हिरासतमा किशोरको मृत्यु प्रकरण : आठ वर्षसम्म न न्याय मिल्यो, न क्षतिपूर्ति
प्रहरी हिरासतमा ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका १८ वर्षीय किरण राई ‘भुदेउ’ को परिवारले आठ वर्षसम्म न्याय नपाएको गुनासो गरेको छ।
उनका आफन्त रञ्जीव राईले भने, “आठ वर्ष भयो न न्याय पायौं, न त सरकारले क्षतिपूर्ति नै दियो।” घटनामा दोषी ठहरिएका प्रहरी अधिकृत सहित ११ जनामाथि अहिलेसम्म कारबाही नभएको उनको गुनासो छ।
ज्यान मारेको अभियोगमा २८ जेठ २०७० मा पक्राउ परेका किरणको अर्को महीना २६ असारमा जिल्ला प्रहरी कार्यालय, खोटाङको हिरासतमा मृत्यु भएको थियो। यस घटनामा राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) राजीव बस्नेत, प्रहरी निरीक्षक रमेश देव लगायत ११ जना विरुद्ध कारबाहीका लागि सिफारिश गरेको थियो।
आयोगले घटनामा संलग्न डीएसपी बस्नेत र इन्स्पेक्टर देवलाई विभागीय कारबाही गर्न तथा प्रहरी नायव निरीक्षकहरू महेन्द्र खत्री, मुकुन्दप्रसाद बिडारी, हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरू नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी र नारायण खड्कालाई मुलुकी ऐन ज्यान सम्बन्धी महल बमोजिम कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई १६ भदौ २०७० मा सिफारिश गरेको थियो। इन्स्पेक्टर देवको मृत्यु भइसकेको छ।
त्यस्तै, पीडित परिवारलाई तीन लाख क्षतिपूर्ति दिन सिफारिश गरिएको राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले बताए। आयोगको सिफारिशमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७ वैशाख २०७२ मा गृह मन्त्रालयमा क्षतिपूर्ति उपलब्ध गराउन पत्राचार पनि गरेको थियो।
यसैगरी, जिल्ला स्वास्थ्य कार्यालय, खोटाङमा कार्यरत डा. नवलकिशोर झालाई ‘अब उप्रान्त कुनै पनि बिरामीको उपचार र कानूनी जटिलताको विषयमा संवेदनशील हुन एवं मातहतका कर्मचारीले गरेका काम–कारबाही उपर प्रभावकारी सुपरिवेक्षण गर्न सचेत गराउन’ भनेको थियो। त्यही अनुसार, डा. झामाथि भने विभागीय कारबाही भएको काफ्लेले जानकारी दिए।
हिरासतमा राखिएकै अवस्थामा थुनुवाको मृत्यु भएको घट्नामा उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाले पनि १५ भदौ २०७४ मा अनुसन्धान प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी गरेको थियो। आयोगको निर्णय र सिफारिशलाई अदालतले सदर गरेको भए पनि न्याय नपाएको मृतकका आफन्त राईले बताए। “पीडित झन् पीडित भयौं। अहिलेसम्म न्याय र क्षतिपूर्ति केही मिलेन,” उनले भने।
प्रहरीको निर्घात कुटपिटबाट किरणको मृत्यु भएको परिवारजनको भनाइ छ। उनलाई पक्राउ गर्दा कुटपिट गरिएको प्रत्यक्षदर्शी पनि बताउँछन्। प्रहरीले भने निमोनियाका कारण उनको मृत्यु भएको दाबी गरेपछि शव परीक्षण गरिएको थियो।
मानव अधिकार आयोगको पहलमा फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीको टोलीले शव परीक्षण गरेको थियो। किरणको ‘मल्टिपल ब्लन्ट फोर्स इन्जुरिज इन लोअर लिम्बस्’ का कारण ज्यान गएको निष्कर्ष निकालिएको थियो।