले एक अर्ब ३३ लाख कर छूट दिएको मुद्दामा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा ढकाललाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले सोमबार रु.५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। “प्रतिवादी चुडामणि शर्मा ढकालबाट रु.५० लाख धरौटी माग गरिएको छ,” विशेष अदालतको आदेशमा भनिएको छ, “माग भएको धरौटी नगद वा ब्यांक जमानत दिन सके लिई निजहरूलाई तारेखमा राख्नु।”
आदेशमा धरौटी दिन नसकेमा पुर्पक्षका लागि कारागार चलान गर्न भनिएको छ। “दिन नसके मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ (२) तथा दफा ८० बमोजिम थुनुवापूर्जी दिई कारागार कार्यालयमा पठाईदिनु भनी सोही संहिताको दफा ७९ बमोजिम यो आदेश गरिदिएको छ,” आदेशमा भनिएको छ।
शर्मा सहित तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारीले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ कर छूट दिएको पुष्टि भएको विशेष अदालतले जनाएको छ। कर छूट दिंदा आपसी कुराकानीलाई मात्र आधार लिई सूचित आदेश र कानूनको अख्तियारीको बदनियतपूर्वक प्रयोग गरेको जनाइएको छ।
अनुसन्धानका क्रममा शर्माले प्रचलित कानून बमोजिम असल मनसायपूर्वक कर फर्छ्यौट गरेको जिकिर गरेका थिए। उनले अदालतमा उपस्थित हुँदा आयोगले आफ्नो दायराभन्दा बाहिर गई कुनै कार्य नगरेको, आयोगले विधिसम्मत र विवेकसम्मत रूपमा काम गरेको जिकिर गर्दै कसूर इन्कार गरेका थिए।
यस मुद्दामा उनीसँगै कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि विपक्षी बनाइएको थियो।