पितौंजी : नेपालमा न्वारन भएको २०० वर्षपछि भारतमा विवादास्पद
डेनिस वनस्पतिविद् नाथानियल वालिचले दुई सय वर्ष अघि नेपाल भ्रमणका क्रममा नामकरण गरेको पितौंजी अर्थात पुत्रन्जिभा राक्सबर्गिई वनस्पतिलाई योगगुरु रामदेवको कम्पनीले ‘पुत्रजीवक’ बनाएपछि विवादास्पद बनेको छ।
जनता दल (युनाइटेड)का नेता केसी त्यागीले ३० अप्रिल, २०१५ का दिन भारतको राज्यसभामा आयुर्वेदिक औषधिको पोको देखाउँदै ‘छोरा जन्माउन सहयोग गर्ने’ औषधि भनेर प्रचार गरिएको उल्लेख गरे। यस्तो प्रचारले लैङ्गिक विभेद बढाउने बताउँदै प्रतिबन्ध लगाउन माग गरे। त्यागीको मागमा अन्य विपक्षी दलका विधायकले पनि समर्थन जनाए।
त्यसको भोलि पल्ट आयुर्वेदिक औषधि उत्पादक कम्पनीका तर्फबाट योगगुरु रामदेवले ‘यो औषधिमा छोरा जन्माउँछ’ भनेर कतै नलेखिएको स्पष्टीकरण दिए। विपक्षी विधायकले आयुर्वेदबारे नबुझी टिप्पणी गरेको भन्दै बचाउ गरे। भारतका धेरै ठाउँमा चिनिने स्थानीय नाम र वनस्पतिको वैज्ञानिक नाममा भएको शब्दलाई नै औषधिको नाममा प्रयोग गरिएको उनको भनाइ थियो।
राज्यसभामा त्यागीले देखाएको प्याकेटमा लेखिएको थियो, ‘पुत्रजीवक बीज’ र पोकामा थिए वनस्पतिका बीउ। त्यही वनस्पतिका विविध पक्षबारे यस लेखमा चर्चा गरिएको छ, जसको नामकरण नेपालमै गरिएको थियो।
कसरी गरियो नामकरण?
इस्ट इन्डिया कम्पनीमा कार्यरत डेनिस चिकित्सक एवं वनस्पति सङ्कलक नाथानियल वालिचले सन् १८२०-२१ मा नेपालको भ्रमण गरेका थिए। नेपाल भ्रमणका क्रममा उनले वनस्पति समेत सङ्कलन गरेका थिए। उनले सन् १८२६ मा नेपालका वनस्पतिको विवरण सम्बन्धी पुस्तक टेन्टामेन फ्लोरा नेपलेन्सिस इलुस्ट्रेट प्रकाशित गरे।
रामदेवले अहिले ‘पुत्रजीवक’ भनेर प्रचार गरेको वनस्पतिको वैज्ञानिक नाम ‘पुत्रन्जिभा राक्सबर्गिई’ राखेका थिए, पुस्तकमा। वैज्ञानिक नाम राख्दा स्थानीय नाम, ठाउँ, वनस्पतिको प्रकृति र गुण अथवा कसैको कदर झल्किने गरी राख्न सक्ने प्रचलन छ। उनले पनि यसको नाममा पहिलो पद स्थानीय र संस्कृत नाम झल्किने गरी ‘पुत्रन्जिभा’ राखे भने दोस्रो पद वनस्पतिविद् ‘विलियम राक्सबर्ग’को सम्मानमा राखे।
उनले राखेको वैज्ञानिक नाममा पुत्रन्जिभा संस्कृत र स्थानीय नामलाई महत्त्व दिंदै राखेका थिए। तर, अहिले आएर यही नामले उपयोगिताबारे गलत सन्देश दिइरहेको छ। नामको कारणले यसको प्रयोगले ‘छोरो जन्माउन सहयोग पुग्ने’ प्रचार गरिएको देखिन्छ।
भारतका विभिन्न स्थानमा यसलाई पुत्रजीवक, पुत्रजीवी आदि धेरै नामले चिनिने गरिएको छ। तथापि, यसको प्रयोग र छोराको जन्मको सम्बन्ध देखाउने कुनै औपचारिक दस्तावेज र पौराणिक लिखत नभेटिएको म्रदु गुप्ताको सन् २०१६ मा प्रकाशित लेखमा उल्लेख छ।
वनस्पतिविद् वालिचले स्थानीय नाम टपक्क टिपेर वैज्ञानिक नाम राख्दा अनुमान गरेनन् होला, कुनै समय नामका लागि उपयुक्त यो शब्दले समाजमा व्याप्त अन्धविश्वास र लैङ्गिक विभेदलाई बढोत्तरी गर्ला भनेर। यो नामकरणले पनि बुझाउँछ, शब्दहरू कोरा शब्द मात्र होइनन्, शब्दभित्र अर्थ हुन्छन् र जीवन्त पनि।
