‘घर परिवारको विवरण बताउनै मान्दैनन्’
राष्ट्रिय जनगणना अन्तर्गत घर परिवार सूचीकरणमा खटिएका सुरपरिवेक्षकले विभिन्न कठिनाइ खेप्नु परिरहेको बताएका छन्।
भौगोलिक विकटतासँगै प्राविधिक कारणले पनि सूचीकरणमा समस्या भएको उनीहरू बताउँछन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलमा घर परिवार सूचीकरणमा खटिएका दीपनारायण आचार्यले मान्छे भेट्नै समस्या भएको सुनाए।
उनी ३० भदौदेखि तोकिएका वडाभित्रका प्रत्येक घरघर धाइरहेका छन्। तर, मान्छे भेट्नै मुश्किल भएको उनी बताउँछन्। “दिउँसो अधिकांश घरमूली कामका लागि बाहिर निस्केका हुन्छन्, घरमा भेटिंदैनन्,” आचार्य भन्छन्, “कतिपय घरमा दोहोर्याएर पुगिरहेको छु।”
घर परिवारको विवरण लिन घरमूली वा सबै जानकारी भएको मान्छेलाई भेट्नुपर्छ। तर, अधिकांश घरमूली दिउँसो काममा जाने भएकाले भेट्न गाह्रो भएको उनी बताउँछन्।
अर्को, स्थानीय बासिन्दालाई जनगणनाबारे स्पष्ट जानकारी पनि छैन। जसले गर्दा यथार्थ विवरण दिन डराउने गरेको उनको भनाइ छ। “कतिपय घर परिवारको विवरण बताउनै मान्दैनन्,” उनी भन्छन्।
यससँगै वर्षा सकिएको छैन। बाढीपहिरोले बाटोघाटो क्षति भएको छ। सुपरिवेक्षणका लागि एक ठाउँबाट अर्को ठाउँ पुग्न समस्या भइरहेको छ।
यस्तै, गाउँघरमा इन्टरनेट नचल्ने तथा कतिपय गाउँमा फोन नै नटिप्ने समस्या रहेको छ। त्यसले पनि सूचीकरणको काममा असर परिरहेको जिल्ला जनगणना कार्यालय, खोटाङका जनगणना अधिकारी जीतबहादुर कोइराला बताउँछन्।
गाउँमा इन्टरनेट नचल्दा मोबाइल एपबाट दैनिक कार्य प्रगति अपडेट गर्न कठिन भइरहेको तथा फिल्डमा खटिएका सुपरिवेक्षकसँग सम्पर्क गर्न कठिन भएको उनी सुनाउँछन्। सुपरिवेक्षकलाई पनि माथिल्लो निकायमा फोन सम्पर्क गर्न कठिन भइरहेको छ।
यससँगै भौगोलिक विकटता र पहाडका छरिएका बस्तीमा पुग्न पनि सुपरिवेक्षकले हिंड्नु परिरहेकाले अपेक्षा अनुसार काम हुन नसकेको उनको भनाइ छ। बाढीपहिरोका कारण सडक भत्किएका कारण समयमा यातायातका साधन चल्ने गरेका छैनन्। यसले पनि सूचीकरण र सुपरिवेक्षणमा बाधा भइरहेको जनगणना अधिकारी कोइराला बताउँछन्।
“मोबाइल एपबाट दैनिक कार्य प्रगति अपडेट गर्नुपर्छ। तर, मोबाइल तथा इन्टरनेट सेवा राम्रो नभएकाले सोचे अनुसार हुन सकिरहेको छैन,” कोइराला भन्छन्, “फिल्डमा खटिएका सुपरिवेक्षकसँग सम्पर्क गर्न वा कुनै समस्या पर्दा सुपरिवेक्षकले हामीलाई सम्पर्क गर्न एकदमै कठिन भइरहेको छ।”
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा राष्ट्रिय जनगणना अन्तर्गत ३० भदौबाट घर परिवार सूचीकरणको काम भइरहेको छ। यो काम १८ असोजसम्म जारी रहनेछ।
अहिलेसम्म करीब ३० प्रतिशत काम भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ। खोटाङमा ७१ जना सुपरिवेक्षक खटाइएका छन्।
दोस्रो चरणमा २५ कात्तिकदेखि ९ मंसीरसम्म जनगणना हुनेछ। त्यसका लागि सबै तयारी भइरहेको जिल्ला जनगणना समन्वय समितिले जनाएको छ। २०६८ सालको जनगणना अनुसार, खोटाङको जनसंख्या दुई लाख ६ हजार ३१२ थियो।