‘कुमार बस्नेतलाई केटी बनाएर नचाएँ, नेहरूले थपडी बजाए’
मैले मिहिनेत गरें, तर आर्थिक अभावले गर्दा आमालाई दशैंमा के लुगा लगाउने आमा भनेर कहिल्यै भन्न पाइनँ।
पुरस्कार आफैंमा पुरस्कृत शब्द हो। जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुने समाचार सुनेपछि सिर्जनशीलताको कदर भएको अनुभूति भयो। स्रष्टाको योगदानको कदर गर्ने कुनै न कुनै संस्था त रहेछ।
कुनै समय म पनि कविता लेख्थें। मेरा कविता सुन्न रुचाउनेमध्ये एक कमलमणि दीक्षित पर्नुहुन्थ्यो। पछि म नृत्यशास्त्रमा लागें।
भौतिक रूपमा मैले राजा महेन्द्रको युगमा बढी काम गरें। त्यसपछि राजा वीरेन्द्रको पालामा हराए जस्तै भएको थिएँ। तर, अहिले सक्रिय छु।
मैले नृत्य सिकाउने वेला त्यसबाट कमाइ हुँदैनथ्यो। नेपालमा सांस्कृतिक कार्यक्रम हुँदैनथ्यो। नाच्न पनि पाइँदैनथ्यो। वर्षको एक पटक इन्द्रजात्राको दिन प्रज्ञा-प्रतिष्ठानको डबलीमा गएर नाच्न पाइन्थ्यो। त्यस बाहेक अरू दिनमा नाच्यो भने हुक्कापानी कटाएर थानकोट कटाइदिने चलन थियो।
त्यति मात्रै होइन, नाचेको मान्छेको जात पनि कटाउने चलन थियो। किनभने, कथित तल्लो समुदायका जम्मा १४ जातिले मात्र नाच्न पाउँथे। जस्तोः काठमाडौंमा कसाई र मधेशमा डोम-चमारहरूले मात्र नाच्थे। भारतका विभिन्न भेगहरूमा यो (कु)चलन अझै छ।
म घरको माथिल्लो तलामा नृत्य सिकाउँथें। नाच्नेहरूलाई घरभित्र हुलेको भनेर धेरै पटक अपमान सहनुपर्यो। नाच्न जान्नेहरूले पनि आफ्नो कला लुकाउनुपर्थ्यो। तर, त्यस वेला काठमाडौं जुद्धोदय पब्लिक (जेपी) स्कूलका विद्यार्थीहरू ‘भैरव सरसँग नृत्य सिक्न नपाए रानीपोखरीमा फाल हाल्छु’ सम्म भन्थे।
अभिभावकहरू आफ्ना छोराछोरीलाई लोकनृत्य सिकाउन मान्दैनथे। नाच्नु पनि काम हो र भन्ने गर्थे। गोविन्दनारायण ज्यापू भारतमा स्काउटको तालीम लिएर भर्खर नेपाल आएका थिए। उनीसँगको सहकार्यमा ‘ड्रिल’ मा नृत्य मिसाएर विद्यार्थीलाई नृत्यको भाषा, शैली र प्रयोगात्मक अभ्यास गराइयो। त्यसरी गएपछि आम जनतामा नृत्यको विरोध कम भयो।
मैले आर्मीको तालीम नलिएको भए, स्काउट तालीमको सहारामा त्यसरी नृत्यको शैली विकास नगरेको भए आजसम्म पनि यो देशमा गाईजात्रामा मात्र सीमित हुन्थ्यो। चौबीसै घण्टा स्टेजको पर्दा खोलेर नृत्य गर्न पाइन्छ भन्ने त्यति वेला कल्पना मात्र हुन्थ्यो।
आज त लाखौं मानिसको भविष्य नृत्यकलाले बनेको छ। जब कि त्यति वेला नृत्य पनि कला वा सिर्जना हो भनेर चिनाउन अनेक धाक, धम्की र अवहेलना सहनुपर्यो।
सात दशक अघि महिलाले त नाच्नै हुँदैन भन्थे। नृत्य देखाउन छोरी मान्छे नभएपछि पहिलो पटक मैले लोकगायक कुमार बस्नेतलाई केटी बनाएर नचाएँ। उनलाई छोरी मान्छे बनाएर भारतमा पनि नृत्य देखाइयो। भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले आसाममा हाम्रो नृत्य हेरेर थपडी बजाएका थिए।
अहिले रङ्गमञ्चमा जति पनि लोकनृत्य देखिन्छ त्यो सबै मैले परिमार्जन गरिदिएको शैली हो। अन्यथा, लोकनाच भनेर एक पटक बायाँ र अर्को पटक दायाँ घुमेर सक्ने गरिन्थ्यो। अहिले देखाइने टप्पा, सोरठी, मारुनी, झ्याउरे, घिन्ताङ, चरिया नाचहरू मैले नै परिमार्जन गरें। देश–विदेशमा देखाउन लायक र नेपालको इज्जत धान्नेस्तरको बनाउन सकियो। आज पनि यसको माग छ।