वनस्पतिविद् वालिचले स्थानीय नाम टपक्क टिपेर वैज्ञानिक नाम राख्दा अनुमान गरेनन् होला, कुनै समय नामका लागि उपयुक्त यो शब्दले समाजमा व्याप्त अन्धविश्वास र लैङ्गिक विभेदलाई बढोत्तरी गर्ला भनेर। यो नामकरणले पनि बुझाउँछ, शब्दहरू कोरा शब्द मात्र होइनन्, शब्दभित्र अर्थ हुन्छन् र जीवन्त पनि।
उसो त वनस्पति र जीवजन्तुको नामकरणको इतिहास आफैंमा विवादास्पद छ। वनस्पतिको वैज्ञानिक नाम द्विपदीय राख्न शुरूआत गर्ने स्वीडिस वैज्ञानिक कार्ल लिनियस विवादमुक्त छैनन्। लिनियसको दृष्टिकोण र उनले राखेका नाममा भएका लिङ्ग र रङ्गभेदी विषयबारे लेखक पाट्रीसिया फाराले आफ्नो पुस्तक सेक्स, बोटानी र एम्पाएरमा चर्चा गरेकी छन्।
नेपालमा यसलाई पुत्रजीवी, पुत्रजीवक, पितौंजी र पितामारी समेत भनिन्छ। बर्दियाको बनियाँभारका तेजबहादुर थारू त्यतातिर यसलाई पर्झी भन्ने गरिएको बताउँछन्। त्यस्तै, गंगादत्त भट्ट र सुवास खत्री लिखित सहलेशका फूलबारीका वनस्पति बारेको पुस्तकमा यसको स्थानीय नाम पितौंजिया भनेर लेखिएको छ। नवलपुरको गैंडाकोट-१२ का ७४ वर्षीय शिखाराम थारूका अनुसार, थारू भाषामा पितौंजिया भनिन्छ। यसरी थारू भाषाको पितौंजियाको अपभ्रंश हुँदै नेपाली भाषामा पितौंजी भएको बुझिन्छ।
सेतो रङ्गको बोक्रा भएको पितौंजिया २० मिटरसम्म अग्लो हुन्छ। हाँगा र पात बाक्ला हुने भएकाले रूख झप्प परेको देखिन्छ, यो सदाबहार पनि हो। चिल्ला र लाम्चा हुने भएकाले यसका पात अशोकका जस्तै देखिन्छन्।
पातको भेट्ना नजिकै झुप्पामा हुने फूलहरू निकै साना हुन्छन्। अलिकति लाम्चा हुने फल केराउको दानाभन्दा ठूला हुन्छन्। एउटै बोटमा हजारौंको सङ्ख्यामा बीउ उत्पादन हुने भए पनि प्राकृतिक रूपमा पुनरुत्पादन निकै कम देखिन्छ।
यसका बीउ विभिन्न माध्यमले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्छन्। गैंडाकोट-१२ स्थित जनता माविका शिक्षक हिमबहादुर थापा बालबालिकाले खेल्दा यताउता लग्ने भएकाले पनि बीउ प्रसारणमा सहयोग पुग्ने बताउँछन्। तर, उम्रेकामध्ये धेरै बीउ सुक्खा याममा मर्छन् र थोरै मात्र दोस्रो–तेस्रो वर्षमा प्रवेश गर्छन्। बीउबाट उम्रिएका बेर्नाको शुरूआती वृद्धि निकै ढिलो हुन्छ।
पितौंजीको तेलले शरीर मालिश गर्दा बाथ-जोर्नी सम्बन्धी रोगका बिरामीलाई फाइदा पुग्ने ‘आयुर्वेदिक जडीबुटी विज्ञान’ पुस्तकका लेखक धर्म महारस बताउँछन्। यसको बीउको धुलो बेलुकी थोरै मात्रामा सेवन गर्दा निद्रा नलाग्ने समस्या हटाउन सहयोग पुग्ने उनको भनाइ छ।
बहुउपयोगी पितौंजी
बहुउपयोगी वनस्पति पितौंजी पुराना सामाजिक विश्वास र परम्परागत उपचार प्रणालीमा महत्त्वपूर्ण मानिन्छ। बायोब्रियो जर्नलमा सन् २०१४ मा प्रकाशित एक अध्ययन अनुसार, भारतको झारखण्डमा यसको बीउका माला लगाउनाले बच्चाहरू भूतप्रेतबाट जोगिने विश्वास रहेको उल्लेख छ। सन् २०१८ मा करेन्ट ट्रेडिशनल मेडिसिन जर्नलमा प्रकाशित एक लेख अनुसार, यसको पात, हाँगा र फलमा सापोनिन, ग्लाइकोसाइड, ट्राइ टर्पेन्स, ग्यालिक एसिड र फ्लेभनोइड जस्ता २५ भन्दा बढी रसायन पाइने उल्लेख छ।
