यसरी बदलौं पर्यटनको शैली
पर्यटन क्षेत्रलाई अग्रगति दिने हो भने थोरै पर्यटकबाट बढी नाफा बटुल्ने शैली बदल्नुपर्छ र बढीभन्दा बढी पर्यटक भित्र्याउने बाटो समात्नुपर्छ।
कोभिड-१९ को महामारीका कारण डेढ वर्ष यता अन्य क्षेत्र जस्तै नेपालको पर्यटन क्षेत्र थिलथिलो बनेको छ। तर, सामान्य अवस्थामा पनि यो क्षेत्रका केही समस्या कहिल्यै हटेनन्।
खास गरी हाम्रा सम्पूर्ण पर्यटकीय गन्तव्यबारे सूचना र जानकारी नै उपलब्ध छैन। भेटिए पनि पर्याप्त हुँदैन। विदेशी पर्यटक त परको कुरा, स्वदेशको पर्यटकीय गन्तव्यबारे बुझ्ने सामग्रीको अभावमा आन्तरिक पर्यटकहरूले नै असुविधा र सास्ती भोग्ने गरेका छन्।
विदेशी पर्यटक त परको कुरा, स्वदेशको पर्यटकीय गन्तव्यबारे बुझ्ने सामग्रीको अभावमा आन्तरिक पर्यटकहरूले नै असुविधा र सास्ती भोग्ने गरेका छन्।
उदाहरणमा आफ्नै कुरा गरौं। सन् २०११ मा साथी अभिषेक पाण्डे र म पदयात्राका लागि मुस्ताङ जाने भयौं। जानुअघि मुस्ताङको भौगोलिक, प्राकृतिक र सांस्कृतिक पक्षबारे बुझ्न सूचना र जानकारी खोज्न थाल्यौं। तर, एकै ठाउँमा भेटिएन। विभिन्न पुस्तक र अनुसन्धान सामग्री पढ्नुपर्यो। यसले हामीलाई के लाग्यो भने, नेपालमा पर्यटकका लागि गन्तव्यहरूको एकीकृत सूचनाको अभाव छ।
अन्ततः हामीले सन् २०१६ मा हनीगाइड नामक कम्पनी स्थापना गर्यौं, र पर्यटकीय गन्तव्यहरूका एकीकृत सूचना उपलब्ध गराउने गरी कम्पनीकै नामबाट एप बनायौं। जीवनमा पर्यटन क्षेत्रमा संलग्न भइएला भनेर कल्पना नै गरेको थिइनँ, घुमफिरका लागि सूचना खोज्ने क्रममा यो व्यवसायमा आबद्ध हुन पुगें।
यूरोप, अमेरिकादेखि आउने फ्लाइटहरू धेरै महँगो हुँदै जाँदा हामीले अपेक्षा गरे अनुसार पर्यटकको सङ्ख्या बढ्ने सम्भावना छैन। यसले गर्दा ‘बजेट मार्केट’ तिर गइरहेको नेपाली पर्यटन ओरालो झर्छ भन्ने आकलन गरिंदै छ।
पर्यटकलाई सूचना उपलब्ध गराउन बनाइएको हनीगाइड एपमा अन्नपूर्ण सर्किट, अन्नपूर्ण बेसक्याम्प र खुम्बु क्षेत्रका सूचना उपलब्ध छन्। साथै, एप मार्फत होटल, गाइड, टुर प्याकेज बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ।
यसो गर्न सकिन्छ
कोभिड-१९ महामारीले अस्तव्यस्त बनेको विश्व जनजीवन खोपको उपलब्धतासँगै केही चलायमान बन्दै गएको छ। यात्रा केही सहज भएको छ, तर पर्यटन बजारमा तत्कालै ठूलो परिवर्तन आउने सम्भावना कम छ। वायुसेवा कम्पनीहरूले मुख्य कमाउने माध्यम ‘बिजनेस क्लास’ भए पनि अहिले संसारभर ‘बिजनेस क्लास’ मा यात्रा निकै कम भइरहेको छ। जसले ‘इकोनोमिक क्लास’ को पैसा बढ्ने अनुमान छ। त्यसको प्रत्यक्ष असर हामीलाई पर्छ।
