संसद् छल्दै प्रदेश २ सरकार
प्रदेश सभालाई प्रभावकारी बनाउनुपर्ने वेला प्रदेश २ सरकार भने संसद् छलिरहेको छ। सरकारको बेवास्ताले दुई महीनासम्म प्रदेश सभा बैठक बस्न सकेको छैन।
प्रदेश २ को छैटौं अधिवेशन १८ जेठमा प्रारम्भ भएको थियो। शुरुआतमा केही बैठक बसे पनि पछिल्लो दुई महीनामा भने संसद् चल्न सकेको छैन। २९ असारमा अर्को सूचना जारी नभएसम्म स्थगित भएको प्रदेश सभा बैठक अझै बस्न सकेको छैन।
प्रदेश सरकारले संसद् छल्न खोजेको विपक्षी दलहरूले आरोप लगाएका छन्। गठबन्धन सरकारका नाममा संसद्लाई बेवास्ता गरिएको उनीहरूको भनाइ छ। सरकारमा सहभागी दलले नै असन्तुष्टि जनाएका छन्।
सत्तारूढ नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतसँग यस विषयमा कुराकानी गरेको बताए। “मन्त्रिपरिषद् र प्रदेश सभाको विषयलाई लिएर पटक पटक मुख्यमन्त्रीलाई भन्दै आएको छु। तर, मुख्यमन्त्रीले आलटाल गरिरहेका छन्,” यादव भन्छन्, “किन यस्तो गरिरहनुभएको छ, मलाई पनि थाहा छैन।”
गठबन्धनको दम्भका कारण मुख्यमन्त्री राउतले संसद्लाई बेवास्ता गरेको विपक्षी दलको आरोप छ। विश्वासको मत नलिनुलाई पनि विपक्षी दलले गठबन्धनसँगै जोडेका छन्।
२०७४ मा तत्कालीन राजपा नेपाल र समाजवादी पार्टी नेपालबीच गठबन्धन भएर राउत नेतृत्वमा सरकार बनेको थियो। पछि दुवै पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो।
अहिले जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको छ। ९ भदौमा निर्वाचन आयोगले पनि त्यसलाई वैधानिकता दिएको छ।
संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफनो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था गरिएको छ। ३० दिन बितिसक्दा पनि मुख्यमन्त्री राउतले विश्वासको मत लिन आलटाल गरिरहेका छन्।
कांग्रेस संसदीय दलका नेता यादव भन्छन्, “सरकारसँग पर्याप्त बहुमत हुँदा समेत विश्वासको मत लिन किन डराइराख्नुभएको छ, बुझ्नै सकिएको छैन।” यस विषयमा पटक पटक मुख्यमन्त्रीसँग कुराकानी भएको उनले बताए।
विश्वासको मत लिन हच्किनुको कारण बुझ्न नसकेको यादवको भनाइ छ। उनी भन्छन्, “यस विषयमा ध्यानाकर्षण गराइरहेका छौं। तर, मुख्यमन्त्री नसुने झैं गर्नुहुन्छ।”
मुख्यमन्त्री राउतले भने समय आएपछि प्रदेश सभाबाट विश्वास मत लिने बताए। उनले हिमालखबरसँग भने, “अहिले विश्वासको मत लिनुपर्ने जस्तो लाग्दैन।”
१०७ सदस्यीय प्रदेश सभामा अहिले १०४ सांसद छन्। जसपाका ३९, कांग्रेस १९, लोसपाका १६, नेकपा (एकीकृत समाजवादी)का १३, नेकपा (एमाले)का ८, नेकपा (माओवादी केन्द्र)का ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन्। जसपा, कांग्रेस र माओवादी सरकारमा छन्।