यसको तेलले शरीर मालिश गर्दा बाथ-जोर्नी सम्बन्धी रोगका बिरामीलाई फाइदा पुग्ने आयुर्वेदिक जडीबुटी विज्ञान पुस्तकका लेखक धर्म महारस बताउँछन्। यसको बीउको धुलो बेलुकी थोरै मात्रामा सेवन गर्दा निद्रा नलाग्ने समस्या हटाउन सहयोग पुग्ने उनको भनाइ छ। उपयोगमा मात्रा निकै महत्त्वपूर्ण हुने र बढी हुँदा नकारात्मक प्रभाव समेत पर्ने हुँदा जानकार र आयुर्वेदिक चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ।
पतञ्जलि योगपीठ सम्बद्ध औषधि खोज तथा विकास विभागका आचार्य बालकृष्णको नेतृत्वमा गरिएको एक अध्ययनको नतीजा केही महीना अघि मोलिक्युल्स जर्नलमा प्रकाशित भएको छ। ‘जेब्रा फिस’ प्रजातिको माछामा गरिएको अध्ययनले परम्परागत उपयोगितालाई वैज्ञानिक प्रमाण जुटाउन केही सफलता मिलेको मान्न सकिन्छ। आचार्य बालकृष्णको नेतृत्वमा इन्टरनेशनल जर्नल अफ नानोमेडिसिनमा सन् २०२० मा प्रकाशित अर्को एक अध्ययनले यसको बीउमा हुने रसायन क्यान्सरको औषधि बनाउन उपयोगी हुने सम्भावना देखाएको छ।
यसको बीउमा तेलको मात्रा धेरै हुने भएकाले आगो बाल्न प्रयोग गरिंदै आएको पाइन्छ। बीउमा हुने तेलले ढुसी र किरा मार्न सक्ने हुनाले जैविक विषादीका रूपमा पनि प्रयोग गर्न सकिन्छ। काठ मोडेर विभिन्न सामग्री बनाउन सकिन्छ। पश्चिम नेपालतिर हाँगाबाट स्वागतद्वार बनाउने गरिन्छ।
यसको औषधीय उपयोग सम्बन्धी विभिन्न जर्नलमा प्रकाशित लेखहरू प्रशस्तै भेटिए पनि तिनको अध्ययन विधि र सूचनाको स्रोत त्यति धेरै विश्वसनीय देखिंदैन। दक्षिणएशियामा जडीबुटी सम्बन्धी अध्ययनको ठूलो हिस्सा हतारमा र समुदायको गहिरो अवलोकन र अध्ययन विना नै प्रकाशन गर्ने प्रवृत्ति बढेकाले विश्वसनीयतामा शङ्का उत्पन्न हुन्छ।
राष्ट्रिय वन सर्वेक्षण र वनको जैविक विविधता सम्बन्धी अध्ययनहरूको आधारमा पितौंजीलाई नेपालको एक दुर्लभ वनस्पति भन्न सकिन्छ।
नेपालका कस्तो छ अवस्था?
वनस्पति विभागको सन् २०१८ मा प्रकाशित विवरण अनुसार, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यसको नमूना सङ्कलन गरी जापानस्थित टोकियो विश्वविद्यालयको सङ्ग्रहालयमा राखिएको उल्लेख छ। त्यस्तै, ‘प्लान्ट्स अफ द वर्ल्ड डाटाबेस’ अनुसार पाकिस्तान, भारत र नेपाल हुँदै पूर्वी एशियाको मलेसियासम्म उष्ण प्रदेशीय क्षेत्रको नदी तटीय वनमा पाइने उल्लेख छ।
वन मन्त्रालयले सन् २०१५ मा गरेको वन सर्वेक्षणको रिपोर्ट अनुसार, नमूना प्लटहरूमा यसको एउटा पनि रूख भेटिएन। त्यस्तै, तराई क्षेत्रमा गरिएका वनस्पति सम्बन्धी तीन दर्जन शोधपत्रमा कतै पनि यो वनस्पति उल्लेख गरिएको भेटिंदैन।
वनस्पति विभागका गंगादेव भट्टले सिरहाको सहलेश फूलबारीमा यसको बोट भएको आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। पङ्क्तिकारले पनि बर्दिया, दाङ, रुपन्देही, नवलपरासी, चितवन र पर्सामा यसका रूख फाट्टफुट्ट देखेको छ।
राष्ट्रिय वन सर्वेक्षण र वनको जैविक विविधता सम्बन्धी अध्ययनहरूको आधारमा पितौंजीलाई नेपालको एक दुर्लभ वनस्पति भन्न सकिन्छ। तर, यी अध्ययनका तथ्याङ्कको गुणस्तरमा गम्भीर प्रश्न उठ्ने गरेको तथ्य बिर्सन हुँदैन। त्यसैले नेपालमा यसको अवस्थाबारे जानकारी अपुरो छ भन्न सकिन्छ।