यूरोप, अमेरिकादेखि आउने फ्लाइटहरू धेरै महँगो हुँदै जाँदा हामीले अपेक्षा गरे अनुसार पर्यटकको सङ्ख्या बढ्ने सम्भावना छैन। यसले गर्दा ‘बजेट मार्केट’ तिर गइरहेको नेपाली पर्यटन ओरालो झर्छ भन्ने आकलन गरिंदै छ। यद्यपि सङ्ख्या घटे पनि खर्च गर्ने पर्यटकहरू बढ्न सक्छन्। किनकि, महँगो हवाई भाडामा यात्रा गर्ने मानिसले महँगो सेवा खोज्छ।
आगामी दिनमा पर्यटन बजार कसरी अगाडि बढ्छ, ठ्याक्कै अनुमान गर्न कठिन छ। यसो भनिरहँदा नेपालको पर्यटन र अर्थतन्त्र अब कसरी हाँकिन्छ भन्ने कुराले पनि धेरै अर्थ राख्छ।
नेपाली पर्यटन बजारको ‘न्यारेटिभ’ (कथ्य) नै उच्च नाफा लिने भन्ने मात्र छ। जब कि, हाम्रो पूर्वाधार र सुरक्षा भने उच्च स्तरको छैन। त्यसैले हामीले पर्यटकको सङ्ख्या बढाउने कुरा सोच्नैपर्छ। हाम्रा पूर्वाधार, सेवा कमजोर भएकाले ‘लो भोलुम हाई मार्जिन’ (कम पर्यटकबाटै धेरै आम्दानी गर्ने) को मोडलले हाम्रो सन्दर्भमा काम गर्दैन।
अब हेलि-टुरलाई उच्च प्राथमिकता दिनुपर्छ। भारतीयहरू हेलिकप्टरमा घुम्न एकदमै रमाउँछन्। तर, भारतलाई लक्षित गरेर हेलि-टुर शुरू भएकै छैन।
नेपालको पर्यटन प्रकृतिमा आधारित भएकाले हामी हिँड्ने बाटो ‘लो मार्जिन हाई भोल्युम’ नै हो। उदाहरणका लागि, हामीसँग हिमाल, तालतलैया छन्, पर्यटक तान्न ती वस्तुमा अतिरिक्त लगानी खर्चिनु नपर्ने भएकाले बढीभन्दा बढी पर्यटक भित्र्याएर उचित मूल्यमा सेवा बेच्नु उचित हुन्छ।
हेलि-टुर र थुम्का पर्यटन
तत्काल केही समस्या भए पनि नेपालमा पर्यटनको राम्रो सम्भावना छ। त्यो अवसर लिन हामीले परम्परागत काममा परिवर्तन ल्याउनुपर्छ। अब हेलि-टुरलाई उच्च प्राथमिकता दिनुपर्छ। भारतीयहरू हेलिकप्टरमा घुम्न एकदमै रमाउँछन्। तर, भारतलाई लक्षित गरेर हेलि-टुर शुरू भएकै छैन।
त्यसैगरी, यहाँ ‘थुम्का पर्यटन’ को ठूलो सम्भावना छ। विभिन्न ठाउँका थुम्काहरू पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छन्। व्यवस्थापन गर्न सक्ने हो भने उच्च हिमालमा पुग्न नसक्ने पर्यटक ती ठाउँमा मजाले रमाउन सक्छन्।
अझै पनि हामीकहाँ भएका पर्यटकीय गन्तव्यहरूको राम्रो प्रचारप्रसार हुन सकेको छैन। त्यस्ता गन्तव्यको प्रचारका लागि युट्यूब च्यानल प्रभावकारी बन्न सक्छ। गन्तव्य चिनाउन र पर्यटक आगमन बढाउन पर्यटन बोर्ड त्यसतर्फ अग्रसर हुनुपर्छ।
(श्रेष्ठ हनीगाइड कम्पनीका सञ्चालक हुन्। हिमालको २०७८ असोज अंकमा ‘बदलिने वेला’ प्रकाशित।)
हिमालको पीडीएफ प्रति निःशुल्क पढ्नका लागि
यो फर्म भर्नुहोला।