माउत्सेतुङले ‘पोइटिक डान्सर’ ठानेर साहित्यकारहरूलाई पनि नदिएको कलम मलाई दिनुभयो। नृत्यको विज्ञान रच भनेरै दिएको होला भन्ने अनुमान लगाएर मैले नृत्यको सैद्धान्तिक पाटो केलाउन थालें। त्यसको परिणाम नृत्याक्षर विज्ञान पुस्तक तयार भयो। यस वर्षको मदन पुरस्कारका लागि सूचीकृत पनि भएको थियो।
नृत्यलाई नै विषय बनाएर अझै पुस्तक लेख्दै छु। अंग्रेजी भाषामा पनि पुस्तक उतार्दै छु। मैले नृत्याक्षर विज्ञान पुस्तक पुस्तकालयमा राख्न जन्माएको हैन। यो नृत्यको भाषा हो। विश्वजगत्को विद्यालय, कलेज र विश्वविद्यालयमा पाठ्यक्रम बनाउने आँटले तयार गरेको हुँ।
यो फागुनमा म ९० वर्ष लाग्दै छु। अब मेरो इच्छा भनेको जीवितै हुँदा एउटा विश्वविद्यालय खोल्न सकूँ भन्ने हो। अथवा, नसके एउटा कलेज मात्र भए पनि खोल्नुपर्ने बाध्यकारी अवस्था नै छ। यसका लागि मैले पुस्तक र चार वर्षको कोर्स र तालीम पनि तयार पारिसकेको छु।
म देशको राज्यव्यवस्थालाई अनुरोध गर्न जाने खालको मान्छे हैन। तर, अब मलाई मदन पुरस्कार गुठीले ‘सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान मार्फत नृत्यक्षेत्रको उन्नयनमा समर्पित हुने’ भनेर दिएको जगदम्बाश्री पुरस्कारले राज्यलाई मेरो नृत्य अध्ययनको विश्वविद्यालय बनाउने इच्छाबारे बोध गराउन सक्छ।
यो मेरो इच्छा मात्र नभएर देशको भविष्यको बाटो पनि हो। किनभने, अब यो कोर्सबाट नर्तकभन्दा पनि स्वास्थ्यवर्धक र बुद्धिजीवी नृत्यकारको जन्म हुन्छ। सरकारले यस कुरामा वास्ता नगरे पनि म आफ्नो बाटोबाट तयारी गरिरहेको छु।
मैले जीवनमा सरकारको आश नगरी आफ्नातर्फबाट सक्ने काम गर्दै गएँ। त्यसबीचमा मैले गरेको दुःख कसैलाई सुनाएको छैन्। तर, सिर्जनाको क्षेत्रमा लाग्न एउटा धुन चाहिन्छ। म त्यही धुनमा लागेर हिंड्दा दामलका साथी आज मसँग छैनन्।
मलाई स्काउटको समयदेखि जसले साथ दिए, उनीहरुलाई सम्झँदा आँसु आउँछ। त्यसरी काम गर्ने व्यक्तित्वहरूका लागि कम्तीमा एउटा पुरस्कार स्थापना गर्न सकेको छैन। मैले मिहिनेत गरें, तर (भक्कानिंदै) आर्थिक अभावले गर्दा आमालाई दशैंमा के लुगा लगाउने आमा भनेर कहिल्यै भन्न पाइनँ।
त्यसरी नै मेरा दुई दिदी र दाजु बिते। मेरा भाउजू र छोरो पनि यो संसार छाडेर गए। मैले यही कर्ममा लाग्दालाग्दै कसैलाई स्याहार गर्न पाइनँ। मेरा आफ्ना मान्छे बित्ने वेला सँगै हुन पाइनँ। खालि गाउँघर डुल्दा-डुल्दै, मादलको तालमा नाच्दै नचाउँदै, लोकनाच बचाउन र परिमार्जन गर्न सधैं कलाकार लिएर देशका कुनाकन्दरा घुमिरहें।
यो काममा लागेर मलाई कुनै पछुतो छ भने मैले आफ्नाहरूलाई समय दिन पाइनँ। उनीहरू बितेर गए। यत्ति मात्र हैन, मेरा बाउबाजेले आर्जेको कमलपोखरीमा भएको घर, जग्गा पनि यही काम गर्दागर्दै सकें। त्यस वेला सरकारले पैसा नदिंदा पनि मैले नृत्य दल चलाई नै रहें।
नाच्नेलाई कसैले पैसा दिन्छ र? त्यसैले पनि मेरो जिन्दगी आजसम्म डेरामै छ। यो सबै दुःख सम्झँदा आँसु आउँछ। तर, पाठकहरूले मैले रचेका पुस्तक पढे भने मेरो आँसु त्यहाँ गएर पुछिन सक्छ।
यी सबै अनुभवबीच कतै फाइलमा अड्किरहेको मान्छेलाई जगदम्बाश्री पुरस्कारले बाहिर चिनाइदिएको जस्तो लागेको छ। वास्तवमा संस्कृति संरक्षण र स्रष्टा सम्मान गर्ने काम त संस्कृति मन्त्रालयको हो। तर, त्यो काम पनि मदन पुरस्कार गुठीले गरिदियो। मेरो लेखन र काम गर्ने शैलीको कदर गर्नेमध्येका एक कमलमणि दीक्षित हुनुहुन्थ्यो। उहाँ जीवित हुनुभएको भए अहिले कति खुशी हुनुहुन्थ्यो होला?
(हिमालखबरकर्मी अनिता भेटवालसँगको कुराकानीमा आधारित।)