कैलाश आश्रमको त्यो रूख
नवलपुरको गैंडाकोट-१३ स्थित कैलाश आश्रम धार्मिक र पुरातात्त्विक दृष्टिकोणले महत्त्वपूर्ण स्थल हो। नारायणी तटसँगै अवस्थित यो धामको अर्को विशेषता हो, पुरानो वन र ठूला रूख। साल, टुनी, हर्रा, बर्रा, करम, सेतो सिरिस, पड्के सिरिस जस्ता विभिन्न प्रजातिका रूखले सजिएको छ।
सात दशकमा तराईको जङ्गल फडानी हुँदा जोगिएको यो वन वातावरणीय इतिहासको जीवन्त अभिलेख पनि हो। पीठाधीश परमानन्द सरस्वतीको समयमा पुराना रूख संरक्षण गरिएका थिए। त्यसैमध्ये एउटा पितौंजीको ठूलो रूख पनि थियो।
त्यस्तै रूख झापाको जलथलमा भेटियो। त्यसपछि कैशाल आश्रमको रूख सम्झनामा आयो। पारिवारिक कामले यस पटक गाउँमा बस्दा त्यो रूख भएको ठाउँमा पुगें, तर रूख थिएन। एक वर्ष अघि पर्खाल लगाउने क्रममा त्यो रूख काटिएको रहेछ। अहिले मूल रूख नभए पनि ठुटोबाट हुर्कंदै गरेका पालुवा संरक्षित गर्न सकियो भने छिटै क्षतिपूर्ति हुनेछ।
यो पवित्र भूमिमा विकास निर्माण जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण रैथाने वानस्पतिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण छ। तराईको वातावरणीय इतिहास बोकेको पुरानो वन मासिने गरी भएको भौतिक संरचना निर्माणलाई अब विश्राम नदिएमा यो पवित्र भूमि कंक्रिटको जङ्गल बन्ने पक्का छ।
रूखबाटै गाउँको नाम!
नारायणघाटबाट पुल तरेर १० किलोमिटर पश्चिम बुटवल जाने बाटोमा पितौंजी नाम गरेको एउटा गाउँ छ। त्यो गाउँको दक्षिणमा नारायणी नदीसँगै पाल्पाको चितवनसँग व्यापार हुने पुरानो नाका (घाट) थियो, त्यसको नाम पितौंजीघाट थियो।
त्यस्तै, त्यहीं रहेको रत्नराज्य माविलाई टाढाका मान्छेले पितौंजी स्कूल भन्थे र अहिले पनि भन्छन्। नजिकै भेडाबारीमा रहेको स्वास्थ्य चौकीको नाम पनि पितौंजीघाट स्वास्थ्य चौकी राखिएको थियो। अहिले स्तरोन्नति भएर नगर अस्पताल बनेको छ।
चुरेको फेद र नारायणी नदीसँगै विकसित पितौंजी नयाँ बस्ती हो। यो बस्ती, घाट, स्वास्थ्य चौकीको न्वारन कसले गरेको थियो भन्दा पनि कसरी पितौंजी भयो भन्ने चासो थियो। पितौंजी गाउँबाट थोरै पूर्व घाट नजिकै एउटा ठूलो वृक्ष थियो, त्यसलाई पितौंजी भनिन्थ्यो। त्यसैको नामबाट घाट, गाउँ, स्कूल र स्वास्थ्य चौकीको नामकरण भएको बुझिन्छ।
गैंडाकोट-१० का वडाध्यक्ष देवीदत्त कँडेलका अनुसार, नारायणीको तटमा थुप्रै पितौंजीका रूख थिए। नदीको धार परिवर्तन हुँदा धेरै रूख मासिए। लामो समयदेखि बस्दै आएका स्थानीयले पितौंजीको सङ्ख्या घट्दै गएको बताए। पितौंजी गाउँले आफ्नो नाम पाएको पितौंजी वृक्षको संरक्षण गर्नु स्थानीय बासिन्दाको पनि जिम्मेवारी हो।
अन्त्यमा, वनमा पितौंजीको अवस्था र समुदायमा उपयोगिताबारे अध्ययन भएको छैन। तसर्थ, समुदायमा यसको उपयोगिता सम्बन्धी ज्ञानको गहन खोजी गर्दै उपयोगिता र संरक्षणबारे अध्ययन हुनु जरुरी छ। त्यससँगै विकास निर्माणका क्रममा दुर्लभ, पुराना र महत्त्वपूर्ण रूखको संरक्षणमा पनि ध्यान दिनुपर्छ।